कन्फ्युसियस, ताओ र बौद्ध शास्त्रहरू सदाचारको शिक्षा दिन्छन्। तिनका लमिलस्ट उपदेशलाई म त एकदमै अनावश्यक ठान्दछु । सज्जन कहलाउन मातृ-पितृभक्ति र दाजुभाइसितको प्रेमबाहेक अरू केही चाहिन्न। त्यसमा पनि मातृ-पितृभक्ति नै मुख्य हो । किनभने आमाबाबुले रुचाएकालाई आफूले पनि रुचाउने र उनीहरूले आदर गरेकाको आफूले पनि आदर गर्ने छोराछोरीले एउटै रगत-मासुसरहका आफ्ना दाजुभाइ दिदी-बहिनीसित मिलेर बसी उनीहरूलाई त्यसै खुसी पारिहाल्ने भए ।

सारा सम्पत्ति आमाबाबुले नै जोरेका हुनाले भाइहरूमा तेरो मेरो पर्नु, र उनीहरूले यो असल, यो खराब भनी झगडा गर्नु फजुल हो । गरिबका छोराछोरीले आमाबाबुबाट कुनै सम्पत्ति पाउन्नन् । सम्पत्ति जोर्न उनीहरूले आफ्नै पसिना चुहाउनुपर्दछ । तसर्थ अंशमा जमिन-जायदात पाउँदा पाउँदै पनि छोराछोरीले ‘फलानाका भागमा असल पर्‍यो, मेरा भागमा त खराब मात्र पर्‍यो’ भनेर बाबुआमालाई पक्षपातको दोष लगाई गाली गरे भने मरेर पनि तिनका पितृले शान्ति पाउन्नन् । पितृभक्त सन्तानले कहिल्यै पनि त्यस्तो नगर्ला ।

‘गाई भए गोरस, भाइ भए भरोस’ भन्ने आहानै छ । सम्पत्तिभन्दा दाजुभाइ कता-कता ज्यादै किम्मती हुन् । आमाबाबुभन्दा कसैको आफन्त हुन । सक्तैन भन्नु ठिक हो । तर आफूभन्दा उनीहरू निकै ठुला भइसकेका हुन्छन् । । त्यसैले उनीहरू आफूभन्दा अघि गइ पनि हाल्ने भए । तसर्थ उनीहरूका साथ जिन्दगीको आधा भाग मात्र बित्ने भयो । स्वास्नीका कुरा गरौँ भने ऊ पनि कम प्रिय हुन्न । कपाल सेताम्मै हुन्जेल पनि पति-पत्नीमा उस्तै मायाप्रीति रही नै रहन्छ । तर, बिहे हुनुअघि भिन्नाभिन्नै परिवारका भएकाले तिनको बाल्यकाल छुट्टाछुट्टै बितेको हुन्छ । उतातिर दाजुभाइ भने एउटै परिवारमा जन्मेका हुन्छन्, र नमरुन्जेल एकै ठाउँमा रहन्छन् । आइपरेका कुरा उनीहरू सँगै बसी मिलाउने पनि गर्छन् । गाह्रो साँघुरो पर्दा त्यसबाट उत्रनमा उनीहरू परस्पर सहायता पनि गर्दछन्, र जिन्दगीभर हातखुट्टा जस्तै आफ्नै रहिरहन्छन् । दाजुभाइको प्रेम भनेको कुरा यस्तै हुन्छ । सम्पत्ति आज नासियो भने भोलि फेरि जोर्न सकिएला । तर, दाजुभाइ नासिनु भनेको त शरीरको अङ्गै गएजस्तो हो – शरीर फेरि अघिजस्तो हुनै सक्तैन । उखानै छ, ‘दाजुभाइ लाख, धन- – सम्पत्ति खाक’ । बरु अंश नपाउनु बेस, एक टुक्रा जमिनका लागि नपाइसक्नु भ्रातृ प्रेम नास्तु भने नबेस । कङ्गालै भइयो भने पनि टन्टा-फसादबाट जोखिने सुख त कतै नजा !

