महेश पौड्याल समसामयिक साहित्य-धाराका बहुप्रतिभाशाली स्रष्टा र द्रष्टा दुवै हुन् । नेपाली साहित्यको इतिहासमा बहुविधामा कलम चलाई सबैजसो विधामा सफलता हात पर्ने स्रष्टाको सङ्ख्या नगण्य छ । प्रतिभा, व्युत्पत्ति र अभ्यास तिनै ओटा पक्षमा आफूलाई अब्बल प्रमाणित गर्न सक्ने बिरलै प्रतिभा मात्र हरेक क्षेत्रमा सफल बन्छन् । सिङ्गो नेपाली साहित्यबाट यस्ता प्रतिभाहरूको गणना गर्ने हो भने उनीहरूको नाम एउटै हातका औँला भाँचेर लिन सकिने अवस्था छ । समसामयिक साहित्य-धाराको उत्तरवर्ती चरणबाट प्रतिनिधि साहित्यकारको छनोट गर्नुपर्दा निश्चय नै महेश पौड्यालको नाउँ आउँछ ।

कविता, कथा, निबन्ध, उपन्यास, समालोचना, सम्पादन र अनुवादमा समेत उत्तिकै ऊर्जावान् भएर पोखिन सक्ने व्यक्ति हुन् महेश । उमेरले भर्खरै मात्र चालीसको दशक पार गरेका महेशले विशुद्ध सिर्जनाका क्षेत्रमा दर्जनको सङ्ख्यामा कृति प्रकाशित गरिसकेका छन् भने सम्पादन र अनुवादसहितका कृति गणना गर्ने हो भने तीन दर्जनभन्दा बढी नै कृति नेपाली साहित्य भण्डारमा अर्पण गरिसकेका छन् । सिङ्गो जीवन नै साहित्यमय छ महेशको । उठ्दा, बस्दा, खाँदा, हिँड्दा, गफ गर्दा, निदाउँदा, ब्युँझँदा, सपना देख्दा साहित्यकै फन्को मारिरहेका हुन्छन् उनी । उनमा नेपाली, हिन्दी र अङ्ग्रेजी साहित्यको विराट् अध्ययन पनि छ । वटवृक्षका हाँगाहरूझैँ प्रगाढ हरियालीसहित बहुविधाहरूमा विस्तारित पनि छन् उनी ।

जनुसुकै विधामा बलियो उपस्थिति देखाए पनि देवकोटा कविता र निबन्धका क्षेत्रमा केन्द्रीय प्रतिभा ठहरिन पुगे । सम नाट्यजगत्का सर्वोच्च चुली बने । विजय मल्ल आफूले हात हालेका सबैजसो विधामा प्रस्ट देखिने पहाडहरूसदृश भए । सिङगो नेपाली साहित्यको परिदृश्यमै उनीहरूले निर्माण गरेको छवि अग्लो देखिन्छ । महेशले सिङ्गो नेपाली साहित्यमै उनीहरूकै समान उचाइ पाइसके भन्नु अतिशयोक्ति हुन्छ । समसामयिक साहित्य-धाराको उत्तरवर्ती चरणमा भने महेशले समातेका हरेक विधामा उनी प्रस्ट रूपमा चिनिन्छन् । कुनै पनि विधामा कमजोर प्रतीन हुन्नन् । सफल कवि, सफल कथाकार, सफल उपन्यासकार र सफल निबन्धकार हुन् महेश । अनुवाद कर्म पनि सबल नै छ । सिर्जना पनि गर्न सक्ने र सिर्जनाको परख पनि गर्न सक्ने भएकोले नव-पुस्ताका लागि प्रथप्रदर्शक प्रतीत हुन्छन् उनी ।

‘अपरिचित अनुहार’ समसामयिक कथा-धाराको उत्तरवर्ती चरणको एक प्रतिनिधि तथा उल्लेख्य कथाकृति हो । यसले महेश पौड्याललाई समसामयिक कथाधाराका अग्ला कथाकारको रूपमा उभ्याएको छ । उनले यस कथाकृतिलाई कथाकार भवानी भिक्षुमा समर्पित गरेका छन् । गुरुप्रसाद मैनाली र विश्वेश्वरप्रसाद कोइरालाले हालेको कथाको जगलाई अझ मजबुत र बलियो बनाउने कथाकार हुन् भिक्षु । भावनी भिक्षुको नेपाली साहित्यमा मूल्याङ्कन नभएको हाइन । प्रज्ञा-प्रतिष्ठानको सदस्य बन्न सफल भिक्षुले मदन तथा साझा पुरस्कार पाएका थिए भने उनका कथा तथा उपन्यास नेपाली साहित्यको पाठ्यक्रममा समावेश पनि भएकै हुन् । गुणग्राही साहित्यिक समाज र प्राज्ञिक तथा साहित्यिक संस्थामा रहेको नेतृत्व वर्गबाट उनको कदर भएकै हो, तर जुन उचाइमा उनको मूल्याङ्कन हुनुपथ्र्यो, त्यति हुन नसकेको अनुभव महेशले गरेकाले यो कथा-सङ्ग्रह भिक्षुप्रति समर्पित गरिएको हो भन्ने प्रतीत हुन्छ । अथवा, भिक्षुका र आफ्ना कथाका कतिपय प्रवृत्तिगत समतुल्यताका कारण पनि उनले भिक्षुप्रति श्रद्धाभाव प्रकट गरेका हुन सक्छन् भन्ने पनि अनुभव हुन्छ ।

अग्रज स्रष्टाप्रति श्रद्धाभाव प्रकट गरिएकोले भावनी भिक्षुका कथाहरूको उज्यालोमा महेश पौड्यालका कथाहरूको निरूपण गर्नु सान्दिर्भिक देखिन्छ । भावनी भिक्षु मूलतः सामाजिक तथा मनोवैज्ञानिक कथाधाराका प्रबल सिकर्मी हुन् । मैनाली तथा कोइरालाले बसालेको कथा जगमा बलिया इँटा र लिउनका माध्यमबाट बलियो पर्खाल निर्माण गर्ने श्रेय भिक्षुलाई जान्छ । समाजिक यथार्थसहित नेपाली सांस्कृतिक पृष्ठभूमिमा मानवता र हार्दिकतासहितको यौन मनोविश्लेषण भिक्षुका कथाहरूको विशेषता हो । मान्छेका करेक क्रियाकलापमा यौनको मात्र अहम् भूमिका हुन्छ भन्ने फ्रायडीय चिन्तनप्रतिको असहमतिको रूपमा लिने गरिन्छ भिक्षुका कथाहरूलाई । भिक्षुका कथाहरूको मनोवैज्ञानिक आयाम अझ फराकिलो छ ।

नारीका यौनजनीन क्रियाकलापमा पात्रको परिवेश, परम्परा र संस्कृतिको पनि प्रभाव हुन्छ भन्ने तर्क भिक्षुका कथाहरूले पेस गर्छन् । मातृभाषा अवधी, शैक्षिक भाषा हिन्दी र साहित्य सिर्जनाको भाषा नेपाली बनाएका भिक्षुको आत्मसङ्घर्ष र महेशको आत्मसङ्घर्षका कतिपय कुरा उस्तै प्रतीत हुँदा रहेछन् । प्रियजन गुमाउनुका पीडा दुवै स्रष्टामा रहेछ । अध्ययनका लागि भिक्षुले गरेको सङ्घर्ष र महेशले गरेको सङ्घर्ष ठूलो देखिन्छ । जसरी नेपाली साहित्यमा स्थापित हुन भिक्षुले ठूलो सङ्घर्ष गरे, त्यसरी नै महेशले आफ्ना समकालीन स्रष्टाहरूको सापेक्षतामा गरेको सङ्घर्ष कता हो कता ठूलो छ । यही सङ्घर्षले भिक्षुलाई हृदयका कथाकार बनाएको हो । आजको महेश पौड्याल बन्नमा उनले खन्याएको पसिना धेरै छ ।

भिक्षु र महेशमा पाइने चिन्तन र चिन्ता समान देखिन्छन् । दुवै स्रष्टा कागज, मसी र शब्द निरर्थक हुनुहुन्न भन्ने कुरामा प्रस्ट छन् । कसका लागि कथा लेख्ने भन्ने कुारमा दुवै स्रष्टा सचेत भएको देखिन्छ । मातृभाषा, शिक्षाको भाषा र सिर्जनको भाषा फरक भएकाले भिक्षुका कथाको भाषा ओखरजस्तै भए पनि भिक्षुका कथाको गुदी ओखरकै गुदीजस्तो मीठो र पौष्टिकताले सम्पन्न छन् भने महेशका कथा पनि काजु झैँ नरम र पौष्टिकताबर्धक छन् ।

मान्छे देउता होइन । मान्छेमा कमजोरीहरू हुन सक्छन् । तर उसमा मानवता पनि हुन्छ । भिक्षुले कतिपय मानवीय कमजोरीयुक्त पात्रमा मानवताको खोजी गरेका छन् । महेशले पनि अधिकांश कथाका पात्रमा निहित मानवताको चिनारी गराएका छन् । ‘बार्दलीको एउटा अनुहार’ कथामा चालक र सहचालक दुई पात्र छन् । पाठक कथा पढ्न सुरु गर्दा चालक नै नायक हो भन्ने ठान्छ । कथा टुङ्गिँदा चालक खलनायक र सहचालक नायक भएको चाल पाउँछ । यसरी छायामा आर्थत् किनारमा रहेका महान् आत्मालाई नायकत्व प्रदान गरेर अपरिचितिलाई परिचित गराएका छन् उनले प्रायः सबैजसो कथामा । यस अर्थमा महेश अन्य कथाकारभन्दा भिन्न छन् ।

‘मेरो सानो साथी’ भवानी भिक्षुद्वारा लिखित चर्चित कथा हो । भिक्षुले दागरहित बालहृदयको सजीव चित्रण गरेका छन् । रेलयात्रामा साथी बन्न पुगेको मपात्रलाई सानो साथी अर्थात् बालक पात्रले पछ्याएको छ । बाल मस्तिष्कमा आफन्त-पराई, धनी-गरिब, सानो-ठूलो भन्ने भेदरेखा कोरिएको छैन । त्यसैले यात्रामा जोडिन आएको मपात्र पनि बाबुआमाजत्तिकै प्रिय छ । यही हो असली मानवता ।

सत्रौँ क्रममा रहेको कथा ‘अपरिचति अनुहार’ नै यस सङ्ग्रहको सबैभन्दा महत्त्वपूणर् कथा हो । स्वैरकल्पनाजस्तो प्रतीत हुने सपनाका सपनामय घटनामा केन्द्रीय कथ्य घुसाइएको यो कथा बौद्धिक र प्रयोगपरक कथा पनि हो । प्रयोगका नाममा प्रयोग गरिएको जस्तो सस्तो कथा भने होइन यो । मध्यरातमा सप्तकोसीको भेलमा अपरिचित मान्छेको अँगालोमा रमाइरहेको बालक नै यस कथाको मूल पात्र हो । शुक्र माझी र भुनी गौण पात्रहरू हुन् ।
कथाको पठनपश्चात के अनुमान गर्न सकिन्छ भने शुक्र र भुनी सामान्य गृहस्थी हुन् । शुक्र माछा मार्ने काम गथ्र्यो भने भुनी लुगा सिलाउने गर्थी ।

उनीहरूको प्रगाढ प्रेमको निशानी एक शिशु पनि थियो । आकाशमा मडारिने कालो बादल उनीहरूको जीवनमा आइदिँदा त्यो बालक भगवान्को घरमा गयो, कहिल्यै नफर्कने गरी । जब त्यो शिशु आफ्नो नभएर भगवान्को प्यारो हुन पुग्यो, शुक्र माझी जीवनरूपी मझधारमा निकै विचलति हुन पुग्यो । यसपछि माछा मारेर अर्थोपार्जन गर्ने कृत्यहरू एकाएक सुस्ताए तर भुनीले भने धैर्य गुमाइन । लुगा सिलाएर घरव्यवहार चलाउने कार्य जारी नै राखी । जीवनबाट विरक्तिएको शुक्र माझी कोसी किनारमा गएर मन बहलाउन थाल्यो । एक रात कोसी किनारबाट घर फर्केन, र त्यसै रात कोसीमा ठूलो बाढी आयो । समय निकै घर्केपछि सपनामा बालक देखा पर्‍यो । त्यो त्यही बालक थियो जो भगवान्को भइसकेको थियो । जीवनबाट निराश र घरव्यवहारबाट पलायन भएको उही शुक्रले सपना देख्यो । सपनामा बालक देख्यो । बालकको उज्यालो अनुहार देख्यो । कथाको अन्तर्यका घटनाहरू हुन् यी । र यिनै घटनाहरू पनि प्रतीकात्मक र ध्वान्यात्मक छन् ।

शुक्र माझी र भुनीका पनि दुईवटा स्वरूप छन् — भित्री स्वरूप र बाहिरी स्वरूप । बाहिरी स्वरूपको शुक्र माझी आम शुक्र माझी हो र आन्तरिक अर्थात् मानस जगत्को शुक्र माझी खास शुक्र माझी हो जो शुक्रतारा जस्तै प्रतीत हुन खोज्छ । महेशले अपरिचित अनुहार भनेर चिनाउन खोजेको शुक्र माझी आम शुक्र माझी नभएर सपनाको माध्यमबाट अभिव्यक्त शुक्र माझी हो ।

वास्वतमा मान्छे माझी नै हो । समयरूपी नदीमा जीवनरूपी डुङ्गा चलाएर नै उसको जीवन गुज्रन्छ । जीवनरूपी डुङ्गा चलाउँदैगर्दा उसको जीवनमा कहालीलाग्दा विपत्तिहरू आउन सक्छन्, तर पनि सपना देख्न छोड्नु हुँदैन । समयको कुनै विन्दुमा भगवान्कै स्वरूपजस्तो, घामकै किरणजस्तो, ताराजस्तो अर्को नवजीवनसँग जीवन जोडिन सक्छ भन्ने सकारात्मक सन्देश नै यस कथाको मूल गुदी हो ।

