संसारमा जन्मिएपछि सन्तान जन्माउने रहर सबैलाई हुँदो रहेछ । ‘सम्’ उपसर्गदेखि विस्तार अर्थमा रहेको ‘तन्’ धातुमा घञ् (अ) प्रत्यय लागेर सन्तान शब्द बन्दछ । सन्तान भनेर हामीले आफ्ना छोराछोरी र नातिनातिनालाई मात्रै बुझ्दै आएका छौँ तर यसको अर्थ त विस्तार, परम्परा र स्वर्गीय एउटा वृक्ष पनि हुँदो रहेछ । हामीले यस लोकमा रहेर स्वर्गीय वृक्षको त कल्पना गर्न नसकौँला तर विस्तार र परम्परालाई भने अङ्गीकार गर्न सक्छौँ ।
वंशपरम्परा र वंशविस्तारका सन्दर्भमा समेत हामीले सन्तान शब्दलाई ग्रहण गर्दै आएका छौँ । पाणिनीय व्याकरणले ‘वंशो द्विधा विद्यया जन्मना च’ (सिद्धान्तकौमुदी २।१।१९) भनेर वंशलाई विद्यावंश र जन्मवंश गरी दुई प्रकारमा विभाजन गरेको छ । जन्मवंशको विस्तार त अचेतन प्राणीहरूले पनि परापूर्व कालदेखि गरिरहेकै छन् तर चेतन प्राणीको मूल उद्देश्य जन्मवंशको मात्र विस्तार गर्नु होइन । विद्यावंशको विस्तार गर्न नसक्ने हो भने चेतन प्राणी हुनुको कुनै औचित्य रहँदैन ।
मेरो विद्यावंशको विस्तारको क्रम आजभन्दा २४ वर्षअघि २०५६ जेठदेखि प्रारम्भ भएको हो भने जन्मवंशको विस्तारको थालनी २०५६ माघबाट भएको हो । अर्को विद्यावंशको सन्तान जन्मिन नपाउँदै २०५८ कार्तिकदेखि मेरो जन्मवंशको विस्तारको क्रम रोकिएको छ । २०६३ माघमा दोस्रो विद्यावंशको सन्तान (भानुभक्तीय रामायणका पाठभेदहरू) जन्मिएपछि हालसम्म मेरो विद्यावंशको विस्तारको क्रम चलिरहेको छ र आजीवन चलिरहन सकोस् भन्ने सङ्कल्प पनि मैले लिइरहेको छु । २०६४ असारमा मेरो तेस्रो सन्तान (भानुभक्तका लघुरचनाहरू) पनि जन्मियो ।
दोस्रो र तेस्रो सन्तान जन्माउन मलाई कमलमणि दीक्षितको विशेष प्रेरणा प्राप्त भयो र मैले आफ्ना यी दुवै सन्तानलाई चुँदीरम्घामै रहेर आदिकवि भानुभक्त आचार्यमा समर्पण गर्न पाएँ । यी दुवै सन्तान जन्माएका कारण २०७१ असारमा नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवको समुपस्थितिमा शीतलनिवासमा राष्ट्रकवि माधवप्रसाद घिमिरेका हातबाट सम्मान ग्रहण गर्ने अवसर मलाई प्राप्त भयो । भानुभक्तीय रामायणका पाठभेदहरूको विस्तृत अध्ययन र अनुसन्धान गरेर कृति प्रकाशन गर्ने वचनबद्धता कमलमणि दीक्षितले गर्नुभएको थियो तर उहाँ अस्ताएसँगै मैले गर्न चाहेको भानुभक्तीय पाठानुसन्धानको काम पनि ओझेलमै परिरहेको छ । विशेषतः नेपाली भाषाका कुनै न कुनै युवा अनुसन्धाताले ओझेलमा परिरहेको यो अनुसन्धान गरिदेलान् भनेर मैले त्यस्ता अनुसन्धाता उदाउने क्षितिज हेरिरहेको छु ।
