“आमा मरेको खबर छोरालाई सुनाइदिए हुन्छ

तर बिन्ती, छोरा मरेको खबर आमालाई नसुनाइदिनू”

–       पृष्ठ ८७

डाक्टर,  इन्जिनियर तथा अन्य क्षेत्रका विद्यार्थीहरू प्रायः विदेशिएर बाहिरै बस्न रुचाउँदा देशमा युवा शक्ति  अभाव बढ्दै गएको छ । यसले दशको विकाश हुनु पर्ने क्षेत्रहरूमा विकाश हुनुमा धेरै बाधा अर्चन सिर्जना गरेको छ ।  यस्तै बाधा सिर्जना भइरहेको क्षेत्र हो हाम्रो स्वास्थ्य क्षेत्र ।

स्वास्थ्य विज्ञान पढेका विज्ञहरू सबै अमेरिका कि  युरोप नत्र अस्ट्रेलिया वा संसारको अरु कुनै कुनामा ऐश र सरल जीवनको खोजीमा हुन्छन् । हुन त याे मानवीय स्वभाव पनि हाे । स्वदेशमा भने राम्रो स्वस्थ सुविधा नपाएर निश्चल जीवनहरूको अन्त्य भएको समाचार दिनदिनै छिनछिनै सुन्न पाइन्छ ।

यस्तै दुविधाहरूका कारण कति आमाहरूको आफ्नो शिशु काखमा खेलाउने सपना सपनैमा मात्र सीमित रहन्छ। पर्याप्त स्वास्थ्य सुविधा नहुँदा कति आमाहरू आफ्नो सन्तानको ज्यान जोगाउन आफ्नै ज्यान जोखिममा राख्न बाध्य हुन्छन् ।

सबै दोष भने स्वास्थ्य क्षेत्रलाई मात्र दिन पनि मिल्दैन। दोष समाजको पनि छ ।

सन्तानको सम्पूर्ण हेरचाह गर्ने जिम्मेवारी केवल महिलाको मात्र हो भन्ने अन्धविश्वास हाम्रो पितृसतात्मक नेपाली समाजमा रहेको तितो सत्य हो । घरेलु हिंसा र आफ्नै पत्नी माथि कुटपिट गर्ने जस्ता कार्यले परिवार तथा समाजमा महिलाको आवाज सुन्ने कानहरूको सङ्ख्या निकै नै न्यूनतम छ ।

जुन परिवारको पारिवारिक खुसीमा आमाको ठूलो भूमिका हुन्छ । परिवार व्यवस्थापनमा श्रीमानको जत्तिकै महत्वपूर्ण जिम्मेवारी श्रीमतीको पनि हुन्छ । भूमिकाको असमान बाँडफाँड भएमा परिवारमा विभिन्न समस्या उत्पन्न हुन्छन् । झन् कर्णाली क्षेत्रजस्ताे दुर्गम क्षेत्रमा पारिवारिक सुखीमा महिलाको भूमिकाको बारेमा चेतना फैलेको नहुँदा यस्ता ठाउँमा नै आमा र शिशुको ज्यानलै बडी जोखिममा हुन्छ ।

डा. केसीको शून्यको मूल्य समाजका यस्तै आमाहरूको सास, साहस र स्नेहको कथाहरूको एउटा सिर्जनात्मक आख्यान हो ।

डा. नवराज केसीको शून्यको मूल्य पढ्दा किताब पढेको भन्दा पनि नेपालका सुन्दासुन्दै पनि नौलो लाग्ने, देखिआएको हुँदा पनि नदेखेको जस्तो लाग्ने कुनाहरूको यात्रा गरेको अनुभूति भयो । म कहिल्यै कर्णाली क्षेत्र प्रवेश नगरेको भए पनि यो किताब पढेपछि कहिले बुधेको कोलडा.ँडा. गाउँबाट कहिले कालापहाडको कर्किनी बज्यैको पसलसम्म,  कहिले डोल्पाको धोतरकी पुतलीआमाको कथाबाट  त कहिले हुम्लासम्म आफ्नो भन्ने जति सबै बेचेर आफ्नो बच्चाको उपचार गर्न आएका भेडीनी कान्छीको कथाले थाेरै भए पनि कर्णालीलाई  जान्न पाएँ ।

