“फिर्ता पैसा लिनोस् त तपाईंको ।”

बेराको पल्लोपट्टि बसेकी युवतीले पैसा समातेको हात काउन्टरको प्वालनजिक ल्याइन् । तिनको टाउको निहुरिएको र आँखा ल्यापटपमा केन्द्रित थियो । पैसा फिर्ता लिनुपर्ने मान्छे ओखतीको पोको बोकेर टाप ठोकिसकेको थियो । मेरा अगाडिका एक युवकले पैसा समातिदिए र कराए, “दाइ ! ए दाइ ! तपाईंको पैसा लानुस् त !”

अलि परको भिडबाट एउटा अनुहार उछिट्टिएर आयो र लाज-मुस्कानसहित पैसा समायो !

सोचेँ, “आफ्नो पाउने पैसा छोडेर कसरी हिँड्न सकेका होलान् ! कुन मिहिनेतले कमाएको हुन्छ पैसा ! अचेलका युवालाई मतलबै छैन ।”

अगाडिका दुई जनाको सकिनेबित्तिकै मेरो पालो आयो । ओखतीको पुर्जा काउन्टरको प्वालभित्र छिराएँ । एकछिनपछि पैसाको मुठोभित्र पसाएपछि ओखतीको पोको हातलागी भयो । पोको झुन्ड्याएर लामा–लामा फड्का हानेँ । बिरामी छोरो एचडियूमा थियो र ओखती पुर्‍याइहाल्नुपर्ने थियो ।

“अङ्कल ! ओ अङ्कल ! पैसा लानोस् फिर्ता ।”

थुइक्क ! के भाको मेरो सुद्धी ! पैसा छोडेर हिँडेछु । उसो त गए राति दुई बजे पनि म यहाँ आएको थिएँ औषधी लिन । राति पनि मान्छे त थिए, तर भिड थिएन । कोही बेन्चमा निदाइरहेका थिए । कोही भुइँमा चट्टी ओछ्याएर सपना देखिरहेका थिए । काउन्टरमा बस्ने युवतीले सपना हेरिरहेका आँखाले मेरो लिखत हेरिन् र, भनिन्,“यहाँ छैन, बाहिरबाट लानोस् ।”

महाराजगन्ज शिक्षण अस्पतालको फार्मेसीमा तपाईं आफ्नो, बिमारीलाई चाहिने औषधी कहिल्यै पूरा पाउनुहुन्न । मैले पनि पाइनँ ।

अस्पतालबाहिर जाने क्रममा आँखा उपचार केन्द्रअगाडि पुगेँ । बेन्चमा वृद्धवृद्धा निदाएका थिए । बरन्डामा बच्चा, महिला, पुरुष बग्रेल्ती गुँडुल्किएका थिए । ननिदाएको भनेको बिपीको सालिक मात्र थियो । अचानक सालिकको आवाज आयो “भो, म अब यिनको गोठालो लागिरहन सक्तिनँ ।”

वरिपरि हेरेँ । कोही छैन । आँखा मिचेर हेरेँ । सालिक आफ्नो ठाउँबाट शान्त भावले मलाई हेरिरहेको छ ! कसको गोठालो लागिरहेका थिए र अब किन नसक्ने भए ? मैले बुझिनँ । म त औषधीको खोजीमा थिएँ । अगाडि सडकका एक दुई ट्याक्सी र एम्बुलेन्सका ड्राइभरलाई बेवास्ता गर्दै बाहिरिएँ । लाजिम्पाट सडकमा औषधी पसल छावा छैन । फर्केर भित्रै पसेँ । केही उपाय लागिहाल्छ कि भनेर आँखा उपचार केन्द्रको पसलमा पुगेँ । त्यहाँ पाइयो— औषधी होइन जानकारी, “मनमोहन फार्मेसीमा पाइन्छ ।”

अब काँछ नि यो फार्मेसी ! घडी हेरेँ– साढे दुई बजे राति । “उ त्यो गार्डेनबाट उता जानोस् ।” गेटमा गार्ड रहेछन् मोबाइलमा भुलिएका । “यो बाटो नछोडी जानू, ठ्याक्कै पुग्नुहुन्छ ।” गार्डले विश्वास दिलाए ।

सडकबत्ती थिए, तर त्यसभन्दा बढी कुकुर थिए । धेरैवटा कुकुरले एक साथ भुक्ता, आसपास मान्छेको छावा नहुँदा र समय रातको साढे दुई हुँदाको जिरिङ्ग अनुभव बटुलेर मनमोहन फार्मेसीमा बिसाएँ । फार्मेसीकै सामुन्नेको हल जत्रो कोठामा असरल्ल निदाएकाहरूमध्ये दुई जनाले मलाई निद्रैमा आँखा उघारेर हेरे । लेखिएका मध्ये दुइटा मात्र औषधी पाएँ । अघिकै बाटो फर्कें हतार–हतार ।

