
‘साताका पुस्तक’ स्तम्भअन्तर्गत नयाँ तथा पुराना कृतिहरूलाई समेट्दै कृति तथा स्रष्टालाई साहित्यका पाठकसम्म पुर्याउने हाम्रो उद्देश्य हो । आगामी दिनमा पाठक तथा स्रष्टाहरूको सहयोगले यस स्तम्भलाई थप सशक्त रूपमा अगाडि बढाउन सकिने विश्वास लिएका छौँ । हाम्रो उद्देश्य, साताभरिमा प्रकाशनमा आएका साहित्यिक पुस्तकहरूलाई यस विधामा समेट्नु हो । हामी चाहन्छौँ – नेपाली साहित्यअन्तर्गत प्रकाशनमा आएका कुनै पनि पुस्तक नछुटुन् । तर पुस्तकको उपलब्धता नहुँदा केही छुट्ने गरेका छन् । प्रकाशक तथा लेखकहरू सम्भव भएसम्म आफ्ना नवीनतम साहित्यिक कृतिहरू साहित्यपोस्टको कार्यालयमा उपलब्ध गराइदिनुहुन अनुरोध गर्दर्छौं ।
यसै क्रममा ‘साताका पुस्तक’मा यो साता ४ पुस्तक – आर. मानन्धरकाे ‘कवि–कविताको छवि: दुर्गालाल श्रेष्ठ’, पीताम्बर दाहाल शर्माकाे ‘प्रसाद र प्रसन्नता’, बुद्धिसागरकाे ‘उसले दिएको उमेर’ र जङ्ग बोगटी त्रिवेणीको ‘नपुरिएका घाउहरू’।
००००
१. कवि–कविताको छवि – दुर्गालाल श्रेष्ठ
नेपाली र नेपाल भाषाका कवि दुर्गालाल श्रेष्ठको जीवनी हो, ‘कवि–कविताको छवि: दुर्गालाल श्रेष्ठ’ । नेपाल भाषा परिषद्बाट सन् २००३ मा ‘जनकवि’को उपाधिबाट सम्मानित श्रेष्ठ नेपाल र नेपाली दुबै भाषाका लोकप्रिय र सर्वस्वीकार्य कवि हुन् ।
पुस्तकमा दुर्गालालका बारे वरिष्ठ सङ्गीतकार न्ह्यू वज्राचार्य लेख्छन्, ‘कवि दुर्गालालको जीवन–कथा सङ्गीतले भरिएको छ – कतै कारुणिक हृदयविदारक, कतै सङ्घर्षको शङ्खनाद, त कतै प्रेमको मधुर धुन । सबै धुन उत्तिकै सुन्दर, उत्तिकै उत्कृष्ट, उत्तिकै प्रिय ।’
त्यस्तै, वरिष्ठ कलाकार, मह जोडीका ‘म’, मदनकृष्ण श्रेष्ठ लेख्छन्, ‘जनकवि उपाधिलाई सार्थक हुने गरी दुर्गालाल दाइको सिङ्गै जीवन, देश र जनता अनि साहित्य र सङ्गीतप्रपत समर्पित छ ।’
त्यसैगरी श्रेष्ठबारे महका ‘ह’, हरिवंश आचार्य लेख्छन्, ‘जनकवि दुर्गालाल श्रेष्ठ व्यक्ति नभएर संस्था हुनुभएको छ – भाषा र संस्कृतिको अधिकारको लागि आन्दोलित संस्था; प्रेम र राष्ट्रियताको भावलाई आकाशसम्मै उचालेको सङ्गीतको संस्था; कवितालाई उचाइ दिएको सहित्यको संस्था । वहाँको जीवन आफैँमा सङ्घर्षको विशाल संस्था हो ।’
जनकवि श्रेष्ठको जीवनीका लेखक आर. मानन्धर हुन् । एडुकेशनल पब्लिशिंग हाउसले प्रकाशनमा ल्याएको पुस्तकको मूल्य ४ सय ९५ रुपियाँ रहेको छ ।
===
२. प्रसाद र प्रसन्नता