यी सबै पात्रहरूको कथा पढेर कर्णालीको सामाजिक, आर्थिक तथा  शैक्षिक अवस्थाको एक झलक पाएँ । मलाई सामान्य लाग्ने कापी, कलम र झोला कर्णालीका बुधे र मिनाहरूका लागि ठुलो उपहार स्वरुप रहेछ । एउटा कापी र एउटा किताब बोक्ने झोलाका लागि बुधेको हतासकाे अनुभव गर्न पाउँदा मैले आफूले पढ्न पाएको सुविधा जस्तो ठुलो उपहारलाई त कति सामान्य रुपमा लिएको रहेछु भन्ने कुरा बुझें ।

भित्रि मनबाट मलाई पढाउने र जान्ने बनाउने कार्यलाई आफ्नो धर्म ठान्ने मेरा आमाबुबा तथा मेरा शिक्षकहरूलाई आभार व्यक्त गर्न मन लागेकाे छ ।

सबै उमेरका पाठकले बुझ्न सक्ने सरल भाषाशैलीमा लेखिएकाे शून्यको मूल्यमा धेरै आमाका प्रेम र सङ्घर्षहरू जीवन दर्शन र स्वस्थ विज्ञानका कुराहरू सिक्न पाइन्छ नै । पाँच अध्यायमा विभाजित यस आख्यानबाट मैले पाँच जुनीमा पनि नपाइने अनुभव बटुल्न पाएझैँ लागेको छ ।

लेखक केसीले बुधेकी फ़ुपुआमा, नानीआमा, भेडिनी कान्छी हिम्मतबहादुर भीमकाजी, जुम्ल्याहाका बाआमाका  कथाहरूले  हरेक मातापिताले आफ्नो सन्तानलाई हुर्काउनु पर्ने, सन्तानलाई सरल जीवन दिनुपर्ने जस्तो महत्वपूर्ण जिम्मेवारीको बारेमा आभास गराएका छन् ।

जन्म दिएर मात्र एक महिला आफ्नो आमाको धर्म पुरा गर्दिनन् । आफ्नो सन्तानका लागि गर्ने अनेकौँ सङ्घर्ष र कठिन तपस्याले मात्र एक महिला आमा बन्छिन् भन्ने कुरा यी पात्रहरूबाट मैले सिक्न पाएँ ।

विज्ञानले पनि आमा र हजुरआमाको प्रेममा हुर्केका बालकहरूपछि गएर सभ्य र बुद्धिमान स्वभावको बन्छन् भन्ने कुरा पुष्टि गरेको रहेछ । हाम्रो जीवनमा आमा र हजुरआमाहरूको प्रेमको कति ठूलो भूमिका हुँदोरहेछ भन्ने कुरा जानकारी मेराे विकसित हुँदै गरेकाे दिमागमा कतै थियाे हाेला तर त्याे जाग्न थाल्याे ।

किताब पढ्दै जाँदा कताकता मलाई साना कक्षाहरूमा सामजिक विषयमा पढाइने ‘साक्षरता विकासको मेरुदण्ड हो’ भन्ने भनाइ याद आयो । साना कक्षामा सुन्दै आएको अति सामान्य लाग्ने भनाइको पूर्ण अर्थ यो पुस्तक पढे पश्चात् बुझे झैँ महसुस गरें । कर्णालीमा वर्षौंदेखि सुव्यवस्थित विकास हुन नसक्नुको प्रमुख कारण निरक्षरता नै रहेछ । समाजमा मानिसहरू शिक्षित नहुँदा धेरै सामाजिक समस्याहरू उत्पन्न हुन्छन् ।

अशिक्षित समाजमा बोक्सी प्रथा, भेदभाव र बालविवाह जस्ता सामाजिक समस्याहरू हुनु सामान्य नै छ । यस्ता समस्याले मानिसलाई कति कठिनाइहरूसँग जुध्न बाध्य बनाउँछ भन्ने कुरा त भेडीनी कान्छी र चौधरीका जुम्ल्याहको कथाबाट नै ज्ञात हुन्छ । यस्ता पारिवारिक समस्यामा पर्नु भनेको आर्थिक दुविधाहरू निम्त्याउनु हो । पढ्ने लेख्ने उमेरमा परिवार धान्न परेपछि जीवन सप्रेला भन्ने भ्रममा नपर्नु नै राम्रो हुन्छ ।

