
बोहेमियन अष्ट्रियन कवि र उपन्यासकार रैनर मारिआ रिल्के ४ डिसेम्बर १८७५ मा चेकोस्लोभाकियाको प्रागमा जन्मेका थिए। उनी फ्रेडरिक नित्से र लाउ आन्ड्रियास- सालोमबाट प्रभावित थिए। उनी गम्भीर भावका जर्मन भाषी कवि र भावपूर्ण एवं रहस्यवादी गद्य लेखक भनी पश्चिमा मुलुकहरूमा चर्चित छन् । उनको लेखनमा एक उपन्यास, अनेकौ कविता सङ्ग्रहहरू र पत्राचारका विभिन्न ठेलीहरू छन् । एक अर्थमा उनलाई परम्परावादी अस्तित्वबाट आधुनिकतातिर अग्रसर लेखक पनि भन्न सकिन्छ ।
रिल्केले रुस, स्पेन, जर्मनी, फ्रान्स र इटाली समेत युरोपको व्यापक भ्रमण गर्दै पछिल्ला वर्षहरूमा उनी स्विट्जर्ल्याण्ड बसाईं सरेका थिए। सन् १९०१ मा क्लारा वेस्थोपसँग उनको विवाह भएको थियो। जर्मन भाषी कवि भएता पनि रिल्केले ४०० भन्दा बढी कविता फ्रेञ्च भाषामा लेखेका छन्। अङ्ग्रेजी भाषी पाठकका निम्ति डुइनो एलजिज (Duino Elegies, 1911-12 ) र सोनेट टु अर्फियस (Sonnets to Orpheus, 1922) उनका उत्कृष्ट कविता सङ्ग्रहहरू हुन् । त्यसको अतिरिक्त अर्द्ध आत्मसंस्मरणात्मक उपन्यास नोटबुक्स अफ माल्टे लरिड्स ब्रिग (The Notebooks of Malte Laurids Brigge) तथा मृत्युपरान्त प्रकाशित उनका दसओटा पत्रहरूको सङ्कलन युवा कविलाई पत्र (Letter to a Young Poet) पनि प्रसिद्ध छन् । अमेरिकाका सबैभन्दा बढी बिक्री हुने कविहरू मध्ये उनी पनि एक हुन् ।
प्रारम्भमा उनका कविता जर्मनेली लोकगीतको शैलीमा सन् १८९४ मा प्रकाशित भएका थिए । रोमन क्याथोलिक विचारधारा छोडेर रहस्यवादी भएपछि उनीबाट गेस्चित भोम लिएवँ गट (Geschichten Vom Lieben Got, 1900-1904) र बुच दे बिल्डर (Buch der Bilder, 1902) जस्ता कविता लेखिए। समकालीन फ्रान्सेली जनजीवन र कलादेखि प्रभावित भएर १९०३ देखि १९१२ सम्ममा उनले अनेकौँ गद्य रचना गरे र नेउए गेदिच्ते (Neue Gedichte, 1907-8) दुई ठेलीमा तयार गरे ।
रिल्के निश्चयनै आफ्नो युगका महान युरोपेली साहित्यकार हुन् । उनको विचित्र व्यक्तित्व अध्ययनको एक महत्त्वपूर्ण विषय भएको छ । २९ डिसेम्बर १९२६ मा स्विट्जरल्याण्डको मन्ट्रिएक्समा उनको देहान्त भएको थियो ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

