फाइनान्सियल टाइम्सका विशेषज्ञहरूले प्यालेस्टाइन र इजरायलबीचको द्वन्द्वलाई मज्जाले बुझ्न निम्नलिखित पुस्तकहरू सुझाएका छन् ।
अरब-इजरायलीबीचको द्वन्द्व दुई बन्दुकबीचको लडाइँमा मात्र सीमित भएको छैन । यतिबेला बेलायत, फ्रान्स र अमेरिकामा दुई पक्षका युवाहरू एकअर्कालाई पीडक बताउन भिड्न समेत थालेका छन् ।
यस्तोमा किताब पढेरै निर्क्यौल निकाल्न जरूरी हुने केहीको मत छ । विशेषज्ञहरूले निम्नलिखित पुस्तकहरू सुझाएका छन्ः
इनेमिज एन्ड नाइबर्सः अरब्स एन्ड ज्युज इन् प्यालेस्टाइन एन्ड इजरायल १९१७-२०१७
इयान ब्लाकले लेखेको यो पुस्तक बजारमा २०१७ मा आएको थियो । बालफोर घोषणा भनेर चिनिने इतिहासको महत्त्वपूर्ण समयलाई समयसीमा राखेर लेखक इयानले यी सय वर्षमा के के भए र किन भए भनी विश्लेषण गरेका छन् ।
एटिन डेज इन अक्टोबरः द योम किपुर वार एन्ड हाउ इट क्रिएटेड द मोर्डन मिडल इस्ट
युरी कफम्यानले २०२३ मा लिखित यो पुस्तकले योम किपुरको युद्धको ५० वर्ष पुगेको अवसर पारी यो पुस्तक प्रकाशन गरेका हुन् ।
योम किपुरको युद्धमा इजिप्ट र सिरियाली सेनाले चकित पार्ने हिसाबले आक्रमण गरेका थिए । यसले इजरायल राष्ट्रलाई नैतिक संकटमा पारेको तर्क लेखकको छ । त्यो बेला इजरायलको कमजोरीलाई नियाल्ने प्रयास गरिएको छ ।
बिबीः द टर्बुलेन्ट लाइफ एन्ड टाइम्स अफ बेन्यामिन नेतन्याहु
सन् २०१८ मा बजारमा आएको यो पुस्तक इजरायलका हालका प्रधानमन्त्री बेन्यामिन नेतन्याहुको जीवनी हो । एन्सेल फेफरले लेखेको यो जीवनी निकै रोचक प्रस्तुति छ । रोचक हुनुमा यसका लेखक एक पत्रकार तथा विश्लेषक हुनु पनि हो ।
अ डे इन द लाइफ अबेद सलमाः अ प्यालेस्टाइन स्टोरी
नाथन थ्रलले हालै बजारमा ल्याएको यो पुस्तकमा एउटी बालिकाको नजरबाट प्यालेस्टाइन क्षेत्रमा रहेको दैनिकी के कस्तो छ भन्नेबारे लेखिएको छ ।
फुटनोट्स इन गाजा
सन् २००९ मा जो साक्कोले लेखेको यो गैरआख्यान ग्राफिक उपन्यास निकै रोचक छ । खासमा सन् १९५६ मा राफाहमा १११ जना प्यालेस्टाइनहरूको सामूहिक हत्या गरेका इजरायली सेनाको खुलासा यसमा गरिएको छ । यतिबेला यो पुस्तक निकै महत्त्वपूर्ण बन्न पुगेको छ ।
हमासः द इस्लामिक रेसिस्टेन्स मुभमेन्ट
बेभर्ली मिल्टन एडवार्ड्सले स्टिफन फरेलसँग मिलेर सन् २०१० मा निकै गहन अनुसन्धान गरी लेखेको यो पुस्तकले प्यालेस्टिनी क्षेत्रको भित्री पत्र उधिनेको छ ।
यसमा हमासको उत्पत्ति, यसको संरचना, समयक्रममा यसले आफूलाई अस्तित्वमा राखिरहन गरेको संघर्षसँगै अहिलेको गाजा क्षेत्रलाई यो आकार दिन यसको भूमिकामाथि यो पुस्तक छ ।
द आइरन केजः द स्टोरी अफ द प्यालेस्टाइनी स्ट्रगल फर स्टेटहुड
रसिद खालिदीले सन् २००७ मा बजारमा ल्याएको यो पुस्तकमा २० औँ शताब्दीमा जब बेलायतीहरूबाट स्वतन्त्रता प्राप्त गरे, प्यालेस्टिनीहरूले कसरी एउटा मुलुकको दर्जा हासिल गर्न सकेनन् भन्ने विषयमा विषद् चर्चा गरिएको छ । तर यो पुस्तकको मुख्य कुरामा भने उनले बढीभन्दा बढी बाहिरी तत्त्वहरूको चर्चा गरेका छन् । त्यसो त उनले प्यालेस्टिनी नेताहरूको पनि आलोचना गरेका छन् तर मुलुक नबन्नुका पछाडि बाहिरीभन्दा भित्री तत्त्व बढी जिम्मेवार हुन्छन् भन्नेमा उनले टिप्पणी कम गरेको महसुस हुन्छ ।
अ पिस टु इन्ड अल पिसः द फल अफ दि ओटोमन एम्पायर एन्ड द क्रिएसन अफ द मोडर्न मिडल इस्ट
डेभिड फ्रोमकिनले लेखेको यो पुस्तक सन् १९८९ मा बजारमा आएको थियो । अटोमन साम्राज्यको पतनका नाटकीय घटनाहरूलाई सूक्ष्म रूपमा लेखकले उधिन्दै तिनलाई संक्षिप्त रूपमा व्याख्या गरेका छन् । अटोमन साम्राज्यको पतनले कसरी मध्यपूर्वलाई गहिरो धक्का लाग्यो भन्नेबारे यसले देखाउँछ ।
अ लाइन इन् द स्यान्डः ब्रिटेन, फ्रान्स एन्ड स्ट्रगल द्याट सेप्ड द मिडल इस्ट
जेम्स बारले २०११ मा लेखेको यो पुस्तक मध्यपूर्व, फ्रान्स र अरब मुलुकहरूबीचको पहिलो विश्वयुद्धताकाको चित्र कोरेको छ । लेखक बारसँग ठूलो मात्रामा कूटनीतिक पत्रहरूलाई आधार बनाएर लेखेको यो पुस्तकले साम्राज्यहरूको लोभलाई देखाउँछ ।
इजरायलः अ हिस्ट्री
अनिता सपिराले २०१२ मा लेखेको यो पुस्तकले अरब इजरायली समस्यामा केन्द्रित छैन । यसले यहुदीवादको शुरूवाती समयदेखिका बारेमा जानकारी दिन्छ ।
अ टेल अफ लभ एन्ड डार्कनेस
सन् २००२ मा एमोस ओजले आफू बाल्यकाल छँदा प्यालेस्टाइन क्षेत्रमा के कस्ता कुरा देखे भोगेँ भन्नेबारे लेखिएको पुस्तक हो । चर्चित उपन्यासकार समेत रहेका एमोसले इजरायलको गलत व्यवहारका कारण प्यालेस्टिनी सपना कसरी चकनाचुर भयो भन्नेबारेमा यसले बताउँछ ।
यति किताब पढेपछि इजरायल-अरब समस्या तपाईंले जरैबाट थाहा पाउनुहुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।