म कक्षा १२ मा विज्ञान विषय अध्ययन गरिरहेको एक विद्यार्थी हुँ । स्कुलले हाम्रो भाषा, हाम्रो सोच्ने र बोल्ने क्षमता तथा हाम्रो लेखाइ अझै बलियो र सुन्दर बनाउन हरेक महिना दुईओटा पुस्तक (अङ्ग्रेजी र नेपाली) हरू बाड्छ । यही श्रावण महिना पेशलकुमार लुइटेलले लेखेका ‘पोल्टाभित्र डिही’ कविता सङ्ग्रह हामीले प्राप्त गरेका थियौँ । छन्द (पद्य) मा लेखिएको यस कविता सङ्ग्रह पढेर अलि भिन्दै अनुभव मैले गरेँ ।

स्वयम् पेशलकुमार लुइटेल हाम्रो विद्यालय आएर कुराहरू गरेकाले पनि होला, मलाई यस कविता सङ्ग्रहप्रति हेर्ने नजर अलिक फरक बन्यो अनि केही लेखाैँ कि भन्ने रहर पनि पलायाे ।

वासुदेव पाण्डेयले लेखेका कविता सङ्ग्रह ‘परेवा र बाज’ पनि मैले पढिसकेको हुँदा यी दुई ओटै कविता सङ्ग्रहको आ-आफ्नै विशेषता छ भन्ने मलाई अनुभव भयो ।

यस आश्विन महिनामा भने सिफल स्कुलले हामीलाई नवराज पराजुलीद्वारा लेखिएको गद्य कविता सङ्ग्रह ‘सगरमाथाको गहिराइ’ प्रदान गरेको छ ।
यसरी, गद्य र पद्य दुई वटै प्रकारको कविता सङ्ग्रह पढ्दै गर्दा कुन बढी राम्रो कुन कम राम्रो भनेर अलग गर्नै नसकिदोरहेछ ।

गहिरो अर्थ लुकेका र सारै मन छुने हरफहरू तथा कविताहरू मैले गद्य कविता सङ्ग्रहमा पाएँ भने विभिन्न मिठा सुरिला लय, खुशी, दुःखी, अनौठा सबै प्रकारको भावनालाई समेट्ने चाहिँ पद्य कविता सङ्ग्रहमा मैले पाएँ ।

जब मैले यो पढेँ, तब मैले महसुस गरे कि प्रत्येक कविताको आफ्नै लय हुँदाेरहेछ ।

कतिपय कविता शार्दुलविक्रीडित, अनुष्टुप, शिखरिणी, भुजङ्गप्रयात, स्रग्विणी, इन्दिरा र अन्य धेरै छन्दमा लेखिदाे रहेछ ।
लेख्ने नियम पनि कडा हुँदाे रहेछ ।

कविता वाचन गर्ने छुट्नै कला हुँदाेरहेछ, लेखन पनि छुट्टै कला हुँदाेरहेछ । वाचन पनि लेखन पनि भइदियाे भने त लेखककाे प्रसिद्धी बढी नै हुँदाेरहेछ ।
म बबुराेलाई अलिअलि रस पस्दै छ याे वियषमा ।

मैले पुस्तकबाट पढेको पहिलो कविता “गुरु” हो ।

यो पुस्तकको पहिलो कविता हो र याे शार्दुलविक्रीडित छन्दमा रचना गरिएकाे रहेछ ।

“सारा ग्रन्थहरू पढेर जसले सद्ज्ञान बाँडीकन
बाँचेको छ सदा हिमाल जसरी राखेर सङ्लो मन
आफू आज जहाँ जतातिर पुगूँ छन् प्राप्तिमा सद्गुरु
मात्रै हुन् गुरु सर्वव्यापक सदा थोपाहरू हुन् अरू ।”
(पृष्ठ १ , गुरु)

गुरु कविता आफैमा एउटा मन छुने कविता हो, जसमा गुरु-गुरुआमाको महत्त्व दर्शाइएको छ । गुरुहरू ज्ञानका ठुला पर्वत हुन्, यहाँ हामीले जति चढे पनि, जता पुगे पनि, चारैतिर ज्ञान नै ज्ञान प्राप्त गर्न सक्छौँ । गुरुहरूले हामीलाई राम्रो बाटोमा हिड्न सिकाउनुहुन्छ र हामी जीवनमा केही बनेको देख्न चाहनुहुन्छ । गुरु ज्योति हो, जसले हाम्रो जिन्दगीमा ज्ञान र बुद्धिमानको किरण ल्याउँछ।