यदि हामीले विश्वसाहित्यसँग दाँजिने इच्छा राख्ने हो भने साहित्यका कुनै पनि अवयवलाई हल्का रूपमा प्रयोग गर्नु हुन्न भन्ने सन्देश यस कृतिको शीर्षक अर्थात् ‘अपरिचित अनुहार’ बाट बुझ्न सकिन्छ । यहाँ महेशले मान्छेको बाहिरी कलेवरलाई नभएर भित्री रूपलाई चिनाउन खोजेका छन् । नवजात शिशुको गालाको छाला र ९० वर्षे वृद्धको गालाको छाला उस्तै हुँदैन । उसलाई निचाउने त उसको चिन्तन र कर्मले नै हो ।

‘अपरिचित अनुहार’ मूल कथा भएकोले यसका बारेमा भन्नुपर्ने अरू पनि कुराहरू छन् । कथाको बनोट र बुनोटमा पनि प्रयोग छ । परिवेश निर्माणका लागि प्रस्तुत गरिएको परिदृश्यमा कोसी नदी, बाढी, खोतीयोग्य जमिनको कटान, एउटा देशले अर्को दशेलाई डुबानमा पार्ने तथा सीमा मिच्ने प्रसङ्गहरू पनि छन् । यसबाट के बुझिन्छ भने परिवेश र परिवेश वरिपरिका वस्तुस्थितिले पात्रको जीवन गतिशील हुन्छ । सपना वा स्वैरकल्पनाकै प्रयोग गरिए पनि कथाले यथार्थको छनक प्रस्तुत गर्नुपर्छ भन्ने कुरा यसबाट बुझ्न सकिन्छ । फ्रान्सेली, जर्मनेली वा अन्य विदेशी पाठकले पढोस् वा नेपाली पाठकले पढोस्, नेपाली जनजीवनका माझबाट कथाको सिर्जना गरिएको हो भन्ने कुरा प्रस्ट बुझिन्छ । जादुयी वा तिलस्मी कथाले जीवनको यथार्थलाई राम्ररी पस्कन सक्दैनन् भन्ने मान्याता आधुनिक कथाको सन्दर्भमा राखिन्छ । यसमा कथाकार सचेत बनेको देखिन्छ । परिवेश मात्र होइन कथाका हरेक अवयव विश्वसनीय र यथार्थमा आधारित हुनुपर्छ भन्ने मान्यता कथाकारमा छ भन्ने समेत यसबाट प्रस्ट हुन आउँछ ।

कमजोर कथा एक पटक पढेपछि त्यसलाई दोहोर्‍याएर पढिँदैन । कथागुणसम्पन्न कथा पुनर्पठनमा पनि नयाँ नै तरेलीहरू हुन्छन् । विम्ब, प्रतीक, रस, ध्वनि, अलङ्कारहरूका कारण नयाँ नयाँ स्वाद प्राप्त गर्छ पाठक । यस कथाका घटनाहरू कौतूकमय समेत छन् । घामपानीमा इन्द्रेणी देखिएजस्तै आँसु र आनन्दको समागम छ यहाँ ।

दोस्रो क्रममा छापिएको ‘मृगनयनी’ शीर्षकको कथा, शीर्षक, बुनोट, शैली र सन्देशका दृष्टिले गम्भीर कथा हो । कथाको पहिलो खण्ड यात्रा विवरणजस्तो र दोस्रो खण्ड संस्मरणजस्तो प्रतीत हुन्छ । मपत्रले बस यात्रा गर्ने क्रममा मृगनयनीलाई सहयात्रीका रूपमा पाउँछ । ऊ आफ्नो पितासँग आँखा उपचारका लागि भरतपुर अस्पताल जाँदैगरेकी हुन्छे । आँखाको उपचार हुन नसकेकोले उसको बिहे दृष्टिविहिनसँग नै हुन्छ । गरिबी र प्राकृतिक प्रपोकका कारण उनीहरू प्रकृतिको काखमा विलीन हुन बाध्य हुन्छन् र त्यसमा कसैले चासो पनि राख्दैन । यो कुनै उपन्यासकारले मुटुछेड ढङ्गमा कल्पेको उपन्यासको कथा हो । उपन्यासले ठूलो धनराशिको पुरस्कार समेत प्राप्त गर्छ । यो कुरा थाहा पाएपछि लेखकलाई अपाङ्गता सेवा केन्द्रमा त्यहाँ रहेका बालबालिकालाई उत्प्रेरणा जगाउने उद्देश्यले प्रवचन दिन आग्रह गरिन्छ । ममात्र प्राञ्जलले सहानुभूति प्रदान गर्ने वक्तव्यको तयारी गरेका हुन्छन् । पहिले बालबालिकाका कुरा सनेपछि प्रवचन दिने निणर्य हुन्छ । बालबालिकाहरू अपाङ्गता भएकोमा होइन आफूहरूप्रति सहनुभूति प्रकट गरेर गोहीका आँसु बगाइएकोमा दुःखी बन्छन् । सहानुभूतिले आत्मबल घटाइदिन्छ । साथ, सहयोग र हौसलाले आत्मबल बढाउँछ । उनीहरूको बोलीमा कतै पनि हीनताबोधको छनक भेटिन्न । उनीहरू आफ्नै खुट्टामा उभिएर समाजका लागि समेत विशेष योगदान दिने लक्ष्यका साथ अगाडि बढेका छन् ।

पूर्वखण्ड र उत्तरखण्ड दुवै कथांशले पाठकको मनमा कारुणाको भेल त ल्याउँछ नै । त्यसले करुण रसलाई परिपारकमा पुर्‍याउन सक्षम लेखकमाथि नै कठोर व्यङ्ग्य समेत गर्दछ । आत्मव्यङ्ग्य शैलीमा लेखिएको छ कथा । आजसम्म लेखिएका प्रायः सबैजसो कथा करुण रसलाई परिपाकमै पुर्‍याउन सफल छन् । लाखौँ पठक वा भावकको मन जितेका छन् ती कथाले । दसौँ हजार विक्री भएर लेखक नै धनी पनि भएका होलान् । पाठकहरूलाई रुवाउनु एक हदसम्म ठिकै पनि होला, तर जसका बारेमा कथा वा उपन्यास लेखिए, उनीहरू निरुत्साहित भएका छन् । उनीहरूको मनोबल गिरेको छ । यस्तो प्रवृत्ति लेखक वा पाठकका लागि आनन्दको स्रोत भए पनि सिङ्गो मानव-सभ्यताका लागि भने घाटा हो । लक्षित वर्ग (अपाङ्गता भएका व्यक्ति) लाई थप पीडा दिनुमा लेखक दोषी छ । यस्तो भूलमा लेखकले आत्मसमीक्षा गर्नु जरुरी छ र अब लेखकले लेखनको धार बदल्नु अनिवार्य छ भन्ने मूल सन्देश यस कथाबाट प्राप्त हुन्छ । जेलाई हामी मावन-सभ्यताको नाम दिइरहेछौँ, त्यो मानव-सभ्यता नभएर असभ्यता हो भन्ने दृष्टिकोण पनि यसमा पाइन्छ । कालो, गोरो, अग्लो, होचो, दुब्लो, मोटोको भेद आँखा भएकाहरूले राखेका छन् । यही उँचनीचको भावना नै मावन-सभ्यताका लागि ठूलो कलङ्क हो । आँखा भएकाहरूको दृष्टिभन्दा आँखा नभएकाहरूको दृष्टि हज्जारौँ गुणा सफा छ भन्ने कुरा अपाङ्गता भएका बालबालिकाको आशावादी जीवनदृष्टिबाट प्रकट भएको छ । कथामा प्रयोग गरिएको एउटा संवाद यस्तो छ—

एकजना भाइ जुरुक्क उठे र भने— ‘सर, यो रङको कुरा हाम्रो दिमागमै छ्रन । तपाईंहरू हाल्दिनुहुन्छ र दुख्न सिकाउनुहुन्छ । छोड्नुस् त्यो कुरा ।’

आजसम्म लेखिएका अधिकांश कथा मूल पात्रप्रति सहानुभूति जगाएर वा सत्पात्रको जीत र असत्पात्रको हार गराएर टुङ्गिएका हुन्छन्, तर यतिले मात्र पुग्दैन । लेखक र पाठक दुवैको दृष्टिचेत बदलिनुपर्छ भन्छ कथा ।

तथाकथित सहरी सभ्यतामाथि नै व्यङ्ग्य गरिएको कथा हो ‘उपहार’ । भवानी भिक्षुको ‘मेरो सानो साथी’ कथाको सुषुप्त प्रेरणाबाट लेखिएको अनुभव हुन्छ यो कथा । जजसले भिक्षुको ‘मेरो सानो साथी’ कथा पढेका छन्, तिनका मनमा त्यो बालपात्र सजीव भएर उभिएकै हुन्छ आज पनि । यही नै भिक्षुको कथाकारिताको महान् उपलब्धि हो । बालकको चित्र सजीव तुल्याउन भिक्षुले दशौँ पृष्ठ खर्च गरेका छन् तर महेशले भने अत्यन्त थोरे शब्दमा बालकको तस्बिरलाई जीवन्त बनाएका छन् । आफू बसोबास गर्ने भक्तपुरको ठिमी वरिपरिकै परिवेश उभ्याएर एउटा बालकको सजीव चित्र उतारका छन् उनले ।

मानवीय संवेदना मरेर मृतप्रायः बनेको सिङ्गो सहरलाई नै गतिशील बनाउन सक्षम छ बालक । सम्पन्नशाली र सुखी बन्ने लालसाले सहरमा घर बनाउन सफल मान्छेहरू मेसिन बन्दै गइरहेका छन् । हिजोका मानवीय गुणहरू बिलाउँदै गएका छन् । उनीहरूभित्रको प्रेम, सद्भाव, मित्रता मर्दैमदै गएपछि पाषाणजस्तै भएका छन् उनीहरू । हिजोको सभ्यता र संस्कृति नै लोप हुने अवस्था छ । छिमेकीले छिमेकी चिन्दैन । बिहे-व्रतबन्धमा छिमेकीलाई बोलाइन्न । सुखदुःख साटासाट गरिन्न ।

एक दम्पतीले छोरो जन्माए । श्रीमान्-श्रीमती हजुरआमाको जिम्मा लगाएर दिनैभरि काममा व्यस्त हुन थाले । त्यो केटो भने हातपाउ चल्न थालेपछि टोलछिमेक सबैका घर जाने गर्न थाल्यो र सबैलाई आकर्षित गरी प्रिय पनि भयो । उसैको बहानामा छिमेकी-छिमेकीका बीच बोलचालको क्रम बढ्न थाल्यो । सहयोगको आदानप्रदान हुन थाल्यो । उसलाई पोखरामा लगिए पनि उसले स्थापित गरिदिएको छिमेकी-छिमेकीबीचको सम्बन्धका कारण उसकी बूढी हजुरआमाले छिमेकीको साथ सहयोग पाउने भइन् । यसरी एउटा बालकले विघटित मानव सम्बन्धलाई पुनस्र्थापित गरिदिएको छ ।

बालक भनेका भगवान्कै स्वरूप हुन् भन्ने उक्तिलाई चरितार्थ गरिदिएको छ यस कथाले । कथास्रोत त साधारण नै हो, तर यसले दिने सन्देश असाधारण छ । बालमस्तिष्कमा जात, धर्म, लिङ्ग, वणर्, उमेर…कुनै पनि कुराले डेरा जमाएको हुँदैन । जति जति मान्छे उमेरका सिँढीहरू उक्लिँदै जान्छ, उति नै उसको दिमाग बागमीतको ढलजस्तै प्रदूषित बन्दै जान्छ र अन्त्यमा सम्पूणर् मानवीय गुणहरू समाप्त हुन्छन् भन्ने यस कथाको आशय हो । सभ्य र असल समाजको निर्माण नै कथाकारको मूल आग्रह हो । पूर्वीय आर्य सभ्यताले परिकल्पना गरेको मानवतावादमा आधारित नव-मावनसमाजको स्थापना होस् भन्ने कथाकारको चाहना हो जुन हाम्रै समृद्ध आर्यसंस्कृतिसापेक्ष छ । यहाँ पनि बरालिँदो मानवीय सभ्यतालाई सुसभ्यतातर्फ डोर्‍याउने लेखकीय प्रयत्न छ ।