मान्छे भद्र भए सुन्छ, पग्लन्छ त्यसको मन ।
वास्तै गर्दैन अर्काका दुःखको कपटी जन ॥

सम्राट् युङ लो (१४०३ – १४२५ इ) का पालामा शुनतिएन जिल्लाका शियानहो प्रान्तमा नी शाओ-चिइन नाम गरेका एक जना बडाहाकिम बस्तथे । उनले प्रशस्त जग्गा जमिन, धन-सम्पत्ति जोरेका थिए । उनकी पत्नी चेन परिवारकी छोरी थिई । त्यसबाट तिनको एउटा छोरो भएको थियो । त्यसको नाम शान ची थियो । छोरोको बिहे सिद्ध्याएपछि आमाचाहिँको स्वर्गवास भयो । स्वास्नी स्वर्गे भएपछि बडाहाकिम नि जागिरबाट राजीनामा दिएर एकान्त जीवन बिताउन लागे। तर, बुढो भइसके तापनि उनी बलियै बाङ्गा र ठमठमाउँदै थिए । तसर्थ आराममा समय खेर नफाली उनी तेजारत र उठ्ती-पुस्तीका सारा काम आफैँले हेर्ने गर्दथे ।
शान ची बाबुचाहिँलाई सम्झाउँथ्यो, “सत्तरी वर्ष बाँच्ने कोही-कोही मात्र होलान् । हजुर त उनासी पनि पुगिबक्सियो । अर्को वर्ष असी पनि होइबक्सिएला । जमिनदारीको झन्झट मलाई सुम्पी अब त हजुरले आराम गरिबक्सिए पनि हुने थियो ।
जवाफमा टाउको हल्लाउँदै बुढाले यो कविता भुनभुनाउँथे-

आफैँ सबै हेर्दछु कामधाम 
                                   फिक्री नलेऊ जबसम्म बाँच्छु ।

खानापिना, पहिरिन वस्त्र दिन्छु 
खुट्टै पसारी जबसम्म जान्न !

वर्षको दशौँ महिनाभरि नै बुढा बडाहाकिम रैतीका घर-घर घुमी आफैँ मालपोत असुल-तहसिल गर्दथे । रैतीहरूले आफ्ना सबभन्दा सप्रेका कुखुरा र बुढालाई मन पर्ने रक्सी टक्र्याएर उनको सत्कार गर्नुपर्दथ्यो । त्यस वर्ष पनि उनी सधैँ घुम्न निस्के । एक दिन मध्यान्हका बखत उनी गाउँमा डुलफिर गरी प्रकृतिको मनोहर छटाको आनन्द लिँदै थिए । त्यत्तिकैमा उनको दृष्टि एउटी ठिटी र सेताम्मे कपाल फुलिसकेकी बुढीमाथि पर्‍यो । तिनीहरू खोलाका किनारको एउटा ढुङ्गोमा लुगा धोइरहेका थिए । गाउँघरका मामुली लुगा लगाएकी भए तापनि ठिटी ज्यादै राम्री देखिन्थी-

कालो रत्नावलीको टलकयुक्त छटा देखिने केशमा छ । 
                          खोलाको पारदर्शीपन पनि उसका चञ्चले नेत्रमा छ । 
                         औँला हुन् वा मुना ती अतिशय कमला प्याजका भर्खरैका ? 
                          भिना भ्रू हुन् कि टाढा अलि-अलि लखिने वक्र पार्वत्य-माला ? 
                          लुगा घरबुनाका असाध्यै खुलेका-

भए रेसमी औ जरीवालजस्तै । 

                        थिई सुन्दरी वन्य पुष्पैसरिकी- 

 छ खाँचो अलङ्कारको के परेको ? 

                         कहाँ भेटिने कोमलाङ्गी ऊजस्ती 

थिई भर्खरै सोह्रकी जो कुमारी ?

त्यसलाई देख्नेबित्तिकै बडाहाकिम साहेबलाई बिहे गर्ने रहर लाग्यो । यताउति डुलेझैँ गरी उनी त्यहीँ अलमलिइरहे । ठिटी लुगा धोइसकेर बुढीका साथ एकातिर लागी । पाँच-सात घर नाघेर तिनीहरू एउटा बारको ढोका उघारी त्यसैभित्र पसे । बुढाले पनि सरासर घर पुगी गाउँको मुखियालाई डाकेर त्यस ठिटीको बिहे कतै ठिक भइसकेको रहेछ कि रहेनछ ? – बुझेर आइज भनी पठाइहाले । उनले भने, “ठिक भइहालेको रहेनछ भने मेरा लागि कलियो हालिहेर त, के भन्दा रहेछन् ।”

