प्रसिद्ध नाटककार सीन ओ’केसी ३० मार्च १८८० मा आयरल्याण्डको राजधानी डब्लिनमा जन्मेका थिए । उनले गरिबीको पीडा भोगेको आफ्नो तीतो बाल्यकाल डब्लिनको सानो घरमा बिताय । उनले कहिल्यै औपचारिक शिक्षा प्राप्त गर्ने अवसर पाएनन् । डब्लिनका गल्लिहरूमा उनले अनौपचारिक शिक्षा प्राप्त गरी चोध वर्षको उमेरदेखि स्वअध्ययन बढाउँदै लगे ।

आफ्नो जीवनरूपी गाडी अघि बढाउन उनले अनेकौँ दुःख गर्नुपर्यो । उनी अखबार विक्रेता, जहाजको कुल्ली, ढुङ्गा कुँद्ने कामदार, रेल्वे कर्मचारी र निर्माण श्रमिक समेत भए । सन् १९१३ मा आयरेली नागरिक सेनाको सङ्गठन गर्न उनले मद्दत गरे । त्यसै वेला उनले शेक्सपियरको नाटकीय शिल्पको अध्ययन गरे । उनका प्रारम्भिक नाटक डब्लिनको अब्बी नाट्यशालामा प्रदर्शन गरियो । तेस्रो दसकको अन्त्यतिर अमेरिकाको भ्रमणपछि उनी डेभोन्सायरमा बसाइँ सरे । उनका नाटकमा आयरेली गृहयुद्धका वेला डब्लनका निम्नवर्गीय जनताले भोगेका दुःखको यथार्थ चित्रण पाइन्छ । आयरेली श्रमिकका विषयवस्तुमा लेख्ने उनी पहिलो समाजवादी नाटककार हुन् । जुनो एण्ड पेकक (Juno and Paycock) भन्ने अर्द्ध सुखान्त (Tragi-comic) नाटकबाट उनी सफल हुन पुगे । शुरूको अन्त्य(The End of the Beginning), माग भएमा एक पाउण्ड (A Pound on Demand), निको पार्ने घर (A Hall of Healing), सुत्ने बेलाको कथा (Bedtime Story), जाने समय (Time to Go), बैजनी धूलो (Purple Dust), मलाई राता फूलहरू (Red Roses to Me), बन्दुकधारीको छायाँ (The Shadow of a Gunman), हलो र ताराहरू (The Plough and the Stars), आदि उनका प्रमुख नाटक हुन् ।

८४ वर्षको उमेरमा १८ सेप्टेम्बर १९६४ का दिन बेलायतको टोर्के, डेवनमा ओ’केसीले देह त्याग गरे ।