एक दिन वाङ चेन आफ्ना नोकरहरूलाई बैठक कोठा सफा गर्न लगाएर हेरिरहेको थियो । त्यत्तिकैमा लुगाफाटाले कसिकसाउ परेको एउटा भलाद्मी बिस्तारै पस्न आयो-
टोपी कालो रेसमी खुब राम्रो,
झल्-झल् दामी रत्न-पट्टी बसेको,
अल्खा त्यस्तै वस्त्रको औ हरियो,
पेटी रातो कम्मरैमा कसेको,
मोजा सेता हुन् कि टुक्रा हिमैका ?
जुत्ता राता मेघ होलान् कि लाल ?
कस्तो राम्रो भारदारी-स्वरूप !
ठाडै हेर्दा भव्यताको छ चाल ।
यस्तो मान्छे देवता हो – नमान
दर्जावाला हो, कि राजा त जान ।
वाङ चेनले त्यस मान्छेलाई देख्नेबित्तिकै चिन्यो- ऊ त्यसकै भाइ वाङ त्सेइ थियो । वाङ त्सेइले सरासर आएर दाजुलाई प्रणाम गरेर भन्यो, “दाजु, म गएदेखि यहाँ सबै कुशल-मङ्गलै त छ ?”
वाङ चेनले ढोग फर्काउँदै भन्यो, “हामी यहाँ छौँ भन्ने कसरी जान्यौ ?”
वाङ त्सेइले भन्यो, “राजधानी गएको थिएँ । घरको खोजखबर गर्दा त्यो त भत्केर पाताल भइसकेको रहेछ । लडाइँमा तपाईंहरूलाई कस्तो दुःख पर्यो होला भन्ने चिन्ता लाग्यो ।” त्यहाँ भएका इष्टमित्रहरूसित बुझ्दा तपाईंहरूले दक्षिणमा आई शरण लिनुभएको छ भन्ने चाल पाइयो । जायजेथाको बर-बन्दोबस्त मिलाउन तपाईं राजधानी आउनुभएको थियो, तर मुमाको स्वर्गवास भएको खबर पाई लगत्तै फर्कि पनि हाल्नुभयो भन्ने खबर पनि पाएँ । त्यसैले हस्याङफस्याङ गर्दै आउँदै छु । यहाँ अघि तपाईंहरू बसेका घरमा गई बुझ्दा छिमेकहीहरूले मुमा निकानन्दै हुनुहुन्छ, र तपाईंहरू यहाँ सर्नुभएको छ भन्ने थाहा पाएर आशौचका लुगा फेर्न एक पटक नाउमा गई सरासर आउँदै छु । मुमाज्यू कहाँ होइबक्सिन्छ ? हजुरहरू यस्ता रद्दी ठाउँमा किन बसिबक्सिएको ?”
वाङ चेनले भन्यो,”कथा लामु छ । पहिले मुमाज्यूको दर्शन गरेर आऊ । अरू कुरा हुँदै गर्लान् ।”
वाङ त्सेइलाई लिएर ऊ भित्र पस्यो । नोकरहरूले वाङ त्सेइ आइपुगेको खबर बुढियाकहाँ अघि नै पुर्याइसकेका थिए । कान्छो छोरो आइपुगेको सुन्दा बुढी असाध्यै खुसी भई । छोरो भेट्न ऊ आफैँ बाहिरतिर हिँडी । बिच बाटैमा आमाछोराको भेट भयो । वाङ त्सेइले आमालाई दण्डवत् गर्यो ।
बुढीले आँसु चुहाउँदै भनी, “बाबु, दिनरात तिम्रै सम्झना गर्थें । तिमीलाई कस्तो छ ?”
“सन्चै छ, मुमा ! भाउजूको दर्शन गरिसकूँ, अनि बसेर गन्थन गर्दै गरुँला ।”
वाङ चेनकी स्वास्नीलाई भेटेर नोकरचाकर, केटी सुसारेहरूको ढोग भेट फर्काउँदै ऊ दाजु चाहिँको हात समातेर बैठकमा आयो । आमा बुढी पनि त्यहीँ आएर बसी । उनीहरू त्यहीँ बसेर कुराकानी गर्न लागे ।
वाङ त्सेइले भन्यो, “लौ, अब पहिले दाजुबाटै कुरा सुनूँ । घरको यस्तो चालामाला किन ?”