संस्कृत साहित्यका साहित्याचार्य पीताम्बर दाहाल शर्माको छन्दोबद्ध कवितासङ्ग्रह हो, ‘प्रसाद र प्रसन्नता’ । ८० बढी वसन्तहरुका सुवास लिइसकेका, शर्माको यो पाँचौँ काव्यसङ्ग्रह हो । यस कृतिमा उनले जीवनको उत्तराद्र्धमा प्राप्त गरेका उपलब्धि र अनुपलब्धिलाई प्रसादका रुपमा ग्रहण र त्यसबाट आफूलाई प्राप्त प्रसन्नता प्रदर्शन गरेका छन् ।
‘बिपीको व्यक्तित्व र विचारबाट प्रभावित भएर किशोरवयमै प्रजातान्त्रिक आन्दोलनमा होमिनु भएका, बिपी र जिपीको अति विश्वसनीय व्यक्ति भएर ५० वर्षभन्दा बढी समय सँगसँगै काम गर्नुभएका, प्रजातान्त्रिक आन्दोलनमा लागेकै कारण जागिर खोसिएका’, पुस्तकको प्रकाशकीयमा लेखिएको छ, ‘तर कहिल्यै राजनीतिक लाभ लिने इच्छा नदेखाउनु भएका, जति बुझ्दै गयो त्यति नै विराट प्रतिभा अनुभव हुने प्राध्यापक दाहाल ८५ वर्षको उमेरमा पनि उत्तिकै ताजा, मनोकारी र आकर्षक व्यक्तित्वका धनी महसुस हुन्छ । नेपाली समाज, प्रजातान्त्रिक व्यवस्थाको अनुहार, नेपाली साहित्य र यसको व्यापकता उहाँको संगतले उज्यालिँदै गएको महसुस हुन्छ । यस्ता व्यक्तिसँग संगत गर्न पाएकोमा साहित्यपोस्ट परिवार धन्य छ ।’
भाषा साहित्य, समाजिक तथा राजनीतिक क्षेत्रमा संलग्न रहँदै आएका शर्माले त्रिविको प्राध्यापकको रुपमा लामो समय सेवा गरी स्वैच्छिक अकाश लिएका छन् । संस्कृति साहित्याचार्य तथा नेपालीमा एमए गरेका उनी सुप्रबल गोरखा दक्षिण बाहु २०५७, त्रिवि दीर्घ सेवा पदक २०५३ लगायत सम्मानबाट सम्मानित भएका छन् ।
साहित्यपोस्टले प्रकाशनमा ल्याएको यो कृतिको मूल्य ३ सय ५० रुपियाँ रहेको छ ।
===
३. नपुरिएका घाउहरू
जङ्ग बोगटी ‘त्रिवेणी’ कृत उपन्यास हो, ‘नपुरिएका घाउहरू’ । ‘त्रिवेणी’ले उपन्यासलाई माध्यम बनाएर समाजमा व्याप्त विकृति, विसङ्गति, अन्याय, अत्याचार, शोषण, दमन र थिचोमिचोका विरुद्धमा सशक्त रुपमा आवाज उठाएका छन् ।
उपन्याकार कथानकबाटै प्रश्न गर्छन्, ‘विकास भनेको त सकारात्मक परिवर्तनको प्रक्रिया हो । के कसैलाई काटमार गर्नु विकास हो ? कसैलाई दबाउनु विकास हो ? कसैको जीवन बर्बाद पारीकन कसैको जीवन रंगीचंगी हुनु विकास हो ? गरिब नपाएर मर्ने अनि धनी नखाएर मर्ने विकास हो ? भाइले भाइलाई समाप्त पार्नु विकास हो ? श्रीमान्ले श्रीमतीको शरीरमा आगो लगाउनु विकास हो ? जन्मदिने आमाबुबा आफ्नै सन्तानबाट अपहेलित हुनु विकास हो ?’