पाणिनीय व्याकरणको सन्धिवैज्ञानिक अध्ययन गर्ने विद्यावारिधिस्तरीय अनुसन्धानमा संलग्न हुँदा र त्यसलाई पूर्णता दिन तल्लीन रहँदा पाँचवर्षसम्म मेरा कुनै अग्ला सन्तान त जन्मिन पाएनन् तर साझा प्रकाशनबाट प्रकाशन हुने ‘गरिमा’ मासिकको भाषाव्याकरण स्तम्भमा मेरा केही फुच्चे सन्तानहरू भने जन्मिरहे । विद्यावारिधिको औपचारिक अनुसन्धान सकेपछि संस्कृत, प्राकृत र नेपालीका सन्धिका बारेमा मेरो अनौपचारिक अनुसन्धान अघि बढ्यो । फलस्वरूप २०६९ भदौमा पहिलोपटक मेरा जुम्ल्याहा सन्तान (शब्दनिर्माणप्रक्रिया र सन्धि तथा संस्कृत, प्राकृत र नेपालीका सन्धिनियम) जन्मिए । गरिमा मासिक र प्रा. डा. माधवप्रसाद पोखरेल गुरुको विशेष प्रेरणा प्राप्त नभएको भए मेरा यी जुम्ल्याहा सन्तानलाई मैले जन्माउनै सक्ने थिइनँ । जुम्ल्याहा सन्तानमध्येको पहिलो सन्तानलाई यति धेरै शिक्षक तथा प्राध्यापक मित्रहरूले मन पराइदिनुभयो कि जसले गर्दा मलाई भाषाव्याकरणको अध्ययन र अनुसन्धानमा समर्पित भइरहन निकै ठूलो प्रेरणा प्राप्त भयो ।
२०६९ देखि २०७३ सम्मको अवधिमा म विशेषतः नेपाली भाषाव्याकरण, समीक्षा र निबन्धका क्षेत्रमा अग्रसर भइरहेँ । सामयिक घटनाक्रमका बारेमा अद्यावधिक भइरहनका लागि मलाई कान्तिपुर दैनिक पत्रिकाले प्रेरित गरिरह्यो र अस्वस्थ भाषाव्याकरणको क्षेत्रलाई तथा अस्वस्थ समाजलाई स्वस्थ बनाउने दिशामा लगातार पाँचवर्षसम्म विशेषतः कान्तिपुर दैनिक तथा अंशतः नागरिक दैनिक, गोरखापत्र दैनिक र हिमालय टाइम्स दैनिक पत्रिकामा दिनहुँजसो मेरा पाठकीय प्रतिक्रियाहरू प्रकाशन भइरहे ।
यी दैनिक पत्रिकाहरूका अतिरिक्त स्थानीय चितवन पोस्ट दैनिक र विजय खबर साप्ताहिकमा नियमित स्तम्भकार भइरहँदा मलाई समाजका सामु आफ्ना विचारहरू प्रस्तुत गरेर सामाजिक पुँजी आर्जन गरिरहने अवसर प्राप्त भयो । त्यसका साथै अन्य पत्रपत्रिकाले पनि मेरो लेखनीलाई प्रोत्साहन गरिरहे । तिनै लेखरचनाहरूका आधारमा २०७३ वैशाखमा मेरा तिम्ल्याहा सन्तानहरू (चुँदीरम्घामा पुनर्जन्म, पुस्तकालयको भोक र म किन चिठी लेख्छु ?) जन्मिए । तिम्ल्याहा सन्तानमध्ये पहिलो सन्तानले मलाई बागलुङबाट ‘रत्न श्रेष्ठ पश्चिमाञ्चल क्षेत्रीय पुरस्कार’ र दोस्रो सन्तानले चितवनबाट ‘चिसाप कृष्णकृष्णा पुरस्कार’ ग्रहण गर्न योग्य बनाए ।
२०७४ देखि म विशेषतः संस्कृत वाङ्मय र पाणिनीय व्याकरणको अध्ययन र अनुसन्धानमा केन्द्रित हुँदै आएको छु । फलस्वरूप २०७५ वैशाखमा मेरा पुनः तिम्ल्याहा सन्तानहरू (संस्कृत व्याकरणको रूपरेखा, परमलघुमञ्जूषा – नेपाली अनुवाद र व्याकरणमहाभाष्यम्, १-२ आह्निकको नेपाली अनुवाद) जन्मिन सफल भए । त्यसपछि चितवन पोस्ट दैनिकमा प्रत्येक बुधवारको अङ्कमा गीताचिन्तन र महाभारतचिन्तन स्तम्भमा मेरा लेखहरू प्रकाशन हुँदै आए, जसलाई स्थानीय प्रबुद्ध पाठकहरूले अत्यन्त मन पराउनुभयो र लेखनका लागि प्रेरणात्मक ऊर्जा पनि थपिदिनुभयो ।
