
यी हरफहरू मैले स्वदेशमा बसेर लेखिरहेको छैन । विगत ८ वर्षयतादेखि म परदेशमा छु । म परदेशमा भएको कतिपयलाई थाहा पत्तो रहेनछ । मेरो लेखरचना र किताब पढ्ने कतिपय पाठकलाई म नेपालमै रहेर उकाली ओह्राली गरिरहेको लाग्दो रहेछ । म परदेसिएको थाहा पाउनेहरूले जिज्ञासा राख्ने गरेका छन्, “तपाईं परदेशमा बसेर कसरी लेख्न भ्याइरहनु भएको छ हँ ?”
सिर्जनात्मकभन्दा अनुसन्धानपरक र त्यसमा पनि सिमान्तकृत नेपाली समुदायको इतिहासप्रति मेरो कलमले चासो र सक्रियता देखाइरहेको छ । मेरा हितचिन्तकहरू म कसरी लेखिरहेको छु ? भन्ने जिज्ञासा जसरी व्यक्त गरिरहेका छन्, यो जिज्ञासाको समाधान गर्न जरुरी ठानेर यो लेख तयार पारेको छु ।
समर्पणको त्यो तस्बिर
कुरा हो, १३ वर्षअघिको । सञ्चारकर्मी, समाजसेवी तथा अभियन्ता किसन राईको निम्तोमा साहित्यिक यात्रा गर्दै तत्कालीन नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति वैरागी काइँलाकासाथ म हङकङ पुगेको थिएँ । भिसा ठोकेर गरिएको यो मेरो पहिलो परदेश यात्रा थियो ।
त्यहाँ दुई सत्रमा विभाजित कार्यक्रममध्ये पहिलो कार्यक्रम साहित्यिक कार्यक्रम थियो भने साँझ आयोजित अर्थात् दोस्रो कार्यक्रम चाहिँ “एभरेस्ट” साप्ताहिकको १० औँ वार्षिक उत्सव । नेपाल पत्रकार महासङ्घको तत्कालीन केन्द्रीय सदस्यको हैसियतले म कार्यक्रममा आमन्त्रित थिएँ । त्यो बेला म काठमाडौँको एउटा कलेजमा आमसञ्चार तथा पत्रकारिता विषयमा प्राध्यापन पनि गरिरहेको थिएँ । पहिलो हङकङ भ्रमणले मलाई उत्साहित र उत्सुक बनाइरहेको थियो ।
पहिलो अर्थात् साहित्यिक कार्यक्रम सुरु हुनुअघि म कविहरू नरेश सुनुवार र भोगेन एक्लेसँग संवादमा थिएँ । शून्य समय थियो, संवाद अनौपचारिक थियो । उहाँहरूसमक्ष जिज्ञासा तेर्स्याएँ, “तपाईंहरू यतिखेर यहाँ हामीसँग हुनुहुन्छ, काममा चाहिँ कतिखेर जानु हुन्छ नि ?”
“हामी कामबाटै त सिधै यहाँ आएको” उहाँहरूले भन्नुभयो ।
रात्रिकालीन काम गर्नुहुँदो रहेछ, यी दुई स्रष्टा । उहाँहरूको अनुहार हेरेँ, रातभरिको कामका कारण अनिदो आँखा थिए, राताराता । अनुहार पढ्दा देखिन्थ्यो, उहाँहरूको लगन र थकान । यस्तो अवस्थाबाट गुज्रेर भाषा र साहित्य भनेपछि मरिमेटेको उहाँहरूको साधना र समर्पणले भावुक बनाउँथ्यो ।
हङकङमा मैले साक्षात्कार गर्ने अवसर पाएको कविहरू नरेश सुनुवार र भोगेन एक्लेको सिर्जनात्मक समर्पणका त्यो सुन्दर आकृति अहिले पनि मेरा आँखा वरिपरि नाचिरहन्छ ।
कुखुराको सुली सोहरेर
नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले हरेक वर्ष एक जना अग्रज स्रष्टालाई सम्मान र एक जना युवा स्रष्टालाई पुरस्कृत गर्ने गरेको छ, हरेक वर्ष । बेलायतमा रहेका नेपाली स्रष्टाहरूले स्थापना र सञ्चालन गरेको यो सम्मान र पुरस्कारको विशिष्ट महत्त्व रहँदै आएको छ ।