साधारण विषयवस्तुलाई असाधारण उचाइ प्रदान गर्ने अर्को कथा हो ‘आवाजहरू’ । कथाकारलाई मूल पात्रका रूपमा प्रस्तुत गरिएको यस कथामा स्रष्टाहरू कसरी आफ्ना सिर्जनामा असफल हुन पुगे भन्ने कुरा देखाइएको छ । समाजको कथा लेख्ने कथाकार नै असमाजिक छ । मान्छे र समाजबाट भाग्न खोज्दछ भने ऊ कुनै पनि मूल्य र मानेमा सफल हुन सक्तैन भन्ने सन्देश यस कथाबाट प्राप्त हुन्छ । काल्पनिक, जादुयी र तिलस्मी कथा लेखेर दुनियाँलाई छक्क पर्ने उद्देश्य बोकेको सुधीरले दर्जनौँ कथा लेखिसकेको भए पनि ऊ समाजविमुख छ । घरमा श्रीमती, छोराछोरीको समान्य बातचितले उसको ध्यान भङ्ग हुन्छ । छरछिमेकको हल्ला, तरकारी बेच्नेहरूको हल्ला, बदाम बेच्न आउनेको हल्ला, सन्यासीको आवाज, आफूलाई भेट्न आउने साथीको आवाज — यी विभिन्न कारणले ऊ ध्यानमग्न हुन सक्दैनथ्यो । ऊ कथामा परिवेशको मात्र वणर्न गर्दथ्यो, मान्छे र समाजको चित्र उभ्याउन असमर्थ थियो । ऊसँग ठोक्किन आएका पात्रहरूमध्ये एक जना सन्यासी पनि छ । लेखक सन्यासीलाई समाजविमुख देख्छ । सन्यासी लेखकलाई समाजविमुख देख्छ । घरपरिवार, श्रीमती, बाबुआमा र छोराछोरी त्यागेको सन्यासी सतहमा समाजविमुख देखिन्छ । कथाकार सुधीर श्रीमती छोरछोरीसँग सँगै बसकेकाले सामाजिक जस्तो देखिन्छ, तर वार्ताक्रममा रहस्याको पोको खुल्छ । सन्यासीले अनाथ बालबालिकाका लागि आश्रम खोलेको हुन्छ र मानिसहरूबाट प्राप्त मुठ्ठीदानबाट ऊ आश्रम सञ्चालन गर्दछ । कथाकार भने समाजभित्रै रहेर पनि असामाजिक छ र उसले लेख्ने कथामा पनि मान्छे र समाजको अभाव छ । प्रयोगका नाममा काल्पनिक कुरा लेख्ने र पाठकहरूको समय मात्रै बर्बाद गरिदिने लेखकहरूप्रतिको व्यङ्ग्य हो यो कथा । यदि समाजको हित गर्दैन भने बुद्धको बुद्धत्वको पनि काम छैन भन्ने सन्देश यस कथाबाट पाइन्छ । हामी आफूमात्र बोल्छौँ, अरूका कुरा सुन्दैनौँ । लेखकहरू पनि आफैँ मात्र बोलिरहेका हुन्छन्, अरूका कुरा खासै सुन्दैनन् । जसले अरूका कुरा सुन्दैनन्, उनीहरूले मान्छे र समाजलाई बुझ्नै सक्दैनन् । सिङ्गो कथालेखन परम्पराप्रतिको समालोचकीय चिरफार पनि भन्न सकिन्छ यस कथालाई । समालोचनाको अलिकति पनि आभास नगराई एक खाले कथा प्रवृत्ति वा साहित्यप्रवृत्तिकै आलोचना गरिएको छ यहाँ । अबको कथालेखन मान्छे र समाजकै बारेमा हुनुपर्छ र त्यसले मानव सभ्यतालाई नै उचाल्न मद्दत गर्नुपर्छ भन्ने सन्देश यस कथाबाट पाइन्छ । समाजविमुख हुने छुट जोगीलाई पनि छैन । लेखकको त के कुरा ? यो पनि महेशले गरेको नव-प्रयोग नै हो सारवस्तुमा ।

कथापरम्परामै समालोचकीय प्रक्षेपण गरेका महेश मनोवैज्ञानिक कथालेखनमा समेत हात हाल्छन् । समाजकै कथा लेख्छन्, तर अरूले लेख्न नभ्याएका कथा लेख्छन् । इतिहासकारले लेख्न नभ्याएको इतिहास नै ल्याइदिन्छन् कथामा । इतिहासको गर्भमा हराएको, लडाइँमा हारेको एउटा नेपाली सिपाहीको मनोदशाको समेत चित्रण गर्दछन् उनी, ‘अभिमन्यु’ कथामा । एउटा कथानकमा इतिहासको ठूलै फलक प्रस्तुत पनि गर्छन्, मनोवैज्ञानिक समस्याहरूको चिरफार पनि गर्छन् र समाधानका सङ्केतहरू पनि प्रस्तुत गर्छन् । भारत र पाकिस्ताबीचको कारगित युद्ध तथा पृथ्वीनारायण शाहले सुरु गरेको एकीकरण अभियानअन्तर्गतको गोर्खाली र डोटेलीबीचको युद्धका घटनातन्तुहरू छन् यस कथामा । यही सिलसिलामा सेना र माओवादीबीचको युद्धले सिर्जना गरेको त्रासमय वातावरण र त्यसले जनमानसमा पारेको प्रारब्धको समेत चित्रण गर्न भ्याएका छन् उनले । समाजमा भिन्नभिन्न रुचिका मान्छेहरू हुन्छन् । रुचिअनुसारकै कार्यमा आफूलाई उभ्याउँछन् । यदि इच्छाअनुसारको कर्म दुर्घटित भयो भने उनीहरू डिप्रेसनमा जान सक्छन् । युद्ध हारेको घाइते मनोविज्ञानले जन्माएको निराशाको उपचार युद्धमय परिवेशको अवलोकन र युद्धजन्य बातचित र गफगाफबाट हुन सक्छ भन्ने विज्ञानसम्मत तर्क पनि पाइन्छ यसमा । नदेखिएका र नलेखिएका मनोविज्ञानका संभावित अन्यान्य क्षेत्रमा पनि प्रवेश गरेका छन् महेश । यसरी लेखिन बाँकी कथा लेखेका छन् उनले । नदेखिएका आधारहरू आएका छन् कथामा ।

अर्को महत्त्वपूर्ण र अनौठो कथा हो ‘बगर’ । यसमा प्रयुक्त अनौठो पात्र हो अग्ले । सामान्य मान्छेभन्दा आधा नै बढी उचाइ भएको मान्छे हो अग्ले । छ्याके अनुहार र धोद्रे बोलीका कारण दन्त्यकथाकमा बयान गरिने भूतकै जस्तो छ उसको रूप । बोली पनि उस्तै । पहिले ऊ सिपाहीको जागिर खान्थ्यो । नागा उग्रवादीको आक्रमणमा मुखमा लागेको बारुदका छर्राले गर्दा ऊ कुरूप हुन पुग्यो । उसका श्रीमती र छोराछोरी ऊबाट टाढिए । ऊ एक्लो भयो । उसको लवाइ, बोली र कुरूप अनुहारका कारण केटाकेटीहरू ऊसँग त्यसै त्यसै तर्सिन्थे, भाग्थे । ऊ सबैसामु मायालु मन भएको मान्छेका रूपमा चिचिन चाहन्थ्यो । सबैसामु राम्रो व्यवहार देखाउन खोज्थ्यो । केटाकेटीलाई च्याप्प समातेर काँधमा बोक्थ्यो, मिठाई खान दिन्थ्यो । तर, त्यति गर्दा पनि बालबच्चा र आइमाई ऊसँग डराउँथे । ऊसँग डराउने भएकै कारणले मास्टरले आफ्नो परिवारलाई अर्को गाउँमा सार्नु परेको थियो ।

छोराछोरी र श्रीमती भएर पनि उनीहरू बिछोडिनु परेको थियो । माया भएर पनि सबैले उसलाई राक्षस नै देखे । मास्टरको परिवार बसाइँ सरेपछि मास्टरकी श्रीमतीसँग आफ्नो रामकहानी बताउने क्रममा उसको भित्री मनको रहस्य खुल्छ । श्रीमती, छोराछोरी विछोडिएपछि ऊ आफूभित्रको माया आफ्नै छोराछोरी सम्झेर गाउँका केटाकेटीमा बर्साउन चाहथ्यो । त्यसैले, बाटोमा भेटिएका केटाकेटीलाई काँधमा बोक्ने, तथा बिस्कुट-मिठाई आदि दिने गथ्र्यो ।

मूलतः यो समाजिक मनोवैज्ञानिक कथा हो । हाम्रो समाजमा यस्ता मान्छे पनि हुन्छन् जो विफर वा अन्य बिमारीका कारण कुरूप बन्दछन् । यस्ता मान्छे देख्दा केटाकेटीहरू तर्सन्छन् । त्यो तर्साइ फोबियाकै रूपमा विकसित हुन्छ र पछिसम्म पनि त्यस्तो मान्छे देख्दा उनीहरू तर्सेकै हुन्छन् । समाजमा कतिपय मान्छे यस्ता पनि हुन्छन् – एउटा व्यक्तिलाई दिन नपाएको मायाको अभाव अर्को व्यक्तिलाई निस्वार्थ रूपमा खन्याएर पूरा गर्छन् । यी दुवै प्रकारका समाजिक र मनोवैज्ञानिक पक्ष यस कथामा पाइन्छ ।

‘दुई मृत्यु’ उच्चकोटिको दार्शनिक कथा हो । यसका घटना तथा पात्रहरू काल्पनिक छन् । केदारनाथ मन्दिर, मन्दाकिनी नदी र त्यहाँ उर्लेको बाढीलाई परिवेशका रूपमा प्रयोग गरिएको यस कथामा बालकृष्ण समले भनेझैँ ‘ज्ञान मर्दछ हाँसेर रोई विज्ञान मर्दछ’ भन्ने पूर्वीय अध्यात्म-दर्शनलाई वाणी प्रदान गरिएको छ । यो कथा सामान्य पाठकका लागि पनि हो र बौद्धिक पाठकका लागि पनि हो । व्यापारी लोभी थियो, मृत्युकै अँगालोमा बेरिँदा पनि मन्दिर प्रवेशका बेला सुरक्षाकर्मीलाई राख्न दिएको क्यामेरा, घडी, ल्यापटप आदि नगुमोस् भन्ने कामना गरिरहेथ्यो । अर्कोतर्फ गरिब सन्यासी बाढीमा हेलिएको बालकको ज्यान बचाउन सकिन्छ कि भनेर प्लास्टिकको झोलाभित्र रहेको च्यादर कसरी बालकसम्म पुर्‍याउने भन्ने चिन्तामा थियो । सामान्य पाठकले यति नै कुरा बुझ्छ । बौद्धिक पाठक लोभी व्यापारी र जोगीका फरक चिन्तनको विश्लेषण गर्छ । चिन्तनका जराहरू पहिल्याउने प्रयत्न गर्छ । हाम्रो वेदान्त दर्शन शरीर नश्वर र आत्मा अमर हुन्छ भन्छ । ज्ञानी-ध्यानीहरू राम्रो कर्म गरेर मर्न चाहन्छन् । मरिन्छ भन्ने थाहा हुँदाहुँदै पनि जोगी बालकलाई बचाएर मर्न चाहन्छ । जोगी ज्ञानको प्रतीक हो भने व्यापारी भौतिकताको प्रतीक हो । भौतिकता र आध्यात्मिकतामध्ये आध्यात्मिकता नै महान् हो भन्ने सिद्ध गरेका छन् कथाकारले यसमा । यदि हामीले पश्चिमाहरूलाई हाम्रा राम्रा र मौलिक कथा पढाउनुपर्‍यो भने यसै कथालाई अगाडि सार्न सकिन्छ ।

बालकलाई बचाएका छन् लेखकले । नवपुस्ताप्रति आशावादी छन् लेखक । नवपुस्ताले हाम्रो विरासत जोगाउनेछ भन्ने उनको विश्वास छ । हाम्रो पूर्वीय वाङ्मयको सारलाई कथाको अन्तरवस्तुका रूपमा प्रयोग गर्नु पनि प्रयोग नै हो । पाश्चात्य जगत्मा प्रयोग गरेर मिल्काइएका वासी प्रवृत्तिहरूलाई मित्र्याउनै पर्छ भन्ने छैन । हाम्रो आर्यसंस्कृति र वैदिक मूल्यहरूका बीच प्रशस्तै नयाँ कुराहरू छन् । बालक बाँच्नु भनेको हाम्रो आत्मा बाँच्नु हो । आफू मरेर पनि हाम्रो आदर्शलाई बचाइराख्नुपर्छ भन्ने पनि यस कथाको सन्देश हो । जोगी मर्छ । व्यापारी मर्छ । बालक बाँच्छ । कथा सरल पनि छ, तर अर्थ गहिरो छ ।
आठौँ क्रममा छापिएको ‘चौकीभित्र चौकीबाहिर’ नदेखिएको र नलेखिएको थप रहस्य खोल्ने सामाजिक यथार्थवादी कथा हो । बीसौँ वर्ष सामान्य प्रहरीको जागिर गरेर रित्तो हात आफ्नै गाउँ फर्कने सन्चमानलाई नायकत्व प्रदान गरिएको यस कथामा एकातर्फ सामान्य तहमा जागिर गर्ने इमानदार कर्मचारीको पेसागत इमानदारी र मानवताको भावनाको चित्रण गरिएको छ भने अर्कोतर्फ अधिकृतजस्तो उच्च तहमा प्रवेश गरेको हिमांशु आचार्यको रोब-रवाफ र भित्रभित्र अपराधीहरूलाई संरक्षण गर्ने र बाहिरबाहिर न्यायमूर्तिको छवि गर्ने व्यक्तिहरूको आसली रूपलाई चिनाउने प्रयास गरिएको छ ।

कक्षा दश पास गरी गाउँमा विद्यालय खोलेर गाउँलेहरूलाई शिक्षित बनाउने उद्देश्य बोकेको सन्चमान शिक्षा सेवामा आसफल बनेपछि जग्गादलाली पेसा अपनाउँछ । पैसालाई भन्दा पनि सेवालाई महत्त्व दिने प्रवृत्तिले जग्गा दलालीमा ऊ जम्न सक्दैन । त्यसपछि ऊ समान्य प्रहरी जवानको रूपमा भर्ना हुन्छ । बीसौँ वर्ष जागिर खाने क्रममा प्रहरी वृत्तभित्रको घुसखोरी र सेतोलाई कालो अनि कालोलाई सेतो प्रमाणित गर्ने अपराधीहरूलाई संरक्षण गने प्रहरी हाकिमहरूको पोल खोल्न निम्न तहको पदका कारण ऊ मूकदर्शक जस्तै हुन्छ । आफू कार्यरत प्रहरी चौकीमा आफ्नै गाउँकी दामली (आफ्नै उमेरसमूहकी) साथीको छोरा हिमांशु आचार्य हाकिम बनेर आएकोमा गर्व गर्छ । आफ्नै दामलीको छेरा भएकाले सम्बोधन गर्दा ‘इन्स्पेक्टर बाबू’ शब्दको प्रयोग गर्छ । प्रहरीवृत्तमा नातागोता जनाउन पाइन्न भन्ने एक प्रकारको नियम हुन्छ । आफूभन्दा ठूलो पदका व्यक्तिलाई सम्बोधन गर्दा ‘साहेब’ शब्दको प्रयोग गरिन्छ । हाकिमहरू भने आफू मातहतका सिपाही जतिसुकै पाका भए पनि यस प्रकारको संवोधन मन पराउँदैनन् । अपराधको सत्यतथ्य जाँच गर्ने क्रममा आएको अधिकृतका अगाडि ‘इन्स्पेक्टर बाबू’ भनेर संवोधन गरेका कारण बदला लिई सन्चमानको अहममा चोट पुर्‍याइन्छ । स्वाभिमानी सन्चमान जागिर छोड्छ र गाउँमा गई पुरानै पेसा आँगाल्छ र गाउँलेहरूमाझ लोकप्रियता कमाउँछ ।