फलस्वरूप तिनै लेखहरूलाई आधार बनाएर २०७५ असोजमा मेरो बाह्रौँ सन्तान (गीतामा के छ ?) र २०७७ माघमा मेरो तेह्रौँ सन्तान (महाभारतमा के छ ?) पनि जन्मियो । प्रकाशनगृहले यी दुवै सन्तान एक एक हजार जन्मिएको भन्ने जानकारी मलाई गराए पनि यी सन्तानलाई मन पराउने हजारौँ पाठकहरूले मलाई प्रत्यक्ष एवम् अप्रत्यक्ष रूपमा आआफ्ना पाठक प्रतिक्रिया दिएर लेखनका लागि हालसम्म पनि बारम्बार हौसला प्रदान गरिरहेका छन् । ‘महाभारतमा के ?’ ले कमाएको लोकप्रियता र त्यसले मलाई दिएको खुसी वर्णनातीत छ । २०७७ सालमा गण्डकी प्रदेशको सर्वोत्कृष्ट कृतिका रूपमा यही कृति ‘लेखक कृति पुरस्कार’ प्राप्त गर्न सफल भयो । यसबीचमा केही अनलाइन पत्रिकाले हिन्दु संस्कारसम्बन्धी मेरा फुच्चे सन्तानहरू जन्माइरहन सघाए, जुन फुच्चे सन्तानलाई आधार बनाएर अग्लो सन्तान जन्माउने मेरो धोको अझै पूरा भएको छैन ।
“शरीरं व्याधिमन्दिरम्” अर्थात् शरीर रोगको मन्दिर हो भन्ने कुराबाट म पहिल्यैदेखि सुसूचित थिएँ नै । २०५८ मा अल्सरका घाउमा पोजेटिभ देखिएपछि म आफ्नो स्वास्थ्यप्रति निकै सचेत हुँदै आएको थिएँ तापनि घरायसी व्यवहार चलाउनुपर्ने बाध्यात्मक परिस्थितिले गर्दा दुईतीनतिर अतिरिक्त पढाउने र विभिन्न लेखकहरूबाट प्राप्त पुस्तकका पाण्डुलिपिको भाषासम्पादन तथा पुस्तकहरूको कम्प्युटर सेटिङ गरी प्रकाशनका लागि प्रेसमा पठाउने काममा आफूलाई निकै व्यस्त राख्दै जाँदा आफ्नो स्वास्थ्यतर्फ मैले ध्यान दिन सकेको रहेनछु र प्रत्येक गर्मीयाममा शरीरमा देखिने गरेका घाउहरूले स्किन सोराइसिसको अवतार लिइसकेछन् भन्ने कुराको पुष्टि २०७७ चैत्रमा आएर मात्र हुँदा म झल्याँस्स ब्युँझिन पुगेँ ।
त्यसको रोकथामका लागि सर्वप्रथम एलोप्याथी औषधीको नियमित सेवन गरिरहेँ तर रोग बारम्बार बल्झिरह्यो । प्राकृतिक चिकित्साबाट त्यसलाई निर्मूल पार्न सकिन्छ भन्ने सल्लाह पाएर २०७८ असारदेखि त्यसलाई पनि वर्षदिनसम्म पछ्याइरहेँ । सबैजसो खानपिनलाई बारिरहँदा त्यसले केही महिना त राम्रै प्रभाव देखाउला भन्ने सङ्केत दिइरह्यो तर गर्मीयाम लाग्दा नलाग्दै पहिलाभन्दा पनि नराम्रोसँग बल्झियो । त्यसको विकल्पका रूपमा लगातार चार महिनासम्म आयुर्वेदीय चिकित्साको शरणमा पुगेँ तर त्यसले पनि रोग निको हुनुको सट्टा रोगलाई बढाएको र शरीर निकै शिथिल हुँदै गएको अनुभूति भयो ।
त्यसपछि के खाँदा बढ्ता असर गर्छ, त्यसलाई क्रमशः छाड्दै र भोकलाई सहेर पनि रोगलाई नियन्त्रणमा राख्न प्रयास गरिरहेँ । त्यसका लागि लगातार ८० दिनसम्म एक छाक मात्र खाना खाएँ तर स्किन सोराइसिसले दिनप्रतिदिन नयाँ नयाँ अवतार लिएर मेरो जीवनलाई लखेटिरहन भने छाडेको छैन । ५० वर्षको जीवनमा नभोगेका दुःखकष्टहरूले मलाई दुई वर्षमै निथ्रुक्क भिजाए । अन्न, नुन र दुग्धजन्य परिकारहरू मेरो स्वास्थ्यका लागि प्रतिकूल बनिरहेका छन् ।