वाङ चेनले फानचुआनमा फ्याउराहरूलाई गुलेलीले हानेको, उनीहरूले धोका दिएर आफू र आमाबाट सारा जेथा बिकाउने छल गरेको सबै विस्तारसाथ सुनायो ।
वाङ त्सेइले गजब मानेर भन्यो, “ओहो, यो कारण पो रहेछ। तर, जे भए पनि यो त तपाईंकै अचाक्ली हो। फ्याउराहरूलाई किमार्थ दोष लाउन सकिन्न । ती बिचरा त जङ्गलमा बसी मजासित पढ्दै थिए। तपाईं मूल बाटो गइरहनुभएको थियो । उनीहरूले तपाईंलाई कुनै छेकथुन गरेका होइनन् । अनि फेरि तपाईंले तिनलाई किन हिर्काउनु, र तिनका किताब पनि लिइदिनु ? चोटले त्यसरी दुख्तादुख्दै पनि पुस्तक फिर्ता लिन तीमध्ये एउटा तपाईंको डेरासम्म गयो । त्यसैबाट त्यो पुस्तक उनीहरूलाई नभई नहुने रहेछ भन्ने स्पष्ट देखिन्छ । त्यति हुँदाहुँदै पनि किताब नफर्काउने त कुरै छोडौँ, अझ झन् रिसाएर हातमा नङ्गी तरबार लिई तपाई तिनलाई लखेट्नसमेत दगुर्नुभयो । फेरि, रातका बखत आएर किताब फर्काऊ भनी त्यसरी बिन्ती गर्दा पनि तपाईंले कुनै वास्ता गर्नुभएन । त्यो पुस्तक तपाईंले वाच्न सक्ने होइन, तसर्थ त्यो राख्नाले तपाईंलाई के फाइदा ? त्यसलाई किन राख्ने ? आइपरेका सारा दुःख तपाईं आफैँले बेसाउनुभएको रहेछ ।”
आमा चाहिँले त्यसका कुरामा सही थाप्तै भनी, “मैले पनि नसम्झाएकी होइन । त्यो पुस्तक किन राख्नु ? आपत् निम्त्याउनुबाहेक त्यसबाट केही हुने होइन ।”
वाङ चेनले भन्न त केही भनेन, तर यी उपदेश सुन्दा ऊ भित्रभित्रै मुर्मुरियो ।
वाङ त्सेइले सोध्यो, “त्यो पुस्तक कत्रो छ ? त्यसको लेखोट कस्तो छ ? ”
वाङ चेनले बतायो, “पुस्तक त सानै छ । त्यसको लेखोट केही पनि नबुझिने भएकोले त्यो कुन भाषा हो ? भन्न सक्तिन ।”
वाङ त्सेइले भन्यो, “हेरूँ त म पनि एक पटक ।”
बुढीमाउले थपी, “ठिक हो, भाइलाई पनि देखाऊ न । उनले केही बुझिहाल्छन् कि ?”
वाङ त्सेइले भन्यो, “बुझुँलाजस्तो त लाग्दैन, तैपनि हेर्न मन लाग्यो ।” वाङ चेनले पुस्तक ल्याएर भाइका हातमा राखिदियो । उसले छेउदेखि पुछारसम्म एकचोटि पल्टाएर यसो हेरेर भन्यो, “साँच्चिकै अनौठो लेखाइ रहेछ ।”
अनि जुरुक्क उठेर बैठकका बिचमा गई उभिएर त्यसले भन्यो, “त्यस दिनमै ल्यू- अर् भएको थिएँ। भइगो, आफ्नो पुस्तक पाइहालेँ । अब दुःख दिन आउन्न । लौ, सुबिस्तासाथ बस।” यति भनेर ऊ बाहिरतिर लम्क्यो ।
“तेरो यत्रो मजाल पाजी पशु, पर्खेस् कता उम्कलास् ।” भन्दै वाङ चेन त्यसमाथि जाइलाग्यो । लुगा समातेर तान्न खोज्दा फ्याउराको लुगा च्यातियो । फ्याउरो चलमलायो र लाएका लुगाबाट फुत्त बाहिर निस्क्यो । अनि आफ्नो असली रूप लिई त्यसले वायुवेगले सुइँकुच्चा ठोक्यो । वाङ चेन र त्यसका नोकरचाकर पनि लखेट्तै बाहिर गल्लीमा पुगे । तर, लाख खोज्दा पनि त्यस जन्तुको एउटा भुत्लोसम्म भेट्टिएन । फ्याउराहरूले सारा परिवारलाई बरबादै पारेका र आफूलाई त्यसरी आएर जिस्क्याएका हुनाले वाङ चेन जागेकै थियो, अझ झन् पुस्तकसमेत उडाएर लगेकोले ऊ रिसले दाह्रा किट्न लाग्यो । चारैतिर दृष्टि फिराएर ऊ त्यसलाई खोज्न लाग्यो । सामुन्ने पल्ला घरका छानामुनि एउटा दृष्टिविहीन जोगी उभिएको रहेछ । वाङ चेनले गएर त्यससित सोध्यो, “यताबाट एउटा फ्याउरो गएको देख्नुभयो ?”
