अमेरिकी कवि लुइस ग्लिकको ८० वर्षको उमेरमा निधन भएको छ ।

उनकी एजेन्ट एलिजा फिसरले उनको मृत्युको जानकारी दिँदै भनेकी छन्, ‘उनी ज्यादै उम्दा कवि, लेखक, शिक्षिका, आमा र साथीसँगै मेरो गज्जबको ग्राहक थिइन् ।’

ग्लिकले सन् १९६८ मा फस्टबर्न कविता संग्रह प्रकाशन गरेकी थिइन् । पहिलो कृतिबाट नै उनले नयाँ शिल्प प्रयोग गरेको भन्दै समकालीन कविहरूमा नाम जमाएकी थिइन् । तर सन् १९८५ मा उनको द ट्रम्फ अफ अकिलिज कृतिपछि भने उनी विख्यात नै भइन् । सन् १९९० को दशक उनका लागि महत्त्वपूर्ण रह्यो । उनको अरारतले संसारभर फैलने अवसर पायो भने सन् १९९३ मा द वाइल्ड आइरिस कृतिमार्फत पुलित्जर पुरस्कार हात पारिन् ।

सन् २००३ देखि २००४ सम्म उनलाई अमेरिकी सर्वोच्च कविको सम्मानपूर्ण पदवि दिइएको थियो भने सन् २०१४ मा उनले नेसनल बुक अवार्ड हात पारेकी थिइन् ।

उनले जीवनकालमा कयौँ विश्वविद्यालयमा अंग्रेजी साहित्य र सिर्जनशील लेखन पढाइन् ।

सन् २०२० मा भने नोबेल पुरस्कार जितेकी थिइन् ।