‘साताका पुस्तक’ स्तम्भअन्तर्गत नयाँ तथा पुराना कृतिहरूलाई समेट्दै कृति तथा स्रष्टालाई साहित्यका पाठकसम्म पुर्याउने हाम्रो उद्देश्य हो । आगामी दिनमा पाठक तथा स्रष्टाहरूको सहयोगले यस स्तम्भलाई थप सशक्त रूपमा अगाडि बढाउन सकिने विश्वास लिएका छौँ । हाम्रो उद्देश्य, साताभरिमा प्रकाशनमा आएका साहित्यिक पुस्तकहरूलाई यस विधामा समेट्नु हो । हामी चाहन्छौँ – नेपाली साहित्यअन्तर्गत प्रकाशनमा आएका कुनै पनि पुस्तक नछुटुन् । तर पुस्तकको उपलब्धता नहुँदा केही छुट्ने गरेका छन् । प्रकाशक तथा लेखकहरू सम्भव भएसम्म आफ्ना नवीनतम साहित्यिक कृतिहरू साहित्यपोस्टको कार्यालयमा उपलब्ध गराइदिनुहुन अनुरोध गर्दर्छौं ।

यसै क्रममा ‘साताका पुस्तक’मा यो साता ७ पुस्तक । सृजन लम्सालको ‘धरतीमा यमराज’, डा. सुमनराज ताम्राकारको ‘स्वस्थ महिला’, प्रा.डा. देवीप्रसाद गौतम, डा. प्रेमप्रसाद चौलागाईको ‘सामान्य भाषाविज्ञान’, सी. के. श्रेष्ठको ‘बनमारा’, राजेन्द्रमान डङ्गोल ‘बादलडाँडा’, कर्ण दयाल ‘सोराडी’को ‘रूपान्तरण’, बाबुराम भुसालको ‘अभ्यास’ हरू हुन् ।

००००

१. धरतीमा यमराज — सृजन लम्साल

साहित्यकार सृजन लम्सालको नवौँ कृत तथा दोस्रो लघुकथासङ्ग्रह हो – “धरतीमा यमराज” ।

१ सय ४ पृष्ठमा मौलाएको यस पुस्तकमा ‘कान्छी माइजू’, ‘सामाजिक दूरी’, ‘अनुदान’, ‘खबरदारी’, ‘कारबाही’, ‘पुनरागमन’, ‘छेपारो’, ‘फैसला’, ‘मिठाइको प्याकेट’, ‘बोक्रे धाक’ लगायत ७५ लघुकथा सङ्ग्रहित छन् । जसमा ३९ ओटा लघुकथाहरू कोरोना विषयका छन् भने ३६ ओटा समकालीन नेपाली समाजका विषयसँग सम्बन्धित छन् । विशेषगरी लघुकथाहरूमा राजनीतिक, सामाजिक क्षेत्रमा भएका विकृति र विसङ्गतिलाई आधार बनाइएका छन् ।

“यस सङ्ग्रहका लघुकथाहरूले अन्धविश्वास र बलिप्रथाको विरोध गरेको छ । सोझासाझा जनतालाई भ्रममा विश्वस्त बनाएर व्यापार र प्रचार गरिरहने ढोँगी बाबाहरूको पनि पर्दाफास लघुकथाले गरेको छ । सन्तानमा हुने गरेका विभेदको अन्त गरिनुपर्ने, आजको भडकिलो फेसनले बढाएको विकृतिलाई रोक्नुपर्ने, मादक पदार्थकै कारण घर परिवारमा विखण्डन आउने गरेको, आत्मप्रशंसाले आफैलाई हानी पुर्याउने जस्ता सकारात्मक र सन्देशपरक लघुकथाहरू यसमा रहेका छन् ।” भूमिकामा श्रीओम श्रेष्ठ ‘रोदन’ लेख्छन्, “यसमा जुनसुकै क्षेत्र र विषय उठाएको भए पनि यथार्थ रूपमा प्रस्तुत गरिएको छ । आजका मानिसले भोगिरहनुपरेका सत्यलाई लघुकथाहरूले स्वीकार गरेका छन् । समाज र जीवनसँग नजिक भएका लघुकथाहरू जीवन्त बनेका छन् । लघुकथाको शैली सरल रहेको छ । केही लघुकथामा प्रत्यक्ष र केहीमा अप्रत्यक्ष रूपले व्यङ्ग्य रहेका छन् भने केहीमा सकारात्मक सन्देश पनि रहेका छन् । यही कारण लघुकथाहरू चोटिला र प्रभावकारी समेत बन्न सकेका छन् ।”