त्यस्तै, मलाई मन परेको अर्को कविता हो ‘पानी’। यसमा पनि शार्दुलविक्रीडित छन्दकाे प्रयोग गरिएको छ ।

“पानी जीवन हो सफा भुवनको आधार बाँच्ने यही
पाखा पर्वतमा परी जलकला सञ्जीवनीॐ मही
बास्ना आउछ सिन्धुबाट कसरी यो फूलको राग हो
फुल्दै छन् ढकमक्क जीवन कला यो कल्पना बाग हो ।”
(पृष्ठ ७, पानी)

पानी जीवनको एक मात्र आधार हो । पानी शक्ति हो, र सृष्टिको निर्माता हो । पानीबिना जति सुक्दै ‘मै हो’ भन्ने मानिस पनि बाच्न सक्दैन। ठुल्ठुला पर्वतको चुचुरोदेखि गहिरा महासागरसम्म पानीले अस्तित्वका पक्षहरूलाई समेट्छ । यसले मानव विकासलाई प्रतिबिम्बित गर्दछ । प्रकृतिको चक्रलाई उज्यालो बनाउँछ । संसारलाई निरन्तरता दिन्छ । यही सबै यस कवितामा चित्रण गरिएको छ ।

उपजाति छन्दमा लेखिएको मलाई सबैभन्दा मन परेको कविता अभाव हो । यसकाे लय हाम्रो हिन्दू धर्मका विभिन्न श्लाेकहरूसँग पनि मिल्दा रहेछन् । याे ज्ञात मलाई हुँदै छ।

“मस्तिष्कभित्रै किन भो भनन्न
भाडा तिरेको दिन छैन अन्न
कैयौँ समस्या त अजम्मरी छन्
अभावका रूप थरी थरी छन् ।”
(पृष्ठ ८३, अभाव)

पीडा एउटा दर्दनाक अनुभव जसले जीवन जिउन सिकाउँछ। अभाव कविताको विषयवस्तु पनि यही दुःख, पीडा, वरपर घुम्छ । कविताले शारीरिक तथा भावनात्मक दुवै प्रकारका पीडाहरूलाई स्पष्ट रुपमा चित्रण गर्दछ ।

कविताले पीडाको अथक उपस्थितिलाई हाइलाइट गर्दछ ।

चाहे त्यो रोगहरूको शारीरिक असुविधा होस् वा अनुपस्थिति र हानिको तीतो स्वाद होस्, वा अधूरा सपनाहरूको गहिरो घाउहरू ।

यसरी यस्ता कयौँ मिठा लय भएका र गम्भीर अर्थ लुकेका कविताहरू यस ‘पोल्टाभित्र डिही’ मा छन् । सबैका आफ्नै विशेषता छन् । ‘खोज्दै छु राष्ट्रयनायक’, ‘परदेशमा श्रम’, ‘भोक, आत्महत्या र देश’, जस्ता आदि कविताहरू देशप्रेम सँग सम्बन्धित छन् ।

जस्तैः

“माटो यो देशको सम्झी मार्गचित्र बनाउने
को हो गन्तव्यको एक राजमार्ग खनाउने ।

ढुङ्गा, माटाहरूभित्र सृजना छन् असीमित
नक्सामा मात्र यो देश कसरी हुन्छ जीवित |”
(पृष्ठ ३, खोज्दै छु राष्ट्र्यनायक)

“माटाको ममता लिएर मनमा आओ युवा देशमा
राम्रो खुल्छ कला प्रिया युगलको आफ्नै भुषाभेषमा
आफ्नै संस्कृति लोकको छ मधुरो वाणी सदा सुन्दर
त्यो देखावटको बगान विरसी सौन्दर्य के हुन्छ र ?”
(पृष्ट २५, परदेशमा श्रम)

“ सिङ्गो विश्व स्वयं डुबी कहरमा चीत्कारले व्याप्त छ
चिन्ता भोक र प्यासको सिलसिला पर्याप्त पर्याप्त छ
बस्ने गर्छ चलायमान सपना जो मूर्तिजस्तै बनी
पोका पुन्तुरबाट सामल कठै निस्किन्न दानो पनि ।”
(पृष्ट २७, भोक, आत्महत्या र देश)

