भोगाइको क्षण भन्दा भोगाइको स्मृतिले मानिस कति क्लान्त हुँदो रहेछ । भोग्दाको अवस्थामा ऊ मृत्युसँग पनि कायर हुँदैन । त्यस निमेष ‘म मृत्युसँग सामना’ गर्दैछु भन्ने थोरै समय पनि उसले सोच्न भ्याउँदो हो ऊ त्यसै घडी पलायन हुने थियो । यदि देह त्याग गरेपछि त्यस देहको आत्मालाई आफूले भोगेको मृत्युबारे स्मरण गर्न सम्भव थियो भने ऊ कति विक्षिप्त हुन्थ्यो होला ? मृत्युको समय मृत्युबोध नहुनु कति श्रेयस्कर कुरा छ । ‘म महाप्रयाणमा’ जाँदैछु भन्ने चेत नभएकै कारण उसले विलाप नगरेको हुनुपर्छ । जीवनको अन्तिम श्वास फेर्दै गरेको मानिस कसैले पनि ‘म मर्दैछु’ भनेर आफ्नै शोक गर्न लागेको मैले कहीँ देखेको छैन । बरु त्यस क्षण मृत्यु नआएकाहरू करुण क्रन्दनले शिथिल हुन्छन् तर स्वयं मृत्यु भोग्दै गरेको ऊ किन मौन छ ? किन निःशब्द छ ? हिजो अस्तिसम्म त मरिन्छ कि भनेर ऊ खूब त्रसित हुन्थ्यो नि ? यसरी विद्यमानतासँग गुनासो गर्ने फुर्सद उसले नपाउँदो रहेछ ।
‘माओवादी जनयुद्ध-कैदी नं. ५१ को बयान’ उपन्यास अध्ययनमा मैले त्यस्तै केही मृत्यु सम्झिएँ । हामीले कति ठूलो द्वन्द्व आतङ्क भोगेर आयौँ । त्यो आतङ्कित क्षण सुरक्षित हुनु, जीवित हुनुमै जीवनको सार्थकता थियो । त्यो सार्थकता कायम राख्नु कति दुरूह विषय भने नि हामी व्यस्त थियौँ आफूलाई बचाउन । हर दिन कामना गर्थ्यौं ‘बाँच्न पाऊँ’ भनेर । त्यस्तो पुकारा गर्दाको क्षण वास्तविक मृत्यु लीला अनुभव गर्न मैले भ्याएको रहेनछु ।
अहिले त्यो समय सम्झिँदा आतेस लागेर आउँछ । तर आत्तिनु पर्ने त त्यतिखेरै होइन र ? धन्न बचिएछ । धन्य हो यो जीवन लाग्दैछ अहिले । एक दुई चोटि म त्यस्तै संयोगमा परेकी छु- ममाथि बन्दुक सोझिँदै थियो । तर सोझिएन । त्यो एउटा दुर्लभ संयोग थियो । यस घरी त्यो अतीत बताउनु अर्को दुर्लभ संयोग भएको छ । यस्तै संयोगको योगले जीवन निर्धारण हुँदो रहेछ ।
माओवादी जनयुद्ध भोगेको पुस्ताले अझ पनि त्यो बिर्सिन सकेको छैन । बिर्सिन सकिने खालको कहाँ थियो र ? त्यो क्रान्ति सार्थक हुँदो हो, युद्ध घटाउनुको लक्ष्यले सही मार्ग लिँदो हो त युद्ध, युद्ध लाग्ने थिएन । मृत्यु, मृत्यु हुने थिएन । शहीद हुनेहरूको मृत्यु कति मूल्यवान् हुने थियो । आज आएर विगत सम्झिँदा कति व्यर्थमा सर्वसाधारण बलिदानी भए- तिक्ततादेखि अरू केही भाव आउँदैन ।
सद्दे जीवन क्षतविक्षत भएर मृत्यु डाक्नेहरू अहिले के सोच्दै होलान् ? सुनौलो भविष्य हुर्काउन युद्धमा होमिएकाहरू के भन्दै होलान् ? सपना विघटित भएका, विषमता भोग्दै गरेका योद्धा के गर्दै होलान् ? कति गिटीसँग भविष्य मसिन्याउँदै होलान्, कति खाडीको भावरमा सपना सुकाउँदै होलान् । कति बारुदका छर्राले जीर्ण देहलाई धिक्कार्दै होलान् ? कति निस्सार देख्दै होलान् त्यो बचाइ । त्यस्तै केके देख्दै छन्, भोग्दै छन्, अनि केके सोच्दै छन् त्यो असन्तुष्टिमा, अप्राप्तिमा, व्यर्थतामा, हीनतामा – जीवन परिणत भएकाहरू । अझ कति धेरै द्वन्द्व प्रभावित जीवनहरूले दुर्दान्त स्थिति भोग्नै परेन । तिनीहरूलाई मृत्युले नै उद्धार गरिदियो । धन्य छ मृत्यु !
