घडीको सुई अर्थात् समय जहाँबाट शुरु भएको भएता पनि एक फन्को लाएर पुनः त्यही सुरुवाती बिन्दुमा आउँछ । समय भन्ने शब्द र मान्यताको प्रादुर्भाव गरिनु, समय घर्कंदै जानु र अन्तमा सकिनु मानव सोच र प्राकृतिक प्रणालीको महान् उपलब्धि हो । यी तीन आयामको परिर्वतनको मूल रहस्य भनेको नै ब्रह्माण्डीय सत्यताको प्रतिफल हो । गोलार्धयुक्त ब्रह्माण्डको यस जीवनचक्रजस्तै पृथ्वीमा भए रहेका जीवन र पदार्थका समस्त यायावर यही सिद्धान्तअन्तर्गत चलायमान रही आएका छन् ।
यो त भयो ब्रह्माण्डीय सत्यताको कुरा, यही प्रार्दुभाव, विकास र पतनको सत्यतामा टेकेर आधुनिक भन्ने भाव र सोचको पनि जन्म भएको भन्ने आंकलन गर्न सकिन्छ । समाजमा आधुनिकता प्रायः आकाशिदै गएको छ । आधुनिकता अगाडि बढ्दै जानेक्रममा एउटा निश्चित बिन्दुमा पुगेपछि विलय हुनुपर्छ र पुनः पुरानै दशामा फर्कनु पर्छ । यसरी हेर्दा आधुनिकताको तथ्यले ब्रह्माण्डीय भूगोललाई नै अनुकरण गरेको अनुभूत हुन्छ । अर्थात् आधुनिक भन्ने गरिएको विचार पनि शुरु, विकास, अन्त्य र पुनः शुरुमा नै केन्द्रीकृत भएर आउँछ । हिजोको दिनको आधुनिक भनिएकाहरू आजको दिनमा पुराना ठहरिन्छन् । आज पुराना ठहरिएका हिजोका वस्तुतथ्यहरू, विचारहरू, आंकडाहरू, अनुभवहरू, शैलीहरू र धारहरू भोलिको दिनमा परिर्वतनका छनक लिएर आधुनिकतामा रुपान्तरित हुन्छन् । मानवको जीवन शैलीमा पनि अहिले यही सत्यपरक सिद्धान्त लागु भएर आएको छ । हिजो मानव जीवनमा प्रायोगिक रही आएका सामाजिक दृष्यसंरचना, दृष्टान्त, रहनसहनमा प्रयोगिक भएका संरचनाहरूजस्तै लाउने, खाने र प्रयोग गर्ने विषयवस्तुहरू एक समयचक्र पार गरेपछि पुनः नयाँ भएर आउने छन् । अर्थात् आजका लागि आधुनिक भएर देखापर्ने छन् । यसर्थ हिजोको दिनमा मानव जीवनशैलीसँग जोडिएका सरसमानहरूको दोहोरिने प्रक्रिया अप्राकृतिक होइन, स्वाभाविक र प्राकृत हो भन्ने बुझ्नुपर्छ ।

यहाँ मैले उठान गर्न खोजेको विषय साइकल विषय सन्दर्भको कला कार्यक्रम भएकाले यसैलाई यस पंक्तिमा जोड्न खोजी रहेको छु । विगतका दिनहरूमा मानवको सुविधा र सहजताका लागि आरम्भ भएको साइकल संस्कृति हराउँदै आज पुनः उजेलिन थाल्नु मानव समुदायका निम्ति राम्रो पाटो हो । विगततर्फ घोत्लिने हो भने मानव समुदाय क्रमशः सुविधाको लिप्साले मोहित हुँदै जादा शुरुमा पैदलले चलेको समाज साइकल हुँदै चार पांग्रे गाडी मोटर र आकाशमा उड्ने हवाई जहाज रकेटसम्म पुग्यो । मानव सभ्यताको विकासको दृष्टिकोणले, यो प्रक्रिया मानव समाजका लागि ज्यादै उन्नति र फलदायी प्रक्रिया थियो तर यसले आफूसँगै पर्यावरणीय हानि, मानव स्वभाव र स्वास्थ्यमा हानिनोक्सानी पनि निम्त्यायो । यो समयचक्रलाई भुल्न चाहे पनि भुलिन सकिन्न । वास्तवमा हिजोका दिनमा समाज उतिसारो पुँजीवादले पोषित थिएन । महत्त्वकांक्षाका उत्कण्ठामुखी बज्र पनि थिएनन् । जीवनशैली प्रकृतिमय प्राकृत थिए । क्रमशः पछि साइकल एराको समाजमा विभिन्न खाले विकासवादी मोडलका लेयरहरू लाग्दै गए । मान्छे साइकलबाट मोटरगाडी, हवाईजहाज र रकेटमा उड्दै आए । र, माथि भनिएजस्तै हानिनोक्सानी र जोखिमका सम्झौताहरू पनि बढ्दै गए । यसैलाई चिर्न आज समाजमा साइकल संस्कृतिको महसुस भएको छ जसलाई अहिले विकसित राष्ट्रहरूले बुझिसकेका छन् । युरोपका थुप्रै मुलुकहरूमा साइकल पुनः उत्तम र स्वास्थ्यकर वाहन बन्दै गएका छन् ।