संसारमा जहाँ सिंहहरू बाँच्नको लागि सङ्घर्ष गर्छन्, खाना, पानी र आशाको लागि तिनीहरूको पुकार सुन्न सकिन्छ। वरपरका मानिसहरू पनि खानको लागि पर्याप्त खोज्न सङ्घर्ष गरिरहेका छन्, र तिनीहरूको चिन्ताले तिनीहरूलाई आफ्नो परिवारको हेरचाह गर्न गाह्रो बनाउँछ । जो जहाँ जन्मिन्छ, त्यहीँ त्यसको जन्मभूमि हो, राष्ट्रको माया त अवश्य लाग्छ ।

माथि तोकिएका ३ ओटै कवितामा देशप्रेम झल्काएको छ। यी देशप्रेमसँग सम्बन्धित कविताहरू पढ्दा हामी र मातृभूमि बीचको गहिरो सम्बन्ध बुझ्न पुगिन्छ ।

कुनै कविताले देशको एकता, न्याय, र समानताको महत्त्व आह्वान गरेको छ भने कुनैले सांस्कृतिक संरक्षण र पहिचानको महत्वलाई जोड दिएको छ । आफ्नो राष्ट्रप्रतिको अटुट गर्व र मायाका साथ कठिनाइ र चुनौतिहरू सहने नेपाली जनताको अटल समर्पणलाई उजागर गर्दै यो विषयलाई अझ जोड यी कविताहरूले दिएको छ र देशप्रतिको प्रतिबद्धताको बहुआयामिक पक्षहरूलाई हाइलाइट गर्दै देशप्रेमको शक्तिशाली ओड सिर्जना गर्दछ।

यस्तै, ‘आमा’, ‘म र प्रेम’, ‘तिमी खास मेरी’, जस्ता आदि कविहरू भने प्रेम र भावना सँग सम्बन्धित छ।

“माया वास्तवमा छ भित्र दिलको आमाहरूले दिने
पीडा रोदन कष्ट आदि सजिलै हाँसेर आफैँ लिने
लाखौँ दुःख सहेर बन्दछ स्वयं मुस्कानको मन्दिर
भर्दो आँसु तरक्क रोक्छ कसले सन्तानको खातिर ।”
(पृष्ट २१, आमा )

“विश्वास तिम्रो मनले गुनेको
सम्पूर्ण मेरो मनले चुनेको
पाएर साथी मनकी प्रतापी
म प्रेमको बस्दछु अग्नि तापी”
(पृष्ठ २४, म र प्रेम)

“तिमी सास मेरी तिमी खास मेरी
भरोसा तिमी नै आश मेरी
तिमी फूल मेरो बगैचा करेसा
छ मुस्कान मिठो खुलेको हमेसा”
(पृष्ठ ३७, तिमी खास मेरी)

यी तीन कविता एक विशेष प्रकारको प्रेम बारे छन् जुन कहिल्यै रोकिदैन र सधैं रहन्छ । यो एक प्रेम हो, जसले मानिसहरूलाई खुसी बनाउँछ र उनीहरूलाई एकअर्कालाई विश्वास र समर्थन गर्न मद्दत गर्दछ । प्रेमले समय वा के भइरहेको छ भन्ने परवाह गर्दैन, यो केवल जारी रहन्छ। यसले जीवनमा न्यानोपन र आनन्द ल्याउँछ । कविताहरूले कसरी प्रेमले आमाबाबु, बच्चाहरू र एकअर्कालाई रोमान्टिक रूपमा माया गर्ने मानिसहरू बीचको बलियो सम्बन्ध बनाउँछ भन्ने बारे कुरा गर्छ । प्रेम साँच्चै महत्त्वपूर्ण छ र मानिसहरूलाई गाउँन र उनीहरूलाई सबैभन्दा मन पर्ने चीजहरूको ख्याल राख्न चाहन्छ।

थप, ‘प्रकृतिसँग’, ‘पोखरमूल’, ‘प्रकृति दोहन’, जस्ता आदि कविताहरू भने प्रकृति र यसको सौन्दर्यसँग सम्बन्धित छ । हरेक कविताले आफ्नै ढङ्गमा प्रकृतिको विशेष चर्चा परिचर्चा गरेका छन् ।

“पहाडी पाखाका सुरसँग छ मेरो स्वर पनि
नदीको पानीमा कलकल बगेको छ सपनी
अहो मीठो बास्ना अमरपुरमा देख्दिन कहिँ
म नेपाली माटो कणकण जहाँ धड्कन त्यहिँ”
(पृष्ठ १२६, प्रकृतिसँग)

“ब्रह्ममाको प्रिय फूल पङ्कज फुली त्यो पोखरी हाँस्दछ
आआफ्ना प्रिय पात्रका सँगसँगै मान्छे खुसी साँच्दछ
हाँस्लान् ओठ समाजका नजरमा हाँस्दैन भित्री तर
होलान् दर्द अनेकथोक मनमा छन् बाध्यताका स्वर ।”
(पृष्ठ १२८,पोखरमूल)

