स्पोटिफाई नामक अडियो स्ट्रिमिङ कम्पनीले बेलायत र अस्ट्रेलियामा १५ घण्टा बराबरका पुस्तकहरू सित्तैमा सुन्न सकिने बताएको छ ।

स्पोटिफाई प्रायः संगीत र पडकास्टका लागि चर्चित ठाउँ हो, जसरी युट्युब भिडियोका लागि प्रख्यात छ ।

महिनाको ११ डलर तिरेपछि मासिक ग्राहक बन्न सकिने थप १० घण्टाका किताब सुन्न सकिने बताइएको छ ।

जाडो याममा भने यो सुविधा अमेरिकाका लागि समेत थपिने बताइएको छ ।

स्पोटिफाईले आफ्नो अडियो पुस्तकालयमा १ लाख ५० हजारभन्दा बढी पुस्तक हालेको छ । तीमध्ये ७० प्रतिशत न्युयोर्क टाइम्स बेस्ट सेलर सूचीमा रहेका पुस्तकहरू रहेको उसको दाबी छ । पडकास्ट र संगीतका कारण चर्चा पाएको यो एपले अब पुस्तकले समेत चिनिने भएको छ ।

संसारभर यसका ५० करोड नियमित प्रयोगकर्ताहरू रहेका छन् । तापनि यसले नियमित नाफा भने कमाउन सकेको छैन ।

पछिल्लो समय स्पोटिफाईले आफ्नो क्षमता वृद्धि गर्न र ग्राहकहरू तान्न १ अर्ब डलर बराबरको लगानी गरेको छ ।

स्पोटिफाईले अडियो बुक पनि सूचीमा राखेपछि भने यसले अमेजन डटकमले चलाइरहेको अडियो बुकको बादशाह अडिबललाई चुनौती दिने अपेक्षा गरिएको छ । अडिबलमा १५ डलर मासिक शुल्क तिरेर सुन्न सकिन्छ ।

अडियो बुक श्रोता लोभ्याउन स्पोटिफाईले कति खर्च गर्दैछ भन्ने प्रस्ट नभए पनि कम्पनीले रोयल्टी शुल्क ठूला कम्पनीलाई तिर्ने खुलासा भएको छ । यस परियोजनामा पेइन्गुइन रेन्डम हाउस, ह्याचेट, सिमोन एन्ड सुस्टर, हार्पर कोलिन्स र म्याकमिलनजस्ता ठूला कम्पनीहरू जोडिएको समेत स्पोटिफाईले बताएको छ ।

त्यसो त केहीले भने स्पोटिफाई र पुस्तक प्रकाशकबीच भएका सम्झौताले लेखकहरूका लागि फाइदा हेर्न भने बिर्सन नहुने सचेत गराएका छन् ।

यता स्पोटिफाईले भने आफ्नो रोयल्टीको प्रकार अडिबल (अमेजन)को जस्तै रहेको प्रस्ट्याएको छ । निश्चित घण्टासम्म अडियो सुनेको खण्डमा सो पुस्तक रोयल्टीका लागि योग्य हुने बताइएको छ ।

कम्पनीले अन्य स्वतन्त्र प्रकाशकहरूलाई पनि क्रमशः जोड्दै जाने नीति लिएको छ ।