स्वदेश प्रकाशनले बजारमा ल्याएको पुस्तकको मूल्य ३ सय रुपियाँ रहेको छ ।

००००

२. स्वास्थ महिला — डा. सुमनराज ताम्राकार

मेहनती र अध्ययनशील चिकित्सक डा. सुमनराज ताम्राकारद्वारा लिखित महिला जानकारीमूलक उपयोगी र महत्त्वपूर्ण पुस्तक हो – “स्वास्थ महिला ः महिला स्वास्थ्यसम्बन्धी जानकारी” ।

यसमा ‘यौवन अवस्था’, ‘तल्लो पेटमा डल्लो आउने समस्या’, ‘आङ खस्ने समस्या’, ‘कुमारीत्व’, ‘योनि सङ्कुचन’, ‘अपरसेन पूर्वको हेरचाह’, ‘इम्प्लान्ट’ आदि ५९ महिला स्वास्थको सरोकारसम्बन्धी लेखहरू समावेश छन् ।

“नेपालमा स्वास्थ्यसम्बन्धी अधिकतर पुस्तक अङ्ग्रेजी भाषामा छन् । प्रसूति अर्थात् गर्भवतीसम्बन्धी एकाध पुस्तक नेपाली भाषामा उपलब्ध भए पनि स्त्रीरोग अर्थात् महिला स्वास्थ्यमा भने नेपाली भाषामा छँदै छैन भने पनि हुन्छ । यस्तैमा महिला स्वास्थ्यका विविध पक्षलाई समेटेर लेखिएको यो पुस्तक विषयवस्तु र प्रस्तुतिका हिसाबले खँदिलो छ ।” पुस्तकको पछिल्लो पृष्ठमा लेखिएको छ, “यौवनावस्ताथ, किशोरावस्थादेखि कुमारीत्व, महिनावारी गडबडी, डिस्मेनोरिया, इन्डोमेट्रिओसिस, निःसन्तान, महिलामा हुने सबै खाले क्यान्सर, पिसाब चुहिने समस्या, आकास्मिक गर्भ निरोध, परिवार नियोजनका साधनका भ्रम र यथार्थ, महिलामा गरिने विभिन्न इन्डोस्कोपीजन्य प्रविधि एवम् शल्यक्रियाका लागि गर्नुपर्ने तयारीबारे पुस्तकले सविस्तार सरल भाषामा वर्णन गरेको छ । तेस्रो लिङ्गका विविध पाटोलाई पनि लेखकले स्थान दिएका छन् । विषयवस्तुका हिसाबले प्रत्येक घरमा सङ्ग्रह गरेर राखिनुपर्ने पुस्तक हो यो ।”

भूमिकामा प्रा. डा. चन्दा कार्की लेख्छन्, “‘स्वस्थ महिला’ नामक पुस्तक प्रकाशनमा ल्याई सर्वसाधारणलाई सूचना एवम् ज्ञान प्रवाह गर्न गरिएको यो प्रयास यस दिशामा ज्यादै महत्त्वपूर्ण कदम भएको छ । यस पुस्तकमा प्रकाशनले चिकित्सक एवम् सबै स्वास्थकर्मीलाई धेरै ठूलो प्रेरणा मिल्नेछ भन्ने कुरामा म विश्वस्त छु । यस पुस्तकमा लेखकज्यूले महिला स्वास्थ्यसम्बन्धी जानकारीलाई सरलताका साथ बयान गर्नुभएको छ ।”

पुस्तकलाई विरिडले प्रकाशनमा ल्याएको हो । २ सय ४५ पृष्ठमा बुनिएको यस पुस्तकको मूल्य ५ सय ५० रुपियाँ रहेको छ ।

