फ्रान्सेली उपन्यासकार तथा समालोचक क्लाउड सिमोन १० अक्टोबर १९१३ मा माडागास्कर टापुको तानानाराइभमा जन्मेका थिए । उनका पिता पहिलो वश्वयुद्धमा मारिएका थिए । सिमोनलाई आमाले हुर्काएकी थिइन् । उनले माध्यमिकस्तरको शिक्षा प्यारिसमा नै प्राप्त गरे । केही समय अक्सफोर्ड र क्याम्ब्रिजको अध्ययनपछि उनले आन्द्रे ल्होते एकेडेमीमा पेन्टिङ्गको अध्ययन गरेका थिए । त्यसपछि उनले स्पेन, जर्मनी, सोभियत युनियन, इटाली र ग्रीसको व्यापक भ्रमण गरे । उनका कृतिमा यी भ्रमण र दोस्रो विश्वयुद्धको अनुभव प्रस्तुत भएको पाइन्छ । युद्ध प्रारम्भ हुँदा सन् १९४० मा सिमोनले मेयुजको युद्धमा भाग लिएका थिए । त्यही साल मे महिनामा युद्धमा उनी पक्राउ परी बन्दी बनाइएका थिए । उनी जेलबाट उम्केपछि युद्ध प्रतिरोधी आन्दोलनमा सहभागी भए । उनले युद्धअघि लेख्न शुरू गरेको उपन्यास ठग (The Cheat, 1946) त्यसैबेला पूरा गरेका थिए ।
क्लाउड सिमोनलाई नवरोमान्सवादी आधुनिक साहित्यको धारमा लेख्ने साहित्यकार भनेर चिनिन्छ । खासगरी उनी मार्सल प्रूष्ट र विलियम फकनरबाट प्रभावित देखिन्छन् । प्रूष्ट झैँ उनी पनि आफ्नो लेखोटमा एउटै पृष्ठमा पूर्ण नहुने कतिपय असाध्य लामा वाक्यहरू लेख्न रुचाउँछन् । चेतना प्रवाह शैली (Stream of Conscious technique) को शैली र एक हजार शब्दसम्मका लामा लामा वाक्यहरूको प्रयोग गरिएता पनि उनका वाक्यहरू पठनीय छन् र उनको आफ्नै मौलिक शैली छ । उनले युद्धलाई केन्द्रमा राखेर लेख्छन् । एउटा सिपाहीको दृष्टिबाट सिमोन विभिन्न व्यक्तिको विभिन्न समयको युद्ध अनुभवलाई अभिव्यक्त गर्दछन् । उनका उपन्यासहरूमा प्रथम विश्वयुद्ध, दोस्रो विश्वयुद्ध र फ्रान्सेली क्रान्तिकारी युद्धबारे विभिन्न व्यक्तिको दृष्टिबाट अनुभव प्रस्तुत गर्नुको अतिरिक्त युद्धले सिपाहीका विधवा पत्नीहरूमाथि पारेको प्रभाव पनि अभिव्यक्त भएका छन् ।
उनले १९५० को दशकका नयाँ फ्रान्सेली उपन्यासको प्रतिनिधित्व गरेका छन् । द रोड टु फ्ल्यान्डर्स (The Road to Flanders, 1960) उनको बहुचर्चित उपन्यास हो । यो दोस्रो विश्वयुद्धको पृष्ठभूमिमा आधारित छ । यसै उपन्यासका आधारमा क्लाउड सिमोनलाई सन् १९८५ को नोबेल पुरस्कार प्रदान गरिएको थियो । आँधी (The Wind, 1957) उनको अर्को महत्वपूर्ण उपन्यास हो । यस उपन्यासमा समकालीन इतिहासको परिवर्तनबाट प्रमाणित विभिन्न समयको विभाजनलाई चुनौती दिन तथा मानिसको स्थायित्वलाई पुनः आविष्कार गर्न सिमोनले आफ्नो लक्ष्य परिभाषित गरेका छन् । उनका अन्य प्रम्रख उपन्यास यी हुन्ः-
१. द टउट् रोप (The Taut Rope, 1947), २. द राइट अफ स्प्रिङ(The Rite of Spring, 1954), ३. द ग्रास (The Grass, 1958), ४. द प्यालेस (The Palace, 1962), ५. हिस्टोरी (Histoire, 1967), ६. द व्याट्टल अफ फर्सालस (The Battle of Pharasalus, 1969), ७. त्रिप्तीक (Triptych, 1973), ८. द ज्योर्जिक्स (The Georgics, 1981) र ९. द ट्रली (The Trolley, 2001) ।
उनी प्यारिसमा बस्थे र केही समय पाइरनीसको साल्सेसमा पनि बिताउँथे । पछिल्लो समय उनी दक्षिण फ्रान्सको आफ्नो गृह जिल्लामा बसोबास गर्थे । त्यहाँ उनले अंगुरको बगैँचा किनेका थिए, जहाँ उनी रक्सी उत्पादन गर्थे । जुलाई २००५ मा फ्रन्सको प्यारिसमा उनको देहान्त भएको थियो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।