हिमांशुको पिताको देहान्त भएकाले पिताको नाउँको जग्गाजमिन नामसारी गर्ने सिलसिलामा सन्चमानले निस्वार्थ सहयोग गर्छ । हिमांशु भने त्यति ठूलो मानवीय सेवामा पनि कृतज्ञता प्रकट गर्न सक्दैन । यसरी पदीय अहम्का कारण मान्छे कसरी पत्थर बन्दै गइरहेछ भन्ने कुरा हिमांशुका माध्यमबाट व्यक्त गरिएको छ भने सबैभन्दा सानो तहको जागिरे पनि कसरी मानवताको उच्च उदाहरण बनेका हुन्छन् भन्ने कुरा पनि सँगसँगै प्रस्तुत गरिएको छ । यही कुरालाई अर्को कोणबाट पनि हेर्न सकिन्छ । प्रहरी सेवा यस्तो सेवा हो जहाँ भावनालाई भन्दा बढी नियमकानुनलाई जोड दिनुपर्छ अथवा प्रहरी सेवाको वातावरणले नै उनीहरूलाई कठोर बनाइरहेको हुन्छ । मूलतः एउटै मान्छेको स्वभाव प्रहरी चौकीभित्र फरक र चौकीबाहिर फरक हुन सक्छ भन्ने पनि हो । पात्रहरू हाम्रै समाजका चिरपरिचित व्यक्तिहरू हुन् । प्रस्तुत गर्ने विशिष्ट शैलीका कारण यो कथा नौलोजस्तो प्रतीत हुन्छ ।

पहाड र तराईको सङ्गम मानिने सुनकोसी नदीको किनार दुवै क्षेत्रका बालबालिको क्रिाडस्थल हो । त्यहाँ पहाडी र मधेसी समुदायका बालबालिका खेल खेल्नका लागि भेला हुन्छन् । उनीहरू बालुवामा दरबारको स्वरूप खडा गर्छन् । उनीहरूले बनाएको दरबारलाई कहिले नदीले भत्काउँथ्यो, कहिले बतासले उडाइदिथ्यो । त्यसलाई फेरि बनाउँथे । त्यही दरबारको पात्रका रूपमा आफूहरूलाई उभ्याएर राजा, रानी र प्रजा बन्थे उनीहरू । राजा, रानी पालैपालो बन्ने एक प्रकारको नियम नै थियो । राजा र प्रजाबीचको भेदभाव उनीहरूमा थिएन । बाढी र हुरीले जतिपटक भत्काए पनि सजिलै अर्को दरबार बनाउन सक्ने क्षमता थियो उनीहरूमा । जो जुन पात्र बने पनि उनीहरूबीच गहिरो मित्रता र समानता थियो । उनीहरू खेलिरहेको बेला काका भनेर चिनिने पूर्व-सैनिकको प्रवेश हुन्छ । ती सैनिक काका दरबारको चारै सुरमा दुर्ग निर्माण गर्ने सल्लाह दिन्छन् । पहिले त ती केटाकेटीलाई दुर्ग भनेको के हो भन्ने थाहा हुन्न । पछि उनीहरूले आफ्ना अभिभावकलाई दुर्गको अर्थ सोध्छन् । दुर्ग भनेको किल्ला हो, त्यहाँ सैनिक रहन्छ र उसले राज्यलाई आक्रमण गर्न आउने शत्रुको निगरानी गर्छ भन्ने कुरा थाहा पाउँछन् । बालबालिकाहरू एउटा एउटा सेनाको व्यवस्था गर्छन् । त्यहीँ सुरु हुन्छ युद्धको अभ्यास ।

पहिले पहिले त बालकहरू जीवनलाई खेलको रूपमा हेर्थे । अभिभावक र ठूलाबढाले उनीहरूको निर्दोष मनमा सैनिक विम्ब उभ्याएकोले परिवेश नै युद्धमय हुन पुग्यो । कथा यत्ति नै हो । यसले प्रवाह गर्ने व्यङ्ग्यार्थ भने भयावह युद्ध, छोराले बाबुलाई मारेर आफँै राजा बन्ने प्रवृत्ति, सैनिक विद्रोह, देशदेशबीचको युद्धलाई सङ्केत गर्न खोजेको छ । यस कथाले भारत, डेनमार्क तथा नेपालका राजपरम्परा र दरबारभित्रका षड्यन्त्रका खेललाई व्यञ्जित गरेको छ ।

बालबालिकाको संसार सुन्दर हुन्छ । उनीहरूले सिर्जना गर्ने संसारमा कुनै पनि प्रकारको भेदभाव हुन्न । युद्ध, हिंसा, भेदभाव, स्वतन्त्रताहरण आदिको प्रथम कारक दरबार हो । बालबालिकाको कलिलो मस्तिष्कमा हामीेले नै युद्ध, लडाइँ, झगडा, भेदभावको षड्यन्त्रको हल्लमा राज्यका अभिभावक कहलिएकाहरू नै दोषी छन् भन्ने कुरालाई सिधै व्यक्त नगरी कलात्मक ढङ्गले प्रस्तुत गरिएको छ ।

आज हामी बालबालिकालाई जस्तो वातावरण प्रादन गर्छौं, जस्तो शिक्षा दिन्छौँ, जस्तो पथप्रदर्शन गर्छौं, भोलि उनीहरूले निर्माण गर्ने संसार पनि त्यस्तै हुन्छ । आजको हाम्रो विभाजित संसारको निर्माणमा हाम्रै इतिहास जिम्मेवार छ । त्यसैले, इतिहासबाट शिक्षा लिएर बालबालिकालाई सही वातावरण प्रदान गर्नु हाम्रो दायित्व हो भन्ने तथ्य पनि यसबाट बुझिन्छ । कथाकलाका माध्यमबाट नेपाल र विश्वकै पनि राजपरम्पराको तस्बिर उतार्नु र स्वणर्ीम नवसंसारको परिकल्पना गर्नु कथाको उद्देश्य छ भन्ने पनि बुझिन्छ ।

दशौँ क्रममा प्रकाशित कथा ‘डबल पेन्सन’ नेपालको लगभग चालीस वर्ष अविधको यथार्थ झलक प्रस्तुत गर्ने कथा हो । यो शिक्षक र जागिरेहरूको सहरकमा घर बनाउने सपना र जीवन संघर्ष प्रस्तुत गर्ने कथा हो । खेम र रुद्र नाम गरेका दुई युवकले प्रवेशिका पास गरेपछि कुनै विद्यालयमा शिक्षकको जागिर खान सुरु गर्छन् । नारायणपुरमा पढाउन सुरु गरेपछि अलिअलि पैसा कमिन थाल्छ । खेम गाउँमै रमाउँछ । रुद्र आर्जन गरेको पैसा र ऋणपान गरेर सहरमा घडेरी किन्छ । घर बनाउन सुरु गर्छ । आफ्नै गाउँको खेतबारी हरभरा बनाएर आम्दानीको सदुपयोग गर्नुपर्नेमा अरूको देखासिकीमा सहरमा घर घडेरी जोड्ने सपना आजका शिक्षक तथा कर्मचारीहरू देख्छन् । गाउँको सिङ्गो पाखो, खेतबारी आदिको फराकिलो संसार चट्ट छोडेर सहरमा चार आना घडेरी जोड्ने मृगतृष्णाले उनहिरू चिन्ता र तनावका शिकार भइरहेका हुन्छन् । फलतः पचासौँ वर्षको उमेर टेक्दा नटेक्दै उनीहरू सुगर र प्रेसरका रोगी समेत बनेका हुन्छन् । घर बनाउन बेसाएको ऋण र त्यसका लागि गरेको संघर्षका कारण सुगर र प्रेसर अझ भयाभव हुन्छ । मध्यम वर्गमा पाइला टेक्दै गरेका शिक्षक अन्ततः मरुभूमिजस्तो सहरका बासिन्दा बन्छन् । रुद्र नाम गरेको शिक्षकले सहरमा घर बनाएर महिनाको साठी हजार आम्दनी गर्न त सक्षम हुन्छ तर हार्टअट्याकको कारण पूरा आयु पनि बाँच्न नपाई मृत्युको मुखमा पर्न बाध्य हुन्छ । यसको मृत्यु हुँदा उसले सहरमा मलामी समेत पाउँदैन । सतगतका लागि उसलाई गाउँमै लगिन्छ । खेम नाम गरेका शिक्षक भने गाउँमै रमाउँछ । गाउँको स्वच्छ वातावारण र हावापानीका कारण उसको आयु भने अलिक लामै हुन्छ ।

पात्र र कथावस्तु आम नेपाली गाउँठउँबाट लिइएको यस कथाले बसाइँ सराइका कारण गाउँ रित्तिँदै र सहर भरिँदै गरेको भयावह तस्बिर प्रस्तुत गर्छ ।
मास्टरी वा कर्मचारी जीवनको प्रमुख लक्ष्य सहरमा चार कोठाको घर बनाउनु मात्र हो त भन्ने प्रश्न कथाले उठाएको छ । पैसा र सहर सपनाले मान्छे कसरी दुःखाउने घर र रोडको शिकार बन्न पुगेका छन् भन्ने यथार्थलाई यस कथाले ऐनाले जस्तै जस्ताको तस्तै देखाइदिउको छ । सहरमुखी ग्रामीण परिवेश र आन्तरिक बसाइँ सराइको यथार्थ झलक प्रस्तुत गर्ने यो कथा आजको सिंगो नेपालको कथा हो । आजका शिक्षक भनाउँदा नेपालीहरू पैसा कमाउनलाई मात्र जीवनको प्राप्ति सम्झन्छन् । उनीहरूले परम्परागत चाड, पर्व संस्कृति, बिर्संदै गएका छन् भन्ने तथ्य पनि यस कथाबाट झल्किन्छ । समान्य पात्रका सामान्य जीवन कहानी प्रस्तुत गरिए पनि कथा शैलीका कारण यो कथा कौतूहलपूणर् बनेको छ ।

शिक्षण पेसामा जीवनको लामै अवधि लगानी गरेका महेशले आफ्नै सरसंगतमा आएका मान्छेका चरित्रको आधारमा कथा बुनेका हुन भन्ने अनुमान ‘उपलब्धि’ कथाबाट लगाउन सकिन्छ । भक्तपुर बसोवास गर्दै आएका महेशले भक्तपुर र सानो ठिकीलाई नै कार्यपीठिका बनाएर ‘उपलब्धि’ कथा बुनेका छन् । सुशील र सङ्ग्राम नाम गरेका दुई साथीको बानीबेहोरामा आकाश जमिनको भिन्नता छ । गणित विषय शिक्षण गर्ने सुशील बूढी आमा र श्रीमतीसहित डेरा गरेर बस्छ । आम्दानी सीमित भएको र साथीभाइहरू पाहुना लाग्ने भएका कारण ऊ उधारोमा परिवारका आर्थिक समस्याहरू समाधान गर्छ । सङ्घर्ष गर्नु परे पनि इमानदार, मिलनसार र हँसमुख स्वभावको छ । सङ्ग्राम झगडालु छ । कोठामा एक्लै बस्छ । सामान कनिमेनलका क्रममा मूल्यका विषयमा झगडा गर्छ । कसैसँग लिएको उधारो महिनौँसम्म तिर्दैन ।

लामो सङ्घर्षपश्चात सुधीर घर बनाउने योजना गर्छ । छरछिमेकबाट उधारो सहजै प्राप्त गर्छ र समयमै घर बनाउन सफल पनि हुन्छ । सङ्ग्रम भने अन्तर्मुखी, झगडालु र बेइमान भएका कारण छरछिमेक, ठेकेदार आदिबाट सहजै ऋण पाउँदैन । सङ्घर्ष गर्ने क्रममा ऊ पनि घर बनउन सफल त हुन्छ तर छिमेकीहरूको नजरमा झगडालु, अइमानदार र घमण्डी करार हुन्छ ।

घरपैँचोमा सुशीलकहाँ छिमेकीहरूको उपस्थिति बाक्लो हुन्छ भने संग्रामकोमा मान्छेको खासै उपस्थिति हुँदैन । घर बनाउने क्रममा उसलाई न त ठेकेदारहरूले पत्याए, न त घरपैँचोका क्रममा पण्डितले नै । सुशीलले साथीभाइ र शुभचिन्तकहरू धेरै कमायो । सङ्ग्रामले घर मात्रै कमायो । शुभचिन्तक, सहयोगी र साथीभाइ कमाएन । भौतिक सम्पत्ति जोड्नु मात्र जीवनको उपलब्धि होइन, साथीभाइ र शुभचिन्तक कमाउनु चाहिँ यथार्थमै ठूलो उपलब्धि हो भनने कुरा यस कथाबाट झल्किन्छ । कथावस्तु साधारण हो । हाम्रो जीवनमा ठोक्किन आएका सुशील र सङ्ग्राम हाम्रै वरपरको जीवनलाई परावर्तन गर्ने पात्रहरू हुन् । कथा साधारण छ । कथाले प्रवाह गर्ने सन्देश असाधारण छ । आफ्नो जीवनमा कुनै न कुनै रूपमा गाँसिन आएका व्यक्तिका आनीबानीलाई आधार बनाएर पनि राम्रो कथाको निर्माण गर्न सकिन्छ भन्ने दृष्टान्त हो यो कथा । जो विनम्र छ, मिलनसार छ, सहयोगी छ, इमानदार छ, उसको जीवनमा आर्थिक सङ्कटहरू आए पनि ऊ त्यसलाई सहज रूपमा लिन्छ । ऊ आनन्द र मानसिक शान्तिमा जुग्रन्छ । जो एकलकाटे, झगडालु, शंकालु, अइमानदार र घमण्डी हुन्छ, ऊ भित्रभित्रै मनोरोगको शिकार बन्छ । समाजले पनि उसलाई राम्रो नजरले हेर्दैन भन्ने सन्देश यस कथाबाट प्राप्त हुन्छ ।

