ओमित्येतदक्षरमिदं सर्वम् ! अर्थात् ॐ अक्षर पूर्ण शब्द हो र सम्पूर्ण ब्रह्म हो (माण्डूक्योपनिषद्, आगमप्रकरण – १।१) ।
वेदान्त भावार्थको रूपमा रहेको माण्डूक्योपनिषदमा चार प्रकरणहरू (परिच्छेद) छन्: आगम, वैतथ्य, अद्वैत र अलातशान्ति प्रकरण । यो उपनिषद्को पहिलो आगम-प्रकरणको आरम्भ नै “ओमित्येतदक्षरमिदं सर्वम्” बाट हुन्छ । ब्रह्मविद्याका ग्रन्थहरूमा सर्वोपरि मानिने अथर्ववेदीय शाखा माण्डूक्योपनिषदमा ॐ को सार, सम्बन्ध, विषय र प्रयोजनको व्यापक वर्णन गरिएको छ । माण्डूक्योपनिषद्को थप व्याख्यामा भनिएको छ:
ओमित्येतत् अर्थात् ॐ पद हो, एतदालम्बनम् अर्थात् ॐ आलम्बन हो, एतद्वै सत्यकाम अर्थात् ॐ सत्यकाम प्रतिज्ञा हो, ओमित्यामानं युञ्जीत अर्थात् ॐ आत्मज्ञान हो, ओमिति ब्रह्म अर्थात् ॐ ब्रह्म, परब्रम्ह एवं अपरब्रम्ह हो र ओमकार एबेदं सर्वम् यो सम्पूर्ण ब्रम्हज्ञान नै “ॐकार” हो ।
अपार ब्रह्मस्वरूप काक्षर ॐ नै हो र यसको उच्चारण नै ब्रह्मज्ञान प्राप्तिको उपाय रहेको माण्डूक्योपनिषदमा बताइएको छ । उपनिषद्को पहिलो खण्ड आगम-प्रकरणको सम्पूर्ण पादहरू ॐ मा केन्द्रित छन् । जस अन्तर्गत ॐ को सर्वव्यापकता, आत्मज्ञान, आत्माभेद, ॐ शब्दका चार पादहरू, आत्मा र ॐ को सम्बन्ध, ॐ र ब्रह्माण्डको स्थिति, ॐ को सम्पूर्ण मात्रा र प्राज्ञमा रहेको प्रभावकाे विस्तृत वर्णन छ ।
आत्मज्ञान के हो, आत्मज्ञानको बोध कसरी हुन्छ र ब्रह्मतत्व प्राप्ति कहिले हुन्छ भन्ने सन्दर्भको माण्डूक्योपनिषदकै सार जीवन र जगत् शृङ्खलाको अघिल्ला अङ्कहरूमा व्याख्या भैसकेको छ । तसर्थ, यस पटकको लेखनीमा ॐ को सर्वव्यापकताको बारेमा बोल्नु अपरिहार्य देखिएको छ । पछिल्लो समय नेपाली भाषामा समेत ॐ को विवाद चुलिएको छ, जसलाई लेखकहरूले उपेक्षा गर्ने कुरै भएन ।
ॐ अक्षर नै पूर्ण शब्द हो । ॐ वर्णाकृतिमा तीन मात्राहरू अ ‘अकार’, उ ‘उकार’, म् ‘मकार’ र थप एक पाद ‘देब्रेतिरबाट माथि उठेको अर्धचन्द्राकार’लाई अकार एवं ध्वनि पादको रूपमा लिने गरिन्छ । साथै ॐ को उच्चारणमा चार पादका अतिरिक्त सात अवयवहरू जोडिएको छ; जसमा चन्द्रबिन्दु, नाद, नादान्त, शक्ति, महाशून्य, समना तथा उन्मना मिलेर पूर्ण ॐ कार मात्रा बनेको बताइएको छ । अ, उ र म ले क्रमशः प्रकृतिका तीन गुणहरू सतोगुण, रजोगुण र तमोगुणलाई जनाउने र चन्द्रबिन्दुले तीनवटै गुणहरूमा समानताको अभाव देखाएको मानिन्छ । त्यसैगरी अ, उ र म ले क्रमशः परमेश्वर स्वरूप ब्रह्म, विष्णु र महेश्वर एवं त्रिलोकको स्थितिहरू अर्थात् भूलोक, भुव:लोक तथा स्वर्गलोकलाई समेत बुझाउने विश्वास गरिन्छ ।