यो साइकल संस्कृतिलाई प्रोत्साहन गर्दै गत हप्ता शनिबारका दिन पर्यटन बोर्डमा प्राङ्गणमा एक विशाल चित्रकला कार्यशालाको आयोजना साइकल कल्चर कम्युनिटीले गर्यो । प्रा.डा. अभि सुवेदीको प्रमुख आतिथ्यमा सम्पन्न उक्त चित्रकला वर्कसपको उद्घाटन ललितकला प्रज्ञा प्रतिष्ठानका क्रमशः तीन पूर्व उपकुलपतिहरू कलाकार किरण मानन्धर, रागिनी उपाध्याय, कान्छाकुमार कर्माचार्यले गरे । साइकल कल्चर कम्युनिटीका अध्यक्ष डा. तारालाल श्रेष्ठ र कलाकारका कोडिनेटर रवीनकुमार कोइरालाको अथक प्रयास र सक्रियतामा सम्पन्न भएको उक्त कला वर्कसप कार्यक्रममा नेपालका चिरपरिचित तथा सक्रिय कलाकारहरूको सहभागिता रहेको थियो । कला कार्यशालामा कलाकार किरण मानन्धर, रागिनी उपाध्याय, कान्छाकुमार कर्माचार्य, विजय थापा, कृष्ण मानन्धर, गोविन्द डंगोल, रवीन कोइराला, मुकेश मल्ल, रतनकुमार राई, तीर्थ निरौला, सरिता डंगोल, सुनिता राणा, एस.सी. सुमन, कृष्णप्रकाश शाह, हिमालयदेवी शाह, रमण गुरुङ, राकेशचन्द्र श्रेष्ठ, दिवेशमान प्रधान, दीपेन्द्रमान वनेपाली, हरिजंग बम्जन, दीपक मेहता, सन्तोष सिग्देल, नरबहादुर बिके, गीताकुमारी ठाकुर, छेतेन शेर्पा, अर्जुन बस्नेत, प्रमोद तण्डुकार, सरुना महर्जन, कृतिचन्द्र शाह लगायतको सहभागिता रहेको थियो । हरेक कलाकारले साइकल संस्कृतिको विषयलाई आत्मसात गरेर दुई दुई चित्र बनाएका थिए । वर्कसपमा बनिएका सबै चित्रहरुको वृहत् प्रदर्शनी लगाउने र बिक्री भएका चित्रको आधा रकम कलाकारलाई नै दिने र आधा रकम साइकल कल्चर कमिटीमा आगामी कार्यक्रमका निम्ति जोहो गर्ने लक्ष्य आयोजक पक्षको रहेको छ ।
सोही कार्यक्रममा प्रायःजसो साइकल राइडरहरूको पनि मनग्ये उपस्थिति रहेको थियो । कार्यक्रमलाई सम्वोधन गर्दै डा. अभि सुवेदीले आफू काठमाडौँ उपत्यकामा छिर्दादेखि काठमाडौँमा देखेको विगतको साइकल प्रयोग र यसको आवश्यकता र आफूले भोगेको अनुभव बाँडेका थिए । महिला पूर्वकुलपति रागिनी उपाध्यायले पर्यावरण बचाउन, आर्थिक अवस्था सुधारमुखी बनाउन र जीवनशैली स्वास्थ्यकर राख्न आजको दिनमा साइकल नेपालमा अपरिहार्य रहेको कुरा गरेकी थिइन । वर्कसपमा कलाकारहरुको संयोजन गर्नुभएका रवीन कोइरालाले विश्वमा देखिएको साइकलको शुरुवातको कुरा बताएका थिए ।
यसैगरी कार्यक्रमको सन्दर्भमा सोसाइटीका संयोजक डा. तारालाल श्रेष्ठले जारी गरेको वक्तव्यका यसो भनिएको छ । “नेपालमा साइकलबाटै जीवन उपार्जन गर्ने लाखौं नागरिक छन् । दैनिक यात्रा, स्वास्थ्य, खेलकुद तथा मनोरन्जनका लागि साइकल प्रयोग गर्ने नागरिक पनि लाखौं छन् । विश्वको कुनाकाप्चामा हरक्षण सवा अर्ब साइकल गुडिरहेको तथ्य छ । सक्रिय गतिशीलतासँगै बहुआयामिक वातावरणीय न्यायको माध्यमका रुपमा स्थापित साइकल संस्कृतिलाई विश्व साइकल दिवससहित सम्मान गर्दै संयुक्त राष्ट्रसंघले दीगो विकासको लक्ष्य तय गरेको देखिन्छ । साथै यस वर्षको विश्व पर्यटन दिवस ग्रिन इन्भेष्टमेन्ट शीर्षकमा केन्द्रित छ ।”