
फ्रान्सले अनलाइनबाट कुनै पनि किताब किन्दा कम्तीमा ३ युरो डेलिभरी शुल्क लिने नियम लगाएको छ । स्थानीय पुस्तक पसलेहरूको व्यापारमा अमेजनबाट किताब किन्दा सित्तैमा डेलिभरी गरिदिने नियमका कारण सर्वसाधारण पुस्तक पसलसम्म नपुग्ने र सोही कारण स्वतन्त्र पुस्तक पसलेहरूको अस्तित्व संकटमा आएका कारण यो नियम लगाउनु परेको बताइएको छ ।
अहिले अमेजनले कुनै पनि किताब किन्दा १ सेन्ट मात्र डेलिभरी शुल्क लिँदै आएको छ । यो नियम अमेजनलाई केन्द्रित गरी ल्याइएको हो ।
फ्रान्सले ल्याएको यो निमयविरूद्ध अमेजनले उच्च प्रशासनिक अदालतमा मुद्दा हाल्ने भएको छ । उसका अनुसार यो कानुनले ग्राहकहरूको अधिकारलाई कुण्ठित गरेको छ ।
फ्रान्सले भने यो नियममा परिवर्तन नहुने भन्दै अडान लिएको छ । सो अडानप्रति फ्रान्सेली साहित्य तथा सांस्कृतिक क्षेत्रमा ठूलो उपलब्धिका रूपमा लिइएको छ । ग्राहकहरूको नाउँ गरी स्थानीय संस्कृति ध्वस्त बनाउने अमेरिकी व्यवसायिक संस्कृतिलाई यसले थोरै मात्र भए पनि रोक्ने विश्वास स्थानीय संस्कृतिकर्मीको छ ।
फ्रान्समा तीन हजार पाँच सयभन्दा बढी स्वतन्त्र पुस्तक पसलेहरू छन् । बेलायतमा भने एक हजार मात्र यस्ता स्वतन्त्र पुस्तक पसले छन् ।
अमेजनले लगभग सित्तैमा पुस्तक वितरण गर्ने प्रणाली र सुविधाका कारण पुस्तक पसलेसम्म ग्राहकहरू पुग्ने दर न्यून स्तरमा झरेको फ्रान्सेली नेसनल युनियन अफ बुकसेलर्सले जनाएको छ । अमेजनजस्ता कम्पनीले सित्तैमा किताब घरको ढोकैमा पुर्याइदिने भएपछि कोही पनि पुस्तक पसलसम्म नपुग्ने हुनाले बिक्री स्वत घटेको छ ।
अमेजनबाहेक अन्यले फ्रान्सभरि पुस्तक वितरण गर्दा कम्तीमा ८ युरो खर्च हुने गर्छ । अमेजनले सित्तैमा किताब पुर्याइदिँदा पुस्तक बजारमा उसैको एकाधिकार जम्न पुगेको छ ।
सन् १९८१ यता फ्रान्सले कुनै पनि पुस्तकमा ५ प्रतिशतभन्दा बढी छूट नदिने कानुन बनाएको छ । उता अमेजनले भने कुनै पनि पुस्तक खरिद गर्दा ४० प्रतिशतको छूट दिने गरेको छ ।
यता अमेजन फ्रान्सका प्रबन्ध निर्देशक फ्रेडरिक डुभालले भने फ्रान्सले जारी गरेको यो नियमले पुस्तक पसल नभएका साना गाउँ र साना शहरका सर्वसाधारणलाई निकै ठूलो सास्ती पुग्ने बताएका छन् । यसले समग्र पठन संस्कृतिमै असर पर्ने उनको दाबी छ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

