नेपाली लघुकथामा पछिल्लो दशकका केही लघुकथाकारहरू लघुकथा लेखनमा दीक्षित भएर नै लघुकथामा आएको पाइन्छ । यसै सिलसिलामा लघुकथाकार रेणु अधिकारी ‘मौनता’ पनि एक हुन् । उनी बाल वाङ्मय तथा अनुसन्धान केन्द्रले वि.सं. २०७६ सालमा आयोजना गरिएको लघुकथा कार्यशाला गोष्ठीमा वरिष्ठ लघुकथाकार विनयकुमार कसजूबाट लघुकथामा दीक्षित भएकी थिइन् । मौनताले त्यही समयदेखि डा. हरिप्रसाद भण्डारीबाट पनि निरन्तर लघुकथाहरूको सैद्धान्तिक ज्ञान लिने र लघुकथाको बहसमा सक्रिय सहभागिता जनाउने कार्य पनि गर्दै आइरहेकी छिन् । पछिल्लो समय रेणु अधिकारी ‘मौनता’ले लघुकथासङ्ग्रह ‘एक पोल्टो बादल’ प्रकाशनमा ल्याएकी हुन् । दीपक दृष्टीको यस अङ्कमा यही कृतिको बारेमा चर्चा चलाइने छ ।

अक्षरधाम प्रकाशन प्रालिले वि.सं. २०७९ सालताका प्रकाशनमा ल्याएको ‘एक पोल्टो बादल’ लघुकथासङ्ग्रहमा ४३ वटा लघुकथाहरू सङ्ग्रहित छन् । उन्नति जि.सी.को कम्युटर ग्राफिक आवरण रहेको यस पुस्तक स्मार्ट साइजमा १०० पेजभित्र फैलिएको छ ।

रेणु अधिाकारी ‘मौनता’को कलम साहित्यको अन्य केही विधाहरूमा पनि सक्रियकाताको साथ चलेको पाइन्छ । प्रारम्भमा आफ्नै बुबाको प्रेरणाबाट साहित्यमा प्रवेष गरेकी मौनता पछिल्ला केही समयमा साहित्यक सङ्गठन र ‘कल्पलता’ साहित्यिक पत्रिकाको सम्पादन र प्रकाशनमा पनि सक्रिय छिन् । रेणु अधिकारी ‘मौनता’ समग्रमा लघुकथाकी स्रष्टा हुन् ।

आफ्ना भोगाइ र सोचाइहरूलाई आख्यानको बान्कीमा पस्किई त्यही सृजनाबाट समाज रूपान्तरणमा लागेकी अधिकारी आधिकारिक व्यक्तिझैँ लाग्छ । राजनीतिक पृष्ठभूमिमा चुर्लुम्म डुबेको पारिवारिक पृष्ठभूमि भएर पनि राजनीतिको रङ, तरङ्ग र गन्धमा कतै नअल्मलिइकन रेणुले आफ्ना लघुकथाहरू लेखेकी छिन् । सामाजिक विषयलाई केन्द्र बनाएर कोरिएका ‘मौनता’का लघुकथाहरूमा नारी चेतना र बालमनोविज्ञान पनि पाइन्छन् ।

लघुकथामा न्यून परिवेश, प्रसङ्गको तीव्र गति र परिवर्तन अनि कथाको अन्त्यमा विपरीत भावसहितको विद्युतीय झड्का अनिवार्य छ । अनिवार्य छन् – सटिक शब्द, कसिलो वाक्यविन्यास र आकर्षक शैली । यी सबै तत्त्वहरूलाई नजिकबाट नियाली आत्मसाथ गर्दै प्रत्येक लघुकथाहरू लेखनमा सचेत लघुकथाकार ‘मौनता’ अभ्यासरत् छन् । यस ‘एक पोल्टो बादल’ लघुकथासङ्ग्रहभित्र अधिकारी लघुकथाको सचेत पाठक र टिप्पणीकार पनि हुन् ।

यस सङ्ग्रहमा मौनताले लघुकथाको माध्यमबाट राजनीतिक, शैक्षिक, सामाजिक र पारिवारिक विषयहरूलाई उठाएकी छिन् । नारी चेतना, बाल मनोविज्ञान, युवा खुल्दुली, सर्वसाधारणीय पीडा, मानवीय मनोवृत्ति आदिलाई व्यङ्ग्य चेतको सुन्दरतम बान्कीमा उनेर रेणु अधिकारी मौनताले लघुकथाहरू रचेकी छिन् । पछिल्लो दशकमा लघुकथा लेखनकला सिकेर रेणुले पहिलो कृतिमा नै उत्कृष्ट लघुकथाहरू समेट्न सक्षम भएकी छिन् । उनले ‘एक पोल्टो बादल’ सङ्ग्रहभित्र समेटिएका विविध लघुकथाहरूमा ‘चुरोट’ लघुकथा समग्र नेपाली लघुकथाहरूभित्रकै मानक लघुकथाको रूपमा उभिन सक्षम छ ।

‘एक पोल्टो बादल’ लघुकथासङ्ग्रहमा सङ्ग्रहित लघुकथाहरूमा कथानक पक्ष चुस्त र दुरुस्त छन् । प्रत्येक लघुकथाको अन्त्यमा कथाकार ‘मौनता’ले कथामा ‘टुइस’ (विपरीत भावतर्फ परिवर्तन) राखेकी छिन् । कथाहरू सरल, सरस र समाज सापेक्ष छन् । लघुकथाको अधिकांश शीर्षकहरू एक वा दुई शब्दका छन् । तर एउटा लघुकथाको शीर्षक भने चार शब्दको ‘भनेको गर्नु गरेको नगर्नु’ रहेको छ । शीर्षक लामो हुँदा हुँदै पनि यो कथाको कथानक भने राम्रो बनेको छ । समग्रमा भन्नुपर्दा – रेणु अधिकारी ‘मौनता’का लघुकथाहरू समकालीन मान्यता अनुरूपका छन् ।

लघुकथाको एक प्रस्ट मार्ग भनेको स्वैरकल्पना पनि हो । शीर्ष कथा ‘एक पोल्टो बादल’मा रेणुले आकाशको बादलभित्र आमाको अस्तित्वको अनुभूति गरेकी छिन् । तर मौनताको लघुकथाहरूमा स्वैरकल्पना चामलमा रहेको बियाँझैँ छन् । समग्र कथाहरू प्रस्ट छन् तर कथाहरूमा स्वैरकल्पना खोजीको विषय बनेको पनि देखिन्छ । रेणुका केही लघुकथाहरूको अर्को पक्ष भनेको कहीँ कतै बिग्रिएको वाक्यविन्यास पनि हो । मीठा लघुकथाहरूलाई ठाउँ कुठाउँमा लामा वाक्यहरूले हलुवामा बालुवाको काम गरेको पनि देखिन्छन् ।

समग्रमा रेणु अधिकारी ‘मौनता’ अनुभूतिहरूलाई शब्दमा सजाउने लघुकथाकार हुन् । ‘एक पोल्टा बादल’भित्र उनले मौनतामा नै अनेक सन्दर्भहरू बोलेकी छिन् । लघुकथामा थौरै शब्द नै मौनताको सुगन्ध हो । लघुकथालाई राम्रोसँग बुझेकी उनले निरन्तर लघुकथा लेखनमा सक्रिय भए नेपाली लघुकथाको क्षेत्रमा उनको नाम अझै उच्च रहने निश्चित छ ।