त्यसले पूर्वपट्टि देखाएर भन्यो, “ऊ उता गयो ।”
वाङ चेन र त्यसका नोकरहरू दगुर्दै गल्लीका तलतिर लागे । चार पाँच घर मात्र के नाघेका थिए, उनीहरूले पछिल्तिर कसैले कराएको सुने । त्यो दृष्टिविहीन जोगी भन्दै रहेछ, “वाङ चेन, मै त्यस दिन वाङ फु भएर आएको थिएँ । हेर, तिम्रो भाइ पनि यी यहीँ छ ।”
फरक्क फर्केर हेर्दा उनीहरूले दुइटा फ्याउरालाई जिस्की-जिस्की त्यो पुस्तक एउटाले अर्कोका पन्जामा हुत्त्याएर खेलाइरहेको देखे । उनीहरू तिनलाई पक्रन उतातिर झम्टे । तर, उनीहरू त्यहाँ आइपुग्नुभन्दा पहिले नै ती जन्तु त्यहाँबाट बेपत्ता भइसकेका थिए । वाङ चेनलाई दगुर्दै घरअगाडिबाट जान लागेको देखेर आमाचाहिँले कराएर भनी, “पर्ख जान देऊ । दुःखको त्यो बिउ गएकै बेस हो। तिनलाई अब किन लखेट्छौ ? आऊ, अब घर फर्क।
हुन त वाङ चेन रिसले मुर्मुरिएको थियो, तैपनि आमाका कुरा मानेर त्यसले आफ्ना मानिसलाई पनि अब फर्केर आउने आज्ञा दियो । घर फर्केर फ्याउरोले लाएका लुगा हेर्न भनी हातमा लिँदा त ती हातका हातै बदलिएर गए-
यो चाला देखेर सबै जिल्ल परे ।
नोकरहरू परस्परमा कुरा गर्न लागे, “फ्याउरो त कस्तो जादु जान्दो रहेछ । कान्छा मालिक कहाँ होइबक्सेला ? हेर त, फ्याउरो दुरुस्त उहाँजस्तै भएर आएको !”
वाङ चेन कुरा सम्झी-सम्झी रिसले मुर्मुरिन्थ्यो । हुँदा-हुँदा त ऊ थलै पर्यो। आमाचाहिँले डाक्टर – वैद्यसमेत डाक्नुपर्ने भयो ।
यसका लगत्तै केही दिनपछि उस्तै रेसमी टोपी र रेसमकै लुगा लगाएर वाङ त्सेइ फेरि टुप्लुक्क देखा पर्यो । केही नोकर ठुला बैठकमा थिए। उनीहरूले त्यसलाई पक्का पनि उही फ्याउरो भेष बदलेर आएको हो भन्ठान्नु स्वाभाविकै भयो । तिनीहरूले कराएर भने, “लौ फ्याउरो त फेरि आइपुगेछ ।”
दगुरेर आउँदा भेट्टाइएका लाठा-मुङ्ग्रा लिएर उनीहरू त्यसलाई चुट्न अघि सरे ।
वाङ त्सेइले हप्कायो, “मूर्ख हो, कत्तिको मात्तिएका ! जाऊ, गएर मालिक्नीलाई म आएको खबर पुर्याऊ ।”
आफ्ना कुराको वास्तै नगरी बरु आफूलाई ठटाउने सुरसार पो गर्न लागेको देख्ता वाङ त्सेइ रिसले आगो भयो । एउटाका हातबाट लट्ठी खोसेर उसले त्यसलाई साफसित चुट्यो । त्यसपछि कसैले पनि उसका नजिक पर्ने आँट पुऱ्याउन सकेन । बरु सबै जना यताउतिका कोठामा पसी लुके । त्यहीँबाट
धारे-हात लाई-लाई उनीहरू त्यसलाई गाली गर्न लागे, “तँ पशु, मरी जा । पुस्तक पाइसकेपछि अब के गर्न यहाँ मर्न आएको होला !”
वाङ त्सेइ जाग्नका साथै उदेक पनि भइरहेको थियो । ऊ ठेलठाल गर्दै सरासर भित्र पस्यो । नोकरचाकरमा भागभाग पयो । उनीहरूलाई स्वाँ स्वाँ र फ्वाँ-फ्वाँ गर्दै घरका पछिल्ला भागतिर लागेको देखेर केको खैलाबैला रहेछ ? – भन्ने बुझ्न बुढीमाउ बाहिर निस्की । त्यसलाई देखेर नोकरहरूले भने, “त्यो फ्याउरो फेरि कान्छा मालिक भएर आएको छ । जबरजस्ती ऊ भित्र पस्तैछ ।”
बुढिया डराएर कराउनै लागेकी के थिई, त्यत्तिकैमा वाङ त्सेइ अगाडि आइपुग्यो । आमालाई देख्नासाथ हातको लट्ठी त्यहीँ फालेर ऊ दण्डवत् गर्न अगाडि बढ्यो ।
त्यसले भन्यो, “आमा, यी मूर्खहरूले मलाई फ्याउरो किन भनेका, कुट्न किन खोजेका ?”