००००

३. सामान्य भाषाविज्ञान — प्रा.डा. देवीप्रसाद गौतम, डा. प्रेमप्रसाद चौलागाई

भाषाविद्, लेखकद्वय प्रा.डा. देवीप्रसाद गौतम र डा. प्रेमप्रसाद चौलागाईद्वारा लिखित भाषासम्बन्धी उपयोगी पुस्तक हो – “सामान्य भाषाविज्ञान” ।

२ सय ६८ पृष्ठमा फैलिएको प्रस्तुत पुस्तकलाई ‘अध्याय एक – ध्वनिविज्ञान र वर्णविज्ञान’, ‘अध्याय दुई – रूपविज्ञान’, ‘ अध्याय तीन – वाक्यविज्ञान’, र ‘अध्याय चार – अर्थविज्ञान’मा विभाजित गरिएको छ ।

“यस पुस्तकमा सामान्य भाषाविज्ञानसँग सम्बद्ध गहन र सूक्ष्म विषयलाई पर्याप्त मात्रामा उदाहरण, आवश्यक स्थलमा बुँदा, तालिकका, आरेख, वृक्षारेख र सूत्रहरूका माध्यमबाट सरल रूपमा प्रस्तुत गरिएको छ । विषयवस्ताुको प्रकृति अनुरूप र आगमनात्मक निगमनात्मक र व्याख्यात्मक विधिको उपयोगी गरी लेखिएको प्रस्तुत पुस्तकमा यथासम्भव नेपाली भाषाबाट उदाहरणहरू दिइएका छन् । नेपालीबाट स्पष्ट हुन नसक्ने ठाउँमा संस्कृत र अङ्ग्रेजी भाषाका उदाहरणहरू दिइएका छन् ।” प्राक्कथनमा लेखिएको छ, “विशेष गरेर नेपाली स्नातकोत्तर तहको ऐतिहासिक तथा सामाजिक भाषाविज्ञानको अध्ययन र अध्यापनका लागि सरल, तथ्यपरक र शोधमूलक सामग्री सहज रूपमा एउटै पुस्तकमा उपलब्ध हुन सकोस् भन्ने उद्देश्यले हामीले यो पुस्तक तयार पारेका छौँ । यसैले प्रस्तुत पुस्तक स्नातकोत्तर तहका विद्यार्थीका लागि आधिकारिक पाठ्यपुस्तककै रूपमा रहेको छ भने दर्शनाचार्य र स्नातक तहका विद्यार्थीका लागि पनि यसले सन्दर्भ सामग्रीको काम गर्ने छ भन्ने हाम्रो विश्वास छ । यति मात्र नभई यो पुस्तक सम्बद्ध विषयका शिक्षकका लागि आधार सन्दर्भ सामग्री बन्नुका साथै भाषाविज्ञानमा चासो राख्ने सबैका लागि उपयोगी बन्ने छ भन्ने कुरामा हामी पूर्ण रूपमा विश्वस्त छौँ ।”

भुँडीपुराण प्रकाशनबाट बजारमा ल्याइएको पुस्तकको मूल्य ४ सय ९० रुपियाँ रहेको छ ।

००००

४. बनमारा — सी. के. श्रेष्ठ

जनप्रिय नाटककार तथा कवि सी.के. श्रेष्ठद्वारा लिखित कवितासङ्ग्रह कृति हो – “बनमारा” ।

२ सय १० पृष्ठमा फैलिएको प्रस्तुत पुस्तक चार खण्डमा विभाजित छ । ‘पहिलो खण्ड : प्रथम पुरुष, एक वचन’मा २१ थान कविता, ‘दोस्रो खण्ड : अतीतको दस्ताबेज’मा २२ थान कविता, ‘तेस्रो खण्ड : नोस्टाल्जिया’मा ११ थान कविता र ‘चौथो खण्ड : सुरमय कविताहरू’मा ४४ थान कविता समावेश छन् ।

