बाँकेको साहित्यमा उदाउँदै गरेको साहित्यकारको परिचय हो दिला शाह । शारदा नगरपालिका-१५, सल्यानमा जन्मिएर नेपालगन्ज-१८ बाँकेलाई कर्मथलो बनाउँदै आएकी शाहले पछिल्ला समय जीवन निर्वाहको प्रमुख पाटोका रूपमा उद्योग व्यवसायलाई चुनेकी छिन् । सामाजिक एवं साहित्यिक गतिविधिमा उत्तिकै रुचि राख्ने साना उद्योग महासङ्घ नेपालगन्जको अध्यक्ष, नेपालगन्ज औद्योगिक क्षेत्र उद्योग विकास सङ्घको उपाध्यक्ष जस्ता विभिन्न सङ्घसंस्थाहरूमा आबद्ध भई सामाजिक एवम् साहित्यिक गतिविधिहरूलाई अगाडि बढाउँदै आएकी छिन् ।
आफ्ना रचनाहरू विभिन्न पत्रिकामा प्रकाशित गर्दै आएकी दिला शाहको पहिलो पुस्तकाकार कृति “अँध्यारो बस्तीकी नायिका” कथासङ्ग्रह हो, जुन वि.सं.२०७९ चैत ११ का दिन बाँकेको नेपालगन्जमा विमोचन गरिएको थियो । लोकप्रिय नेपाली साहित्यिक पत्रिका साहित्यपोस्ट उत्तम आख्यान पुरस्कार-२०७९ को तेस्रो स्थानमा छनोट भएको अँध्यारो बस्तीकी नायिका कथासङ्ग्रह असोज ६ गते दश हजार एकसय एघार राशिको सनत-रचना कथा सम्मानबाट समेत पुरस्कृत भयो ।
यही ‘अँध्यारो बस्तीकी नायिका’ कथासङ्ग्रहको तहदेखि कथावस्तुका घटनाक्रमहरूमा नारी पात्रहरूलाई अब्बल बनाइएको आधारमा प्रस्तुत कृतिलाई थप बुझ्नका लागि कृतिभित्र प्रयुक्त नारी पात्रहरूको भूमिकालाई विभिन्न कोणबाट विश्लेषण गरिनु वाञ्छनीय ठहर्छ ।
सङ्ग्रह नारीहरूको कथाव्यथाको सिङ्गो दस्तावेज बनेर आएको छ । रणमा नायिकाको तस्बिर राखेर नामकरणका तहमा नायिकालाई महत्त्व दिएका कारण पनि कृतिभित्र परेका कथाहरूमा नारी प्रधान कथावस्तुको बाहुल्यता रहेको विषय सजिलै आकलन गर्न सकिन्छ । शाहका कथाहरूमा नारी पात्र हजुरआमा, आमा, दिदी, बहिनी, सासू, बुहारी श्रीमती, प्रेमिका, नायिकाजस्ता अनेकन् स्वरूपमा प्रस्तुत भएका छन् ।
कथाहरूमा कहीँ कतै नारी पात्र अत्यन्त सशक्त देखिन्छन् जसले अँध्यारो समाजलाई उज्यालोतर्फ डोर्याउन, प्रेतात्माहरूको बस्तीजस्तै लाग्ने जड समाजलाई चेतनाको समाजमा रूपान्तरण गर्न, अविकासको खाडलबाट उठाएर विकासको गोरेटोतर्फ अग्रसर बनाउन तथा पुरुष जातिको पाशविक प्रवृत्तिमाथि प्रतिकार गर्ने क्रममा गरेका प्रयासहरू प्रशंसनीय छन् । यति हुँदाहुँदै पनि केही कथामा प्रस्तुत भएका जाविदा, रमा, देवा, माया दिदी, शीला लगायतका नारी पात्रहरू भने निरिह, कमजोर, विवशताको सिकार भएका, आफ्नै श्रीमानबाट कुटिएका, सासूससुराबाट हेपिएका र बाँच्नुभन्दा मर्नु बेश भन्दै मृत्युतर्फ उन्मुख भएका पात्रका रूपमा पनि देखापरेका छन् ।
