हाम्रो शरीरका प्रत्येक अङ्गको उत्तिकै महत्त्व छ । एउटा मात्र अङ्ग नहुँदा वा बिरामी पर्दा शरीर नै अपाङ्ग हुन्छ तर साङ्गको अभिनय नगरी हामीले आफ्नो दैनिकी चलाउन सक्तैनौँ । देब्रे हात चलाउनै नहुने गरी बिरामी भइदिँदा त्यसको क्षतिपूर्ति गर्ने क्रमिक शिक्षा र अनुभव लिन पाउनुलाई मैले राम्रै अवसर प्राप्त भएको ठानेको छु ।

देब्रे हात बिरामी हुँदा सर्वप्रथम मानसिक रूपमा आफू अपाङ्ग भएको अनुभव हुँदो रहेछ । बिरामी हात त केही समयपछि अवश्य ठीक हुनेछ र पुनः देब्रे हातको पूर्णताले साङ्गको अभिनय गर्न लगाउनेछ तर जीवनभर देब्रे हात गुमाएकाहरूले देब्रे हातको रिक्तताको कति पीडा भोगिरहेका होलान् भनेर आफूलाई मानसिक रूपमा साङ्ग बनाउन बल मिल्दो रहेछ । मनले साङ्गको आश्वासन दिए पनि शरीरद्वारा गरिने कर्मका लागि भने देब्रे हातको रिक्तता भइरहँदो रहेछ र त्यसको क्षतिपूर्तिका लागि मनले नै बाटो खोज्न प्रेरित गर्दो रहेछ ।

देब्रे हातको मुख्य जिम्मा हामीले शौचालय जानका लागि दिएका छौँ तर देब्रे हात नहुनेहरूलाई शौचालयमा जान निषेध गर्नसक्ने हाम्रो हैसियत छैन । देब्रे हातको क्षतिपूर्ति खोज्दै जाने क्रममा मलाई आफ्नै बाल्यकालको सम्झना भयो । हाम्रो बाल्यकालमा गाउँमा आजकलजस्तो पानी सुलभ थिएन । त्यतिबेला व्रतबन्ध र विवाह गरेकाले मात्रै शौच जाँदा अनिवार्य रूपमा पानीको प्रयोग गर्नुपर्छ भन्ने नियम गाउँमा प्रचलित थियो ।

आजजस्तो त्यतिबेला गाउँघरमा शौचालयहरू थिएनन् । व्रतबन्ध र विवाह गरेका अग्रजहरू सिल्टेको लोहोटामा पानी लिएर पाखाबारी वा खोलातिर जानुहुन्थ्यो । त्यसैले हामी बालबच्चाहरू पनि अग्रजहरूको देखासिकी गरेर बाहिरतिरै शौचालय जाने गर्थ्यैं । हाम्रा लागि ससाना ढुङ्गा र पातहरू शौच सुद्ध्याउने साधन बन्थे । देब्रे हात बिरामी हुँदा तिनै साधनको विकसित रूप ट्वालेट पेपर पहिलो साधन बन्दो रहेछ । दोस्रो साधनका रूपमा पानी र तेस्रो साधनका रूपमा साबुनले ठाउँ लिएपछि मात्र शौच गएर शुद्ध भएको अनुभूति गर्न सकिँदो रहेछ । देब्रे हातबिना दाहिने हातमा साबुन त लगाउन सकिँदो रहेछ तर साबुनले राम्रोसँग हात मिच्नका लागि बेसनकै भित्ताले देब्रे हातको क्षतिपूर्ति गर्न मद्दत गर्दो रहेछ ।

देब्रे हातको अनुपस्थितिमा पनि दाहिने हातले दाह्रीजुँगा काँटछाँट गर्न सहज‌ै हुँदो रहेछ । दन्तमञ्जनको मात्रै होइन कुनै औषधी र बोतलको बिर्को खोल्न देब्रे हातलाई पर्खिरहनुपर्दो रहेनछ । दाहिने हातका बूढीऔँलाले र चोरीऔँलाले सहजरूपमै बिर्को खोल्न सकिँदो रहेछ । जस्तोसुकै बिरामी वा जाडो भए पनि धाराका पानीको फोहराले राम्रोसँग शरीर नभिजाएसम्म मलाई कुनै गल्ती गरे जस्तो दिनभर पश्चात्ताप भइरहन्छ ।

