फिल्म अभिनेत्री उषा रजकले केही समयअघि नाट्यकर्मी अनुप बराललाई ‘कागबेनी’ फिल्ममा आफ्नो सट्टा आफ्नी प्रेमिका दीया मास्केलाई फिल्ममा लिएको दाबी गरेकी थिइन् । उनको सो टिप्पणीलाई प्रायः कसैले पनि गम्भीर रूपमा लिएन ।

केहीले त उनको सो भनाइलाई अटेन्सन सिकिङसमेत भनिदिए । यस्तो भन्नेमा फिल्म उद्योगलाई नजिकबाट चिन्नेहरू पनि थिए ।

फिल्म उद्योगमा अभिनय गराउँदा कसलाई लिने र कसलाई नलिने, लिने/दिने सन्दर्भ नमिलाई यहाँ केही पनि नहुने कुरालाई केहीले ओपन सेक्रेटका रूपमा लिइन्छ ।

हालै भारतीय अभिनेत्री रतन राजपुतले यस्तै एउटा टिप्पणी गरेकी छन् । सो टिप्पणीले अखबारका पाना र अनलाइन मात्र रंगिए । यस्ता कुरालाई त्यहाँ पनि गम्भीर रूपमा लिइएन किनभने त्यहाँ पनि यो एउटा ओपन सेक्रेटका रूपमा लिइन्छ ।

के भनेकी थिइन् राजपुतले ?
टेलिभिजन उद्योगमा नाम र काम चलेकी अभिनेत्रीका रूपमा रतन राजपुतलाई लिइन्छ । उनले आफ्नो अभिनयले दर्शकलाई मोहित पारेकी छन् । तर यो स्थान हासिल गर्न उनले निकै पापड बेल्नु पर्यो ।

उनले १४ वर्षअघि आफू मनोरञ्जन उद्योगमा आउँदाका बेला स्मरण भिडियो जारी गरेकी छन् । उनले त्यो बेला एक जना टेलिभिजन निर्माताले उनलाई अभिनय गर्ने भए आफूले भनेको मान्नुपर्ने र गःलफ्रेन्ड हुनुपर्ने प्रस्ताव राखेको र सो प्रस्तावले आफू चकित र आक्रोशित भएको बताएकी छन् ।

सिधासिधा रूपमा ती निर्माताले अभिनयमा जम्ने भए आफूसँग सुत्नुपर्ने प्रस्ताव राखेका थिए ।

यस्तो प्रस्ताव सुनेपछि राजपुतले ती निर्देशकलाई भनेकी थिइन्, ‘तपाईंले मसँग यस्तो प्रस्ताव कसरी राख्न सक्नुहुन्छ ? म त तपाईंकी छोरीकी उमेरकी छु ।’

ती निर्देशकले त्यसपछि जे भने, त्यसले आफू थर्थराएको प्रतिक्रिया राजपुतले दिएकी छन् । ती निर्देशकले भनेका थिए, ‘मैले मेरै छोरीलाई पनि यो उद्योगमा अभिनय गर्न पठाउनु पर्यो भने उसले पनि यस्तो सम्झौता गर्नै पर्छ । जरूरी नै पर्यो भने पनि मैले ऊसँग सुत्नुपर्ने हुन्छ । त्यसका लागि म आफू पनि हिच्किचाउनु हुँदैन ।’

१४ वर्षअघि ६०/६५ वर्षको बूढोले यस्तो प्रस्ताव राखेको कुरालाई उनले किन यतिबेला खुलासा गरिन् त ? त्यस्तो के आइपर्यो होला ? त्यसतिर पछि जाऔँला ।

ती निर्देशकले कच्चा उमेर र अभिनयकी राजपुतलाई कारण खुलाउँदै भनेका थिए, ‘यस्तो अनुहार र चालढालले उद्योगमा टिकिँदैन । कम्तीमा अनुहार र पहिरनका लागि दुई/अढाई लाख खर्च गर्नुपर्ने हुन्छ । ती सबै मैले किन गर्नु ? केका लागि गर्नु ? मलाई पनि त फाइदा केही हुनुपर्यो । त्यसैले तँ, मसँग साथी हुनुपर्छ र म तेरो गडफादर बन्नुपर्छ ।’

जवाफमा राजपुतले भनेकी थिइन्, ‘तपाईंले भनेका कुरा मान्छु । तपाईंका प्रत्येक शब्दलाई ध्यान दिन्छु तर साथी बन्न चाहिँ सक्दिनँ ।’

यो सुनेपछि ती निर्माता उनीसँग क्रुद्ध भएको राजपुतको दाबी छ । यही रिसाएको क्षणमा ती व्यक्तिले आफ्नै छोरीलाई फिल्म खेलाउनु पर्दा बिना फाइदा नखेलाउने भन्ने सन्दर्भमा सो कुरा उल्लेख गरेको उनको भनाइ छ ।

उनले भ्लगमा यतिबेलाको जस्तो आत्मविश्वास भएको भए ती व्यक्तिलाई लगाइरहेको चप्पल निकालेर त्यहीँ हानेर निस्कने टिप्पणी गरेकी छन् ।

धेरैले उनको सो टिप्पणीमा त्यही बेला हानेको भए पो भन्ने प्रतिक्रिया दिएका छन् ।

तर यत्तिका वर्षपछि उनीहरूले यस्ता कुरामा मुख किन खोल्छन् ? किन त्यै बेला यसबारेमा खुलेर कुरा गर्दैनन् भन्ने कुरा पनि नउठ्ने होइन । प्रायः दबेको स्वरमा उद्योगभित्र यस्ता कुरा चलिरहेका हुन्छन् तर त्यसमा कसैले पनि चासो लिँदैनन् । त्यही भएर यस्ता कुरा फिल्म तथा मनोरञ्जन उद्योगमा ओपन सेक्रेटका रूपमा वर्षौं रूमल्लिइरहेका हुन्छन् ।

यति भनेपछि भन्नेलाई सन्तुष्टि र सुन्नेलाई पनि सन्तुष्टि !