आमाचाहिँले सोधी, “तिमी साँच्ची मेरै छोरा हौ त ?”
वा त्सेइले भन्यो, “आम्मै, के भन्नुभएको ! खुद हजुर आफैँले जन्माइबक्सेको होइन र ? म हजुरकै छोरो त हुँ नि !”
तिनीहरू यस्तै कुरा गर्दै थिए। त्यत्तिकैमा वाङ त्सेइका सात-आठ जना भरिया पनि त्यही आइपुगे । अनि बल्ल घरका नोकरहरूलाई यी त मालिकै रहेछन् भन्ने पत्यार पर्यो र बल्ल तिनीहरूले माफी माग्दै त्यसलाई दण्डवत् गरे । आमाचाहिँले पनि फ्याउराहरूका सारा कुरा बेलीविस्तारसाथ सुनाउँदै भनी, “दाजुर रिसले गर्दा थलै परेका छन्, अहिलेसम्म सन्चो भइसकेको छैन ।”
वाङ त्सेइ पनि डराएर वाल्ल पायो । त्यसले भन्यो, “उसो भए वाङ फुले सजुआनमा मलाई नि ल्याएको चिठी पनि जाली नै हो त ?”
“चिठीमा के थियो ?”
“म सम्राट्का साथै सजुआन गएको थिएँ। त्यहाँ चेन्नान्का गवर्नर येन उनका मातहतमा काम गर्न खटिए। पछि त्यहीँ लप्टनमा मेरो बढुवा पनि भयो । त्यसैले राजधानीमा सवारी फिर्दा मैले सम्राट्का साथै आउनुपरेन । दुई महिना जति भयो – वाङ फुले आएर मलाई दाजुको एउटा पत्र थियो । विद्रोह भएकाले दाजु याङ्त्से उपत्यकातिर सर्नुभएको र त्यहीँ हाल सालै हजुरको देहान्त भएकोले लास उत्तरका हाम्रा पुर्ख्यौली चिहानमा सार्न मद्दत गर्न मैले तुरुन्तै आउनुपर्यो भन्ने खबर पनि त्यसले ल्याएको थियो। चिहान तयार पार्न राजधानीतिर गइहाल्नुपर्यो भनी वाङ फु भोलिपल्टै हिँड्यो । मैले राजीनामा दिएर जागिर छोडेँ । अनि भएका सारा सम्पत्ति बेचबिखन गरी सरासर आउँदै छु । अघि राज भएका घरमा जाँदा छिमेकीहरूले यतातिर देखाइदिए । हजुर निकानन्दै होइबक्सिन्छ भन्ने कुरा पनि सुनेँ । त्यसैले नाउमा गई लुगा फेरेर एक पटक दाजुसित – यस्तो झुटो खबर किन पठाएको सोधूँ भनी – त्यतैबाट सरासर आउँदै छु । यता यस्तो काण्ड भएको त मनमा न चित्तमा !”
अनि वाङ त्सेइले भारीबाट त्यो चिठी झिकेर देखाउन खोज्दा त त्यो पनि सादा कागज भइसकेको रहेछ । सबैलाई रुनु न हाँस्नु भयो ।
भेटघाट गरूँ र आफ्ना पनि कुरा सुनाऊँ भन्ने विचारले वाङ त्सेइ आमाका साथ दाजु-भाउजूको कोठामा गयो । त्यसलाई देख्नासाथ उत्तेजनाले गर्दा झन्डैले गिदीका नसा फुटेर वाङ चेन बेहोस भएको ।
बुढीले सम्झाउँदै भनी, “हुन त फ्याउराहरूले साह्रै दुःख दिएका हुन्, तैपनि तिनले सजुआनसम्म पुगेर त्सेइलाई त्यहाँबाट डाकेर ल्याई हामी सबैको यहाँ भेट गराइदिएकोले तिनीहरूलाई धन्यवादै छ । यसलाई त तिनीहरूको मेहरवानी नै भन्नुपर्छ तसर्थ तिनको बद्ख्वाइँ गर्नतिर नलागौँ ।”
दुई महिनापछि बल्ल वाङ चेन तङ्ग्रियो । त्यसपछि तिनीहरू त्यहीँ हाङचाउमै स्थायी रूपले बसे।
पाठक हो ! यसैले याङत्से उपत्यकामा जाली मान्छेलाई आजसम्म पनि फ्याउरो भन्ने गर्दछन् ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।