बाह्रौँ क्रममा छापिएको ‘मन्दिर’ सामाजिक यथार्थवादी आस्थावादी कथा हो । यसमा आमा वसुन्धरा, उनको जेठो छोरो अनुलमान, कान्छो छोरो (ठेकेदार), सिपाही, बुहारी, डाक्टर, नोकरचाकर, आदि पात्रहरूको उपस्थिति पाइए पनि आमा वसुन्धराकै केन्द्रमा कथानक घुमेको छ । अतुलमान देशको वामपन्थी विचारधाराबाट प्रेरित पात्र हो । ऊ आमासिहित सपरिवार काठमाडौँको मन्त्री क्वार्टरमा बस्छ । उसको कान्छो भाइ ठेकेदारी गर्छ ।
वसुन्धराले पुरानो पुस्ताको प्रतिनिधित्व गरेकी छिन् । उनमा ईश्वरीय सत्ताप्रति पूरा विश्वास छ । ईश्वरको सेवा गरेर मरणपश्चात वैकुण्ठ वास प्राप्त गर्नु जीवनको एउटै ध्येय छ । आफ्ना पितापुर्खाबाटै संस्कारका रूपमा आर्जित आस्थाभावमा अलिकति पनि विचलन आयो भने पनि न तउ उनलाई भात खाएकोमा सन्तोष हुन्छ, न त रातमा उनी राम्ररी निदाउन सक्छिन् । हजुरबा, हजुरआमा, बुवा, आमा सबैबाट उनले यस्तै ज्ञान र संस्कार पाइन् । पति जीवन हुन्जेल उनी दिनहुँ मन्दिर जान्थिन्, पूजाअर्चनामा र भजनमा सहभागी हुन्थिन् । भगवान् भक्तिबाटै उनको मन चङ्गा हुन्थ्यो ।

गाउँबाट सहर गएपछि मन्दिरजाने, पूजा गर्ने, भजन गाउने क्रममा रुकावट आयो । सहरको भीडमा पनि उनसले आफूलाई एक्ली अनुभव गर्न थालिन् । बुढ्यौली र मानसिक चिन्ताले नराम्ररी गलिन् । छोराबाट उपचार प्रयत्न पनि भयो । उनको रोग घटेन । मन्दिर जान पाउँदा उनको रोग आधार घट्थ्यो । पूणर्रूपेण भौतिकवादी उनका छोराबुहारी ईश्वरको भक्ति गर्नु, मन्दिर जानु लज्जाको विषय मान्थे । उनीहरू दुनियाँको नजरमा भौतिकवादी देखिन चाहन्थे । छोराबुहारीले आमाको ईश्वरीय आस्थामा पर्खाल लगाउनमा सक्दो बल गरे । यसबाट बूढी आमाका स्वास्थ्यमा नकारात्मक असर बढ्दै जान्छ । बूढीको अवस्था अत्यन्त नाजुक बन्यो ।

आमालाई अस्पतालमा जँचाउने क्रममा डाक्टरले मान्त्रीलाई एउटा सुझाव दियो — घरमा नै मन्दिर बनाइदिने । डाक्टर र मन्त्रीको वादविवादबाट घरमा नै मन्दिर बनाइदिने निष्कर्ष उनीहरूले निकाले । मन्त्रीकी आमाका लागि घरमा नै मन्दिर बनाइदिएपछि आमाको स्वास्थ्यमा व्यापक सुधार आयो । यसको कथावस्तु यत्ति नै हो ।

‘मन्दिर’ कथा गुरुप्रसाद मैनालीले सुरु गरेको आदर्शोन्मुख यथार्थवादी कथाको वर्तमान स्वरूप हो । यसलाई आदर्शोन्मुख यथार्थवादी कथा भन्नु भन्दा पनि मानवतावादी यथार्थवादी कथा भन्नु बढी उपयुक्त हुन्छ । परम्परा र समसामयिकता बीचमा द्वन्द्व प्रस्तुत गर्नु कथाको उद्देश्य हो । परम्परा र समाजिकताका बीच द्वन्द्व प्रस्तुत गरिए पनि कथाले मानवतावादी उज्यालो छरेको छ ।

मान्छे आ-आफ्नै आस्थामा बाँच्छ । कसैको पनि आस्थामा चोट पुर्‍याउने मानवता होइन । भौतिकवादी हुन् वा ईश्वरवादी हुन्, आ-आफ्नै छनोटको कुरा हो । यदि कोही ईश्वरमाथि विश्वास गर्दैन भने पनि ईश्वरप्रति आस्था राख्नेप्रति बाधा व्यवधान उत्पन्न गर्ने हक उससँग हुँदैन भन्ने विश्वदृष्टि नै यस कथाको मूल चुरो हो । पदीय दृष्टिले मन्त्री नायकजसतो देखिए पनि उसको सोच र क्रियाकलाप पूणर्तः गैरप्रजातान्त्रिक छ । मन्त्री देशकै प्रतिनिधि हो । डाक्टर अस्पतालको प्रतिनिधि हो । विश्वमानवताका दृष्टिले डाक्टछर व्यवहारिक र सयौँ गुणा मानवतावादी प्रमाणित भएको छ भने मान्त्रीको चिन्तन र व्यवार हारेको छ ।

डाक्टर र मन्त्रीबीचको संवाद चाख लाग्दो छः

मन्त्रीः डाक्टरसाप, क्रान्ति बाँकी छ ।

डाक्टरः क्रान्ति जीवनका लागि हो । क्रान्तिकै लागि होइन । पहिले जीवन बचाऔँ ।

आमाको उपचारको सिलसिलमा व्यक्त फरक विचारका बीचको तार्किकताले पनि मानवताकै पक्षलाई शक्तिशाली करार गरेको छ ।

तेह्रौँ क्रममा प्रकाशित कथा ‘ओरालो’ सामाजिक यथार्थवादी कथा हो । रोजगारीका लागि कतार गएको छोरो अविनाश र बा पात्रको केन्द्रीयतामा संरचित यस कथामा विगत पचास वर्षयताको नेपाली समाजको समाजशास्त्र प्रतिविम्बित छ । लामो समयपश्चात दसैँ मनाउनका लागि कतारबाट छोरो गाउँ आउँदै छ । पहिलेपहिले घरमै सिङ्गो खसी ढालेर अघाउँजी मासु खाने प्रचलन थियो । हुनेखानेले घरमै खसी ढाल्थे । नहुनेले रिनपान गरेरै पनि खासी काटेको घरबाट मासु किनेर ल्याउने गर्थे । अहिले अवस्था फेरिएको छ । प्रायः सबैजसो घरबाट युवाहरू बाहिरिएका छन् । गाउँमा बुढाबुढी र केटाकेटी मात्रै भेटिन्छन् । दसैँ आएको बेला बाटो खन्ने, पिङ हाल्ने, युवा जवानहरूको अभाव पछिल्ला वर्षहरूमा प्रस्टै देखिँदै आएको छ । कतारबाट आउँदैगरेको छोरो आफ्ना पितालाई गाउँमा पहिले जसरी खसी नपाइने कुरा बताउँछ । अविनाश घर आइपुग्दा एउटा हाँसले दसैँ टार्ने कुार चाल पाएपछि ऊ बजार जान्छ र खसी किनेर ल्याउँछ । नवमीका दिन खसी मार हान्ने कुरा उठ्दा बाउछोरा दुवै जन असक्षम बन्न पुग्छन् । अविनाश खसी लिएर पुनः सदरमुकाम पुग्छ र कसाइद्वारा खसी कटाएर घरमा मासु ल्याउँछ । बाउआमा पचास वर्ष काटिसकेकोले मासुप्रति उनीहरूको रुचि घटिसकेको हुन्छ । तैपनि छोराको खुसीका लागि उनीहरू मासु खाइदिन्छन् । कथामा आएका मूल घटनाहरू यिनै हुन् ।

‘ओरालो’ शीषक दिइएको यो कथा मूलतः परिवेश प्रधान कथा हो । पचास वर्षअगाडिको पहाडी परिवेश र अहिलेको पहाडी परिवेशको भिन्नता प्रस्तुत गर्नु यस कथाको मूल उद्देश्य हो । नेपाली संस्कार र संस्कृतिको ह्रासोन्मुखता नै यस कथाको परिवेशगत अन्तर्य हो । नेपाली संस्कार र संस्कृति क्रमिक रूपले क्षिण बन्दै गएकोमा लेखक चिन्तित देखिन्छन् । ओरालो शीर्षक आफैँमा प्रतीकात्मक छ । आजभन्दा चालीस पचास वर्षअगाडि पनि रोजगारीका लागि युवाहरू कि त राजधानी कि त भारत जाने पर्दथे । दसैँ लागेपछि लाहुरे र कर्मचारीहरू, सिपाहीहरू भारी बोकाएर आफ्नो गाउँ आउने गर्थे । तर अहिले स्थिति फेरिएको छ । पहिले पहाडमा घरहरू र बेसीमा खेतबारीहरू हुन्थे । पहाडी क्षेत्रका मानिस बेसीबाट नुनतेल, कपडा आदि बोकेर पहाड उक्लन्थे । अहिले बेसीमै खेतका गराहरूमा बग्रेल्ती घरहरू उम्रन थालेका छन् । पहाडी गाउँमा एकाध बूढाबूढीहरू मात्रै पाइन्छन् । दसैँ लागेपछि चाड मनाउनका लागि उनीहरू बेसी झर्छन् । बूढाबूढी मात्र होइन, परदेशबाट आएकाहरू पनि उकालोबाट ओरालोतफै झरेका देखिन्छन् । पछिल्ला दशकमा हामीले देख्दै आएको यथार्थ हो यो ।

समान्य अर्थमा कथाले नेपालीहरू पहाडबाट ओरालोतर्फ झर्दैछन् । जागिर र वैदेशिक रोजगारीका सिलसिलमा पनि मान्छेहरू ओरालो बाटो लागेका छन् । ध्वन्यार्थमा भने यस कथाले धेरै कुरा भन्छ । आधा शताब्दी यताको गिर्दो आर्थिक, समाजिक, राजनीतिक, सांस्कृतिक, नैतिक, धार्मिक, सबै पक्षको यथार्थ अवस्थाको व्यञ्जना हो यो । दसैँ ब्राह्मण-क्षेत्रीको मात्र नभएर सम्पूणर् नेपालीको राष्ट्रिय पर्व हो । हिन्दू धर्मावलम्वीले मात्र नभएर अन्य धर्मावलम्वीले पनि यसलाई पारिवारिक मिलनका रूपमा मनाउने प्रचलन थियो, तर अहिले हाम्रो समाजका विविध पटाहरूमै छिद्रहरू देखा पर्न थालेका छन् । बाटाहरू खनिन्नन्, पिङहरू हालिन्नन् । गाउँमा दसैँका बेला बज्ने मङ्गल धून पन िकमै मात्रामा सुनिन थालेको छ । सेवा, सद्भाव, अपतन्वमा कमी आउँदै छ भन्ने आशय प्रकट गर्दै मानवतामा नै ह्रासोन्मुखता छाउँदै छ भन्ने यथार्थको प्रकटीकरण नै यस कथाको मूल आशय हो । पचास वर्ष अगाडिको नेपाली समाज कस्तो थियो भन्ने बुझ्न गुरुप्रसाद मैनालीका कथाहरू पढ्नुपर्छ भने पचास वर्ष यताको समाज कस्तो छ भन्ने बुझ्न महेश पौड्यालका अठारवटा कथाहरू पर्याप्त छन् । यो एउटै कथा पनि सानो आँखीझ्याल प्रतीत हुन्छ । आँखीझ्यालको एउटै प्वालबाट पनि नेपालका ससाना गाउँहरू छ्याङ्गै देखिन्छन् ।

चौधौँ कथा ‘चौतारीको भेट’ भेडेटारको परिवेश झल्काउने संस्कृतिपरका कथा हो । साङ्बा, आमा, छोराछोरी, कार्की बूढा, कार्की कान्छा आदिको भेट चौतारीमा भएको छ । उँभो जाने र उँधो जानेहरू एकै ठाउँमा जेटेर धाननाच नाचेका छन् र आआफ्ना विगतको स्मरण गरेका छन् । गाउँले गीत र नृत्यले उनीहरूबीचको आत्मीयताको डोरी पुनः बाटिन थालेको छ । त्यसको साक्षी भएर उभिएको छ चौतारी जो आफैँमा प्रतीकात्मक छ । लक्ष्मीप्रसाद देवकोटाका स्वच्छन्दवादी कतिवाहरूको सुवास मगमगाएजस्तै ग्राम्य संस्कृतिका छविछटा लहराएजस्तो यस कथाले आन्तरिक पर्यटनलाई समेत विषयका रूपमा समेटेको अनुभव हुन्छ । नेपाली साहित्यमा धेरैले विछोड, वेदना, आँसु, विकृति, विसङ्गतिका मात्रै कथा लेखे । मनहरू तोडिएका कथाहरू लेखे । सधैँ मन र मन भिन्न भन्नि भएको मात्रै कथा लेख्नुपर्छ भन्ने छैन । मन र मन जोडिएका, मिलन र पुनरमिलनका कथाहरू पनि त लेख्न सकिन्छ नि भन्ने कुरा यस कथाबाट प्रस्टिन्छ । कथामा कतै पनि वाद-प्रतिवाद, झगडा, विमत्ति पाइन्न । संवादहरू सौहार्दपूणर् छन् । विगतका रमाइला पलहरूको गीत र नृत्यहरूको स्मरणले पात्रहरू पुलकित छन् । पात्रहरूलाई भेडेटारको रमणीय प्राकृतिक परिवेशले चुम्बकले झैँ तानेको छ ।

स्वच्छन्दवादको एउटा महत्तवपूर्ण विशेषता के हो भने यसले सहरिया यान्त्रिकता, हृदयहीनता, दौडधुप, व्यस्त जीवनशैलीका मान्छेहरूलाई प्राचीन जीवनशैलीतर्फ आकर्षित गर्छ । चौतारीमा गाइएका गीत पप र रक गीतहरू होइनन् । चौतारीमा नाचिएका नाच, नृत्यकार तथा नृत्याङ्गनाहरूका भावभङ्गिमा पूणर्तः प्राकृतिक छन् । गीतको गेडा र लवज प्राकृतिक छ । सहरिया जीवनशैलीमा अभ्यस्त बनेकाहरूलाई ग्राम्य प्राकृतिक परिवेश, स्वस्थ हावामानी, स्वस्थ खानपान, स्वस्थ जीवनशैली, आत्मीयतातर्फ आकर्षित गरिएको छ । ठाउँठाउँमा सहरिया यान्त्रिकताको आलोचना र ग्रामीण सहृदयताको प्रशंसा समेत लेखकीय वणर्न र पात्रका संवादमा भेट्न सकिन्छ ।