उपन्यास अघि बढ्दै जाँदा उपन्यासकार दार्शनिक बन्छन् । भन्छन्, ‘संघर्ष जन्मदेखि मृत्युसम्म पछ्याइरहन्छ । मान्छे एक्लै जन्मियो । एक्लै दु:ख पीडासँग मुकाबिला गर्यो । अनि एक्लै मरेर गयो । आखिर सत्य कुरा नै यही रहेछ । अरु सबै मान्छेहरू आस देखाउने मात्रै रहेछन् । जिन्दगी भन्नु आसै आसमा बाँच्नु पर्दो रहेछ । के गर्ने ! मनका पीडा कसलाई सुनाउने ?’
पुस्तकलाई भुँडीपुराण प्रकाशनले बजारमा ल्याएको हो । २ सय ३० पृष्ठमा फैलिएको पुस्तकको मूल्य ३ सय ९० रुपियाँ रहेको छ ।
===
४. उसले दिएको उमेर
चर्चित लेखक बुद्धिसागरको संस्मरणात्मक कृति हो ‘उसले दिएको उमेर’ । अक्सर एकपछि अर्को कृति लेख्न लामो समय लिन्छन् बुद्धिसागर । तर उपन्यास एक्लो प्रकाशन भएको नौ महिनामै यो संस्मरणात्मक कृति प्रकाशनमा आएको छ । यो उनको पाँचौँ कृति हो ।
आफैँलाई मन परेका केही संस्मरणहरुलाई यस कृतिमा उतारेको लेखक बुद्धिसागरले जनाएका छन् । उनले भनेका छन्, ‘यो उपन्यास, कविताभन्दा पनि मेरो जीवनका केही स्मृति हुन् जसलाई म मेरा पाठकहरुसँग साझा गर्न चाहन्छु ।’
पुस्तक ‘उसले दिएको उमेर’मा पनि बुद्धिसागरका स्मृति पढ्दा पाठक आफ्ना पूर्वस्मृतिसम्म पुग्ने प्रकाशक फाइनप्रिन्टले जनाएको छ । एउटा मानिस यत्तिकै उमेरका खुट्किला उक्लिँदैन । उसले अनेक तीतामीठा घटनाका जङ्घार तर्नुपर्ने हुन्छ । पुस्तक ‘उसले दिएको उमेर’मा पनि त्यस्तै जङ्घार छन्, जो सबै मानिससित गाँसिन्छन् ।
लेखक भन्छन्, ‘साइकिल सिक्दा गोडामा लागेका खत अझै छन् । सोच्छु— हरेक सिकाइका खत कहीँकतै रहिरहन्छन्, कुनै देखिन्छन्, कुनै देखिँदैनन् ।’ तसर्थ यो पुस्तक लेखकको स्मृति मात्र होइन, उनले सुनाउन चाहेका खत हुन् ।
कैलालीमा जन्मिएका बुद्धिसागरको किशोरावस्था कालीकोटको मान्ममा बितेको हो । ०६० सालको राष्ट्रिय कविता महोत्सवमा स्वर्णपदक जितेका उनले ०६६ सालमा नेपाल सरकारबाट प्रतिभा पुरस्कार प्राप्त गरेका छन् ।
सन् २०१९ मा इन्टरनेसनल राइटिङ प्रोग्रामका मानार्थ फेलो रहेका उनको पुस्तक ‘कर्नाली ब्लुज’को अङ्ग्रेजी अनुवाद सोही नाममा प्रकाशित छ । उनका ‘फिरफिरे’ र ‘एक्लो’ उपन्यास अनि कवितासङ्ग्रह ‘बुद्धिसागरका कविता’ फाइनप्रिन्टबाटै प्रकाशित छन् ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।


र यो पनि पढ्नुहोस्...

साताका सात पुस्तकः ‘जन्मिँदै १६ वर्षे शिशुको कथा’देखि ‘श्रीवल्ली’सम्म

साताका पुस्तक : ‘मामुली मान्छे’देखि ‘भग्नावशेषमाथि टोलाएको परेवा’सम्म