खासगरी भूतको कथा, लोग्ने, जाविदा लगायत अधिकांश कथाहरूमा श्रीमानले श्रीमतीलाई निर्मम भएर पिटेको कथाहरु त परेका छन् नै लोग्ने कथामा पूर्णे नामक राक्षसी स्वभाव भएको पुरुष पात्रले जबरजस्ती गर्दा पेटमा आएको बच्चालाई उसैको धम्कीमा तुहाउनु परेको, आफैँलाई बलात्कार गर्ने बलात्कारीलाई नचाहेरै लोग्ने स्विकार्नु परेको र त्यही लोग्नेले मरणासन्न हुने गरी कुट्ने गरेको बीभत्स दृश्य कथामा प्रस्तुत छ । त्यसै गरी “हुन त मर्नै चाहन्थें म तर हामीजस्ता दुखीलाई कालले पनि कहाँ पत्याउँछ र” भन्ने माया दिदीको भनाइ केन्द्रित कथावस्तु पढिरहँदा कतिपय पाठकहरू सजल भएर आउँछन् ।
‘अधुरो कथा’की पात्र देवा जो घर छँदा छँदै बेघर जस्तै भएर गोठमा सन्तान जन्माउन बाध्य छे । यहीकारण अधिक रक्तस्राव भएर अस्पतालको मुखसमेत हेर्न नपाई संसारबाट बिदा भएकी देवा पाठकको मनमा कारणिक पात्र भएर छाएकी छ । मूलतः यिनै नारी पात्रहरूले कथावस्तुका तहमा कारुणिकता सिर्जना गरेर पाठकको ध्यान केन्द्रित गरी कथाहरूलाई थप पठनीय बनाएका छन् ।
केही कथाहरूमा नारी केन्द्रित कथावस्तुअन्तर्गत रहेर आमाहरूप्रति विशेष सम्मान प्रकट गर्नुपर्छ भन्ने मूल आशय व्यक्त भएका छन् ।
“अलिकति आकाशमा, अलिकति वायुमा अलिकति अग्निमा अलिकति जलमा …तर किन मसँग मात्रै छैनिन् मेरी आमा” भन्दै आमाप्रतिको सम्मानपूर्ण भाव अर्पण गरी कृतिकारकी पूजनीय माता स्व. देवा शाहमा समर्पण गरिएको प्रस्तुत कृतिभित्रका ‘परदेशी छोरो’, ‘हजुरआमा’, ‘आमाको माया’, ‘आमाको मोल’ लगायतका कथाहरूमा आमाहरूको त्याग र बलिदानको भावना मुखरित भएको छ । आफ्नो नाक कान रित्याएर छोराको धोको पूरा गर्ने अथवा आफू भोकै रहेर छोराको पेट भरिँदा रमाउने ममतामयी आमाको कथा बनेर आएको परदेशी छोरो कथाले त्याग, समर्पण र ममताका प्रतीक आमाहरूप्रति उचित सम्मान प्रकट गर्न सुझाएको छ ।
हराएकी आमालाई खोज्न भाैँतारिएको छोराको पीडा बनेर आएको ‘आमाको माया’मा विगतका दिनहरूमा आमाले गरेका समर्पण हरूलाई बिर्सन खोज्दा आइपरेका कष्टहरू प्रस्तुत गर्दै अरूको लाख आमाको काख भन्ने उखान चरितार्थ भएको छ ।
‘आमाको मोल’ कथाले आमाको ममता माथि प्रकाश पारेको छ । यस कथामा समय बितिसकेपछि गरिएको जस्तोसुकै माया र सतव्यवहारले पनि जानेहरूलाई रोक्न सकिँदैन त्यसैले आफ्ना पथप्रदर्शक अभिभावकहरू लाई समय छँदै न्यायपूर्ण व्यवहार गर्नुपर्छ । आफू रोएर भए पनि सन्तान हाँसेको हेर्न चाहने अभिभावकहरूका निम्ति सन्तानहरूले उनीहरूको सुखदुःख बुझ्न अनि सन्चो बिसन्चो ख्याल गर्न कन्जुस्याइँ गर्नु हुँदैन भन्दै अहिलेका सन्तानहरूलाई साक्षात् देवीहरूका पर्याय आमाहरूप्रति थप जिम्मेवार हुन सुझाएको छ ।