भनिन्छ ‘सफल युद्ध क्रान्ति हो त असफल युद्ध गद्दार … ।’ नेपालमा अहिलेसम्मकै राजनैतिक इतिहासको समीक्षा गर्दा कुनै पनि युद्ध क्रान्तिमा परिणत हुन सकेका छैनन् । २००७ सालको लडाइँले १०४ वर्षे लामो निरङ्कुशता ढाल्यो, त्यो सफल क्रान्ति थियो तर क्रान्ति पथ धमिल्याइयो । अनि त त्यसलाई क्रान्ति भन्न सकिने अवस्था रहेन । शहीदहरूको सपनालाई बेचेर खाइदिए । वि. सं. २०४६ ले निर्दल फाल्यो । बहुदल आयो तर पनि क्रान्ति आएन । माओवादी जनयुद्धमा देश नै काँप्यो । २०६२/६३ त्यस्तै भयो । विराट भए ती लडाइँहरू । द्वन्द्व आतङ्कको तथ्याङ्क रहेन । तर राजसत्ता ढल्यो । लोकतन्त्र हुँदै गणतन्त्र आयो । यसरी युद्ध घटाइयो । ती कुनै युद्ध असफल थिएनन् तर असफल बनाइयो । युद्धको नेतृत्व गर्नेहरू विपथगामी भए, भ्रष्ट भए अनि त क्रान्ति आउनै सकेन ।
युद्धको डोबमा खाटो बस्न खोज्छ फेरि बल्झिहाल्छ । कृष्ण माबुहाङको उपन्यास ‘माओवादी जनयुद्ध—कैदी नं. ५१ को बयान’ त्यस्तै एउटा बल्झिएको घाउ हो । प्रस्तुत कृति पढेर म कठिन अनुभव गर्दैछु । मानिस जब अशान्त हुन्छ, प्रताडित हुन्छ, उद्विग्नताले छोप्छ हो त्यतिखेर कलाको सहारा खोज्दो रहेछ उसले—आफूलाई शान्त बनाउन, हलुङ्गो बनाउन । आख्यानकार माबुहाङकले त्यही गरेका छन् । एक समयका लडाकु, जनयुद्धका लडाकु । सपना साकार नभएका लडाकु । असन्तुष्टिले क्लान्त भएका लडाकु । युद्ध निर्देशकबाट उपेक्षित लडाकु ।
जीवनको उत्तरार्धमा साहित्यका माध्यबाट माबुहाङले आफूलाई विरेचित गर्न लागेका छन् । यदि उनी युद्ध अभिप्रायले सन्तुष्ट लडाकु हुन्थे, क्रान्तिले सही दिशा लिएको हुन्थ्यो, जनयुद्धका नायकले विश्वासघात गरेका हुन्थेनन्, शहीदको सपना पूरा भएको हुन्थ्यो भने ‘कैदी नं. ५१ को बयान’ सिर्जिने थिएन । जनविद्रोह पश्चात् कुण्ठित भएका एक योद्धाले साहित्यको माध्यबाट त्यस समयको दुखान्त आवाज सुनाउने इच्छा राख्दा आख्यान बनेको छ । यसमा उनले आफ्नै जीवन लेखेका छन् । उनको जस्तै हजारौँको जीवन लेखेका छन् । २०४६ सालदेखिको राजनैतिक जीवन लेखेका छन् ।
देशमा सुशासन तथा समतामूलक विधिको शासन ल्याउन सुधा नागरिकले बन्दुक उठाए । जस्तो अपेक्षा राखेर उठाएका थिए त्यसो हुन सकेन । अज्ञात तर सुन्दर भविष्यको आशा देखाएर कथित नेताहरूले उत्साहित गरे नागरिक समाजलाई । कुन तात्पर्यले युद्ध रचिएको हो, त्यो भुलेर तिनीहरू अवसरवादी भए । यता युद्धको अपयश, अपहेलना भने तिनै बन्दुक बोक्ने योद्धाहरूले खेप्नु पर्यो । युद्धको क्षति, नियति उनीहरूले थाम्नु पर्यो । अनि उपेक्षित पनि उनीहरू नै भए ।
सशस्त्र आन्दोलनका नराम्रा पक्ष त छँदैछन् फेरि राम्रा पक्ष पनि छन् । त्यसको क्षति भन्दा परिवर्तित चेतनाको लहर ठूलो छ । बीस हजार सर्वसाधारण जनताका खुनसँग साटेर ल्याएको परिवर्तन । उनीहरूको त्याग र बलिदानसँग साटेको परिवर्तन । त्यसको हिसाब खै ? खै तिनीहरूको इतिहास ? खै क्रान्तिमा आहुति दिनेहरूको कदर ? हेर ती अलपत्र लडाकु, भविष्य हराएका लडाकु, सपना देख्न असमर्थ बनाइएका लडाकुको बरु उल्टै उपेक्षा गरे युद्ध नायकहरूले । यस्ता धेरै विचलित पार्ने सन्दर्भले माबुहाङलाई केही लेख्न बाध्य बनाएको छ । आमुखमै त्यो दुःखी, अधैर्य, कुण्ठित मन बोल्छ, “मूलतः सच्चा माओवादी जीवित छैनन् । बाँचेका खोला किनारमा गिट्टीसँग जीवन साट्दै छन् । घाइतेहरू तड्पिएर बाँचेका छन् । शहीदहरू माटामुनि दबिएका छन् (पृ-प)।” उनको भनाइमा देश सञ्चालनको केन्द्र पुगेका ती कुनै सच्चा कम्युनिस्ट नेता होइनन् ।