सन् २००९ को प्रतिभा सम्मान सङ्गीतकार अम्बर गुरुङलाई र प्रतिभा पुरस्कार गायक कुबेर राईलाई समर्पण गर्ने कार्यक्रम थियो, काठमाडौँमा । एउटा सञ्चारकर्मीको नाताले कार्यक्रममा मैले आफ्नो उपस्थिति जनाएको थिएँ ।
प्रतिष्ठानको प्रतिनिधिका रूपमा तत्कालीन अध्यक्ष रक्ष राई आउनुभएको थियो ।
त्यसबेला पुरानो बानेश्वरमा रहेको गुरुकुलको प्रेक्षालयमा सम्मान तथा पुरस्कार समर्पण गर्ने कार्यक्रम थियो । समारोहको वातावरण निक्कै भावुक थियो । नेपालमा आधुनिक सङ्गीतलाई प्रवेश गराउने सङ्गीतकारलाई सम्मान र “गाउन जान्ने धाउन नजान्ने गायक”लाई पुरस्कार समर्पण हुनुले उक्त सम्मान तथा पुरस्कार समर्पण गर्ने संस्था आफैमा गरिमामय बनिरहेको थियो ।
कार्यक्रममा बोल्ने क्रममा अध्यक्ष रक्ष राईले समारोहलाई थप भावुक बनाइदिनुभयो । उहाँले भन्नुभयो, “यी डायास्पोरामा बसेर लेखिरहेका लाहुरे स्रष्टाहरूले आफूसँग पैसा धेरै भएर वा काम नपाएर यो सम्मान र पुरस्कार स्थापना गरेको भन्ने लाग्छ होला तपाईंहरूलाई । डायास्पोरामा कतिसम्म दुःख छ भने हामीले कुखुराको सुली सोहरेर कमाएको पैसा यो सम्मान तथा पुरस्कार कोशमा लगानी गरेका छौँ । हामी उता दुःख गरौँला, तर नेपाली स्रष्टाहरूलाई सम्मान र पुरस्कार समर्पण गर्न पाएको क्षण हामी त्यस्ता दुःखहरू भुल्ने गर्छौं ।”
रक्ष राईको यो भनाइ आफैमा अर्थपूर्ण छ । यसको थप विश्लेषण गरिरहनु जरुरी ठान्दिनँ म ।
००००
आफै पुरस्कृत हुँदा
प्रतिभा प्रतिष्ठानबाट समर्पण गरिने यो पुरस्कारबाट कोही एक जना स्तरीय लेखकलाई पुरस्कृत गर्न पाए हुन्थ्यो भन्ने मेरो मनसाय थियो । त्यसैले एक जना असल स्रष्टाको नाम लिएर हल्का लबिङ गर्न पर्यो भन्ठान्दै थिएँ । यस्तो सोच आएको एक सातापछि बेलायतबाट फोन आयो, मलाई । प्रतिष्ठानका अध्यक्ष दयाकृष्ण राईको फोन रहेछ । उहाँले भन्नुभयो, “तपाईंलाई बधाई छ । यो वर्षको सम्मान हामीले गजलकार बूँद रानालाई र पुरस्कार चाहिँ तपाईंलाई प्रदान गर्ने निर्णय गरेका छौँ है ।”
“यो देशमा मेरो साहित्यिक योगदान पुरस्कृत हुने हिसाबको विशिष्ट छैन । त्यसैले साहित्यिक स्रष्टालाई प्रदान गरिंदै आएको यो पुरस्कार मलाई नै किन प्रदान गर्ने निर्णय गरियो ?” दया सरसँग मैले उल्टै जिज्ञासा राखेँ ।
उहाँले मेरो जिज्ञासालाई शान्त पार्दै भन्नुभयो, “यसपटक हामीले पत्रकारिता क्षेत्रको प्रतिभालाई समेट्ने निर्णय गर्यौँ ।”
उहाँको भनाइले म शान्त भएँ र पुरस्कार सहर्ष स्वीकार गरेँ । यसरी म सन् २०१३ मा नेपाली प्रतिभा पुरस्कारका लागि योग्य भएँ । पुरस्कारको राशि एक लाख रुपैयाँको थियो । यति ठूलो रकमको राशि पुरस्कारबापत बुझेर म पहिलो पटक लखपति बनेको थिएँ ।