भूमिकामा डा. राजेन्द्र भण्डारी लेख्छन्, “‘बनमारा’सङ्ग्रहमा जनबोलीका काँचो हस्को पाइन्छ । घर-घुरेन, जुलुस, नारा, रोपाइँ, ठट्टा, चियाटिपाइ, गिटीकुटाइ, हारगोहार, नाटकीय घटनाप्रसङ्ग, युवासुलभ भावुकता जतासुकैबाट शब्दहरू टिपिएका हुनाले पाठहरूको जम्काभेट सोझै हरदर मानिससँग हुन्छ । तिनको जडसँग हुन्छ हरदर मानिस पाठकसँग नाता गाँस्न सजिलै आइपुग्छ । मानक नेपाली भाषामा नपाइने तर जनबोलीमा ढुक्कै प्रयोग गरिने स्यानु, कस्सम, हायढुक्क, गोबरझ्याल, यार, चुपो, चाबार-चुबुर, थिँदै, क्यै-जस्ता शब्दहरूले कविताहरूमा दार्जिलिङे नेपाली भाषाको झल्को दिन्छन् । र श्रेष्ठका कविता सोचिनेभन्दा धेर देखिने, पढिनेभन्दा धेरे भोगिने प्रकारका छन् ।”

भूमिकामा डा. दिवाकार प्रधान लेख्छन्, “सी. के. श्रेष्ठमा लोक परम्पराको गहिरो छाप छ । रेलीमाई, रामसाइँलीका धुनहरूले गोर्खाको हृदय बोलिदिएका छन् । बुर्का-भेदी समाजमा जस्तो केटीलाई कल्पनाले मात्र हेर्नुपर्ने गजलमा भन्दा मेला-भेलामा र राम-रमितामा रमाउने लोक-लहरीहरू सी. के. श्रेष्ठका अभीष्ट हुन् । यिनलाई ‘वन’ भन्नु मन परेन । अशुद्धै होस् व्याकरणमा तर लोक-जिभ्रोको ‘बन’ मनपर्यो । बनाए ‘बनमारा’ । लेखे ‘बनमारा’ नै । वास्तवमा अनुसन्धानले पनि यसै भन्छ – समाजको अधिकांशको भाषा यस्तो छ भन्ने देखाउन मानक व्याकरण बनिएको हो । यसैले व्याकरणमा परिवर्तन हुन सक्ने प्रावधान पनि रहेको हुन्छ ।”

पुस्तकलाई गोर्खा भारती विचार मञ्चले प्रकाशनमा ल्याएको हो ।

००००

५. बादलडाँडा — राजेन्द्रमान डङ्गोल

पर्यटन व्यवसायी तथा नियात्राकार राजेन्द्रमान डङ्गोलकृत तेस्रो नियात्रा कृति हो – “बादलडाँडा” ।

पुस्तक ‘तनहुँमा तन्मयता’, ‘चित्रवनको चित्र’, ‘बेसी देखाउने दुर्बिनडाँडा’, ‘सुनको घर, सुनकै छाना’, ‘खुलेको गगन, हाँसेको पुङ्गेन’, ‘भैँसी खर्कको कथा-व्यथा’ ६ भागमा विभाजित छ । प्रत्येक भागमा उपशीर्षकहरू राखी स्वदेशयात्रा, हिामली पहाडी जीवन, प्रकृति, इतिहास, भूगोल र संस्कृतिको महत्वलाई उल्लेख गरिएको पाइन्छ ।

 

प्रा.डा. रमेश भट्टराई लेख्छन्, “अहिलेसम्म प्रकाशित र ‘बादलडाँडा’मा प्रकाशित निबन्धका आधारमा उनमा पर्यावरणीय र सामाजिक सांस्कृतिकचेत प्रबल रहेको देखिन्छ भने उनका निबन्धले सिर्जनाका सुस्वाद्यपनको पनि रक्षा गरेको देखिन्छ ।”