तीन अध्यायमा विभक्त ५७० पृष्ठको विशाल ग्रन्थ जसमा नायक मुन्सेको सिङ्गो राजनैतिक जीवन छ । २०४६ सालदेखि कम्युनिस्ट आन्दोलनमा सक्रिय मुन्से अन्तः निराश हुन्छ । त्यो मुन्से उनै माबुहाङ हुन् तर यो जीवनी होइन । लेखकले तृतीय पुरुष मार्फत अर्थात् मुन्सेलाई आफ्नो जीवन भोगाउन लगाएका छन् । लिम्बू पुत्र ऊ सोझो, स्वाभिमानी, निर्भीक छ । खस भाषा ऊ राम्रो उच्चारण गर्न जान्दैन । पञ्चायतलाई बञ्चायत भन्छ, बजियालाई पजिया भन्छ । यस्तो धेरै थोक ऊ अस्पष्ट बोल्छ । लिम्बू भाषाको लवज मिसिएको उसको बोली धेरै पटक अपमानित भएको छ । ताप्लेजुङको हाङसिङमा हुर्किएको, सानैमा बाबु गुमाएको टुहुरो । घरमा आमा र ऊ मात्रै छन् ।
गाउँमा आमसभा हुन थालेको छ- मुन्से र उसको साथी लुङ्गाको संवादबाट कथन आरम्भ हुन्छ । २०४६ सालको कम्युनिस्ट आन्दोलन गाउँ-गाउँ पुगेको छ । समानता र निष्पक्षताको लागि निमुखा नागरिकको पक्षमा गरिएको आन्दोलन । अझ भनौँ न साम्यवादको आन्दोलन । त्यस अभिप्रायले मुन्से आकृष्ट हुन्छ । ऊ आजभोलि गर्दागर्दै व्यस्त हुन्छ । सङ्गठन विस्तारमा बेफुर्सदिलो हुन्छ । आफू गरिबगुरुवा हेपिएको, ठगिएको थाहा पाएर प्रधानपञ्च आफ्नै बडीबाउसँग पनि प्रश्न प्रतिप्रश्न गर्छ । न्यायको कुरा गर्छ, अधिकारको विषयमा हिम्मत गरेर बोल्छ । ऊ निकै जब्बर भएको छ अचेल । कम्युनिस्ट सिद्धान्तले उसलाई त्यस्तो साहसी बनाएको छ ।
दुर्गम पहाडी जिल्लाबाट आरम्भ भएको कथा अन्तः झापा, इलाम हुँदै काठमाडौँ पुग्छ । पहिलो अध्याय २०४६ सालको आन्दोलन, दोस्रो अध्याय माओवादी जनयुद्ध र तेस्रो अध्याय संविधान सभाको पहिलो निर्वाचन र दोस्रो संविधानसभाबाट प्राप्त नतिजाका विषय छन् । ती तिनै अध्यायको साक्षी बनेको मुन्से माओवादी जनयुद्धका शीर्ष नेताहरूलाई प्रश्नै प्रश्न, असन्तुष्टि अनि अतृप्ति व्यक्त गरेर पात्रत्वबाट अन्त हुन्छ, उपन्यासको अन्त्यमा ऊ मात्रै रहन्छ । अरू प्रायः सबैलाई युद्धले निलिसकेको हुन्छ । केही बाँकी रहेका पनि युद्धले क्षतविक्षत हुन्छन् ।
आरम्भमै मुन्से अब धेरै चलाख भइसकेको छ । स्थानीय युवा नेताका रूपमा ऊ लोकप्रिय हुन्छ । सङ्गठन विस्तार गर्न—जिल्ला जाने सिलसिलामा कम्रेड रूपासँग उसको भेट हुन्छ । केही समयको सामीप्यमा ती दुई प्रेमको अनुभव गर्न थाल्छन् । सांस्कृतिक तथा सामाजिक क्रान्ति उनीहरूको अर्को लक्ष्य रहेको छ । बाहुनकी छोरी र लिम्बूको छोराबीचको त्यो प्रेमलाई मूर्तता दिएर सामाजिक रूपान्तरणको दृष्टान्त बन्न चाहन्छन् ।