ॐ को व्याख्या माण्डूक्योपनिषद् अतिरिक्त श्रीमद्भगवद्गीता, छान्दोग्योपनिषद् (सामवेदको कौथुम संहिता), कृष्ण यजुर्वेदीय उपनिषद्हरु- तैत्तिरीयोपनिषद एवं कठोपनिषद् र अथर्ववेदीय उपनिषद – प्रश्नोपनिषदमा समेत गरिएको छ । साथै ॐ को व्यापक महत्त्व दर्शाउने महापुरुषहरूमा सन्त कबिर, गुरु नानक, ओशो रजनीश एवं खप्तड बाबा समेत पर्दछन् । उल्लेखित ग्रन्थहरू र सन्त-महात्माहरूको ॐ वाणी यस प्रकार छन् :
– ॐ अक्षर रूपी ब्रह्मशब्दको उच्चारण गर्दै प्राण त्याग्नेले परम गति प्राप्त गर्दछ (श्रीमद्भगवद्गीता, अध्याय ८, श्लोक ११) ।
– ॐ अविनाशी, अब्यय र क्षय मुक्त छ । धर्म, अर्थ, काम र मोक्ष चारै पुरुषार्थको प्रदायक ॐ हो (छान्दोग्योपनिषद्, सामवेदको कौथुम संहिता, श्लोक १) ।
– ॐ नै ब्रह्म, प्रत्यक्ष जगत् र जगतको अनुकृति हो (तैत्तिरीयोपनिषद, शिक्षावल्ली अष्टमोऽनुवाकः, श्लोक १)।
– सवै वेदमा जुन पदको वर्णन छ, त्यो समस्त तपको प्राप्तमा प्रयोग छ र सबै मुमुक्षुजनले पालन गर्दछन्, त्यो पद नै ॐ हो (कठोपनिषद्, अध्याय १, वल्ली २) ।
– ॐ कार रूपको आलम्बन मार्फत नै विद्वतहरू त्यो लोक प्राप्त गर्छन् जुन शान्त, अजर, अमर, अभय र सर्वश्रेष्ठ छ (प्रश्नोपनिषद प्रश्न ५, श्लोक ७) ।
– ॐ एक पटक जान्नुपर्छ, लेख्नुपर्छ तब कहिले नासिँदैन, मेटिँदैन (कवि सन्त कबिर) ।
– ॐ सत्यनाम उच्चारण गर्ने जो कोही निर्भय, आजाद एवं अकाल मनुष्यको रूपमा रहन्छ (गुरु नानक) ।
– निरपेक्ष सुनसान स्थितिमा शङ्ख ध्वनिबाट प्राप्त हुने नाद ॐ हो, जति बेला निस्तब्ध संसारको अनुभूति गर्न पाइन्छ (ओशो रजनीश)।
– ॐ ब्रह्माण्डको अधिष्ठान हो, र ॐ प्रतिको भाव परब्रह्म प्राप्तिको सङ्केत हो । परब्रह्मको ध्यान र जपले आत्मासुद्धी एवं संस्कारहरूको पूर्णता प्राप्ति हुन्छ । ॐ एकाक्षर, वर्णातीत र शब्दातीत मन्त्र हो । ॐ एकाक्षर ब्रह्म हो (खप्तड बाबा, धर्म विज्ञान) ।
उल्लेखित प्रसङ्गहरूको अतिरिक्त ॐ काे विस्तृत व्याख्या कठोपनिषद् १।२।१५-१७, प्रश्नोपनिषद् प्रश्न ५ को २-७, मैत्र्युपनिषद् ६।३, तैत्तिरीयोपनिषद् १।८।१ र छान्दोग्योपनिषद् २।२३।३ मा उल्लेख छ ।
यता ॐ को सर्वव्यापकतालाई सम्पूर्ण पौरस्त्य परिवारले स्वीकार गरेको छ, र यो परिवारलाई पछिल्लो समय ॐकार परिवार भन्ने गरिएको छ । हिन्दू, बौद्ध, जैन, शिख, बोन र किराँत लगायतका धर्म समुदायहरूले ॐकारलाई ग्रहण गरेका छन् ।