देब्रे हात नजागे पनि दाहिने हातकै भरमा स्नान गर्न त सहजै हुँदो रहेछ तर दाहिने हात मिचेर सफा गर्न देब्रे हातको अनुपस्थिति खट्किँदो रहेछ । स्नान गर्दा र सन्ध्या गर्दा अनिवार्य रूपमा शिखा बाँध्नुपर्ने हो तर देब्रे हातको सहयोग नहुँदा शिखामुक्त भएरै स्नान र सन्ध्या गर्न विवश भइँदो रहेछ । स्नान गरेपछि तुना भएका कच्छा र सुरुवालमा गाँठा पार्न पनि देब्रे हातको रिक्तता खट्किँदो रहेछ । त्यतिबेला दाँतले देब्रे हातको क्षतिपूर्ति गर्न सघाउँदा रहेछन् । स्नान गरिसकेपछि दैनिक रूपमा फेरिने कपडाहरू सफा गर्न कहिलेकाहीँ सरफ र साबुनको प्रयोग नगरी हुँदैन । सरफमात्र प्रयोग गर्दा त देब्रे हातको उपस्थिति आवश्यक नहुँदो रहेछ तर साबुनको प्रयोग गर्दा देब्रे खुट्टाले देब्रे हातको क्षतिपूर्ति गर्न सक्तो रहेछ । देब्रे हातविना राम्रोसँग कपडाको पानी निखार्न नसकिँदो रहेछ । त्यसका लागि दाहिने खुट्टाले आंशिक भए पनि सघाउँदो रहेछ ।

दाहिने हातमा केही सामान लिएर कोठाभित्र पस्ता देब्रे हात पनि भइदिए हुन्थ्यो भन्ने लाग्दो रहेछ र त्यसको आंशिक क्षतिपूर्ति देब्रे खुट्टाले गर्न सक्तो रहेछ । देब्रे हात नहुँदा नमस्कार गर्न नमिल्दो रहेछ । गर्न त एउटै हातले पनि आधुनिक अभिवादन (सलाम) गर्ने गरिन्छ तर “एकहस्तप्रणामेन रौरवं नरकं व्रजेत्” भन्ने नीतिवचन उपस्थित भइदिँदा एकहातको अभिवादन गर्न मनले स्वीकृति नदिँदो रहेछ । नित्यकर्मका रूपमा सधैँ शालग्राम स्नान गराउँदा अनि धूप एवं दीप अर्पण गर्ने क्रममा घण्टी बजाउँदा पनि देब्रे हातको अभाव खट्किँदो रहेछ । देब्रे हातको स्पर्शबिना दाहिने हातले मात्र कुनै चीज अर्पण गर्नु पनि हाम्रो परम्पराविरुद्ध ठहरिँदो रहेछ । त्यसैले देब्रे हात बिरामी भएपछि मैले गरिरहने नित्यकर्मको पूर्ण जिम्मा पिताजीले वहन गर्नुभएको छ । देब्रे हात स्वस्थ नहुँदासम्म मेरो नित्यकर्मले पूर्णता नपाउने पश्चात्तापले मलाई पिरोलिरहे पनि मसँग यतिबेला त्यसको कुनै विकल्प छैन ।

देब्रे हात बिरामी हुँदा फलफूल, सलाद र सागसब्जी काटकुट गर्न नसकिँदो रहेछ तर एउटै हातले पनि खाना पकाउन र भाँडा माझ्न भने त्यति असहज नहुँदो रहेछ । खाना खाने क्रममा जलावर्तन गर्न तथा आदि र अन्तमा जल आचमन गर्न पनि देब्रे हातबिना नमिल्दो रहेछ । खाना खाएपछि चुठ्ने क्रममा जुठै हातले पानीको धारा खोल्न गाह्रो त हुँदो रहेछ तर दाहिने हत्केलाले बिस्तारै प्रयास गर्दा धारा खोल्न पनि सकिँदो रहेछ ।