“कलेजीका भित्ता भुवनभरमा चर्चर सधैँ
धराको आभामा किन किन कलेटीसरि सधैँ?
जलायौ माटो नै अब भुवन भूस्वर्ग कसरी ?
गलामा पासो भो प्रिय प्रकृतिको दोहन गरी ।”
(पृष्ठ १२९, प्रकृति दोहन)

यी तीन कविताहरूले नेपालको प्रकृति कति रमणीय र सुन्दर छन् भन्ने कुराकाे छनक दिन्छन् । तिनीहरूले देखाउँछन् कि मानिसहरूले त्यहाँ विभिन्न ठाउँहरूलाई कसरी मन पराउँछन् र कदर गर्छन् ।

प्रकृतिले मौसम परिवर्तनजस्ता विभिन्न समस्यासँग कसरी जुध्नुपर्छ र मानिसलाई कसरी असर गर्छ भन्ने कुरा पनि कविताहरूले बताउँछन् ।
नेपालका हिमाल, ताल र बोटबिरुवा कति राम्रा छन्, प्रकृति कति बलियो र शक्तिशाली छ भनेर वर्णन गर्छन् । मानिसहरूले प्रकृतिको ख्याल राख्नु कत्तिको महत्त्वपूर्ण छ भनेर कविताहरूले पनि देखाउँछन् ।

उनीहरू प्रकृतिलाई नेपाल कत्तिको बलियो र कठोर छ भन्ने प्रतीकका रूपमा देखाउँछन् र मानिसहरूले त्यसको कदर र हेरचाह गरेको चाहन्छन् । यसरी हरेक पाना पल्टाउदा नयाँ नयाँ छन्द अनि फरक फरक विषयवस्तुका कविताहरू पढ्न पाउँदा जुनै पनि पाठक खुशी हुन्छ । यसभित्र म पनि परेँ ।

र, अन्त्यमाः पेशालकुमार लुइटेलले जीवनका विभिन्न पक्षहरूको बारेमा कुरा गरेका छन् । पुस्तकको एउटा भागले सल्लाहकारहरूको बारेमा कुरा गर्छ, जो विशेष शिक्षकहरू हुन् जसले हामीलाई सिक्न र बढ्न मद्दत गर्छन् । अर्को भागले प्रकृतिको बारेमा कुरा गर्छ, जसले चीजहरू सिर्जना गर्ने तरिका र समयसँगै मानिसहरू कसरी परिवर्तन हुन्छन् भनेर प्रतिनिधित्व गर्दछ । अर्को भागले अनुपस्थितिको बारेमा कुरा गर्छ । जसको मतलब जब केही वा कोही हराइरहेको छ। कुनै भागले देशप्रेमको कुरा गर्छ । कुनैले प्रेमको । केहीले जीवनको अर्थको र केहीले संसारको । यी सबै भागहरू जीवन कसरी जटिल र विभिन्न भावनाहरूले भरिएको हुन सक्छ भनेर देखाउन एकसाथ आउँछन् । यस्ता अन्य कयौँ भागहरू छन् तर यी मलाई सबै भन्दा मन परेका हुन् ।

अझै स्वयम् लेखक हाम्रो विद्यालय आउँदा र हामीसँग छलफल गर्दा कवितालाई हेर्ने दृष्टिकोणमा मैले आफूलाई परिवर्रतन भएकाे पाएँ ।

साँच्चै कवितामा पात्र नै भएको अनुभव गरेर कविता पढ्दा बडो मिठो अर्थ आउँदोरहेछ।

लेखकले भनेका कुराहरू सारै प्रेरणात्मक थियो ।

कक्षामा गुरूले छन्द कविता वाचन गर्दा कहीँकतै अलिक सललल नबगेकाे हाे कि भन्ने भानचाहिँ मलाई पनि लागेकै थियाे । त्याे कुरा गुरूलाई पनि लागेकाे रहेछ । कस्ताे संयाेग !

स्वाद थाहा पाउन चाख्न नै पर्ने रहेछ । मैले थाेरै भए पनि चाखेँ ।

साँच्चिकै कविताहरू मन परेका छन् । याे अवसर मिलाइदिए वापत विद्यालय र स्वयम् लेखकप्रति म आभारी छु ।

कक्षा: १२ ‘याला’, डियरवाक सिफल स्कुल