अल्पविकसित र अशिक्षित समाजमा मानिसहरूले यस्ता जटिल समस्याहरूको सामना गर्नु परेको अवस्थामा त्यसको सहज समाधानको अपेक्षा कसरी गर्ने ? यी सबै समस्याको समाधान भनेको साक्षरता र चेतना हो, जुन कर्णाली क्षेत्रमा निकै कमजोर अवस्थामा छ ।  हाम्रो देशमा टाढाको परदेशमा आरामदायी जीवन बिताउने रहरमा अन्धो नहुने यस कथाका डाक्टरजस्तै शिक्षित र जिम्मेवार युवाहरू भए भने नेपालका दुर्गम ठाउँका यस्ता सामाजिक र आर्थिक समस्याहरू सजिलै समाधान हुन सक्छन् ।

‘हरेक डाक्टरको सबै भन्दा ठुलो परीक्षा बिरामीले लिन्छन् रे। ‘ किताब पढ्दै जाने क्रममा यो हरफ पढ्दा हरेक  डाक्टरको जीवनको यात्रा कति कठिन होला भन्ने कुराको सानो अनुभूति भएझैँ भयो ।

म विज्ञान विषय लिएर कक्षा १२ मा पढ्दे गरेकाे विद्यार्थी  एकछिन् त झन्डै डाक्टरी पढ्न जीवविज्ञान विषय लिएनछु भन्ने विचारले राहत पनि दियो । एक डाक्टरको जीवन अनेक कठिन परीक्षाले भरिएकाे  हुँदो रहेछन् ।  यदि एक गरिब आमा आफ्नो भएको दुई कौडी सम्पत्ति बेचेर आफ्नो एउटा शिशु छोरोलाई उपचार गराउन आउँदा पनि समस्या थाहा नभएपछि त्यस आमालाई कुन हिम्मतले प्रतिउत्तर दिने ?

आफ्नो मृत शिशुलाई आफ्नो दुध चुसाउन खोजिरहेकी आमालाई कुन शब्दले उनको सन्तान उनको काखमा नपर्दै मरिसकेको हो र अब केही गरे नि ऊ उठ्दैन भनेर बुझाउने ? उपचारको नीति हुँदा हुँदै पनि सामग्री नभएर भएका मृत्युहरूको दोष कसलाई दिने ? शून्यको मूल्यमा विभिन्न प्रसङ्गमा यस्तै गहन प्रश्न धेरै भागमा उठ्छन् ।

यस्ताे अवस्थामा आफू परिएमा वा यस्ता परीक्षा आफूले दिनु परेको भए म क गर्ने थिए होला ? के यस कथाका डाक्टर जस्तै यी समस्याहरूसँग जुध्न मसँग पर्याप्त साहस हुन सक्थ्याे हाेला र ? कि म हार खान्थे ?  यस्ता परीक्षामा पास हुनु त परै कल्पना गर्न पनि गारो पर्यो ।  मान्छेहरूले डाक्टर बन्न बुद्धि चाहिन्छ भन्थे तर डाक्टर बन्न चाहिने हौसला र हिम्मतको त कसैले कुरा नै गरेन । नामको अगाडि ‘डा.’ लागेपछि सम्मानको साथसाथै ठुलो र भारी जिम्मेवारी पनि आफ्नो काँधमा आइलागदो रहेछ । यसरी डाक्टर एउटा पेशा मात्र नभएर जिम्मेवारी रहेछ भन्ने शिक्षा प्राप्त भाे । यस्ता अवस्थामा दिन प्रतिदिन अल्झिरहने संसारका  सबै डाक्टरहरूप्रति  मनमा ठुलो सम्मान जन्मिएको पाएँ । म चिउँडाेमा हात राखी साेच्दै छु यी कुराहरू !