एचाडयूभित्र छोरो पीडाले छटपटाइरहेको थियो  । एचाडयूबाहिर छोरी बिउँझै मलाई कुरिरहेकी थिई । नर्सस्टेसनमा औषधी दिएँ । बाहिर छोरी भाठाउँ आएँ । हामी दुवैको निद्रा भागिसकेको थियो । बाँकी रातलाई अलिकति कुर्सीमा ढल्कायौँ, थोरै बसायौँ र केही गफिएर भुल्यायौँ ।

एच्डियूभित्रबाट खबर आयो । छोरी (विभा) हत्तपत्त उठी र भित्र गई ।  सकेसम्म बुवालाई आराम दिन चाहान्छे । अघि औषधी लिन जान पनि उही चम्केकी थिई । जान दिइनँ मैले । र पनि यहाँ बिउँझै बसेर बाहिर पसल चाहार्न मलाई सघाइरहेकी थिई । ऊ भित्र गएपछि एक्लो भएँ म । उसो त बुद्धिसागरको ‘एक्लो’ पनि ल्याएको छु– अस्पताल बस्दा पढ्न । अहिलेसम्म पल्टाउने फुर्सद मिलेको  छैन ।

हिजोको दिन पनि अप्रेसनको पूर्व तयारीमा बित्यो । उसै पनि अप्रेसन भन्नासाथ कक्षा दसका विद्यार्थीलाई ’एसइई’ भने जस्तो हुने । त्यसमा पनि छोराको त २०६५ सालको दुर्घटनामै ड्यामेज भएको दाहिने खुट्टाको हिप फेर्नुपर्ने । अप्रेसन हुँदै गरेको समयमै हामीलाई ‘नयाँ हिप’को मूल्य तयारी अवस्थामा राख्न भनियो— दुई लाख त्रिचालीस हजार । अप्रेसन सकिने साथ ओटीभित्र ढोकै छेउको कोठामा ओटी ड्रेसकै एक मान्छेले बोलाएर भने, “खोइ ल्याउनुहोस् दुई लाख त्रिचालीस हजार ।”

“सर, केही डिस्काउन्ट गरिदिनोस् न!”

“एक रुपियाँ पनि छोड्न सकिँदैन ।”

“बरु भ्याटबिल चाहिँदैन सर, केही छुट त दिनोस् !”

“ल ल, अघि डाक्टरसाबले पनि भन्नुभाथ्यो । त्यसो हो भने दुई लाख पन्ध्र हजार दिनोस् ।”

“सर, यसको बिल पाइन्छ ?”

“बिल चाहिन्छ भने दुई लाख, त्रिचालीस हजार दिनोस् ।”

“चाहिँदैन, चाहिँदैन, ल, दुई लाख पन्ध्र हजारै लिनोस् ।”

“सर, हामीले पैसा कसलाई दियौं भनेर जान्नु ?” ओटीको ड्रेस लगाएका मास्कले मुख–नाक छोपेका, टाउकाको कपालसम्म ढाकेका ती मान्छेसँग मैले जिज्ञासा पोखेँ । तिनले मतिर आँखा फर्काए । आँखामा आक्रोश थियो । तिनले स्वर दह्रो पारेर भने, “मेरो नाम भेषराज गिरी हो ।”

तिनले विनोद ज्वाइँका हातबाट पैसा लिए, दुई लाख पन्ध्र हजार गने, सन्तुष्ट भए र फुरुङ्गिदै भित्रिए । हामी देख्तै नदेखेको सामानको अनुहारै नदेखिने नचिनेको मान्छेका हातमा बसौँ दिनको कमाइ थमाएर बाहिरतिर लाग्यौँ । सोच्छु– ती मान्छे को थिए ? यदि तिनी त्यस्तै सामान आपूर्ति गर्ने व्यापारी प्रतिष्ठानका एजेन्ट थिए भने हामीसँग ओटीबाहिरै ‘डिल’ हुनुपर्ने होइन र ? तिनी ओटीभित्र ओटीकै ड्रेसमा भेटिनुहुन्थ्यो ? अनि त्यसरी ओटीभित्र पैसा लेनादेना हुनुहुन्थ्यो ? ती व्यापारी एजेन्ट नै रहेछन् भने तिनको पहुँच कहाँ–कहाँ र कोकोसँग हुँदो रहेछ ।

यही परिघटनाले प्रस्ट पारेन र ? ओटीभित्र कोको बस्न पाउने भन्ने अस्पतालको नियम र आचारसंहिता पनि हुँदो हो ! ल भैगो, तिनी व्यापारी रहेनछन् अरे, के त्यसो हो भने तिनी अस्पतालकै आधिकारिक मान्छे हुन् ? अनि अस्पतालका आधिकारिक मान्छेले ओटीभित्र व्यापार गर्न चाहिँ मिल्छ त ?