सम्पूर्ण वेदान्तार्थको सार हो – ॐ शब्दब्रह्म हो र यो सूर्यको प्रकाश ऊर्जाबाट कम्पन हुँदै निस्कने ध्वनि मानिन्छ । युरोपेली अन्तरिक्ष एजेन्सी र नासाको संयुक्त प्रयोगशालाको सोलार हेलियोस्फेरिक अब्जर्भेटरीले सूर्यबाट १.५ मिलियन किलोमिटर नजिक रहेर सूर्यबाट प्रकाश ध्वनि निस्कन्छ भन्ने कुराको पुष्टि गरेको छ । तर सूर्यबाट प्रकाश ध्वनिमा ॐ उच्चारण अनुभूति हुन्छ भन्ने कुरा भने वेदले मात्र भनेको छ, विज्ञानको खोज अधुरो छ । यसको अर्थ ॐ आवाज सूर्यको प्रकाशसँगै ब्रह्माण्डमा गुन्जिरहन्छ ।
वेदले ॐ कारलाई नित्य भनेको छ, र सूर्यबाट ॐ सहित अन्य तीन प्रकारका ध्वनि निस्किरहेको बताएको छ । अन्य तीन प्रकारका सूक्ष्म ध्वनिलाई वेदमा मध्यमा, पश्यन्ती र परा भनिएको छ, जुन आवाजहरू लिपिमा लेख्न सकिँदैन तर ब्रह्माण्डमा प्रतिध्वनित हुन्छन् ।
अब, ॐ शब्दको उच्चारण विधि, प्रक्रिया र स्थितिको विषयमा प्रवेश गरौं । ॐ को उच्चारण सबै अवस्थामा वैध मानिँदैन । ध्यानावस्थामा समेत ॐ उच्चारण गर्दा पद्मासनमा रहेर आँखा बन्द गर्दै पेटबाट ध्वनि निकाल्नुपर्ने हुन्छ, र सकेसम्म श्वास नरोकी धेरै-धेरै स्वर तन्काउने गर्नुपर्दछ । साथै एकपटक श्वास रोकेपछि पुनः प्रक्रिया दोहोर्याउनुपर्दछ ।
ध्यानावस्थामा ॐ को “अ”ले शरीरको तल्लो भागमा, “उ” ले शरीरको मध्य भागमा र “म” ले शरीरको माथिल्लो भागमा कम्पन हुने गरी उच्चारण गर्नुपर्दछ । ॐ उच्चारण गर्दा हुने शरीरको कम्पन सहितको स्वर स्थितिलाई नाद्ब्रम्ह भनिन्छ । सुद्ध स्वर उच्चारणको अभ्यासमा जम्मा स्वर समयको “अ” १२.५ प्रतिशत, “उ” २५ प्रतिशत र “म” ६२.५ प्रतिशत एवं ध्वनि प्रवाहमा ठिक उल्टो “अ” ६२.५ प्रतिशत, “उ” २५ प्रतिशत र “म” १२.५ प्रतिशतको सन्तुलन कायम हुनुपर्दछ ।
ध्यान र योगलाई विज्ञानले पनि विशेष स्वास्थ्य लाभको उत्तम अभ्यास भनेको छ, र ध्यानावस्था र योगावस्थामा ॐ को प्रयोगानुभूती अनिवार्य नै छ । योगबाट हुने स्वास्थ्य लाभको अतिरिक्त ॐ सार्थक उच्चारणबाट उत्पन्न हुने कम्पन र अनुभूतिले शरीरलाई पूर्णतया शुद्ध बनाउने बताइएको छ । ॐ को उच्चारणले स्मरण शक्ति र ध्यान केन्द्रित गर्ने क्षमतामा वृद्धि हुने, शरीरमा अक्सिजनको मात्रा बढ्ने, क्रोध नियन्त्रण हुने, हर्मोन सन्तुलन भई रोग प्रतिरोधात्मक क्षमता बढ्ने र सकारात्मक ऊर्जा शरीरमा पैदा हुने बताइएको छ ।
