
साहित्यकार कृष्ण धरावासीको आख्यानको शैली मलाई जति गजब लाग्छ त्यति नै गजब लाग्छ एउटा पुस्तक निस्किसकेपछि अर्को पुस्तकसँग दूर दूरसम्म पनि कतै सम्बन्ध नजोडी लेख्न सक्ने कला । होइन भने, कतिपय लेखकको पछिल्लो पुस्तक पढ्दा पहिलेकै पुस्तकको कहीँ न कहीँ पुनरावृत्ति जस्तो अनुभव हुन्छ । धरावासीलाई पढ्नु फगत पात्र र कोरा काल्पनिकता पढ्नु मात्रै होइन, स्पष्ट वैचारिकी सँगसँगै सुन्दर कथा बुनोटलाई आत्मसात् गर्नु पनि हो । पुस्तकको सुरुदेखि नै बाँधिँदाबाँधिँदै गएर अन्त्यमा लेखकको विचारहरूसँग सहमत हुन सक्नु पनि हो जुन एक कुशल लेखकको सफलता मान्नुपर्छ ।
हुनसक्छ, “राधा”को अधिक चर्चाले ‘गेस्टापो’ बत्तीमुनिको अँध्यारो बनेको होस् । तर मलाई लागेको मात्रै हुनुपर्छ भन्ने के छ र ? यस्तो नहुन पनि त सक्छ । जे होस्, जति चर्चामा रहनुपर्ने र पढिनुपर्ने पुस्तक हो त्यति नपढिएको जस्तो लागिरहेको छ । हुन त प्रत्येक पुस्तक पढेपछि पाठक प्रतिक्रिया लेखिनु पर्छ भन्ने जरुरी होइन तर मलाई पढिसकेको धेरै समयपछि पनि यसभित्रका पात्रहरूको चरित्रले झस्काइरहेको कारण महिनौँ बितिसके पनि ‘गेस्टापो’ सम्झिएर लेखिरहेको छु ।

गेस्टापो
सुरुवातमा नियात्राको भान दिँदै पछि काल्पनिक र इतिहासका पात्रहरूको छुटाउनै कठिन हुनेगरी गरिएको सुन्दर संयोजन यो पुस्तक लेखनीको विशेषता हो । यहाँभित्र तपाईँ प्रमुख पात्र लेखक स्वयं हो या, काल्पनिक पात्र “हेम्बर्ग” हो, या इतिहासको वास्तविक पात्र “हिटलर” ? छुट्याउन सक्नुहुन्न । लेखकको आफ्नै शब्दमा भन्नुपर्दा, “लीला लेखन”को उदाहरण हो यो ।
प्रथमतः पुस्तकको नाममाथिको चर्चा पनि उत्तिकै महत्त्वपूर्ण छ जस्तो लाग्छ । जर्मनीमा प्रथम विश्वयुद्धपछि जब हिटरको उदय भयो, तब त्यहाँका अल्पसङ्ख्यक यहुदी जातिहरूमाथि बर्बर अत्याचार र दमन लाद्न थालियो । हो, त्यही अत्याचार र दमनको कहालीलाग्दो श्रृङखलालाई निरन्तरता दिन बनाइएको सङ्गठन हो गेस्टापो । जसले हामीले कल्पना गर्दा पनि आङ सिरिङ्ग पार्ने खालका क्रूर र हृदयविदारक हत्याहरू गरेको थियो ।
मानव इतिहासमा मानवतामाथि नै धब्बा लगाइएको दुखद इतिहासमाथि लेखिएको पुस्तक हो यो । पुस्तकले जर्मनीमा ‘एडोल्फ हिटर’को उदयसँगै भएको नाजी पार्टीको उदय र त्यसले यहुदी जाति, कम्युनिस्ट, बुद्धिजीवी र व्यवस्थाको विरोध गर्नेहरूमाथि गरेको बर्बरताको सेरोफेरोलाई समेटेको छ । हिटलर र उनको नाजी पार्टीले यहुदी जातिका विरुद्ध फैलाएका अनेक नकारात्मक अभिव्यक्तिको परिणामस्वरूप यहुदी जातिले चुकाउनु परेको रगतको मूल्य पुस्तकमा पढिरहनु नसकेर मैले कैयौँपटक पुस्तक बन्द गरेरै एकछिनपछि पुनः पढेको छु ।