मुन्सेले सिँचाइ सुविधा, पुल निर्माण तथा विकास योजना गाउँ भित्र्याएको छ । ग्रामवासी हर्षित छन् । तर मुन्से अर्कै भइसकेको छ । राजनीति गर्नेले पैसा कसरी कमाउँदा रहेछन् त्यो उसले पनि जानिसकेको छ । ऊ अब कमिसन खाने भएको छ । कमिसनकै लागि योजना पार्न थालेको छ । विकासको नाउँमा देश कसरी थोत्रिँदो रहेछ त्यो कुरा उसले बुझेको छ । कमिसन खान, आफ्नो मान्छेलाई पहुँचमा पुर्याउन अभ्यस्त भएको ऊ भन्छ, ‘यहाँ त भक्कू पैसा खाने ठाउँ पो रहेछ ।’
राजनीतिले सोझो, इमानदार मुन्से त त्यसरी परिवर्तित भएको छ भने अरूको अवस्था झन् कस्तो होला ? उपन्यासले त्यो देखाएको छ । साम्यवादको विचारले अभिप्रेरित मुन्से प्रधानपञ्च जतिकै हुन थाल्छ । उसको व्यक्तित्वलाई त्यसरी भ्रष्ट बनाएको पाठकलाई मन पर्दैन । लेखकले उसको चरित्र त्यसरी बिगार्न चाहेका पनि होइनन् । देशको बेथितिपूर्ण राजनैतिक अवस्था देखाउन उसलाई त्यस्तो बनाइएको हो । पछि उसलाई उसकी आमाबाट सच्याइन्छ । ऊ पहिलेको जस्तै इमानदार लक्ष्य लिन थाल्छ ।
रूपा उपन्यासमा मलाई अत्यन्तै मन परेकी पात्र । ऊ जस्तो सशक्त क्रान्तिकारी कोही हुन सक्ने छैन । कोही त्यस्तो क्रान्तिकारी जन्मिने पनि छैन । नागरिक समाजको अवस्था बुझ्ने—ऊ जस्तो कोही हुन्थ्यो भने देश कहाँ पुगिसकेको हुने थियो । देशको, देशवासीको सेवा गर्छु भन्नेहरू जनतालाई आफ्नै पेवा मान्ने गर्छन्, तासको पत्ती जस्तै आफू अनुकूल फिट्ने गर्छन् । नागरिकलाई वस्तुकरण गरी आफ्नो स्वामित्वमा राख्ने, उनीहरूको विवेकलाई अङ्कुश लगाउने जस्ता कुरा उपन्यासले प्रभावकारी ढङ्गले अर्थ्याउन सकेको छ ।
आख्यानमा रूपा र मुन्सेको प्रेमले प्रेम मात्रै व्यक्त गरेको छैन, समाज परिवर्तनको थिम छ त्यसमा । कृतिका कति पात्रहरू, घटनाहरू काल्पनिक हुन सक्छन् तर त्यसको तात्पर्य काल्पनिक हुन सक्दैन । बहु भाषा, धर्म, संस्कृति र जातिबीचको सहअस्तित्वलाई आख्यानले विसङ्गत राजनीतिपछिको दोस्रो प्राथमिकतामा प्रस्तुत गरेको छ । घुस नखाने पुलिसको हाकिमलाई महादुःख जस्ता घटनाले जरैदेखि विकृत भएको राज्यव्यवस्था, प्रशासनिक कार्यप्रणाली र कर्मचारीतन्त्रलाई अभिव्यञ्जित गराएका छन् । घुस खानु एउटा परम्परा बनिसकेको छ । नखानु चाहिँ अपवाद भएको छ ।
आलोचनात्मक चेत भएकी रूपालाई पार्टीले कारबाही गरेको देख्दा लेखकप्रति नै म रुष्ट हुन्छु । त्यसो त उनले रूपालाई अन्याय गर्न खोजेका होइनन् । वास्तविकता देखाउन त्यसो गर्नु परेको छ । जनता एउटा पार्टी रोज्न बाध्य छ, पार्टी विहीन स्वतन्त्र हुने अवस्था छैन । फेरि पार्टीलाई विश्वास गर्ने स्थिति पनि छैन । जनताले पुनः पुनः अभिघात सहनु परेको छ । उपन्यासले अत्यन्तै जटिल मर्म देखाएको छ ।
राजनीतिमा लागेर आफू बरबाद भएकी रूपा ग्लानि बोध गर्छे । उसले चाहेको समाज उसले गरेको राजनीतिले निर्माण हुन सक्दैन । बरु ऊ जस्ता कार्यकर्ताबाट लाभ उठाउने गर्छन् माथिकाले । उसको पढाइ बिग्रिएको छ, घर व्यवहार लथालिङ्ग छ, भविष्यको सुनिश्चितता छैन । त्यस विकट स्थितिको ऊ अनुभव गर्छे । त्यस्तै निकृष्ट राजनैतिक संस्कारले अधैर्य भएको पुलिस थापाले पार्टी त्याग गरेको छ । राष्ट्रभक्त, समाजसेवी उसले अन्ततः आत्महत्या गरेर आफूलाई मुक्ति दिन्छ । स्वाभिमानी हुनु, इमानदार हुनु भनेको आफैँ भताभुङ्ग भई निम्छरो र निरीह हुनु हो भन्ने एउटा चेतना बनिसकेको छ समाजमा । त्यो कुरा माबुहाङले स्पष्ट बुझाउन सकेका छन् आख्यानमा ।