यस पुरस्कार समर्पण गरिएको क्षण मैले आफ्नो मन्तव्य व्यक्त गर्ने क्रममा टुटेफुटेका शब्दहरू जोड्दै भनेको थिएँ, “आयो लाहुरे बुट जुत्ता कसेर, गयो लाहुरे खरानी धसेर । यस्तो गीत गाइन्थ्यो । लाहुरेहरू घर आउँदा राम्रा लुगा र गहना बोकेर बडो सानका साथ घर आउँथे । फर्कंदा चाहिँ गोजी रित्तो रित्तो भएको अवस्थामा फर्कन्थे । आजभोलि लाहुरेहरू लाहुरबाट लुगा गहनाजस्ता कोसेलीहरू त ल्याउँछन् नै, त्योसँगै स्तरीय सिर्जनाहरू पनि लिएर आउँछन् र फर्कंदा हामीजस्ताको माया बोकेर फर्कन्छन्, त्यसैले लाहुरेहरूको बिम्ब र परिचय फेरिएको छ ।”
मेरो भनाइलाई थप बल प्रदान गर्दै प्रमुख अतिथि वैरागी काइँलाले भन्नुभयो, “लाहुरेहरू बुट जुत्ता कसेरै आउँछन्, बुट जुत्ता कसेरै फर्कन्छन् । अझ आजभोलि स्रष्टाहरुका लागि पुरस्कार समेत बोकेर आउँछन् र पुरस्कृत गरेर फर्कन्छन् ।”
बेलायतमा जे देखियो
मैले पहिलो पटक विदेश भ्रमण गरेको हङकङ सानो ठाउँ भएकोले त्यहाँका नेपालीहरूलाई जुट्न त्यति गाह्रो देखिनँ मैले ।
सन् २०१५ को सेप्टेम्बर र अक्टोबर महिनामा मैले बेलायत भ्रमण गर्ने अवसर पाएँ, अन्तर्राष्ट्रिय नेपाली वाङमय प्रतिष्ठान, बेलायतका अध्यक्ष विकलचन्द्र आचार्य र महासचिव जयलक्ष्मी राईको विशेष निम्तोमा । सोही भ्रमणको समयमा नेपाली प्रतिभा प्रतिष्ठानले वैरागी काइँला र राजन मुकारुङसहित मलाई पनि सम्मान गर्यो ।
त्यहाँको भ्रमणको समयमा थाहा पाइयो, एउटा कार्यक्रम गर्नका लागि सहभागीहरूलाई समय जुटाउन कति गाह्रो पर्ने रहेछ भन्ने । आफूले काम गर्ने ठाउँमा धेरै पहिले नै बिदा माग्नुपर्ने, सबैको बिदा एकै पटक नमिल्ने अवस्था पनि हुने । ठूलो देश भएकोले समय र खर्चको जोहो गर्नै गाह्रो । यी चुनौतीहरूको सामना गर्दै वाङ्मय प्रतिष्ठान र प्रतिभा प्रतिष्ठानले निक्कै भव्य कार्यक्रमको आयोजना गरेको थियो । यो भव्यताभित्र कार्यक्रम आयोजकहरूको निक्कै ठूलो लगानी, समर्पण र धैर्यतालाई प्रत्यक्ष अवलोकन गर्ने अवसर पाएँ । यी सबै आखिर मातृभूमिप्रति समर्पित थियो, सिर्जना र स्रष्टाप्रतिको सम्मानमार्फत् । यी सबैको प्रत्यक्ष अवलोकन गर्दा म निक्कै भावुक भएको थिएँ ।
००००
परदेशमा बसेर लेख्दा
ल्यूसुनले भनेका छन्, “कामदार वर्गबाट स्तरीय लेखनको अपेक्षा गर्न गाह्रो हुन्छ ।”
उनको तर्कअनुसार कामदारलाई कामको चिन्ताले सताउने हुँदा लेखनको बारेमा धेरै चिन्तन गर्न सक्दैन । समय अभावका कारण अध्ययनको अभाव पनि हुन्छ । अर्कोतिर कामकै कारणले शरीर पनि थकित हुने हुँदा चिन्तन गर्न गाह्रो हुन्छ । त्यसैले कामदार वर्गबाट धेरै स्तरीय लेखनको अपेक्षा गर्न गाह्रो हुने तर्क उनको छ ।
विदेशमा बसेर जे जति लेख्ने डायास्पोरिक नेपाली स्रष्टाहरू छन्, उनीहरूमध्ये अधिकांश कामदार वर्ग नै हुन् । अहिले त्यही वर्गको एउटा सदस्यको रूपमा म आफू पनि उपस्थित छु ।