राम लोहनी लेख्छन्, “राजेन्द्र राजेन्द्रमा डङ्गोलका शब्दहरूमा प्रकृतिको जीवन्त तस्बिर भेटिन्छ । यात्राका दौरान भेटिने मानव जीवन र त्यसको विविध आयामको प्रतिच्छवि उतार्न पनि डङ्गोल उत्तिकै खप्पिस छन् । उनका नियात्राहरू मूलतः हिमाली पर्यटनसँग बढी सम्बन्धित छन् । प्रकृतिसँग एकाकार भएर लेखिएका शब्दहरूले उतारेको पर्वतीय तस्बीरले पाठकलाई मोहित तुल्याउँछन् । स्वयम् यात्रामा जान नसक्नेलाई यात्राको अनुभूति गराउने र यात्रामा रम्न चाहनेहरूका मनमा मिठो ईर्ष्या जगाउने क्षमताका नियात्रा पठनले पाठकको मनमा बेग्लै स्वादको खुलदुली पनि जगाउँछ ।”

बोधराज भण्डारी लेख्छन्, “नियात्रामार्फत् ग्रामीण पर्यटनको पानस जलाउने प्रयत्न गरिएको यो कृति काव्य, सङ्गीत र कलाको अभूतपूर्व सङ्गम बनेको छ । पर्यटन व्यवसायीमा समर्पित उनको यो कृतिमा आम पर्यटन व्यवसायीकै भावना समेटिएका छन् ।”

भुँडीपुराण प्रकाशनले बजारमा ल्याएको पुस्तकको मूल्य ६ सय रुपियाँ रहेको छ ।

००००

६. रूपान्तरण — कर्ण दायल ‘सोराडी’

सुदूरको साहित्यिक यात्रामा ठूलो योगदान पुर्याएका स्रष्टा, कवि कर्ण दायल ‘सोराडी’को आठौँ कृति हो – “रूपान्तरण” । यसमा मीठा र सन्देशमूलक २ सय ७० वटा मुक्तक समावेश छन् ।

डा. हरिशन्चद्र भट्ट लेख्छन्, “समय परिवर्तनशील भएका कारण समयको गतिसँगै मानवीय स्वभाव, सभ्यता, मूल्य मान्यता संस्कार र संस्कृतिहरूमा उल्लेख्य परिवर्तनको खाँचो औँल्याएर रचनाहरूलाई सङ्ग्रहित गर्न खोजिएको छ । घरपरिवार, समाज, देश तथा नागरिक सबैले पुरानो विचार शैली र संरचनाबाट माथि उठेर नयाँ बन्ने र बनाउनु पर्छ भन्ने सन्देशको भाव यस कृतिमा रहेको छ ।”

शुभकामनामा बद्री उप्रेती लेख्छन्, “उहाँको यस सङ्ग्रहमा मायाप्रेम, जीवन भोगाइका क्रममा बटुलेका अनुभव, समाजमा व्याप्त अनेकौँ दुष्चरित्रमाथि तिखो व्यङ्ग्य, राजनीति माथिको वितृष्णा, धनी र गरिब बिचको असमानता, प्रदूषित संस्कृति, आदि विषयहरूलाई समेटेर मुक्तकका हरेक हरफहरू सुन्दर बनाइएका छन् । मुक्तहरूमा भाषाशैली सरल र सहज रूपमा प्रयोग भएको हुँदा पाठक वर्गले सजिलै बुझ्ने कुरामा दुई मत तरहला भन्ने कुरामा म विश्वस्त छु ।”

अनिल शर्मा विरही लेख्छन्, “भनिन्छ गद्य साहित्यमा लयात्मकता दिन र पद्यमा विचार प्रभाव गर्न कठिन हुन्छ । कवि तथा मुक्तककारले त्यो चुनौती समान गर्न सफल भएका छन् । मुक्तककार स्वयम भन्छन्, ‘मुक्त विद्या चतुष्पदी संरचनामा तयार हुन्छ र अन्त्यानुप्रासमा सन्तुलन र तीक्ष्णता हुनुपर्छ ।’ सौन्दर्य चिन्तनका अनुसार सुन्दर सिर्जनामा विचारधारात्मक पक्ष, ज्ञानात्मक पक्ष र सौन्दर्यात्मक पक्ष तीन पक्षमा सबल हुनुपर्छ । सबै पक्षमा सबल नभए पनि एउटा पक्ष शक्तिशाली हुनु पर्ने देखिन्छ । मार्क्सवादी समालोचनात्मक मानकका दृष्टिले हेर्दा पनि मुक्तकहरू सबल छन् ।”