सेवामुखीभन्दा लाभमुखी बजारका विषादीजन्य फलफूल र सागसब्जीमै वर्तमानमा मैले आफ्नो प्राण अड्याउँदै आएको छु । आखिर जीवनको के नै भरोसा छ र ! “दुःखीको घरमा मात्र तेरो वास हुने भए, हे ईश्वर दया राखी मलाई अझ दुःख दे” भन्ने याचना गरिरहँदै भए पनि मैले आफूलाई आफ्नो पाणिनीय व्याकरणको विषयगत अध्ययन र अनुसन्धानमा केन्द्रित गर्दै आएको छु । त्यसैले फलस्वरूप मेरा यी नवीनतम जुम्ल्याहा सन्तान जन्मिएका हुन् र यी सन्तानभन्दा पहिला २०८० वैशाखमा मेरो चौधौँ सन्तान (भारतीय तीर्थयात्रा) जन्मिसकेको थियो, जसमा भारतीय तीर्थस्थलहरूको अनुसन्धानात्मक परिचयसहित एक महिने भारतीय तीर्थयात्राका क्रममा देखेभोगेका अनुभवहरू व्यक्त गरिएका छन् ।
पन्ध्रौँ तथा पहिलो जुम्ल्याहा सन्तान (स्वरवैदिकी प्रक्रिया) पाणिनीय व्याकरणको वैदिक प्रक्रियासँग सम्बद्ध छ । यसको वैदिक प्रक्रिया खण्डमा अष्टाध्यायीक्रमले अध्यायगत रूपमा २७५ पाणिनीय सूत्र र ४८ वटा कात्यायनवार्तिक तथा पातञ्जलभाष्येष्टिको शोधपूर्ण नेपाली व्याख्या गर्दै यथासम्भव सबै शब्दको रूपसिद्धिप्रक्रियाको रूपरेखा प्रस्तुत गरिएको छ । त्यसैगरी यसको स्वरप्रक्रिया खण्डमा ३८ वटा पाणिनीय सूत्र र दुईवटा कात्यायनवार्तिकको शोधपूर्ण नेपाली व्याख्यासहित रूपसिद्धिप्रक्रियाको क्रम निर्धारण गरिएको छ ।
परिशिष्ट खण्डमा व्याख्यान गरिएका सम्पूर्ण सूत्र तथा वार्त्तिक तिनका कार्यहरू र तिनका प्रमुख वैदिक उदाहरण तथा तिनको लौकिक स्वरूपका बारेमा समेत तुलनात्मक रूपरेखा प्रस्तुत गरिएको छ । वैदिक वाङ्मयका उपलब्ध ग्रन्थहरूका आधारमा यसमा उदाहरणस्वरूप दिइएका शब्द र वाक्यहरूको यथासम्भव स्रोत दिने प्रयत्न गरिएको छ । शोधपूर्ण नेपाली व्याख्याका क्रममा व्याकरणमहाभाष्य, प्रक्रियाकौमुदी, शब्दकौस्तुभ, लघुशब्देन्दुशेखर र बृहच्छब्देन्दुशेखर ग्नन्थलाई मुख्य आधार बनाइएको छ । यसको प्रारम्भमा नव्यव्याकरणविद् प्रा. डा. विष्णुप्रसाद देवकोटाको भूमिका तथा नव्यव्याकरणविद् प्रा. डा. शालिग्राम सुवेदी र अथर्ववेदका आधिकारिक नेपाली विद्वान् प्रा. डा. ऋषिराम रेग्मीका शुभाशंसाहरू पनि समावेश गरिएका छन् ।