देशमा पञ्चायतको अन्त हुन्छ बहुदल आउँछ । राजनैतिक दल र नेता कार्यकता फेरिन्छन् तर व्यवस्था फेरिँदैन । रूपा र मुन्से विरक्त छन् । पार्टीबाट दण्डित भएकी रूपा पार्टी परित्याग गर्छे, “हामी प्रगतिशील क्रान्तिकारी र आफूलाई परिवर्तनकारी हौँ भन्ने लागेको थियो तर …। हिजो जनताको झुप्रोमा सेल्टर बसेर नानाभाँतीका विचार बाँडेर भात खोसी खाइयो । आज सिंहदरबार बसेर करोडौँ करोड कमिसन खान पाइयो । यो भन्दा ठूलो परिवर्तन के हुन्छ ? यो भन्दा महान् माक्र्सको चेला कहाँ बनिन्छ ?” जनतालाई दिएको आश्वासन र विश्वासलाई उपेक्षा गरेर मलाई केही लिनु छैन बरु इमानका साथ बाँच्न चाहन्छु रूपा फेरि भन्छे, “चेतना नभएका, ठगी खानेलाई म बहादुरी मान्दिनँ । नैतिक च्युत भएरै पैसा कमाउने हो भने वेश्या भएरै कमाउँछु खान्छु तर मुलुक र जनतालाई ठगेर खान्नँ (पृ-२६२) ।”
प्रेममा समर्पित मुन्सेले पनि पार्टी त्यागिदिन्छ । ऊ पनि सन्तुष्ट थिएन राजनीतिप्रति । अब कथाले के भन्ने हो ? यस्तो कौतुहलता उत्पन्न हुँदै गर्दा अध्ययनलाई निरन्तरता दिन रूपा काठमाडौँ जान्छे । ती दुईको प्रेम बिछोड हुने भयो, एउटा नमीठो संवेदना सिर्जिन्छ । गाउँमा खेती किसानी गर्ने मुन्सेलाई काठमाडौँ जान सम्भव छैन । वार्द्धक्यले जीर्ण आमा छिन् घरमा । रूपा विहीन जीवन ऊ सोच्न सक्दैन । विरह वेदनाले गलेको छ मुन्से ।
यस्तै वियोगको घडीमा दोस्रो अध्याय सुरु हुन्छ जनयुद्धको नाम लिएर । लेखकले आफ्नै राजनैतिक जीवनलाई आख्यानमा खण्डीकरण गरेका छन् । २०४६ सालको आन्दोलनकै क्रमिकताको रूपमा उनले माओवादी जनयुद्धलाई लिइएका छन् । कम्युनिस्ट आन्दोलन, साम्यवादको लागि लडिएको आन्दोलन । तिनै पात्र, त्यही परिवेश । त्यस्तै लक्ष्य र विश्वासले गरिएको आन्दोलन ।
शिक्षाको लागि शहर पसेकी रूपाले केही वर्षपछि मुन्सेलाई एउटा पत्र पठाउँछे- आमा परलोक भएको एक वर्ष पश्चात् पढाइ छोडेर ऊ माओवादी युद्धमा सामेल हुन्छे । कलम समाउने हातले बन्दुक समाउँदा गौरव बोध गरेकी छु भन्छे । जनताले चाहेको परिवर्तन अब आउँछ भन्नेमा ऊ विश्वस्त छे । रोल्पाको थवाङबाट उसले त्यो चिठी लेखेकी छ । सामन्तवादका विरुद्ध, निरङ्कुशताका विरुद्ध, अन्यायका विरुद्ध, आर्थिक-सामाजिक असमानताका विरुद्ध उसले योद्धा जीवन रोजेकी छ ।
अघिल्लो चरणका पात्र पात्राको जीवन द्वितीय खण्डमा पनि उस्तै छ । उमेरमा, विचारमा, स्वभावमा केही परिवर्तन आएको छैन । तर त्यस समयावधिमा केही परिवर्तन आउनु पर्ने होइन ? उसो त कथनले त्यो परिवर्तनको माग गरेको छैन अर्थात् समय सन्तुलन नमिलेको आभास हुँदैन । स्वाभाविक नै लाग्छ ।
एकदिन छापामारको बर्दीमा रूपा अचानक मुन्सेको घर आउँछे । राजनीतिबाट सन्यास लिएको मुन्से प्रेमिकाको पत्र प्राप्ति पश्चात् आमालाई थाहै नदिई पार्टी प्रवेश गरेको थियो । माओवादी सङ्गठनमा, युद्ध मोर्चामा फुर्सद नलिएर ऊ खट्दै थियो । घर छोडेर हिँड्ने भूमिगत पार्टी आमालाई मन पर्दैन । यता छेरो रूपाको प्रेमले त्यतै सम्मोहित छ । आमाको मायाले उसलाई रोक्न सक्दैन ।