तर डाक्टर हुनु त्यति नराम्रो पनि होइन ।

पुस्तक सकिएपछि डाक्टर बन्ने निर्णय मलाई अङ्ग्रेजीमा रहेको चर्चित उखान ‘हाई रिस्क हाई रिटन’ याद  आयाे । नराम्रो खबरको वाहक बन्ने डाक्टरको एक निर्विवाद धर्म भए तापनि एक जीवनलाई बचाउँदा परिवारको मुहारमा देखिने त्यो खुशीबाट पाइने आनन्दले डाक्टर बनूँ बनूँ झैँ पनि लाग्दो रहेछ ।  आफ्ना बच्चा बच्दैन भनी सबै आशा हराइसकेको त्यस आमाको मुहारमा डाक्टरले’ अब तपाईको सन्तान स्वस्थ रहनेछ’ भन्दा आएको आनन्दको  अनुभव गर्न भित्रि मनबाटै तीव्र चाहना जागेर आउँदाेरहेछ ।

आफूले बचाउन सफल भएको हरेक जीवनले आफूलाई धन्यवाद दिँदा र वर्षौपश्चात् पनि आफ्नै परिवारको सदस्यझैँ सम्झी राख्दा  एक डाक्टरलाई कति गर्व र सन्तुष्टि महसुस हुँदो होला ।

आफूले भनेको शब्दले एउटा सिङ्गो परिवारको जीवन भलो भएको देख्दा पनि अत्यन्त खुशी लाग्छ होला । मनको कुनै कुनामा यस्ता विभिन्न आनन्दभोग गर्न पाउने डाक्टरहरूप्रति ईर्ष्या भाव उत्पन्न भयो । ‘यदि यस्ता अलौकिक अनुभूतिहरूको अनुभव गर्न पाएमा त म पनि डाक्टर नै बन्नु पर्दो रहेछ कि क्या हो’ जस्तो आभास पनि पुस्तक पढ्ने क्रममा ठाउँ ठाउँमा  भयो ।

आख्यानको अन्तिम शब्द पश्चात् यस संसारका  दुई सबैभन्दा कठिन पेशा आमा र डाक्टरको रहेछन्  भन्ने बोध गरेँ । आख्यानमा हरेक बुबाआमा, देशका युवायुवती, किशोरकिशोरी, शिक्षकशिक्षिका र विद्यार्थीका लागि धेरै जीवन उपयोगी सन्देशहरू र शिक्षाहरू छन् । यसकारण म यो आख्यान हरेक नेपालीले पढ्नै पर्ने कृतिहरूको सूचीमा राख्छु।

डा. केसीले घटनाक्रमलाई एक डाक्टरको दृष्टिकोणबाट मात्र नभई सामान्य मानिसको दृष्टिकोणबाट पनि व्याख्या गरेका छन् । उनले चिकित्साका कस्ता जटिल ज्ञानका कुराहरू कहिले रोमानियाका राजा त कहिले पाकिस्तानमा भएको अध्ययनको उदाहरण लिई हामी जस्ता चिकित्सा क्षेत्रका बारेमा न्यूनतम ज्ञान भएका सामान्य व्यक्तिले पनि बुझ्ने गरी सरल भाषाशैलीमा लेखेका छन् । डाक्टरको रूपमा उहाँको जीवन दर्शनले मलाई वास्तवमै मूलबाट उत्प्रेरित गरेको छ । उनले वर्णन गरेका मानव जीवनको मूल्य निकै हृदय छुने छ ।

आख्यानले  प्रदान गर्ने दार्शनिक र नैतिक पाठको साथसाथै यस किताबको सरलता पनि उत्कृष्ट छ। एक १० वर्षको बलखालाई  पढी सुनाए पनि सजिलै बुझ्ने ढङ्गमा डा. केसीले यो आख्यान तयार परेका छन् । आख्यान बारेमा  साच्ँचै नै आदिदेखि अन्त्यसम्म गुनासोको लागि केही ठाउँ भेटिनँ ।

डा. केसीले अन्त्यमा आफ्ना परिवार र साथीभाईलाई व्यक्त गरेको आभार झन् भावनात्मक र सुन्दर लग्यो । अन्त्यमा, यस्ता अमूल्य कृतिहरू पढ्न सुझाव र प्रोत्साहन गर्ने  विद्यालयप्रति कृतज्ञता व्यक्त गर्न चाहन्छु ।

कक्षा १२याला, डियरवाक सिफल स्कुल