ॐ ले आत्माको स्थिति र अभिव्यक्तिको चार अवस्थालाई जनाउने र त्यसलाई ‘चतुष्पाद’ भनिने माण्डूक्योपनिषद्ले भनेको छ । जाग्रत्, स्वप्न, सुषुप्ति र तुरीय आत्माको स्थिति र अभिव्यक्तिको चार अवस्थाहरू हुन् ।
– ‘जाग्रत्‘ अवस्थाको आत्मा ‘वैश्वानर’ हो अर्थात् यो आत्माको जागृत अवस्था हो जति बेला वाह्य संसारको अनुभूति आत्माले गरेको हुन्छ ।
– ‘स्वप्न’ अवस्थाको आत्मा ‘तेजस’ हो र यसलाई तन्द्रा पनि सकिन्छ । यो बेलामा सपनाको अनुभूति गर्न सकिन्छ, जहाँ मन भिन्न वा आलङ्कारिक संसारको अनिभूति गर्छ ।
– ‘सुषुप्ति’ अवस्थाको आत्मा ‘प्रज्ञ’ हो र यो प्रगाढ निन्द्राको अवस्था हो । यो अवस्थामा आनन्दमय ज्ञान र ब्रह्माण्डकाे स्थितिबाट प्राप्त हुने ऊर्जाको सञ्चय आत्माले गर्दछ । यो अवस्थामा सांसारिक इच्छा लोप हुन्छन् र आत्माले सर्वेश्वर, सर्वज्ञ तथा अन्तर्यामी ज्ञानको अनुभूति गर्दछ ।
– आत्माको चौथो पाद ‘तुरीय’ अवस्था हो जुन अवस्थामा मान्छे न जाग्रत् हुन्छ , न स्वप्न हुन्छ , न त सुषुप्ति नै रहन्छ । त्यो परमज्ञान र ब्रम्हपद प्राप्तिको स्थिति हो ।
ॐ ब्रह्मशब्द हो र जथाभाबी प्रयोग वञ्चित छ, हुनुपर्छ । ॐ को सर्वव्यापकतालाई सम्पूर्ण पौरस्त्य परिवारले स्वीकार गरेपछि सबै पौरस्त्य परिवारको शब्दकोशमा ॐ हुनुपर्छ । विशेषतः देवनागरी लिपि समूहका भाषाहरू संस्कृत, पालि, हिन्दी, मराठी, कोंकणी, सिन्धी, कश्मीरी, गढ़वाली, बोडो, अंगिका, मगही, भोजपुरी, मैथिली, संथाली लगायतमा ॐ समावेश छ ।
देवनागरी बाहेक ॐ लाई लिपिहरूमा समेत प्रकारात्मक रूपमा ब्राह्मी लिपि (उत्तरी र दक्षिणी ब्राह्मी लिपि एवं भाषाहरू: प्राकृत, साक, तमिल, तुषारी), तिब्बती लिपि (सम्भोट भाषाहरू: तिब्बती, भुटानी, शेर्पा, योल्मो, डोल्पाली, मुगुम, लाद्दखी, सिक्किमी, तामाङ, गुरुङ, जिरेल, जोङ्खा, छङ्ल्हा), गुप्त लिपि, शारदा लिपि, रन्जना लिपि, कलिंग लिपि, बाङ्ग्ला लिपि लगायतका भारोपेली लिपि र भाषा परिवारले समेत स्वीकार गरेको छ । अब नेपाली भाषामा ॐ नहुनुपर्ने कारण जो कोहीसँग भएमा तर्क संवादका लागि यो लेखकले हाजिर हुने बाचा गर्दछ ।
फेरि पनि ॐ ब्रह्मशब्द हो र जथाभाबी प्रयोग मात्र होइन – सम्बन्ध, विषय, प्रयोजन र गिन्ती सन्दर्भ समेत अनुकूल हुनुपर्ने शास्त्रको दाबी छ । तसर्थ, यो लेखमा समेत कूल ६४ पटक ‘ॐ’ ब्रह्मशब्दको प्रयोग भएको छ, गिन्ती गर्न चैँ नभुल्नुहोला ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।