मालिक रिझाउने मौका यसरी आइपरेकोले मुखिया खुसी भयो । त्यसले राम्ररी बुझी हेर्दा – केटीको नाम मेइ रहेछ । बाबु चाहिँले जिल्लाको हाकिमका लागि हुने सरकारी जाँच पास गरेका रहेछन् । तर, छोरी सानै छँदा आमाबाबु मरिसकेकाले मेइ टुहुरी हुन गएकी रहिछ । एउटी बज्यै पर्नेले त्यसलाई लगी पालेकी रहिछ । ऊ अहिले भर्खरै सोह्र पुगी सत्र मात्र लागेकी रहिछ । त्यसलाई माग्न अझै कोही आएको रहेनछ ।

यति कुरा राम्ररी बुझिसकेर मुखियाले बुढीलाई फकायो, “तिम्री नातिनीलाई हाम्रा मालिकले मन पराइबक्सियो । मालिक्नीको स्वर्गे भएको धेरै भइसक्यो । तसर्थ घरमा कसैको अह्रन-खटन छैन; रोजेका सारा कुरा पाउने नै भइन् । साथै तिम्रा लागि पनि एक माना खाने र एउटा जिउ ढाक्ने लुगाफाटाको राम्रै बन्दोबस्त भइहाल्छ । मरेपछि भनेजस्तो किरिया-कर्म हुने चिन्ता पनि गर्नुपर्दैन । यस्तो मौका गुमाउनु किमार्थ ठिक होइन ।”

मुखियाका यस्ता लोभलाग्दा कुरा सुनेर बुढी दङ्ग परी आफै के खाऊँ, के लाऊँ भइरहेको थियो, त्यसमाथि झन् नातिनीको बिहे गर्ने फिक्रीसमेत थपिएको थियो । नातिनी पनि आफ्नै होइन – त्यसै ल्याएर पाल्नुपरेकी । नाइँनास्ति गर्ने खण्डै थिएन त्यसले तुरुन्तै ‘हुन्छ’ भनिहाली । बिहेका अरू – कुरा मिलाउन कति बेर लाग्थ्यो ?

खुसखबरी सुनाउन मुखिया दौडिहाल्यो । कुरा सुनेर बुढा पनि दङ्ग परे । दस्तुरबमोजिम केटी र बुढीलाई दिनुपर्ने सर-सौगातका कुराको निधो गरी झटपट लगन पनि जुराइहालियो । छोरोले गडबडी गर्ला भन्ने डरले बुढाले गाउँबाटै साइपाटो पठाउनु र बिहेका सबै विधि-विधान सिद्ध्याइहाल्नु ठिक ठाने । झटपट बिहे पनि सिद्धिइहाल्यो । त्यस्ता बुढासित त्यस्ती कलकलाउँदी केटीको बिहे भएको देख्ने सुन्ने सबैले ‘कठै बिचरी टुहुरी !’ भने ।

