टेकु स्थित कौशी नाटक घरमा पुग्दा पश्चिम क्षितिजमा घामका पाइलाहरू ओरालो झर्न हतार गर्दै थिए भने शिवपुरीलेक माथिको आकाश पनि विद्रोहमा निस्किए जस्तो लाग्थ्यो । म बिहेमा जान हतारिँदै थिएँ, त्यही बेला एक झर घाम-पानी पर्यो । संयोग पनि कस्तो भन्नुहोला भने “घामपानी घामपानी स्यालको बिहे” भन्दै बालापनका स्मृतिलाई ताजा बनाउँदै गर्दा कथा घेराको प्रस्तुतिमा आकाङ्क्षा कार्कीको परिकल्पना, नाट्य रूपान्तरण र निर्देशनमा बनेको नाटक ‘वेडिङ एल्बम’को निम्तो कार्ड हातमा परेको थियो ।

भारतीय प्रसिद्ध लेखक गिरिश कर्नाडको नाटकलाई आकाङ्क्षा कार्कीले नेपालीपन दिनु भएको हो जहाँ भारतीय उपमहादिपमा हिन्दु समाजमा विशेष मानिने विवाह जस्तो सामाजिक परम्पराको ढोङ,  पितृसत्तात्मक सोचाइ, महिलादोषी परम्परा र रीतिरिवाजको नाममा व्याप्त घनघोर कुरीतिहरूलाई च्यात्न र आम दर्शकसम्म यस विषयलाई उजागर गर्नैको लागी यो नाटकको निर्माण गरिएको हो ।

यस नाटकलाई निर्देशकले घुम्ने मञ्च वा रिभल्बिङ स्टेजमा प्रस्तुत गरेका छन्, जसमा स्टेजलाई घुमाएर वर्तमान र विगतका कथावस्तुलाई कलात्मक तरिकाले जोडेका छन् । नाटकको मूल कथावस्तु एक शिक्षित सम्पन्न कोइराला परिवारकी कान्छी छोरीको बिहेको तयारीको वरिपरि घुम्छ जहाँ परिवारका सदस्यहरू बाबु, आमा, छोरा रोहित र छोरीहरू हेमा र विदुषी छन् । हेमाको बिहे भएर सब परिवार अस्ट्रेलियामा बसोबास गर्छन् भने छोरा रोहितको क्रिश्चियन प्रेमीका छे ।

अनि कान्छी छोरी विदुषीले अमेरिकामा बस्ने केटालाई अनलाइनमा देखेकै भरमा बिहे गर्न राजी भएकी छे । विदुषीको बिहेको तयारी जोडतोडले चलिरहेको बेला परिवारमा अनेकन् किसिमको समस्याहरू आइपर्छन् । परिवार भित्र पनि वर्षौंदेखि गुम्सिएर रहेको रहस्यका पोकाहरू एक पछि अर्को गर्दै खुल्दै जान्छ ।

हाम्रो सामाजिक संरचनाहरू विभेदकारी छन्, महिलालाई मात्र घरको मान मर्यादा, इज्जत धान्नु पर्ने बाध्यता छ, पतिको थरलाई जीवनभर आफ्नो नामसँग जोडेर हिँड्नु पर्ने बाध्यता छ अनि छोरा छोरी हुर्काउने,  पढाउने-बढाउने र सही संस्कार सिकाउने जिम्मा केवल आमालाई मात्र भाग लाग्छ । हेमा आफ्नो परिवारलाई अस्ट्रेलियामा छोडेर नेपाल आएकी छ तर उसलाई हरबखत उतैको चिन्ता छ । यसो भनिरहँदा हाम्रो समाज केही प्रोगेसिप पनि पक्कै छ, जहाँ छोरीहरू नै दाइजोको विरुद्धमा उभिएका छन्, आफ्नो लागि जीवनसाथी आफ्नै खोज्न सक्छन् र साइबर क्याफेमा गएर घण्टाैँ अनजान पुरुषसँग अन्तरङ्ग कुरा गर्न हिचकिचाउँदैनन् । नाटकको अन्तिममा दिदी हेमा आफ्नो बहिनीलाई दाम्पत्य जीवन राम्रो नभए पारपाचुके गरेर नेपाल फर्कन समेत सल्लाह दिन्छे ।

