वरिष्ठ कलाकार डिराम पाल्पालीलाई नेपाली ललितकला क्षेत्रमा नचिन्ने शायद कमै होलान्। ५१ वर्षअघि पाल्पामा जन्मिनुभएका डिरामको कलाकारिताको चर्चा जति गरे पनि कम नै हुन्छ । विभिन्न मिडियाहरूमा छाइरहने डिराम ललितकला क्षेत्रका सशक्त हस्ताक्षर भएको हुनाले उनका बारे चर्चा गरिरहन उति आवश्यक पनि देखिँदैन।

लामो समयदेखि चित्रकारितामा अहोरात्र खटिइरहेका पाल्पाली धेरै कलाकारहरूका आदर्श गुरू र पथ प्रदर्शक पनि हुन् । कला क्षेत्रमा धेरै खटिनुहुने र थोरै बोल्ने स्वभावका उहाँलाई सम्मान गरी “डिराम दाइ”का रूपमा सम्बोधन गर्ने कलाकारहरू धेरै छन् । मुहार र दृष्यचित्र उतार्न माहिर पाल्पालीको कलामा एक किसिमको बेग्लै रङ संयोजन र मिठासपन पाइने हुनाले उहाँका कलाकृतिहरू पृथक् र उत्कृष्ट देखिन्छन् ।

कला यात्राका क्रममा हालसम्म थुप्रै राष्ट्रिय-अन्तर्राष्ट्रियस्तरका पुरस्कार र अवार्डहरूबाट सम्मानित भइसकेका पाल्पालीले नेपाली कलालाई व्यावसायिक र वृहत् आकार दिलाउनसमेत महत्त्वपूर्ण योगदान दिएका छन् । जल रङ, एक्रेलिक र तैलरङ यी तीनै माध्यममा पोख्त कलाकार डिराम पाल्पाली हाल अन्तर्राष्ट्रिय जलरङ समाज नेपाल च्याप्टरका उपाध्यक्ष पनि छन् । यिनै अब्बल र अग्रज कलाकार डिराम पाल्पालीका उम्दा सिर्जना यस पटक अवलोकन गरौँ न त !