इतिहास यो बोल्छ कि प्रत्येक तानाशाहको उदय हुनुअघि उसको देवत्वकरण गरिन्छ।उसका गलत कामहरु लाई पनि राष्ट्रवादको लेपन लगाएर चोख्याइन्छ । ऊ इश्वर समान बन्छ,त्यहाँ पद्धति र प्रणाली गाैण बन्न पुग्छ त्यही नै भएको थियो हिटरको उदय हुने समयमा पनि । आज वर्तमान राजनीतिमा पनि यो उत्तिकै सान्दर्भिक बन्न आउँछ । कसरी एक व्यक्तिको महत्वकाङ्क्षाले गर्दा सम्पूर्ण प्रणाली नै भ्रष्ट बन्न र पुग्छ र त्यसले कसरी तानाशाही प्रवृत्तिलाई जन्म दिन्छ भन्ने कुरा पुस्तक पढेपछि राम्रोसँग बुझिन्छ ।
जर्मनीमा हिटलरको उदय हुनुका कारण, पहिलो विश्वयुद्धको हारमा थलिएको जर्मनीलाई निकै छोटो समयमा नै दोस्रो विश्वयुद्धका लागि तयार पार्न गरेका कामहरू, नाजी पार्टीको फैलावट र परिणामस्वरूप त्योसँगै बढ्दै जाने क्रूरता, हत्या, हिँसाका विषयहरूलाई काव्यात्मक ढङ्गले प्रस्तुत गरिएको छ । किन कुनै व्यक्ति प्रणालीभन्दा माथि हुनुहुँदैन ? यदि भइहालेमा त्यसले के गर्छ ? भन्ने कुराको हेक्का पाउनलाई पनि वर्तमान समयमा व्यक्तिको देवत्वकरण गरिरहेको हाम्रो पुस्ताले यसबाट धेरै कुरा बुझ्न सक्छ ।
अचम्मको कुरा के छ भने, पुस्तकको अन्त्यमा पाठकमा हिटलरप्रति पनि सहानुभूति जाग्न सक्छ । लेखक यो बुझाउने प्रयत्नमा छन् कि सायद हिटलर व्यक्तिगत रूपमा त्यतिधेरै क्रूर थिएन होला या हुनसक्छ अन्धराष्ट्रवादले गर्दा उसले बाहिर कस्ताखालका नारकीय जीवन जनाताहरू बिताइरहेका छन् त्योबाट नै बेखबर थियो ? या हुनसक्छ ‘हिमलर’, ‘गोयरिङ’ जस्ता उसका सहयोगकर्ताहरू ऊभन्दा ज्यादा क्रूर थिए । फलस्वरूप यी मानव-कलंकका धब्बाहरू उसको शिरमा पर्न गयो ? जे होस् पुस्तक तपाईँले सोचिरहेकोभन्दा फरक दृष्टिकोणले सोच्न बाध्य पार्छ ताकि तपाईँ हिटलरभित्रको पनि बाध्यता देख्न सक्नुहोस् ।
खैर, जतिसुकै कारणह र तर्कहरू प्रस्तुत गरिए पनि आफ्नो महत्वकांक्षाको आडमा लाखौँलाख जनताको प्राणको आहुति लिइएको हिटरको गेस्टापो र उनीहरूले सञ्चालन गरेका “कन्सन्ट्रेसन क्याम्प/बधशाला”हरू मानव सभ्यताको निकै दुखद इतिहास हुन् । विविध कारणवश मानव जातिले यो युगसम्म आइपुग्दा निरन्तर असङ्ख्य युद्ध लड्दै आएको छ, २० औँ शताब्दीमा मात्रै पहिलो र दोस्रो विश्वयुद्धमा करोडौँ मान्छेहरूले ज्यान गुमाउनु पर्यो । अहिले पनि संसारमा युद्धको बादल त्यसरी नै मडारिरहेको छ । युद्ध प्रथमतः सत्ता र शक्तिका सङ्घर्षहरू होलान् तर यसले आम मान्छेको हृदयमा भने नमेटिने घाउ छोडेर जाने गर्छ । बारुद र बन्दुकको चपेटामा हरेकपटक आम सर्वसाधारण नै किन पर्नुपर्छ ? भविष्यमा कुनै यस्तो समय आउला जहाँ युद्धको कुनै नामनिसान नहोस् ? खैर त्यो सम्भव होला नहोला तर आगामी भविष्यका कुनै पनि कालखण्डमा मानव जगतले यो हदसम्मको बीभत्स दृश्य देख्नु र खप्नु नपरोस् !
गेस्टापोको क्रूरताभित्र ज्यान गुमाएका ती लाखौँलाख आम जनताहरूमा हार्दिक श्रद्धाञ्जली ! !



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