नाटक वेडिङ एल्बम हेरिरहँदा लाग्यो हामीभित्र अझै पनि “समाजले के भन्ला ?” भन्ने रोग जीवितै रहेछ चाहे त्यो बिहे गर्ने कुरामा होस् या जागिर खाने,  व्यापार गर्ने वा विदेश जान नै किन नहोस् । अझै पनि समाजले बिहेमा कसले कति खर्च गर्न सक्यो,  त्यसको आधारमा त्यो कति सम्पन्न र सुखी छ भन्ने निर्धारण गर्ने गरिन्छ अनि आफूसँग प्रशस्त सम्पत्ति छैन भने पनि ऋण काढेर भए पनि बिहे गर्नु पर्ने, सुन जोड्नु पर्ने बाध्यात्मक परिस्थिति बनेको छ । बिहे गर्नु वा हुनुलाई मानिसहरू आ-आफ्नै भाष्यले परिभाषित गर्लान्, जस्तै समाज चलन, परिवारको इज्जत,  छोरीको भाग्य,  छोरालाई तह लगाउने उपाय आदि आदि तर विवाह किन गर्ने भन्ने आवश्यकता पनि त बुझ्न पर्यो नि ।

समस्या हामी भित्रै छ, कोइराला परिवार शिक्षित छ तर उनीहरूको घरमा काम गर्ने कुसुम दिदीको कथासँग बेखबर छ । कुसुम दिदीको मानसिक अवस्था दर्शकले बुझ्न नाटकलाई अन्तिम सेकेण्डसम्म हेर्नुपर्ने हुन्छ जहाँ कुसुम दिदी टेलिभिजनमा आउने सिरियल हेर्दै आफ्नो कथा भनिरहेकी हुन्छिन् र नाटक दर्शहरूलाई अनगिन्ती प्रश्नहरू छोडेर बिट मार्छ ।

जस्तो कि नाटकमा आफ्नो छोरीको बिहेको लागि केटा पक्षको खुट्टै ढोग्नु पर्ने आवश्यकता किन पर्यो होला ? अर्को सिनमा विदुषीको जन्मदर्तामा बाबुको नाम हुन पर्ने ठाउँमा काकाको नाम हुनुले कतै आमा र काका बिच नाजायज सम्बन्ध पो थियो कि ? अनि पासपोर्ट बनाएर विदेश जाने तयारी भइसक्दा पनि त्यो त्रुटिलाई कसरी मिलाइयो, नाटकले केही भन्दैन ।

रोहितको क्रिश्चियन गर्लफ्रेण्ड थियो तर उसले पछि आफ्नै जातको केटीसँग बिहे गर्छ । किन ? जवाफ दर्शक आफैले खोज्नु पर्ने हुन्छ । सबभन्दा गज्जबको कुरा त एक ओठ माथि भर्खर जुँगाको रेखी बस्दै गरेको किशोर, आफ्नो आमा समान उमेरको महिला हेमाको प्रेममा परेको छ, हेमालाई हरेक पल्ट भेट्न आउँदा प्रेमपत्र बोकेर आउँछ, हेमा उसलाई सम्झाउन कोसिस गर्छे तर उसको प्रेमपत्र कहिल्यै च्यात्दिन बरु आफ्नो छातीमा लुकाउँछे । के हेमा पनि त्यो किशोरलाई मन पराउन थालेकी त छैन ? उत्तर अनुत्तरित छ ।