सबैको प्रिय, ग्रामवासीको प्रिय मुन्सेलाई शत्रु लाग्न थालेका छन् । सुराकी लाग्न थालेका छन् । ऊ पुलिसको घेराबन्दीमा पर्छ । केही समयपछि हिरासत मुक्त भएको ऊ तारिक छोडेर अन्ततः भूमिगत हुन्छ।
गाउँ अर्कै चहलपहलमा अभ्यस्त छ । भय छ, सन्त्रास छ, आतङ्क छ, अन्योल छ, मृत्यु छ, क्षतविक्षत छ, केके थोक छ । जातीय क्रान्तिको आवाज लिएर हिँडेका मुन्से र रूपाको प्रेम पारम्परिक समाजमा स्वीकार्य थिएन । अब स्वीकार्य छ । जनवादी बिहे सम्पन्न हुन्छ ।
यता मुन्सेको घर पुलिस प्रशासन लाग्न थालेको छ । ती बूढी आमै सेनाको मारमुङ्ग्रीमा पर्छिन् । माबुहाङको आख्यानले माओवादी जनयुद्धलाई प्रत्यक्षीकरण गरेको छ । त्यस समयको भयभीत गर्ने चित्र आउँछ । कथनमा कहीँ कतै उपकथा अलिक छिटो घटाइन्छ । कहीँ मूल कथाले गति अलिक सुस्त लिन्छ । प्रसङ्ग बाहिर पनि जान्छ कथा- लेखकको जीवनमा आधृत उनका प्रायः भोगाइ आख्यानीकरण गरी केही काल्पनिकता जोड्दा त्यसो भएको छ । त्यस समयको मनोविज्ञान, पुलिस प्रशासन, माओवादी तथा ग्रामवासीको मनोविज्ञानलाई कथनले विश्वासिलो बनाएको छ ।
मुन्से घोर विरोधाभासमा छ । यता रूपासँग जोडी बाँधिएर प्रसन्न छ । फेरि आमाको विकट स्थितिले प्रताडित छ। उसलाई लागेको थियो बिहे गरेपछि रूपा सँगसँगै हुने छे । तर त्यसो हुँदैन । बीस महिनापछि बल्ल भेट हुन्छ । त्यस भेटमा उदासिएकी रूपालाई देखेर क्रान्तिप्रति उसलाई विश्वास लाग्दैन । पार्टीभित्रको अराजकताले रूपा विरक्त छे । क्रान्तिको भट्टीमा, सेनाको बङ्करमा पोलिएका, बमले भुँडी फुटेका जनताका छोराछोरीको भोलि हिसाब किताब रहन्छ कि रहँदैन ऊ सन्देहशील छे । आगामी दिनमा जनता र मुलुकले क्रान्तिको प्रतिफल पाउने कि नपाउने ? ऊ आफैँसँग प्रश्न गर्छे । क्रान्तिमा उसले सुन्दर भविष्य देख्न छोडेकी छ । पार्टीभित्र असन्तुष्टि सिर्जना हुन थालेका छन् । क्रान्ति निर्देशकहरू स्वार्थ लिप्त छन् । अन्तर्घात सुरु भएको छ ।
केही दिनको बिदामा मुन्से गाउँ फर्किएको थियो, त्यसै बेला पक्राउ पर्छ । जनयुद्धमा लागेर उसले आफ्नो मात्र भविष्य कुरूप बनाएन आमालाई पनि मर्नु न बाँच्नु बनायो । ऊ कठोर बन्दी जीवन भोग्दैछ, यता आमाको मृत्यु छ । उसलाई थाहा छैन ।
सर्जकले सरकार र क्रान्तिकारी कुनै पक्षलाई लिएर माओवादी जनयुद्ध लेखेको लाग्दैन । बस् त्यो वास्तविक परिस्थिति, आफ्नो भोगाइ चित्राङ्कन गरेको देखिन्छ । समर्थन र विरोध केही छैन । निरङ्कुशताप्रतिको क्रोध भने आइरहन्छ । क्रान्तिमा देखिएको अनियमितताप्रति उनी क्रुद्ध छन् । असन्तुष्टिहरू छन् । पार्टीभित्रका गद्दार चरित्रले निराश भएकी रूपा पार्टी परित्याग गर्छु भन्दै थिई । त्यसै समय कमाण्डरको दायित्व सम्हालेर जिल्ला हान्न गएकी ऊ सदाको लागि मुक्त हुन्छे । आख्यानकी सशक्त पात्र शहीद हुन्छे । थाहा छैन उसको क्रान्ति सफल हुन्छ, हुँदैन ।