देशमा रहँदाभन्दा परदेशमा रहँदा देशको सम्झना बढी आउँदो रहेछ । देश प्रेम बढ्दो रहेछ परदेशमा । यहीँ सम्झना र प्रेम अभिव्यक्त गर्न सिर्जनाको सहारा लिनेहरूले आज डायास्पोरिक नेपाली साहित्यको भण्डार भरिरहेका छन् । आज डायास्पोराबाट जे जति लेखिएका छन्, म पनि सबै लेखनलाई स्तरीय र उत्कृष्ट भन्न सक्दिनँ । तर समय अभावको चुनौती, थकित शरीर र मातृभूमिको अपार सम्झना र प्रेममा डुबेर लेखिएका डायास्पोरिक नेपाली साहित्यमध्ये कतिपय उत्कृष्टताको कसीमा रहेर मैले पनि अवलोकन गरिरहेको छु ।
सन् २०१६ को फेब्रुअरी १५ मा मैले पनि देश छाडेँ । परिवारसँग जोडिन म पोर्चुगल आएँ । यहाँ बसेर केही लेख्ने प्रयास गरिरहेको छु । मेरो लेखन केही छापामाध्यम र केही अनलाइनमा आइरहेका छन् ।
पोर्चुगलमा रहँदा म आठ महिना बेरोजगार भएँ । त्यो फुर्सदको समयलाई सदुपयोग गर्न म इतिहास अध्ययनतिर लागेँ । नेपालमा हुँदा कलेज अध्यापन र पत्रकारिताबाहेक पारिवारिक उत्तरदायित्व निर्वाहको क्रम पनि थियो । तर त्यो समयमा मैले इतिहाससम्बन्धी कच्चा पदार्थको जोहो गरेको थिएँ । आज तिनै सामग्रीहरूलाई सुमसुम्याउँदै इतिहासका केही लेखहरू लेखेँ ।
कतिपय साथीहरू भन्ने गर्दा रहेछन्, “यो मान्छेले त विदेशमा गएर पो केही लेख्न थाल्यो ।”
फुर्सदको समय केही सन्दर्भ सामग्रीहरू झिकाउँदै, अध्ययन र चिन्तन गर्दै, सामाजिक सञ्जालमार्फत् केही विद्वानसँग छलफल चलाउँदै जाँदा केही लेख्न खोजिरहेको छु जस्तो जस्तो लाग्छ । लेख्नुपर्ने अझै बाँकी छन् । लेख्दै जाँदा इतिहाससम्बन्धी तीन वटा किताबै प्रकाशित गरिसकेँ । इतिहाससम्बन्धी चौथो किताबको रूपमा “पृथ्वीनारायण शाह : आलोचनात्मक इतिहास” आउनै लागेको छ ।
म परदेसिएको पढ्न वा व्यापार गर्न होइन, श्रम गर्न नै हो ।
श्रम गरेर कोठामा फर्कंदा शरीर गलेर पाकेको केराजस्तै फतक्क भइरहेको हुन्छ । यस्तै बेला मस्तिष्कको तन्तु हल्लन्छ र चिन्ताले सताउन थाल्छ । ओहो ! फुर्सदमा भएको भए म यो लेख्थेँ हुँला, त्यो लेख्थेँ हुँला ।
तर लेखन त चुनौतीहरूमाझ रहेर लेख्दा पो मज्जा हुने रहेछ । मैले नेपालमा रहँदा प्रशस्तै फुर्सदको समय व्यतीत गरेको छु । ती समय व्यर्थैमा बितेको मलाई अनुभूति हुन्छ । आखिर सिर्जना फुर्सदमा लेखिने सामग्री पनि होइन रहेछ । गमलामा स्याहार पाएर फुलेको फूलको भन्दा त आँधी-हुरी, असिना-पानी, गर्मी-जाडो सहेर फुलेको जङ्गली फूलको सुगन्ध र सौन्दर्य मन पराउने मानिस हुँ म । त्यहीँ मान्यता र दर्शनको सेरोफेरोमा रहेर डायास्पोरिक नेपाली लेखनको मूल्याङ्कन गरिनुपर्छ भन्छु म ।
परदेशमा बसेर लेख्दा म सन्दर्भ सामग्री र समयको अभावमा छटपटिन्छु कहिलेकाहीँ । यस्तै बेला प्रज्ञाको तिर्खाले आकुल व्याकुल बनाउँछ । त्यो तिर्खाले पानीको खोजी गर्छ । प्रयत्न गरियो भने त तिर्खालुलाई पानी जुर्दो रहेछ । मात्र आवश्यकता हुँदो रहेछ, धैर्यपूर्ण साधनाको । परदेशमा १२ घण्टा काम गरेर निस्केको समयलाई सदुपयोग गर्दै केही खोज्न र लेख्न प्रयत्न गरिरहेको छु । हेरौँ, भविष्यमा कतिको उपलब्धि हासिल गर्न सकुँला ?



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