‘अँध्यारो बस्तीकी नायिका’मा परेका धेरैजसो नारी पात्रहरू विसङ्गतको सिकार भएका छन् यद्यपि केही पात्रहरूमा अस्तित्ववादी चेत समेत पाइन्छ । आफूले सोचे जस्तै जिन्दगी जिउन नपाएका कतिपय नारी पात्रहरू घरेलु हिंसा, बलात्कार, कुटपिटको सिकार हुँदा बाँच्न नचाहेरै बाँचिरहेका छन् । यहीनेर थोरै सङ्ख्यामा रहेका नारी पात्रहरू जसले आफ्नो अस्तित्व रक्षा गर्नका लागि समाजद्वारा प्रदानित हरेक चुनौतीहरूको सामना मात्र गरेका छैनन् त्यसमा विजय पनि प्राप्त गरेका छन् ।
समाजमा व्याप्त अँध्यारो चिरेर उज्यालो दीप प्रज्वलित गर्ने अँध्यारो बस्तीकी नायिका, आफ्नो अस्मितामा आँच आउने गरी बलात्कार गर्न तम्सेको पुरुष पात्रलाई सबक सिकाउने प्रतिकार कथाकी म पात्र, अनेकौँ अप्ठ्याराहरूका बीचमा पनि बाँचेर सङ्घर्ष गर्दै नयाँ काँचुली फेरेको जीवन बाँच्ने माया दिदी कथाकी पात्र माया लगायतका पात्रहरूको भोगाइ अस्तित्ववादी दर्शन निकट छ ।
कृति भित्रका नारीहरू स्वच्छन्दतावाद निकट भावुक प्रेमबाट पनि चर्चनीय छन् । खासगरी ‘मन त्यसै बहकिन्छ’ र ‘यो कस्तो प्रेम ?’ कथामा प्रयुक्त नारी पात्रहरूमा यस्तो स्वभाव देखिएको हो । भावुक प्रेमका दृष्टिले महत्त्व राख्ने कथा यो कस्तो प्रेम ? मा माया र सुभाषबीच पहिलो भेटमै झ्यागिएको प्रेमिल सम्बन्ध र विवाहदेखि सुहागरातसम्म विस्तार भएको घटनाक्रम भावुक प्रेमलाई देखाउन पर्याप्त छ । एवम् रितले शीर्षककै तहबाट भावुक प्रेममा केन्द्रित भएको मन त्यसै बहकिन्छ कथामा गाडीको यात्रा गर्दै गर्दा म पात्र र पवनका बिचको हेराहेरले अङ्कुरण भएको प्रेम, आकर्षण र आशक्तिमा आधारित कथानकले पनि कृतिभित्रका नायिकाहरू भावुक प्रेमबाट परिचालित भएको यथार्थ पुष्टि गरेको छ ।
कृतिभित्र ‘टुहुरो’, ‘नाइँ होस्टेल बस्दिन’ लगायतका कथाहरूमा सशक्त ढङ्गले प्रस्तुत भएको बालमनोविज्ञान प्रशंसनीय छ नै ।
यसका साथसाथै उक्त सङ्ग्रहभित्रका कथाहरूमा प्रयोग भएका कैयौँ नारी पात्रहरू समेत मनोविज्ञानका दृष्टिले चर्चनीय छन् । सानो उमेरमै श्रीमान् गुमाएर सेता वस्त्रसँग रहरलाग्दा जीवन साट्नु पर्दा सासू र अन्य सदस्यहरूबाट राहतको साटो आहत मिलेपछि आत्महत्याको सिकार भएकी रमाको मनमा मृत्युपूर्व जमेका अनेकौँ कुण्ठाहरू, काँचुली फेरेको जीवन कथामा १८ वर्षमा बिहे भएर २५ वर्षमा विधवा भएकी म पात्र सारीमा सजिएर हलुका शृङ्गार गरेर देवरको बिहेमा सहभागी हुन खोज्दा नन्द आमाजूका आँखाले घोच्न थालेपछि अथवा सासूले धकेल्दै “यस्तो शुभसाइतमा जान हुन्न भन्ने थाहा छैन तेरो पाइलो परे पनि अलच्छिन हुन्छ छाया पनि देखिनुहुन्न जन्तीले दुलही लिएर नआउन्जेल तेरो अनुहार देखिनुहुन्न बुझिस्” भन्दै ढोका बन्द गरी बाहिरबाट चुकुल लगाइदिए पछि म पात्रका मनमा उठेका अनेकौँ तरङ्गहरू, ‘मन त्यसै बहकिन्छ’मा लोग्नेको मायामा देखिएको नैराश्यता र अतृप्त यौन चाहनाबाट म पात्रको मनमा खेलेका विचार, स्मृतिदंश कथामा श्रीमान्को मृत्युपश्चात् स्मृतिले डसेकी म पात्रको जीवनका कथा ब्यथाहरूले उत्पन्न मनोविज्ञानले कृतिको ओझ बढाएको छ ।
माया दिदी कथाकी पात्र मायाको कारुणिक जीवनबाट उत्पन्न मनोविज्ञान, श्रीमान् सासू र माइतका सदस्यहरू बाट समेत अपहेलित हुँदा जाविदाको मनमा उत्पन्न मनोविज्ञान, लोग्ने कथामा बलात्कारीसँग विवाह गर्नुपर्ने र उसैबाट रगताम्य हुने गरी दिनहुँ कुटाइ खाँदा शीलाको मनमा उत्पन्न विचार पनि मनोविज्ञानलाई मलजल गर्ने घटनाक्रम हुन् ।
पात्रहरूको मनभित्रका पीडा, छटपटी, उकुसमुकुस आदि खुल्ला किताब भएर प्रस्तुत भएको हुँदा कृतिभित्र प्रयुक्त नारी पात्रहरूलाई मनोविज्ञानका दृष्टिले पनि विश्लेषण गर्न सकिन्छ ।
१४४ पृष्ठको मध्यम लमाई गत आयाम प्राप्त गरेको यस कृतिमा ५ पृष्ठ देखि १३ पृष्ठ सम्म विस्तारित १८ वटा कथाहरू समेटिएका छन् । कृतिभित्रका अधिकांश कथाहरूले नारी संवेदनालाई उठाएका छन् । नारीअन्तर्गत छोरी, आमा र हजुरआमा तिनै पुस्ता कथाका पात्र बनेर आएका छन् भने अधिकांश नारी पात्रहरू दुखी, अन्याय र अत्याचार सहन बाध्य पारिएका, श्रीमानबाट हेपिएका, श्रीमान् गुमाएका कारण सासू र समाजबाट अपहेलित तथा धर्म र अन्धविश्वासको चेपुवामा परेका पात्रका रूपमा प्रयोग भएका छन् ।
अधिकांश हिन्दु धर्म र जाबेदा लगायत एकाध मात्र मुस्लिम धर्ममा आस्था राख्ने नारी पात्रहरू प्रयोग भएका कथाहरूमा शिक्षित/अशिक्षित, गाउँले/सहरिया, सधवा / विधवा, निडर / कायर, पलायन बादी / सङ्घर्षशील प्राय यी सबै प्रवृत्ति भएका नारी पात्रहरूको उपस्थिति पाइन्छ । यति हुँदाहुँदै पनि कृतिको शीर्षक स्वयंले सङ्घर्षशील नारीको अपेक्षा गरिरहँदा सङ्घर्ष गर्न लायक र आफ्नो अस्तित्वको लडाइँमा खरो भएर उत्रन सक्ने
नारीहरूको सङ्ख्या भने अत्यन्त न्यून छ । कारुणिक परिवेश सिर्जना गर्ने नाममा कतिपय नारी पात्रहरूलाई चरम यातनाको सिकार बनाइँदा अथवा आत्महत्याको अवस्थासम्म पुर्याइएका एकदुई घटनाहरू केही अतिशयोक्तिपूर्ण देखिए पनि समग्रमा अँध्यारो बस्तीकी नायिका कथासङ्ग्रह नेपाली समाजमा दिनचर्या बिताइरहेका नारीहरूको दुखेको, गुनासो, पिडा, वेदना र सङ्घर्षको पर्याय बनेर आएको छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।