ढल्कियो उमेर, बढ्याबढ्यै छ जाँगर
गुजमुजिएका उदास उनका पहिरन
रुख्खासुख्खा स्वादहीन उनको भोजन
जोतिएकी हुन्छिन् काममा अहोरात्र
केको लागि गर्नु परो यति मरिहत्ते
खै, जति मनाए पनि मानेकी छैनन् ।

खङ्गाली राख्छिन्, घरका हरेक कुना
झल्किन्छ अनुहारमा थकानका बिम्ब
तर रोकिएकै छैन उनको खटनपटन अझै
नभन्दै पुग्छिन् सम्हाल्न करेसाबारी पनि
खै, जति फकाए पनि मानेकी छैनन् ।

क–कसलाई कस्तो खाले छ बिमारी
क–कसले भात खायो वा खाएन
क–कसले बार्नु पर्ने कुनकुन चिज
टाउको दुखाउँछिन् हरेकका लागि
खै, जति सम्झाए पनि मानेकी छैनन् ।

रोगिला भए उनका घुँडा आफ्नै
बुढेसकालका बेथा हजार आफ्नै
बिर्सिहाल्छिन् लिन ओखती आफ्नै
सुर्ता बोकिहिँड्छिन् तर अरुअरुकै
खै, जति कराए पनि मानेकी छैनन् ।

झिसमिस नहुँदै नित्यकर्म सक्याउँछिन्
भजन त उनको प्यारो लाग्छ सदैव नै
तर बिहानीको निद्राभन्दा अलि थोरै
भन्छम्, अलिपछि पनि देउता रिझाए हुन्थ्यो नि,
खै, जति कचकचाए पनि मानेकी छैनन् ।

श्रीमान् बितेदेखि खुलेर हाँसेकी छैनन्
कुन्नी केको पर्खाइमा छन् उनका उदास आँखा
कुन्नी के गन्ती गरिराख्छन् उनका ब्यग्र औँला
भन्छम्, जाऊँ है सिनेमा, बजार अथवा कतै
खै, जति पुलपुल्याए पनि मानेकी छैनन् ।

घुमिराख्छन् मानसपटलमा यस्ता हजारौं खै
जतिलाई सोधेँ, सबैले मुन्टो हल्लाउँदै भने खै
जान्न चाहें के संसारकी सबै जननी हुन्छिन् यस्तै  ?
खै ! यसको जवाफ पनि हुने हो कि, एक थप खै  !