अहिले कौशी थिएटरमा नाटक ‘वेडिङ एल्बम’ दर्शकहरूको उल्लेखनीय उपस्थितिमा मञ्चन भइरहेको छ । नाटक ‘वेडिङ एल्बम’मा बिहेका कुरा मात्र छैनन्, बिहे अघिका कुण्ठाहरू,  मनमा दबिएर बसेका दुःख र घरेलु हिंसाका पोका पुन्तुराहरू, बा यौन शोषण, मानसिक स्वास्थ्य अनि बिहेपछि सम्बन्धमा थपिएका शङ्का,  उतार चढाव र बाध्यताका अजङ पहाडहरू छन् । हरेक पात्र आफ्नै दुःख छ,  ऊभित्र आफ्नै द्वन्द्व छ । परिवारमै पनि केही रहस्यहरू छन् जो आजसम्म कसैले कसैलाई साटेको छैन बरु हरेक दिन त्यसको ताप सहेर बाँचिरहेका छन् ।

भनिन्छ नि जति ठुलो घर, त्यति नै धेरै दुःखी आत्माहरू, एउटै घरमा सँगै बसेर पनि न लोग्नेले स्वास्नीलाई राम्रो सँग बुझ्न सक्यो, न स्वास्नीले लोग्नेको त्यागलाई । झन् उमेर लागेर पखेटा पलाएका छोरा छोरीको कुरै बेग्लै, आमा बाबुको सङ्घर्षका कथा तिनले कहिले सुन्ने अनि कहिले अनुभव गर्ने खै !

भारतीय प्रसिद्ध लेखक गिरिश कर्नाडको नाटकलाई रूपान्तरण निर्देशनमा आकाङ्क्षा कार्कीको काम एकदमै सह्रानीय छ, त्यस्तै स्टेजको सेटअप, लाइटिङ, र आर्ट वर्क पनि गजब छ । त्यो भन्दा पनि गजबको कुरा त पात्रहरूको अभिनय निकै लोभलाग्दो छ, तारिफयोग्य छ । कलाकारहरू लूःनिभा तुलाधर, आशन्त शर्मा, सुदाम सिके, ऋषिकेश बस्याल, रञ्जना भट्टराई , केनिपा सिंह पहरी, बिनिता लामा गुरुङ,  सेबिता अधिकारी आदिको कुशल अभिनय कलाले करिब २ घण्टासम्म दर्शकहरूलाई मञ्चमा बाँधिरहन्छ ।

नेपाली रङ्गमञ्चमा समाजको वास्तविक चित्रण गर्न र महिला केन्द्रित विषयमा कमै मात्र नाटकहरू लेखिएका छन् र ती नाटकहरू आमा दर्शकको माझ पुगेका छन् । मानिस आफैमा विरोधाभासपूर्ण जीवन बाँचिरहेको छ, उसलाई समाजको व्यवस्थाअनुसार चल्नु पनि छ अनि आफ्नो आडम्बरमा बाँच्नु पनि छ । विशेषतः पुरुष प्रधान समाजमा महिलालाई आफ्नो अस्तित्वको लागि आफ्नै घर भित्रबाट नै सङ्घर्ष गर्नु पर्ने बाध्यता छ ।

तमाम असमानता हुँदा हुँदै पनि हामी यही समाजका पात्रहरू हौँ र यसैमा आफ्नो भविष्य खोज्नु पर्ने बाध्यता छ । होला, हामी आजको भोलि नै समाज र देश परिवर्तन गर्न नसकौंला तर परिवर्तनको सुरुवात भने गर्न सक्छौं र यस्तै परिवर्तनको प्रयासमा गरिएको सत्कर्ममा हातेमालो गर्न सक्छौं ।

त्यसैले असोज ४ बाट सुरु भएर असोज २७ गते सम्म चल्ने यस नाटक ‘वेडिङ एल्बम’ हेरेर तपाईंहरू पनि यस अभियानमा सहभागी हुन टेकु स्थित कौशी थिएटर पुग्नु होला ।