स्वच्छन्दावाद लेखकको साध्य भने होइन यो कथामा । स्वच्छन्दतावाद साधन भएको छ यहाँ । कथाको स्वरका तहमा लेखकले गरेको प्रयोग हो यो । रुपनारायण सिंहका उपन्यास र कथामा पाइन्छ स्वच्छन्दतावाद । वर्तमान समयमा स्वच्छन्दतावादी स्वर शून्य अवस्थामा छ । आज पनि स्वच्छन्दावादी स्वर मुखरित गर्न केही कविता र निबन्धमा अत्यन्त झिनो रूपमा भेट्न सकिन्छ, तर यनि प्रस्टसँग स्वच्छन्दतावादी स्वर कुनै पनि कथाकारमा पाइँदैन ।
त्यसो त यो कथा नभएर निबन्ध हो भन्ने आरोप पनि कसै कसैले लगाउलान् । यहाँ पात्र छन् । संवादहरू छन् । संवपादका माध्यमबाट विगतका घटनाहरू प्रस्तुत भएका छन् । घटनाहरूको कुशल बुनोटमा संवाद, कथानक सबै तयार पारिउको छ । यसर्थ, यो कथा नै हो । इन्द्रबहादर राईले भाषामा अनेक प्रयोग गरेर कथा परम्पारामा प्रयोगको बलियो स्तम्भ खडा गरे भने महेशले भाषिक सरलतामा विस्तृत क्षेत्र टेक्दै अनन्त संभावनाहरू देखाइरहेका छन् । कथालाई तार्किक ढङ्गले परिपुस्ट पारेका छन् स्वच्छन्दतावाका सन्दर्भमा पनि । ‘चौतारीको भेट’ कथाको एउटा अनुच्छेद यस्तो छ—
‘गाउँ भनेको गाउँ हो । सहरमा सबैका लागि सबै छ दाइ, तर फोक्साका लागि हावा छैन । यी आँखाका लागि हरियाली छैन । यी नसाहरूका लागि पानी छैन । यो आत्माका लागि प्रकृतिको गीत छैन ।’ (पृ. १२४)

पन्ध्रौँ क्रममा प्रकाशित ‘राहत’ था समाजिक यथार्थमा आधारित कथा हो । मानवताको खोजी नै यस कथाको अन्तर्य हो । वि.सं २०७२ मा काठमाडौँलगायत देशका विभिन्न भागमा गएको भूकम्पको पृष्ठभूमिमा लेखिएको यस कथाले सामाजिक र मानसिक यथार्थको द्योतन एकै पटक गर्दछ । मधेसबाट आई काठमाडौँको काँठमा पसर गरेर जीविकोपार्जन गरेका बुधनी र जितेन्दर भूकम्पबाट बच्नका लागि भाग्ने क्रममा एकअर्कामा बेखबर बन्न पुग्छन् । श्रीमान् श्रीमतीको खोजी गर्दै भौँतारिन्छ । श्रीमती श्रीमान्को खोजीमा भौँतारिन्छे । भूकम्पीय त्रासका कारण बुधनीको मानसिक सन्तुलन गुम्छ । उसका लागि सडक नै घर र आकाश घरको छानो जस्तै हुन्छ । मध्यपुर ठिमीको सडक र अस्पतालतिर बेवारिसे अवस्थामा डुल्दै गरेको अवस्थामा थप शारीरिक र मानिसिक यातनाकहो चपेटमा पर्छे ऊ । खान नपाएको महिनौँ दिन हुन्छ ।

आपत्विपद्मा परेकाको उद्धार गर्नुको साटो मान्छेहरू उल्टै ताडना दिइरहेका हुन्छन् । स्थानीयवासीहरू सहयोग गर्नुको साटो नेटो कटाउँछन् र नयाँ ठाएँमा पनि यस्तै ताडनाहरूको शिकार बन्छे । उता श्रीमतीको खोजी गर्ने क्रमा तीन लाख रकम स्वाहा पार्छ श्रीमान् जितेन्दर । चार चौरास खोज्दा पनि थाहापत्तो लाग्दैन । उसको कमाइ खाने पसल सादको लागि बन्द हुन्छ । श्रीमातीको आस मारे पनि सरकारले राहत दिँदै छ भन्ने सुझाव कसैबाट पाएपछि अनेकौँ प्रक्रियाको हण्डर बेहोर्दै दुई लाख राहत प्राप्त गर्छ र ।

महिनौँ दिनको अन्तरालमा छिमेकी भाइले बुधनीलाई देख्छ र लगनखेलको मानसिक अस्पतालमा भर्ना गरिदिन्छ । जितेन्दरलाई पनि खबर र्छन । जितेन्दर आफ्नी प्राणप्यारी श्रीमती बुधनीलाई भेट्न मानसिक अस्पताल पुग्छ । मानिसिक सन्तुलन गुमेकी बुधनी कुनै पनि भावनात्मक प्रतिक्रिया जनाउन्न । महिनौँको उपचारप्रयासपछि जितेन्दर गाउँ पुग्छ । यस क्रममा जहाँबाट उसले श्रीमतीका नाउँमा राहत पाएको थियो, त्यही यसले पाएको राहत फिर्ता गर्नुपर्ने हुन्छ । उसले पाएको राहत नै आहत बन्न पुग्छ । केन्द्रीय सरकार, स्थानीयन सरकार, अस्तपतालवृत्त र पीडक जनको असंवेदनीलता उजार गरेको छ यस कथाले ।

पीडित बुधनी र जितेन्दरप्रति त कथाकार मौ संवेदनशील छन् । परिवारको कुरा बेग्लै भयो । यो एक प्रकारको समाज मनोवैज्ञानिक कथा पनि हो । भौतिकवादिताले कसरी सहरियाहरूलाई हृदयशून्य, संवेदनाशून्य, ढुङ्गा बन्दै छन् मान्छेहरू भन्ने यथार्थको अङ्कन पनि हो यो कथा । उपत्यकावासीहरू आफ्नै देशको मधेसका दाजुभाइप्रति कस्तो दृष्टिकोण राख्छन् र कस्तो व्यवहार प्रकट गर्छन् भन्ने कुार पनि कथाको भित्री तहमा उद्घाटित् छैँदै छ । सरकार र जनसरोकारसँग जिम्मेवारीविहिन र बेखबर छँदै छ । तथाकथित मानिसको मुखुण्डोधारी अमानवहरू पनि कसरी आफूलाई पीडकका रूपमा रूपान्तरण गर्दै छन् भन्ने कुरालाई आलोचनात्मक चेतका साथ व्यक्त गर्दैछन् महेश । प्रगतिवादलाई जीवनको पहिलो उद्देश्य बनाउने लेखकहरूले ऊबेला जिम्माल, मुखिया, प्रधानपञ्च आदिलाई पीडकका रूपमा करार गर्थे । अहिले ठेकेदार, साहू, आसामीहरूलाई खलपात्रका रूपमा करार गर्छन् । यस प्रवृत्तिमा एक पाइला अगाडि छन् महेश । कसैप्रति घोर अन्याय गरिँदा मूकदर्शक बन्नेलाई त मान्छेको कोटिमा राख्न सकिन्न भने पीडक जमातलाई नै राक्षसी रथमा चित्रण गरिएको देखिन्छ यहाँ । मूल रूपमा सरकार, जनप्रतिनिधि र अस्पतालका जिम्मेवार निकाय खलचरित्रका रूपमा आएका छन् । अप्रत्यक्षतः हाम्रो समाज नै पनि आलोचनायोग्य बन्दै गएको देखिन्छ यहाँ । एउटै वाक्यमा भन्नुपर्दा बुधनीलाई अस्पताल भर्ना गरिदिने गाउँले भाइजस्तै असल मान्छेहरूको खोजी यस कथाले पनि गरेका छ ।

सोह्रौँ क्रममा प्रकाशित लघु आकारको कथा हो ‘त्यसपछि निदाइन् बहिनी’ । यद्यपि यो लघुकथा भने होइन । भूटानको कुनै नेपाली बस्ती र नेपालको मभेचीवारिको परिवेशलाई कार्यपीठिका बनाइएको यस कथामा एउटा बालिकालाई मुख्य पात्रका रूपमा उभ्याई बालबालिकाको आँखाबाट शरणार्थी समस्या प्रकरणलाई उभारमा ल्याइएको कथा हो यो ।

नेपाली भूमिको दर्दनाक घाउमध्ये एक हो शरणार्थी समस्या । भारतको इशारामा भुटियाहरूले लखेरट पुख्र्यौली भूमि नेपालमा शरण दिन आएका नेपालीहरूको यस कथामो पृष्ठभूमि हो । भूटानी नेपालीहरू खेतीकिसानी गरेर, भूटानकै नागरिक बनेर जीवन गुजारा गर्दै गरेको सयौँ वर्ष लामो इतिहास छ । राजा राज शाहकै पालामा भूटान गएको तथ्य इतिहासमा पढ्न पाइन्छ । यसरी वैध रूपमै दुई देखको दौत्य सम्बन्ध बलियो बनाउँदै भातृत्वभावमा भूटानलाई नै जुगजुगान्तरका लागि कर्मभूमि बनाउँदै नागरिक बनेकाहरूलाई नै अमानवीय ढङ्गले लखेट्ने अग्रभागमा भूटान र पश्च भागमा भारटको अत्याचारबाट सिर्जित मानवीय सङ्कट नै यस कथाको मूल विषयवस्तु हो । शब्दबाट भन्दा पनि व्यञ्जनाका कलाबाट द्विदेशीय समस्यालाई उभारमा ल्याउने प्रयत्न यस कथामा पाइन्छ ।

भुटिया र भूटानी प्रहरीले घरघरमा आयो लगाउँदै अमानवीय ढङ्गले कुटपिट गर्दै मार्न खोज्जे हदैसम्मको कुटपिट र मरणको सन्त्रासबाट बच्नका लागि नेपालतर्फ भाग्दै गरेको सन्त्रासमय यात्रानुभूतिमय घटना शृङ्खलाहरूबाट यस कथाको बुनोट तयार भएको छ । आमा, एघार वर्र्षे दाजु र आठ वर्षे बहिनी ज्यान जोगाउन भूटानबाट नेपालतर्फ भग्दै गरेका हुन्छन् । उनीहरू मेची पुल तरेर काँकडभिट्टा आइपुग्छन् । भूटानबाट आएकाहरूलाई पुलिसले बसभित्र खाँदाखाँद पारेर बेलडाङ्गी लगिसकेको जानकारी उनीहरूले ठेलागाडा व्यापारीबाट प्राप्त गर्छन् । आमाको साथमा पैसा हुन्न । कसैको घरमा शरण माग्नुभन्दा कुनै मन्दिरको पेटीमै बास बस्न उनलाई उपयुक्त लाग्छ । दिनभरिको यात्राको थकाइबाट लखतरान बनेकी आमा तरुन्तै निदाउँछिन् । हिउँदको चिसोका कारण राति अबेरसम्म पनि उनीहरू निदाउन सक्दैनन् । पाका उमेरकाहरूलाई भन्दा बालकहरूलाई भोक खप्न गाह्रो हुन्छ ।

११ वर्षे बालक आफ्नी सानी बहिनीको सुरक्षार्थ आफ्नो शरीरको ज्याकेट ओढाएर बहिनीको जाडो छेक्न प्रयास गर्छ । भोक र ज्यामारा जाडोका कारण बहिनी राति निकै बेर निदाउन सक्दिनन् । एकातर्फ उनीहरूको बाल मस्तिष्कमा भूटानमा उनीहरूले बेहोरेको सन्त्रास त छैँदै थियो । मन्दिर परिसरमा भोक खप्न र जाडो रूपी प्राकृतिक प्रकोपको समाना गर्न उनीहरूले गरेको सङ्घर्षगाथाको संस्मरणमय प्रस्तुति अत्यन्त कारुणिक ढङ्गबाट गरिएको छ । बहिनीलाई निद्रादेवीको काखमा पुर्‍याएर बहिनीको पेटमा दन्किरहेको भोकको ज्वाला शान्त पार्न दाजुले गरेको यत्न निकै चाखिले छ । दाजु एकपछि अर्को गर्दै दन्त्यकथाहरू सुनाउँदै जान्छ । कथाक्रममा उनीहरूले सुमसुम्याएका पात्रहरू भोकरूपी राक्षसमै ठोक्किन पुग्छन् र सन्त्रासले नै मनमा घर जमाउँछ । भोक र भोकले उत्पन्न गरेका सन्त्रासबाट उत्पन्न समस्या नै कथाको मूल विषयवस्तु हो । भोक भन्दा पनि भोकको पृष्ठभूमि भयवाद छ । जीवन पहिलो कुरा हो । देश, नागरिकता दोस्रो क्रममा आउने कुराहरू हुन् । धरतीके जनसुकै कुनामा रहे पनि मान्छेले बाँच्न पाउनुपर्छ । भर्खरै धर्ती टेकेका नव मानवलाई बाँच्न पाउने अधिकार ककसले खोसिरहेका छन् भनने प्रश्न पनि कथाको अन्तर्यमा छ । देशदेशबीचको कटुताले आजको मानवीयता कसरी संकटमा रहेको छ भनने विश्लेषण समेत कथाले गरेको छ । कथाको अन्तर्यमा व्यञ्जनाको तहमा सिङ्गो धरती एकै देश सिङ्गो भावन एकै जाति भन्ने भाव अनुगुञ्जित छ । दाजुबहिनीको संवादले उत्पन्न गरेको करुणरसु परिपाकमा पुगको छ । मानवीय संवेदनाको कलात्मक प्रस्तुतिबाट विश्व मानवताको भाव सञ्चारण गर्नमा कथाकार सफल छन् ।