शहादत प्राप्त रूपाप्रति सहानुभूति पैदा हुन्छ । अघिदेखिकी रूपा सम्झनामा आउन थाल्छे । उसका अभिव्यक्तिहरू कता-कता गुञ्जिएको आभास हुन्छ । “हाम्रा दुश्मनले हामीलाई फाँसी चढाएको सह्य हुने छ तर हाम्रा नेताले धोका दिएको असह्य हुने छ” ऊ भन्थी । ‘ओ क्रान्तिनायक ! तिमीहरूलाई एकचोटि ‘माओवादी जनयुद्ध-कैदी नं. ५१ को बयान’ पढ्न म अनुरोध गर्छु । तिमीहरूलाई लाग्ला यो कृति हाम्रो प्रतिपक्षले हाम्रो बदनाम गर्न तयार पारेको हो । त्यसो नभन्नू यो त तिम्रै योद्धाको कथा हो ।
के तिमीहरूलाई थाहा छ ? म पनि क्रान्तिकारीकी छोरी हुँ । तिम्रो विरोध गर्ने हेतु म यो सब लेख्दैछैन । तिम्रो पार्टी खुल्नुभन्दा अघि नै मेरा पिता राजबन्दी थिए २०५१ को शरदमा जेलभित्रै उनले लेखेको कविता मलाई अहिले पनि कण्ठ छ-
लाग्यो श्राप यो राजनरेशलाई कति पुस्तासम्म पनि
छैन गुदी अडियो बोक्रा यसै धमिराभित्रै पनि ।
ओ युद्धनायकहरू ! तिमीहरूले जनता र मुलुकको दुःख बुझ्ने नेता चाहिन्छ भनेका होइनौ ? त्यसैको प्रतिनिधि भएका थियौ नि, होइन ? कहाँ गए ती आश्वासनहरू ? हजारौँ रूपाका—बाबुहरूको करुण क्रन्दन के सुनेनौ ? हजारौँ मुन्सेका आमाहरूको करुण अन्त्य के देखेनौ ? हजारौँको घर परिवार विघटित भएको के थाहा पाएनौ ? तिमीहरूले देखाएको मिठो सपनामा उनीहरू उत्सर्गी भए । के तिमीहरूका सन्तानले लडेर आज तिमी त्यहाँ पुगेका हौ ? के तिमीहरूले भनेको साम्यवाद आजको यही परिस्थिति हो ? के भनेर जवाफ दिन्छौ ती शहीदका परिवारलाई ? के भनेर विश्वस्त पार्छौ ती योद्धाहरूलाई ? उपन्यास पढ्दा यस्ता धेरै प्रश्नहरू आउँछन् ।
रूपाको अन्त्य पश्चात् कथानक जटिल मोडमा पुगेको छ । कथालाई डोर्याउने नायकत्व अब कसलाई दिने हो ? मुन्से जेलमै छ । फेरि-फेरि उपन्यासमा प्रश्न उठ्छ माओवादी जनयुद्ध के सफल हुन सक्छ ? गरीब जनताको बलिदानीलाई भुलेर क्रान्ति गर्नुको औचित्य कहाँ छ ?
माओवादी लडाकु बडो असमञ्जस स्थितिमा छन् । न त उनीहरू सामान्य अवस्थामा घर फर्किन सक्छन्, आफ्नो भविष्य सुधार्न सक्छन् । न त क्रान्ति सफल पार्ने दृढ विश्वास बचाउन सकेका छन् । एक वर्ष शब्दातीत यातना भोगेर मुन्से जेल मुक्त हुन्छ । त्यो रिहाइ एकदमै अप्रत्याशित लाग्छ । किनकि ऊ रिहा हुने कुनै सम्भावना थिएन । उसले अब थाहा पाउँछ रूपा र आमासँग कहिल्यै भेट हुँदैन भनेर । ऊ अर्कोपालि भारतको सिलगढीमा पक्राउ पर्छ । थुनिनु, रिहाइ हुनु उसको लागि एउटा स्वाभाविक घटना भएको छ ।
रूपाको देहावसन र मुन्सेको रिहाइपछि आख्यान शिथिल हुन्छ । लिम्बू सर, लुइँटेल, उनीहरूका श्रीमती, रूपाका दाजुभाइ, लुङ्गा सबैसबै शहीद भइसकेका छन् । क्रान्तिले सखाप पार्छ । अघिको कथामा जुन उत्सुकता थियो, हतासा थियो, मृत्यु थियो, शोक थियो, प्रतीक्षा थियो । भिडन्त थियो, बीभत्स दृश्य थियो अब त्यस्तो केही छैन । बाँकी पृष्ठहरू मूल कथाकै सन्दर्भ—राजनीति र क्रान्तिसँग सम्बन्धित भए पनि सिलसिलाबद्ध छैनन्, अझ कसरी भनौँ भने त्यो आख्यान भन्दा पनि मुन्सेको विशृङ्खलित दैनिकी लाग्छ, भनौँ न उसका जीवनका केही अविस्मरणीय क्षणहरू छन् । तर ती सबै देशका राजनैतिक मुद्दासँग निकट छन् । राजा ज्ञानेन्द्र सत्तामा, युद्ध विराम भङ्ग फेरि युद्ध जस्ता शीर्षकले त्यही बताउँछन् ।