पुस्तकलाई सीता दयाले प्रकाशनमा ल्याएका हुन् । ९० पृष्ठमा आबद्ध पुस्तकको मूल्य ३ सय रुपियाँ रहेको छ ।

००००

७. अभ्यास — बाबुराम भुसाल

लेखक बाबुराम भुसालको गैरआख्यानात्क कृति हो – “अभ्यास” ।

२ सय ४८ पृष्ठमा आबद्ध यस पुस्तकलाई ‘अभ्यासको परिचय’, ‘अभ्यासको पर्याप्तता’ र ’अभ्यासको उपाय’ गरी तीन वटा शीर्षकमा विभक्त गराइएको छ । पुस्तकमा जीवन र जगतलाई बदल्न सकिने सरल उपायहरू प्रस्तुत छन् ।

 

पुस्तकको पछिल्लो पृष्ठमा लेखिएको छ, “जीवन र जगतलाई हेर्ने दृष्टि मात्र दिनु यस पुस्तकको उद्देश्य किमार्थ होइन । यस पुस्तकलाई हामी सबैले आफ्नो जीवन र जगत् बदल्ने औजारको रूपमा उपयोग गर्यौ भने मात्र यस पुस्तकका औचित्य हुनेछ ।”

 

“मैले प्राकृतिक प्रघटनाहरूलाई मात्र होइन, समाजलाई पनि विज्ञानको आँखाबाट हेर्न खोजेँ । मूल रूपमा समाज आफैँमा एक प्रयोगशाला रहेछ । हरेक मान्छेहरू प्रयोगशालाका निम्ति चरहरू रहेछन् । उनीहरूबाट अभिव्यक्त हुने कार्य र भोगाइलाई हेर्नु प्रयोगशाला परीक्षणको एक प्रक्रिया हुँदो रहेछ । मान्छेबाट अभिव्यक्त भएका कार्य र भोगाइहरूलाई नै प्रत्यक्ष अवलोकन गरेर ती कार्य र भोगाइलाई संचालित गर्ने मूल तत्वको खोजी गर्ने प्रयत्न मैले यु पुस्तकमा गरेको छु ।” लेखकीयमा बाबुरामा भुसाल लेख्छन्, “मेरो आत्मबोधलाई पुस्तकीय स्वरूप दिने क्रममा यसअघि प्रतिपादित भइसकेका सिद्धान्तहरू, विचारहरू, विधिहरू, अन्तर्राष्ट्रिय तथा राष्ट्रिय नीति नियमहरू, प्रयासहरू तथा यसअघि भएका अनुसन्धान निष्कर्षहरूलाई पुनरावलोकन गर्नुपर्ने सामान्य परम्परागत तरिका बारे मलाई अवगत नभएको होइन । पुस्तकहरू र काजगातहरूमा के लेखिएको छ भन्ने आधारमा नभई मानिसहरूले गर्दै आएका कार्यहरू र उनका भोगाइहरूलाई मेरो आफ्नै अनुभव, अवलोकन र आत्मबोधको आधारमा यस पुस्तकमा समीक्षाको विषयवस्तु बनाएको छु । त्यसो त मैले आत्मबोध गरेका निष्कर्षहरूलाई पुष्टि गर्न यस अघि प्रतिपादित केही वैज्ञानिक सिद्धान्तहरूलाई समेत मैले आधारको रूपमा लिएको छु, जुन मैले यस पुस्तकमा उल्लेख गरेको पनि छु । मानव प्राणीको उद्विकासको विभिन्न कालखण्डमा यस प्राणीले गर्दै आएका कार्यहरू तथा उपलब्धीहरूको विषयमा र उसको शारीरिक स्वरूपमा देखिँदै आएको परिवर्तनको विषयमा वैज्ञानिकले लामो अनुसन्धान गरी तयार पारेका सूचनाहरूलाई पनि मैले यस पुस्तकमा आधार लिएको छु ।”

लेखक स्वयम् पुस्तकलाई बजारमा ल्याएका हुन् । पुस्तकको मूल्य ५ सय ४८ रुपियाँ रहेको छ ।