तर, हामी त बिनारसिद नचिनेको मान्छेलाई दुई लाख पन्ध्र हजार रुपैयाँ बुझाएर बाहिरिएका निरीह प्राणी थियौं । हाम्रो ध्यान कुनै पनि सर्तमा छोराको अप्रेसन सफल होस् र ऊ पूर्ववत् हिँड्न सकोस् भन्नेमा मात्र केन्द्रित थियो । विधि र नियमका कुरा झिक्ता डाक्टर बिच्किन्छन् कि, बिरामीको उपचार राम्ररी हुँदैन कि, जस्तो आशङ्का मनभित्र राक्षस बनेर दाह्रा देखाइरहेको थियो ।

हाम्रो यही ‘फिलिङ्स’ कमजोरी बन्यो । यहाँ कोको दोषी छन् र ककसको कमजोरी छ भनेर पर्गेल्न पनि डरायौं हामी । अप्रेसन सकिएको छोरालाई कति बेला देख्न पाइएला भन्नेतिर मात्र हाम्रो ध्यान गइरह्यो । र, अहिले त्यही छोरो पोस्ट अपरेटिभ वार्डमा थियो, छोरी त्यसैलाई हेर्न वार्डभित्र छिरेकी थिई, समय बिहानको साढे तीन बजेको थियो, र म एक्लै बाहिर धुमधुमती बसिरहेको थिएँ ।

त्यसो त अपरेसनको अघिल्लो दिन पनि कक्षा छको विद्यार्थी परीक्षामा हिसाब नमिलेर छटपटाए झैँ निकै बेर छटपटाएको थिएँ । २०६५ सालमा छोरा विवेक गाडी दुर्घटनामा परेर यही अस्पतालमा तीन महिना उपचार गरेका थियौँ । डा. गोविन्द केसीको नेतृत्वमा ३/४ पटक अपरेसन गर्नु पर्दा अपरेसनअगाडि औषधीको जोहो गर्न ठूलै थैली चाहिन्छ भन्ने पूर्वज्ञान थियो हामीसँग । त्यसकारण यसपटकको अपरेसनमा अघिल्लै दिन औषधी तयार राख्ने कुरामा ठाडा कान लायौँ ।

परिचारिकाहरूले “डाक्टरले भरेसम्ममा लेखिदिनुहुन्छ, अनि ल्याउनू” भनेर हामीलाई थुमथुम्याइरहे । एकै चोटि बेलुका अस्पतालको फार्मेसीबाट छोराको सेलफोनको घण्टी बज्यो, “तपाईंको भोलि हुने अपरेसनको लागि औषधी तयार छ, लिन पठाउनुहोला ।”

छक्क परेर काम हुनेवाला थिएन । विधि र नियम खोज्नुको त्यहाँ प्रयोजन थिएन ।  खुरुखुरु फार्मेसी गएँ, “क्याबिन नं. १०२९ मा फोन गएको थियो; म औषधी लिन आएको ।” बिलअनुसार दस हजार चार सय पैँतालिस रुपियाँ बुझाएपछि भनियो, “तपाईंको याँ पाइने औषधी पोको पारुञ्जेल बाहिरबाट यी औषधी ल्याउनुहोला । यी याँ पाइँदैनन् ।” एउटा लामो सूचीपत्र थमाइयो मलाई ।

मन्दबुद्धिको आज्ञाकारी अनुचर झैँ सूचीपत्र लिएर लुरुलुरु बाहिर गएँ र तेह्र हजार रुपियाँ माथिको ओखती लिएर आउँदै गर्दा ईश्वरबाबु सघाउन आइपुगे । साँझ एनेस्थेसियाको डाक्टर आएर लेखिदिएपछि सबै औषधी जम्मा भयो । एउटा जिज्ञासा चाहिँ मेरो मनमा सोइसोइला खेलिरहेथ्यो— गणेशमान भवन, अर्थोको क्याबिन नं. १०२९ को बिरामीको अप्रेसन साउन २५ गते विहान हुँदैछ भनेर पुरानो भवनस्थित फार्मेसीलाई कसले थाहा दियो ? डाक्टरले औषधीको सूची कति बेला कहाँ बसेर तयार गरे ? त्यो सूची फार्मेसीवालाको हातमा कसरी पुग्यो ? र, किन पुग्यो ?

यी अनुत्तरित प्रश्नहरूलाई छोराको सुधार हुँदै गरेको स्वास्थ्य स्थितिको बर्कोले छोपेर राखेको छु । यो बर्को कसले उघार्ला ? कहिले उघार्ला ? कसरी उघार्ला ? आफैले छोपेको हुनाले मैले त उघार्ने कुरै भएन ।