सोह्रौँ तथा दोस्रो जुम्ल्याहा सन्तान (पाणिनीय व्याकरणको अनुशीलन) का ११ अङ्गहरू छन्, जसमा व्याकरण किन पढ्नुपर्दो रहेछ ? पाणिनिपूर्वको व्याकरण परम्परा र प्रभाव कस्तो छ ? पाणिनीय गुरुकुलको परम्परा कस्तो थियो ? पाणिनिकका सूत्रको सङ्ख्या निर्धारणमा केकस्ता समस्या छन् ? पाणिनीय व्याकरणका धातुको र प्रातिपदिकको पूर्णविकार केकसरी हुन्छ ? महाभाष्यमा प्रत्याख्यान गरिएका पाणिनीय सूत्रहरूले कुन कुन सूत्र वा शब्दको प्रत्याख्यान गरेका छन् ? पाणिनीय व्याकरणका दृष्टिले केकसरी व्याकरणको संशोधन गर्ने परम्परा चलेको थियो ? पाणिनीय व्याकरणमा परिभाषाको केकस्तो स्थान छ ? र पाणिनीय लिङ्गानुशासनका आधारमा संस्कृत शब्दहरूको केकसरी लिङ्गनिर्धारण गर्न सकिन्छ ? भन्ने कुराको अनुशीलन गर्ने प्रयत्न गरिएको छ ।
यसमा प्रा. हरिशरण उपाध्यायको भूमिका र प्रा. डा. गुरुप्रसाद सुवेदीको शुभाशंसा समेत समावेश गरिएको छ । यी नवीनतम जुम्ल्याहा सन्तानको मुख हेर्न चाहने र तिनलाई आफ्नै विद्यावंशको घरमा भित्र्याउन चाहने महानुभवहरूले काठमाडौँको माइतीघर मण्डलास्थित रत्न पुस्तक भण्डारमा सम्पर्क गर्न सक्नुहुनेछ ।
जति उमेर बाँचिन्छ त्यति सन्तान जन्माउन पाए हुन्थ्यो भन्ने मेरो धोको त धेरै वर्ष पहिलेदेखि नै थियो तर जीवनको उत्तरार्द्धमा पदार्पण गर्न नपाउँदै स्वास्थ्यले साथ नदिएकाले आफ्नो उमेरका आधा सन्तान त कसो जन्माउन नसकिएला ? भन्ने आशाले अझै विश्रान्ति लिएको छैन । ‘पूर्वीय यौनशिक्षा’ले चौधौँ सन्तानका रूपमा जन्मिन विगत तीन वर्षदेखि प्रकाशनको प्रतीक्षामा रहिरहेको छ तर प्रकाशकले त्यसलाई कहिले प्रकाशनमा ल्याउने हुन् भन्ने कुरा अझैसम्म पनि अनिश्चित छ । त्यसैले अब म आफ्ना कृतिको प्रकाशनका लागि प्रकाशकहरू खोज्दै र गुहार्दै हिँड्नुपर्ने बाध्यताबाट आफूलाई पूर्णतः मुक्त गर्ने प्रयत्न गर्दैछु ।
मेरा हालसम्म जन्मिएका १६ सन्तानमध्ये ११ सन्तानलाई त म आफैले आर्थिक लगानी गरेर प्रकाशनमा ल्याइसकेको छु र आगामी दिनमा पनि आफ्नै आर्थिक लगानीमा यथासम्भव पुस्तक प्रकाशन गर्दै जाने सोच बनाएको छु । सूचना र प्रवधिको वर्तमान युगमा पठन संस्कृति हराउँदै गएकामा म सदैव चिन्तित छु र ‘पठन संस्कृति अभियान-२०७६’ नामक युट्युब च्यानलबाट यथासम्भव पठन संस्कृतिको प्रवर्द्धन गर्न पनि म अग्रसर भइरहेको छु । साथै मेरा हालसम्म जन्मिएका १६ सन्तानहरूमध्ये ११ सन्तानलाई साझा ई-पुस्तकालयबाट निःशुल्क डाउनलोड गरी अध्ययन गर्ने सुविधा प्रदान गरेको छु र बाँकी सन्तानलाई पनि त्यस किसिमको सुविधा प्रदान गर्नका लागि म अग्रसर भइरहने सोच बनाएको छु ।
विगतमा झैँ आगामी दिनमा पनि मेरा पूजनीय गुरुवर्गको शुभाशीर्वाद र शुभचिन्तक पाठक महानुभावहरूको प्रेरणात्मक हौसला पाइरहन सकेका खण्डमा निश्चय नै ‘मेरा यी जुम्ल्याहा सन्तान अन्तिम नबनुन् !’ भन्ने मेरो सङ्कल्पले सार्थकता पाउनेछ भन्ने कुरामा म विश्वस्त छु ।
सबैको जय होस् !
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।