प्रशन्न चित्तले मुस्कानसहित तपाईं जुम बैठकमा हुनुहुन्छ र पृष्ठभूमिमा तपाईंका पुस्तकहरू लाइनै राखिएका छन् भने अन्यको तुलनामा तपाईंलाई मानिसहरूले बढी विश्वास गर्ने सम्भावना रहेको वैज्ञानिकहरूले बताएका छन् ।
डुरहाम विश्वविद्यालयका विज्ञहरूले पृष्ठभूमिमा पुस्तकको दराज र किताबको चाङजस्तो बनाएर मुस्कानसहित मानिसलाई उभ्याउँदा जुम मिटिङमा त्यस्ता व्यक्तिका कुरा गम्भीरतापूर्वक सुनिएको एउटा प्रयोगमा देखिएको वैज्ञानिकहरूको दाबी छ ।
यसरी उभिने मानिसको प्रथम प्रभाव नै रवाफिलो हुने बताइएको छ । रोचक चाहिँ, यदि पृष्ठभूमिमा अरू नै केही सुन्दर चिज राखिएको छ भने त्यस्ता व्यक्तिप्रतिको प्रभाव किताबी मान्छेजस्तो नरहने पनि देखिएको छ ।
विज्ञहरूले १६७ जना युवाहरूलाई एउटा भिडियो सम्मेलनमा देखाइएको थियो । ती सम्मेलनमा सहभागी भएका जस्ता स्त्री वा पुरूषहरूको तस्बिर कि त मुस्कुराएको थियो कि त कुनै भाव बेगरको थियो । ती व्यक्तिहरूको पृष्ठभूमिमा चाहिँ सुन्दर लिभिङ रूम, सानो बगैँचा, धमिलो पृष्ठभूमि, किताबको र.याक, खाली पर्खाल अथवा विभिन्न किसिमका परिवर्तन भइरहने पृष्ठभूमिका सुन्दर चित्रहरू राखिएका थिए ।
ती विविध तस्बिरलाई वैज्ञानिकहरूले विभिन्न मानिसहरूलाई देखाएर यी व्यक्ति कत्तिको विश्वासिला छन् भनी रेटिङ गर्न लगाएका थिए । यस्तोमा रेटिङ बढी पाउने व्यक्तिहरूमा सानो कोठे बगैँचा र किताबको पृष्ठभूमि भएका व्यक्तिहरूलाई सर्वसाधारणले बढी विश्वासिला छन् भनेका थिए । उज्यालो र प्रशन्न चित्त अनुहार भएकाहरूले अझ बढी विश्वास कमाएको पनि पाइयो । यीबाहेक महिलाहरूको पृष्ठभूमिमा बगैँचा वा किताब छ भने त ती अझ बढी विश्वासिला ठानिए ।
रोचक त के भने, पृष्ठभूमि धमिलो भएको व्यक्तिलाई सबैभन्दा कम रेटिङ दिइएको थियो । घरभित्र विरूवा राख्नेहरू बढी जिम्मेवार रहने केहीको धारणासमेत रहेको पाइयो ।
यस्तै पृष्ठभूमिमा किताब राख्ने प्रशन्नचित्तका युवा र खासगरी महिलाले ती पुस्तक किन्न मिहिनेतपूर्वक कमाएको पैसा लगानी गरेको हुनाले उनीहरू बढी विश्वासिला हुने मत व्यक्त गरिएको थियो । उनीहरूले मिलाएर लुगा लगाएका छन् भने त उनीहरू अझ बढी जिम्मेवार हुने मानिएको थियो ।
यसअघि पनि यस्ता शोधका कामहरू भइरहेका थिए । तर अनलाइनमार्फत व्यक्तिहरू कस्ता देखिएका थिए र ती व्यक्तिको मूल्याङ्कन कसरी हुन्थ्यो भनी वृहद् स्तरमा यसरी अनुसन्धान नभएको विज्ञहरू बताउँछन् । तर कोभिड महामारीमा जब व्यक्तिहरूको अनलाइन उपस्थिति बढ्यो, त्यस्तोमा व्यक्तिहरूको मूल्याङ्कन कसरी हुँदोरहेछ भन्ने अनुसन्धान गर्न जरूरी हुन थाल्यो । सोही क्रममा यो अध्ययन गरिएको प्लोस वन नामक जर्नलमा उल्लेख छ ।
नयाँ शोधले भन्छ, तपाईं कुनै बाहिरी वा खुला ठाउँमा हुनुहुन्छ भने तपाईंले खुला ठाउँ देखाउनुको साटो ब्लर गर्नु वा नदेखिने बनाउनु ठीक हुन्छ । ह्वाङ्ग र खुला देखिएका चिज हत्तपत्त मानिसले मन पराउँदैनन् ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।