तीन दिनपछि तामदान बन्दोबस्त गरी बुढाले छोरा-बुहारीसित भेटघाट गराउन नयाँ दुलहीलाई घर लगे । घरका सारा मानिसले नयाँ मालिक्नीको दर्शन गरे । बुढाबाट नयाँ लुगाफाटा पाएका हुनाले सबै जना दङ्गै थिए । खुसी हुन नसक्ने एउटा नि शान ची मात्र थियो । बाबुलाई हाकाहाकी भन्ने साहस त त्यसको भएन, एकान्तमा स्वास्नीसित भने त्यसले पेटभरि कुरा काट्यो । त्यसले भन्यो, “बुबाले यो स्वाँठ काम गरिबक्सिएको हो । यस उमेरमा त मानिस हुरीको मैनबत्ती जस्तै हुन्छ । बुबाबाट यस कुराको राम्रो विचार हुनुपर्ने थियो। अब खुब बाँचे पाँच दश वर्ष मात्र त हो नि भन्ने आफै जान्दाजान्दै पनि त्यस्ती केटी बिहे गर्नु गलगाँडै भिर्नु हो। यो त अचाक्ली नै गरिबक्सिएको हो । यसले परिवारकै बदनामी हुन जाने छ । फेरि, यस्ता बुढासित बिहे गर्ने केटीहरू त अनिकालमा ज्यान जोगाउन आउने जस्ता हुन्छन् – अनिकाल टर्‍यो, हिँडिहाल्ने । यस्ता स्वास्नी मान्छे हात परेका जम्मै धनमाल खुरुखुरु ओसार्न बाँकी राख्तैनन् – केही यता घुसार्छन्, केही उता । दिनरात बुढो पोइबाट लुगा-गहना फुत्काउने ध्याउन्नबाहेक ती केही गर्दैनन् । अनि आखिरमा एक दिन रुख ढल्नासाथ चरी त भुर्र उडिहाल्छे । अनि अन्तै गई घरजम गरेर लुटी ल्याएको सम्पत्तिले मजासित सोख गर्छे । रुख मकिसकिएकै छ, गेडाभित्र घुन पसिसकेकै छ अब कति बेर छ र ? परिवारका लागि यस्ता स्वास्नी मान्छे घरभित्र हुल्नुभन्दा नराम्रो केही छँदै छैन । यस आइमाईको छाँट पनि असल देख्तिन । कुलघरानकी त यो हुँदै होइन । यस्ताहरू कम जिद्दीवाल पनि हुन्नन् । बुबाले सरासर केटाकेटी काम गरेको देखेर उहाँलाई आफ्ना मुठीमा पारिहाल्न उसलाई के बेर ? त्यो त कमारी पो हो, हामीले त्यसको सम्मान किन गर्ने ? अहिलेदेखि नै थाप्लामा टेकायौँ भने पछि तर लाउन गाह्रै पर्नेछ । उता बुबा भने सबै जना त्यसलाई ‘मालिक्नी’ र ‘हजुर’ नै भनुन् भन्ने ढिपी गरिबक्सिन्छ । कस्तो मजाको कुरो । हामीले पनि त्यसलाई ‘आमा’ भन्ने रे । हुनै नसक्ने कुरो ! अलिकति मान मिजास पाउनेबित्तिकै त ऊ फुरुङ्ग परिहाल्छे । अनि त बाँच्नै गाह्रो ।”

नी शान-चीका लोग्ने स्वास्नी दिनरात यसरी नै गनगनाइरहन्थे । कसैले लगी तिनका कुरा सुनायो भने बुढा चुपचाप सुनिरहन्थे, पटक्कै बोल्दैनथे । भाग्यले नयाँ दुलही साह्रै मिजासिली थिई । मिजासैले अरू सारालाई रिझाएकी हुनाले घर-गृहस्थी चलाउन उसलाई पटक्कै गाह्रो परेन ।

दुवै महिनामा उसको जिउ भारी भयो। तर, आफ्ना लोग्नेबाहेक यो कुरो उसले कसैसित भनिन। तीन दिन एक दिन, र नौ दिन तीन दिनजस्तो हुँदै छिटै दश महिना पनि पूरा भयो र छोरो जन्म्यो । सुन्नेजति छक्कै परे । वर्षको नवौँ महिनाको नवौँ दिनमा जन्मेको हुनाले छोरोको बोलाउन नाम चुङ-याङ राखियो । त्यसै वर्षको एघारौँ महिनामा बडाहाकिम साहेबको असिऔँ जन्मोत्सव भएकोले बधाई दिनेहरू उनका घरमा जम्मा भए । बुढाले आफ्नो जन्मोत्सव र छोरो जन्मेको खुसीयाली भोज एकैसाथ खुवाए । चलनअनुसार तेस्रो दिन बच्चाको स्थान कर्म पनि विधिपूर्वक गरियो ।

ताँदोबाट छुटेको बाण समय हुत्तिदै गएर एक वर्ष पूरा भयो। चुङ-याङ एक वर्षको पुग्यो । उद्योग रोज्ने उत्सव मा नातादारहरूले उसलाई आशीर्वाद दिए । तर, शान ची भने पाहुनाहरूको आदर सत्कार गर्नु त कता कता, बरु बाहिर पो हिँड्यो । बाबुचाहिँ त्यसका मनका कुरा बुझ्दथे । तसर्थ त्यसलाई डाक्नतिर नलागी उनी आफैँ दिनभरि आउने जाने मानिसको स्वागत सत्कारमा व्यस्त रहे । भन्न केही नभने पनि बुढा झन् झन् झोकिएका थिए ।