दुवै हातले कम्प्युटर चलाउने बानी परेकाले होला देब्रे हातबिना कम्प्युटर चलाउन र लेखपढको काम गर्न गाह्रो हुँदो रहेछ । पढ्न त सकिँदो रहेछ तर पढेका कुराको कम्प्युटरम‌ै टिपोट गरिहाल्ने बानीले गर्दा देब्रे हातको अभावमा लेखपढको काम थाती राख्न बाध्य हुनुपर्दो रहेछ । देब्रे हातको उपस्थिति नभए पनि मोबाइलमा लेखपढ गर्न भने सहज‌‌‌ नै हुँदो रहेछ ।

यतिबेला देब्रे हात बिरामी गराउने सवारीसाधनले विश्राम लिएको छ र खिया नलाग्दै त्यसले गति लेला र दिमागमा खिया नलाग्दै मलाई पनि त्यसले बाह्य संसारमा डुलाउने गति देला भन्ने कामना गरिरहेको छु । त्यसैगरी देब्रे हात पूर्ण स्वस्थ हुनसक्यो भने लामो समयदेखि थला पारिरहेको स्किन सोराइसिसको पीडालाई भुलाउन कम्प्युटरका कीहरूको प्रतीक्षाको घडी पनि अन्त हुनेछ र ‘अकरणात् मन्दकरणं श्रेय:’ को गतिमा भए पनि लेखपढको क्रमले निरन्तरता पाउनेछ ।

एकजना बिरामी हुँदा त्यसको चिन्ता परिवारमा पनि थपिन्छ । परिवारमा जोकोही पनि बिरामी पर्न सक्छ । चल्नै नसक्ने किसिमको गम्भीर बिरामी भए त बिरामीको सेवाका लागि परिवारका प्रत्येक सदस्यले बिरामीलाई पालैपालो सहयोग गरिरहनुपर्छ तर हिँडडुल गर्नसक्ने र सानोतिनो काम गर्नसक्ने बिरामीलाई पूरै सहयोग गरेर अपाङ्गजस्तो बनाउनु हुँदैन ।

बिरामी स्वयंले पनि आफ्नो स्वावलम्बीपनलाई गुमाएर आफूलाई परिवारको बोझ नबनाई सक्दो काम आफूले पनि गरिरहनुपर्छ । सुप्रसिद्ध साहित्यकार झमक घिमिरेका परिवार छन् र उनलाई सहयोग पनि गरिरहेका छन् तर उनले आफ्नै स्वाभिमान र स्वावलम्बीपनलाई बचाइराख्न खुट्टाले लेखनकार्य र भोजन ग्रहण गरिरहेकी छन् । त्यसैले मलाई पनि परिवारका सदस्यहरूले नसघाएका होइनन् तर मैले आफूले सक्दाका आफ्ना सबैजसो कर्म आफैले गरिरहन रुचाएको छु र प्रत्येक परिवारका प्रत्येक सदस्यले आफ्नो स्वावलम्बीपनलाई बचाइराख्न सकुन् भन्ने कामना पनि गरिरहेको छु ।

वर्तमानमा म बाँचेको समाजमा वामपन्थीले दक्षिणपन्थीप्रति र दक्षिणपन्थीले वामपन्थीप्रति शत्रुवत् व्यवहार गरेर समाजको सङ्लो पानीलाई धमिल्याइरहन मन पराए पनि मलाई भने वामपन्थी र दक्षिणपन्थी भएरै जीवन गुजारिरहन मन छ । किनभने केवल वामपन्थी वा दक्षिणपन्थीमात्र हुँदा शरीरजस्तै जीवन पनि अपाङ्ग हुनसक्छ । जीवनलाई पूर्णता दिने नै हो भने दक्षिणपन्थी र वामपन्थीको समन्वयमार्गी चिन्तन र व्यवहार अपनाउनु आवश्यक छ । त्यस‌ैले यतिबेला दक्षिणपन्थी दिनचर्या बिताइरहे पनि मलाई वामपन्थी दिनचर्याको पनि आकाङ्क्षा रहिरहेको छ ।