जनयुद्धमा जति क्षतविक्षत, पारिवारिक विघटन, मृत्यु, शोक, अवसाद भए, भविष्य लथालिङ्ग भए ती सबै आम-सर्वसाधारणकै भए । अध्याय दुईका आखिरी शीर्षक (हरू) मा मुन्से राजधानी छिर्छ पार्टीको काम लिएर । सुराकी तथा एजेन्टको जिम्मेवारी लिएर । जनयुद्धलाई नागरिक समाजले कसरी लिएको छ त्यो बुझ्न ऊ गएको छ । सरकार पक्षका ठूलाठूला मान्छेसँग उसको भलाकुसारी हुन्छ राजनैतिक विषयलाई लिएर ।
आख्यानको सुरुदेखिको जीवित पात्र मुन्से अहिले बडो पश्चात्तापमा छ । अरू कोही पनि पात्रत्वमा बाँकी रहेका छैनन् । धेरै त जीवित छैनन् कोही जीवित भएर पनि अस्तित्वमा छैनन् ।
मुन्सेले राष्ट्र-समृद्धिको लागि, समानताको लागि, गरिबगुरुवाको लागि २०४६ देखि युद्ध लड्दै आयो । बहुदल आयो तर उसको लक्ष्य आएन । ऊ निराश भयो । लक्ष्यहीन भयो । राजनीतिप्रति वीतरागी भयो । फेरि माओवादीले २०४६ सालको भन्दा अझ श्रेष्ठ अभिप्राय लिएर क्रान्तिको बिगुल फुक्यो । मुन्सेलाई अब साँच्ची नै देशमा केही हुन्छ जस्तो लाग्यो । आफूले देखेको सपना साकार पार्न माओवादीको उदय भएको उसलाई लाग्यो । तर अन्त्यमा ऊ झन् ब्युँतिनै नसक्ने गरी निराश भयो । आख्यानको आखिरी त्यही उदासीनताको उत्कर्ष हो, असन्तुष्टि हो । समग्र जनयुद्धको राजनैतिक समीक्षा हो ।
जनताको साथ-समर्थनले माओवादी नेतालाई जङ्गलदेखि सांसदभवन पुर्यायो । मन्त्री, प्रधानमन्त्री बनायो । दुःखको कुरा तिनै लाटा-सुधा, भोका-नाङ्गालाई बन्दुकसँग खेल्न लगाएर, प्राणको वाजी थाप्न लगाएर—आफ्नै दाजु भाइबीच दुस्मनी गर्न विवश बनायो क्रान्तिले । मार्न र मर्न लगायो । भरे तिनैको अभिष्यमाथि कुठाराघात गर्यो क्रान्तिले । यतिखेर लाचार योद्धा विडम्बनै विडम्बना मात्र देख्छ “मुन्सेहरूले रमिता देख्दैछन् नेताहरूको आलिसान महल देख्न थाले । नेताहरूको करोडौँको प्राडो देख्न थाले । नेताहरूका विभिन्न उद्योग व्यवसायमा लगानी छ रे सुन्न थाले । कसैको करोडौँको हस्पिटल देख्न थाले । … विचरा गरिब जनताका छोरा छोरी रूपा र मुन्सेहरू हेरेको हेर्यै भए … । उनीहरूलाई सपना झैँ भयो … । मर्दाको शहीद बाँच्दाको भोट बैङ्क मात्र भएको महसुस गर्न थाले … (पृ-५६४)।”
‘माओवादी जनयुद्ध-कैदी नं. ५१ को बयान’ आख्यानको दृष्टिले उति सशक्त नहोला त्यो आफ्नै ठाउँमा छ । तर यसले भुल्नै नसकिने नेपालको राजनैतिक इतिहासलाई साहित्यका माध्यबाट पुनर्लेखन गरेको छ । राजनैतिक पार्टी तथा सरकारको समर्थन र विरोध नभई एउटा योद्धाले भोगेको स्वतन्त्र अभिव्यक्ति, त्यस्तै क्रान्ति खेर गएकोमा हजारौँ मुन्से अनि रूपाको खिन्नतापूर्ण अनुभव यसले बोलेको छ । माओवादी द्वन्द्वकाललाई लिएर धेरै त होइन नै केही साहित्य लेखिएका छन् । तिनको आफ्नै महत्त्व छ । यसको पनि आफ्नै महत्त्व छ । यो स्वयं स्रष्टाको भोगाइ हुँदा काल्पनिक नभएर वस्तुताको निकट छ ।
आख्यानमा मूल कथालाई अगाडि बढाउन खासै सहयोग नगर्ने उपकथाहरू हटाइएको भए पुस्तक संक्षिप्त हुने थियो, पाठक मैत्री हुने थियो । देख्दैमा विशाल काय कृति झट्टै पढ्ने आँट गर्न नसकिने । तर यसको सशक्त पक्ष उतिकै पठनीय छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।