अठारौँ कथा अर्थात् अन्तिममा छापिएको कथा हो ‘बूढो रुख र जुरेली’ । स्वैरकल्पनाको कलेवरमा बुनिएको छ यो कथा । बूढो रुख र जुरेली यस कथाका मूल पात्रहरू हुन् । प्राकृतिक सजीव वस्तुहरूलाई पात्रका रूपमा उभ्याएर नेपाली भाषा र मानवीय कार्यव्यापारद्वारा कथाले आकार ग्रहण गरेका छ । तथाकथिक पेसामुखी पूँजीवादी नागर सभ्यताले निम्त्याएको वातावरणीय संकटलाई एकमुष्ठ रूपमा ध्वनित गरिएको छ । इन्द्रियसंवेद्य चित्रकारिताको समष्टिगत प्रभाव कथाको पटभूमि हो । घटनामालाका खुद्रा दृश्यलाई भन्दा सिङ्गो कथानकले निर्माण गरेको दृश्यविम्बबाट कथासार व्यञ्जित छ । व्यञ्जनाको अन्तिम चुरो विश्व मानवता हो । बेग्लै पा, बेग्लै घटना, बेग्लै सराका सिराबाट वातावरणीय विनाशको दारुण चित्र प्रस्तुत गर्दै त्यसबाट उत्पन्न मानवीय सभ्यातामाथि उठिरहेका संभावित संकटहरूलाई प्रस्ट र प्रछन्न रूपमा प्रस्तुत गरिएको छ । रुखका पात झर्नु, चरो मर्नु, लोखर्केले इहलीला समाप्त पार्नु, मान्छेका लागि अति सामान्य घटना होला ।

आफ्नै परिवारको प्रिय मान्छेको मृत्युमा मात्रै मान्छे सबैभन्दा बढी व्यथित बन्छ । चिनेजानेको मान्छेको मृत्युमा मान्छे समान्य रूपमा दुःख प्रकट गर्छ । मान्छे यत्ति स्वार्थी छ कि पृथ्वीभरिका सबै मान्छे मरे पनि आफू मात्र बाँचे पुग्यो । बाटोमा मरेको कुकर बिरालो देखे पनि उसको संवेदना स्थिर र जड प्रवृत्तिप्रतिको व्यङ्ग्य हो यो कथा ।

मान्छेले विज्ञान र प्रविधिका क्षेत्रमा गरेको उन्नति प्रगति प्रशंसायोग्य छ । मानव सभ्यताले गरेको निर्माणको दाँजोमा विनाश शृङ्खला सयौँ गुणा भयावह छ । वैज्ञानिकले एउटा अर्थमा बमको आविष्कार गर्‍यो तर त्यो मानव सभ्यताकै विनाशतर्फ लक्षित छ । मान्छेका लागि प्रकृतिबाट निःशुल्क रूपमा प्राप्त उपहार हो हावा, घाम, पानी, वृक्ष, वनस्पति । मान्छे, जलचर, स्थलचर, आदिको समुच्य सन्तुलनमा पृथ्वी गतिशील छ । प्रकृतिको स्वस्थ क्रियाशीलतामा मानव र समग्र प्राणीजगतको जीवन टिकेको छ । मानव सभ्यताका लागि ठूलो क्रान्ति गरेँ भन्नेहरूले जीवन, जगत् र प्रकृतिलाई एकपक्षीय रूपमा मात्रै बुझेका छन् अनि प्रकृति र पर्यावरणमाथिको विजयलाई पुरुषार्थ सम्झेका छन् । आफूलाई बुद्धिमान सम्झनेहरू कसरी बुद्दू प्रमाणित हुँदैछन् भन्ने भाव प्रक्षेपण गर्नु नै कथाकारको उद्देश्य देखिन्छ ।

कथाले सिङ्गो कलेवर प्राप्त गर्न कारण-कर्यसहितको घटना शृङ्खला चाहिन्छ । पात्रहरूको कार्यव्यापाराबाट कथानक गतिशील बन्छ । बूढो रुख र जुरेली कथाभित्र प्रवेश गरेपछि पाठक आफूले देखेकै प्राकृतिक घटनाहरूको साक्षात्मकार गर्छ । आकाशमा घाम उदाउनु, जूत र तारा उदाउनु, रुखमा चराले गुँड बनाउनु, जङ्गलमा आगलागी हुनु, बिजुलीका तारमा चरा झुण्डिनु, रुखका जार जमिनमा गाड्नु, रुखले लोखर्केलाई वास दिनु, बूढो रुख र चराले बात मार्नु, चराले निदाएको रुखलाई ब्युँझाउनु, शिकारीले चरामाथि गुलेली चलाउनु, बालकहरू नदीको पानीमा हाम फाल्दै. भक्तजनले फालेका सिक्का बटुल्नु, भिरालो पहाडमा पहिरो जानु, बादलको जाहाज चढेर राजकुमारी मलाया जानु, जस्ता कथाजगत्का अप्रचलित घटनाहरूको सहज, स्वाभाविक संयोजनबाट यसको कथावस्तु तयार भएको छ । दृश्य-अदृश्य रूपमा खलपात्र बनेको छ तथाकथित बुद्धिजीवी ठहर्‍याइएको मानव । सहरीकरण र औद्योगीकरणबाट बगर बनेको छ सिङ्गो पृथ्वी अन्तिम परिणतिका रूपमा । यसरी मान्छेले प्रकृतिमाथि गरेका ज्यादतीका कारण एक न एक दिन सिङ्गो पृथ्वी नै बगर नबन्ला भन्न सकिन्न । यदि सिङ्गो पृथ्वी बगर पल्टियो भने श्वास फेर्नका लागि अपरिहार्य हावा नै पृथ्वीबाट गुम्न सक्छ । जसरी पृथ्वीबाट डाइनोसर लोप भयो । त्यसरी नैै निर्दोष सर्वसाधारण पनि लोप हुने खतरा छ । पृथ्वी नै नष्ट हुने खतरा छ भन्ने व्याञ्जना कथाको मूल आशय हो । जसरी नेपाली साहित्याकाशमा मोह कोइरालाले कवितालाई सिङ्गो कविताले प्रक्षेपण गर्ने समग्र प्रभावबाट बुझ्दा कविताप्रति बढी न्याय भएको ठहर्छ । त्यसरी नै यस कथालाई पनि समग्र प्रभावमा बुझियो भने बढी न्याय हुन्छ । प्रचलित मानवीय संवाद प्रचलित लालित्यमय भाषा, मानवीय संवदनाको उल्लंघन आदिका कारण खुद्राखुद्रा घटनाका तहमा बुझ्न खोज्दा पनि कुनै घाटा हुन्न । भाषिक सरलता यस्तै गहन प्रयोग नेपाली कथा इतिहासकै पनि घनात्मक बुँदा हो ।

‘अपरिचित अनुहार’ कथासङ्ग्रहको कथाहरूको प्रवृत्तिगत अवलोक

१. महेश पौड्यालका कथाहरू सामाजिक यथार्थवादमा आधारित छन् । महेश पौड्यालको स्वीकारेक्ति छ— उनी आफ्ना कथाका पात्रहरूको चयन समाजबाटै गर्छन् । प्रयोगवादी स्वैरकलप्नामा, पौराणिक, ऐतिहासिक, आदि विषयमा आवाद भई कथा लेख्ने कथाकारहरूको पात्रहरूको चयन प्रयोग क्षेत्र, स्वैरकल्पना, पुराण, इतिहास, आदिबाट गर्ने गर्दछन् । महेशले प्रायः सबैजसो कथाका लागि आफू नपरेकै समाजबाट पात्रहरूको चयन गरको छन् । उनका पात्रहरू देखेका वा टेको भूगोलकै हुन्छन् । पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मको धरती नपोका महेशले आफ्नो साहित्यिक यात्राक्रममा तत्तत् क्षेत्र भाषा, साहित्य, संस्कृति, राजनीति, अर्थजगत्, रहनसहन, जीवनपद्धतिलाई सूक्ष्म रूपले नियालिरहेका हुन्छन् भनने साक्ष्य उनकै कथाले प्रस्तुत गर्छन् । उनका कथा सामाजिक यथार्थमा आधारित छन् भन्ने तथ्य ‘अपरिचित अनुहार’ कथा-सङ्ग्रहको भूमिकामाउनकै भनाइबाट पुष्ट हुन्छ । महेश भन्छन्— ‘फेरि पनि पात्र त कतै छुटेका, झड्कारिएका, एक्लिएका वा विक्षिप्तताका शिकार भएकै पात्र हुन् । तर यिनमा यसपाल िकेही न केही समाजिक सरोकार भर्ने प्रयास गरेको छु ।’
(केही स्वीकारोक्ति, केही आभारको पहिलो पृष्ठ)

दोस्रो पृष्ठमा थप स्पष्ट पार्दै भन्छन्, ‘म हिँडिरहेछु, डुलिरहेछु । जहाँ पुगे पनि कान तिखारेर समाजको अवाज सुन्ने कोसिस गर्छु ।’

२. महेश पौड्याल गुरुप्रसाद मैनाली परम्परामा नयाँ आयाम भर्ने कथाकार हुन् । वि.सं २००७ अघिअघिको दुई चार दशकको नेपाली समाजको समाजशास्त्रीय अध्ययन गर्नु परेमा मैनालीकै ‘नासो’ कथासंग्रहभित्रका एघारवटा कथाको अध्ययन नै पर्याप्त हुन सक्छ । नेपाली समाजको पहाडी परिवेशको धार्मिक, सामाजिक, राजनीतिक, आर्थिक, सांस्कृतिक पाटाहरूको स्पष्ट दिग्दर्शन उनका कथाहरूका आधारन हुन्छ । वि.सं २०४० देखि वि.स. २०८० बीचको नेपाली समाजको अवस्थिति कस्तो छ भन्ने थाहा पाउनुपरेमा महेशकै ‘अपरिचित अनुहार’ बलियो उदाहरण हुन सक्छ । मधेस क्षेत्र, हिमाली क्षेत्र, उनका कथाको कार्यपीठिकाको सीमा हुन सक्छ । सिङ्गो नेपालको चित्र नेपाली साहित्यकै इतिहासमा कुनै पनि कथाकारले प्रस्तुत नगरेको परिप्रेक्ष्यमा एक्लो कथाकारबाट यति हुनु धेरै हो । त्यसो त उनका कतिपय कथाले देशको सिमाना नाघेर भारत, भूटान र कतारलाई समेत स्पर्श गरेका छन् ।

३. महेशका कथाहरूको बुनोट कसिलो हुन्छ

मौनालीका कथाहरू जस्तै महेशका कथाहरू पनि रैखिक ढाँचाका छन् । हरेक अचुच्छेद कार्य-कारण शृङ्खलामा आबद्ध छन् । उनले आम नेपाली पाठकहरूको मनोवृत्तिलाई राम्रैसँग बुझका छन् । बहुसङ्ख्यक पाठक मैनाली, रमेश विकलका कथा पढ्न सहज मान्छन् । महेश पनि आफ्ना कथाहरू लक्षित वर्गमा पुगून् भन्ने मान्यता राख्छन् भन्ने तथ्य उनके भूमिकाबाट पनि खुल्न आउँछ । गाउँघरमा उहिल्यैदेखि भनिने कथाहरूको ढाँचामा पनि सिलसिलाबद्ध घटनाहरूको प्रधानता पाइन्छ । उनका कथाको बुनोटमा विभिन्न शैलीको उपयोग गरिउको हुन्छ । कतै उनी आफैँ सिलसिलाबद्ध रूपमा घटनाहरूको वणर्न गर्छन् । कतै पात्रहरू संवाद गरिरहेका हुन्छन् । कतै पात्रले नै घटना, विचार र मनोभाव प्रकट गरिहरका हुन्छन् । नुन, मसला, आदिको ठिकठाक मात्राको प्रयोगबाट तरकारी स्वादिलो बनाइएजस्तै उनका कथामा पनि विविध शैलीको ठिकठाक प्रयोग गरिएको हुन्छ । महेशका कथा धेरै लामा हुन्नन् । बढीमा ५ मिनेटभित्रै उनका सबै कथा पढसकिन्छ । उनका शब्दगत मितव्ययीता पाइन्छ । आवश्यक वणर्न, तर्क, संवाद, प्रस्तुत गर्न कहीँ पनि चुक्दैनन् उनी । उनका कथामा अनावश्यक वणर्न पाइन्न ।

४. विशुद्ध मानवताको खोजी महेशका कथाहरूको चुरो हो । बार्दलीको एउटा अनुहरा कथाको सहचालक, मृगनयनीमा उपन्यास च्यातेपछिको परिवर्तित मनस्थितिमा उभिएको लेखक, मृगनयनी कथाका शारीरिक रूपले अस्वस्थ तर पनि मनमा विभेदको रङ नपरेका पात्रहरू, उपहार कथाको बालक, अनाथाश्रमका लागि भिक्षा माग्दै हिँडेको जोगी, नव-मानवतावादी सभ्यताको पक्षमा छन् । महेशका अठारवटै कथाको चुरो मानवता पूर्वीय आर्यसभ्यताका सन्त, महन्त, ऋषि बुद्धले फिँजाएको मानवतावादी दर्शनबाट आलोकित छन् । उनले प्रेषण गरेको मानवतावादी स्वर बत्तीबाट सल्केका बत्तीहरू यस्तै प्रतीत हुन्छन् ।

५. महेश पौड्याल समाजबाट उपेक्षित, तिरष्कृत, अपहेलित पात्रहरूको मनोलोकबाट संसारको निरीक्षण गर्छन् ।

नेपाली कथा परम्पारा एकपक्षीय दृष्टिकोणबाट वणर्ित छन् । कथाकारले आफ्नै एकाङ्गी दृष्टिकोणका आधारमा पात्रहरूको चरित्र नर्माण गरेको पाइन्छ । नेपाली कथा परम्पारामा कुनै पनि व्यक्तिलाई हेर्ने दृष्टिकोण अत्यन्तै पारम्परिक, सीमित, र एकपक्षीय छ । प्रत्येक व्यक्ति आआफ्नो युग र परिवेशको कृष्ण हो भन्ने हेक्का कथाकारहरूमा पाइन्न । एउटा व्यक्तिमा घनात्मक ऋणात्मक दुवै पाटाहरू हुन्छन् । कोही शारीरिक रूपले बलिया र मानसिक रूपले निर्बल होलान्, कोही मानसिक रूपले बलिया र शारीरिक रूपले निर्बल होलान् । आम कथाकारले नदेखेको र नलेखेको मृगनयनी कथाका बालपात्रहरूका माध्यमबाट झल्काउने प्रयत्न महेशबाट भउको छ । समाज सहचालकलाई सहचालक मात्रै देख्छ । महेश चालकलाई स्वार्थी र सहचालकलाई मानवतावादी देख्छन् । लेखक साहित्यकारहरू साहित्य लेख्ने र पढ्ने कमृका कारण आफूलाई सर्वज्ञाता देख्छन् महेश अधुरा, अपूरा र भ्रामक देख्छन् । मृगनयनी कथाका बालपात्रहरूको मानसजगतमा मान्छे मान्छेबीचको विभेद भेटिन्न । आँखा देख्नेहरूले कानमा भरिदिएको गलत शिक्षा र सूचनाका आधारमा आँखा नदेख्नेहरू अरूले थोपदिएको धारणालाई आत्मसात गर्न बाध्य छन् । साहित्यका माध्यमबाट भ्रमको तुवाँलो फिँजाएर मान्छेका मानमा विष छर्न पाइन्न भन्ने महेब तर्क छ । उनी कुनै पनि लेखक समाज र मानव सभ्यताप्रति इमानदार हुनुपर्छ भन्ने आवाज उठाउँछ ।

६. महेश पौड्याल मनोवैज्ञानिक कथा परम्परामा नयाँ आयाम भर्ने कथाकार हुन्

नेपाली कथाा साहित्यको इतिहासमा मनोवैज्ञानिक कथा परम्पराको सूत्रपात विश्वेश्वरप्रसाद कोइरालाले गरेका छन् । फ्रायडेली चिन्तन र आन्तो चेखवीय शैली अपनाएर लेखिएका उनका कथाहरू पाश्चात्य परम्परामा आबद्ध छन् । त्यसपछि भिक्षु, गोठाले, विकल, मल्ल आदिले यस परम्परामा केही न केही नयाँपन भर्दै गएको पाइन्छ । विश्वेश्वरले सुरु गरेको कथा परम्परामा भवानी भिक्षुले नेपाली संस्कार, संस्कृति, परिवेश र परम्पराको सापेक्षमा मनोवैज्ञानिक आयाममा नयाँपन भरेका छन् । मानवीय कमजोरीसहितका उनका पात्रहरूमा मानवीय गुणहरू पनि यथेष्ठ छन् । यौनमा वासना र विकार मात्र हुन्न चोखो मानवीय भावना मावताको अनुलेपन समेत हुन्छ भन्ने तथ्य गुनकेशरी र मैया साहेब कथाका नारी पात्रहरूबाट उजागर भएको छ । आफ्ना अग्रज कथाकारहरूका धनात्मक पक्षहरूको खोज अनुसन्धान, अध्ययन अनुशरण गरेका महेश आफ्ना अग्रज कथाकारहरूप्रति कृतज्ञ छन् ।
नेपाली समालोचनाबाट शत प्रतिशत मूल्य पाउन नसकेको कथाकार हुन् भवानी भिक्षु । भिक्षुले भरेको मनोवैज्ञानिक कथा आयाम नेपाली संस्कृति, परम्पारा, परिवेश र अवजस्थाअनुकूल छ । विशुद्ध प्रेमलक्षित यौन भिक्षुको नव अविष्कार हो । बालकहरूको निर्विकार संसार पनि भिक्षुको नव अविष्कार हो । आयातित साहित्यलाई भन्दा स्वर्तस्फूर्त, प्राकृत मौलिक साहित्य मन पराउने महेश आफू पनि मौलिकताको पक्षमा टसको मस हुन्न् र अरूबाट पनि मौलिकताको अपेक्षा गर्छन् । भिक्षुको नव-अन्वेषणप्रतिको सम्मान भावकै कारण उनले आफ्नो कथाकृतिलाई भवानी भिक्षुप्रति समर्पण गरेका छन् । महेश विश्वले लेख्न बाँकी कथा नेपाली कथाकारले लेखून् भन्ने आग्रह गछ्रन् भन्ने पनि यसको आशय हो ।

महेशले पात्रहरूको मनोलोकलाई नयाँ सिराबाट चियाएका छन् । अभिमन्यु कथाको अभिमन्यु नामक पात्रमा युद्धजन्य मनोविज्ञान पाइन्छ भने बगर कथाको अग्लेमा प्रेमको क्षतिपूर्तिको मनोभाव पाइन्छ । मन्दिर कथाकी बूढी आमामा परम्परित हिन्दू धर्ममा आधारित आध्यात्मिक मनोभाव पाइन्छ । यी पात्रहरूबाट जुन किसिमले पात्रहरूको मनोविश्लेषण महेशले गरेका छन्, त्यो नेपाली मनोवैज्ञानिक कथापरम्पाराको नव-आयाम हो ।

७. महेश पौड्याल नवपुस्ताप्रति बढी नै आशावादी र अस्थावादी कथाकार हुन्

‘अपरिचित अनुहार’ कथासङ्ग्रह बालपात्रहरूको क्रिाडभूमि हो । उनले यस कथासङ्ग्रहमा जनि पनि बालपात्रहरूको प्रयोग गरेका छन्, ती ब्रह्माकै नव-अवतारजस्ता प्रतीत हुन्छन् । विश्व मान सभ्यता यात्रा आजको मितिसम्म आइपुग्दा भुइँचालोले चिरैचिरा पारेको धर्तीजस्तै भएको छ । मान्छे मान्छेबीचका लाखौँ विभेद रेखाहरूले सिङ्गो मावता छिन्नभिन्न भएको छ । नयाँ ठिमी परिसरमै सही, बालकले विभिन्ने उमेर, पेशा र विचार समूहका मान्छेलाई स्नेहसूत्रले जोडेको छ । त्यसपछि निदाइन बहिनी कथाकी बालिकाले मृत्युवरण गरेकोमा गहिरो खेद व्यक्त गर्छन् महेश । दुर्ग, मृगनयनी, दुई मृत्यु कथाका पात्रहरू मानवतावादी आलोक भर्ने पात्रहरू हुन् । त्यति ठूलो प्राकृतिक प्रकोपका बीचमा पनि मर्न दिएका छैन् बालपात्रहरूलाई । बालपात्र अर्थात् नवपुस्ताले आर्यघाट पुग्न लागेको मानव सभ्यतामा सञ्जीवनी छर्केर नवजीवन दिनेछ भन्नेमा उनी विश्वस्त छन् ।

निष्कर्ष

महेश पौड्याल नदेखिएको र नलेखिएको नेपाल लेख्ने कथाकार हुन् । उनले आजसम्म कथाकारले देख्न र लेख्न नसेकेका पात्रहरूलाई कथाजगत्को खुलामञ्चको अग्रभागमा उभ्याइदिएका छन् । उनले उभ्याइदिएका नव-पात्रहरू अर्को लोक वा अर्कै ग्रहबाट टिपेर ल्याएका नभई नेपालकै परिवेशबाट उत्खनन् गरिएका पात्रहरू हुन् । यदि कथ पारखीहरूले लेक, वेसी, उपत्यकाका साथर भूगागको यात्रा गरे भने तिनै पात्रसँग भेट गर्ने अवसर प्राप्त गर्छन् । जब कथा पारखीहरू सहर बजार मात्र नभई गल्लीगल्ली, महल महल वा झुप्राझुप्रीहरूसम्म पुग्छन् ती अपरिचित पात्रहरू परिचितजस्तै भएर टप्लुकिन्छन् । हाम्रो समाजमा चक्षुभन्दा तेजिला अन्तरचक्षु भएका, हातगोडा नभएर पनि वनपक्षीजस्तै मनपक्षीको उडान गर्ने सामथ्र्य बोकेका, धनका गरिब तर मनका महासागरसदृश पात्रहरू पनि छन् । महेशका कथा पढ्दा हाम्रो भेट तिनै पात्रहरूसँग हुन्छ । नदेखिएको वर्तमान मात्र होइन नलेखिएको इतिहास पनि पढाइदिएका छन् कतिपय कथामा महेशले । सहचालक, हात नभएका, गोडा नभएका, आँखा नभएका, रुप नभएकाहरूको असल सामथ्र्यवान्, सक्षम र अनुकरणीय भित्री मनुवाहरूलाई देवदूतजस्तै स्वरूपमा साक्षात्कार गर्न सक्छौँ हामी कतिपय कथाहरूमा ।

महेश सस्तो लोकप्रियताको लोभमा बढ्ता आधुनिकता वा उत्तरआधुनिकताको लोभ गर्दैनन् । उनी कथाकारितामा नवआयाम भर्ने कथाकार हुन् । उनी हिँड्नृ बाटो तोढोमेडो नभई नितान्त सीधा र सरल छ । पूर्ववर्ती र आग्रज कथाकारहरूले कोरेको गोरेटोलाई राजमार्ग बनाएर लामो दूरी समेत प्रदान गरेका छन् । महेश मूलतः यथार्थकै उत्खनन् गर्न रुचाउँछन् । जसरी वि.सं. १९९० देखि वि.सं. २०२० को नेपाली समाज पढ्न गुरुप्रसाद मैनालीका कथा पढ्नैपर्ने हुन्छ, त्यसरी नै वि.सं.) २०५० देखि २०८० सम्मको नेपाली समाज पढ्न महेशका कथा पढ्नैपर्ने हुन्छ । विं.संं. २०५० यताका नेपालीहरूको आर्थिक, सामाजिक, राजनीतिक, धार्मिक, आध्यात्मिक, साहित्यिक मस्थितिको दिग्दर्शन महेशका कथाबाट राम्ररी गर्न सकिन्छ ।

महेश समसामयिक कथाधारको उत्तरवर्ती चरणका अग्ला सग्ला कथकारहरूमध्ये एक प्रतिनिधि कथाकार हुन् । यदि उनका कथा हटाइदिने हो भने उत्तरवर्ती नेपाली कथाको स्वरूप आँखा र कान नभएको मान्छेजस्तै हुन्छ । गुरुप्रसाद मैनाली आदर्शोन्मुख सामाजिक यथार्थवादी कथाकार हुन् भने महेश पौड्याल मानवतावादी सामाजिक यथार्थवादी कथाकार हुन् । यही भिन्नता छ मैनाली र महेशको कथाकारितामा । मैनालीको आदर्शमा कट्टर आर्यसंस्कृतिको अग्रह छ । महेशका कथामा निख्खुर मानवताको आग्रह छ । मैनाली र महेशका पात्रहरू नेपाली आवहवाकै उपज हुन् तापनि महेशका कथामा परिष्कृत, परिमार्जिक संस्कार र संस्कृतिको रङ छ जुन युगानुकूल छ ।

महेशको कथाको चुरो नेपालको खास मान्छे हो । मान्छेमा हुनुपर्ने र अपेक्षित गुणहरूले सम्पन्न छ । नेपथ्यमा परेका वा पारिएका असल मन भएका पात्रहरू नै महेशका कथाका नायक वा नायिकाहरू हुन् । महेश आफ्ना कथाहरूका माध्यमबाट समाजलाई नयाँ चस्मा लगाइदिन चाहन्छन् । आँखा भएर पनि आँखा नभएकाहरूलाई आँखा दन गर्न चाहन्छन् । यायातित, कृत्रिम र भद्दा प्रयोगवादबाट दश हात पर रहन मन पराउने महेशका कथा परम्परित, रैखिक बुनोटपथका अत्याधुनिक कथाहरू हुन् । महेश डाहा, इष्र्या र आपराधिक मनोवृत्तिका मान्छेलाई सुट, टाई, पहिर्‍याएर, अत्तर छर्केर रङ्गमञ्चमा उभ्याउनुभन्दा निर्दोष बालकहरूलाई अँगाल्न मन पराउँछन् । यसो भन्नुको तात्पर्य आउँदो नवपुस्ताप्रतिको उनको आस्था, विश्वास र भरोसा हो । उनका कथामा आएका जनि पनि बालपात्रहरू छन्, तिनको स्वरूप मनरूप हिलोमा फुल्ने कमलको जस्तै प्रतीत हुन्छ । अहिलेको मानव संसार हिलोजस्तै छ । बालकहरू कमलको फूलजस्तै छन् । जात, धर्म, वाद कुनै पनि कुराको दाग नगालेका बालकहरू कमलका फूलहरू हुन् । तीबाहेक हामीले नदेशेका असल मनका मान्छे पनि हुन् । ती खास मान्छे हुन् । खास मावता पनि निनैसित छ ।

महेश कथाका हरेक अवयवका खुद्रा खुद्रा बग्लाबेग्लै पाटाका प्रयोगवादी कथाकार पनि हुन् । शीर्षक, वस्तु, पात्र, परिवेश, प्रवाह, बनोट, बुनोटका छिद्र छिद्रमा उनले गरेको प्रयोग रोचक लाग्छ । महेशका कथाहरूको संरचना कसिलो देखिन्छ । उनका कुनै पनि कथा भद्दा छैनन् ।

महेश करुण रसका कुशल प्रयोक्ता हुन् । मैनाली, भिक्षु, विकल शृङ्खलामा जोडिन आएका महेश बहुसङ्ख्यक पाठकद्वारा रुचाइएको मूल कारण करुण रसको अकृत्रिम प्रवाह हो, पात्रपीडामा पाठकहरू आर्द बन्छन्, अर्थात् रुन्छन् । महेशले सिर्जेको सामाजिक यर्था र मनोवैज्ञानिक यथार्थ मैनाली, कोइराला, भिक्षुले खडा गरेको देउरालीमा थप फूल थुङ्गाहरू हुन् । ‘अपरिचित अनुहार’ पछिल्लो दशककै कोशेढुङ्गो हो भन्ने कुरामा शङ्कै छैन ।