‘साताका पुस्तक’ स्तम्भअन्तर्गत नयाँ तथा पुराना कृतिहरूलाई समेट्दै कृति तथा स्रष्टालाई साहित्यका पाठकसम्म पुर्याउने हाम्रो उद्देश्य हो । आगामी दिनमा पाठक तथा स्रष्टाहरूको सहयोगले यस स्तम्भलाई थप सशक्त रूपमा अगाडि बढाउन सकिने विश्वास लिएका छौँ । हाम्रो उद्देश्य, साताभरिमा प्रकाशनमा आएका साहित्यिक पुस्तकहरूलाई यस विधामा समेट्नु हो । हामी चाहन्छौँ – नेपाली साहित्यअन्तर्गत प्रकाशनमा आएका कुनै पनि पुस्तक नछुटुन् । तर पुस्तकको उपलब्धता नहुँदा केही छुट्ने गरेका छन् । प्रकाशक तथा लेखकहरू सम्भव भएसम्म आफ्ना नवीनतम साहित्यिक कृतिहरू साहित्यपोस्टको कार्यालयमा उपलब्ध गराइदिनुहुन अनुरोध गर्दर्छौं ।

यसै क्रममा ‘साताका पुस्तक’मा यो साता ५ पुस्तक । बाबुराम भुसालकाे ‘अभ्यास काव्ययात्रा’, वीरेन मगरकाे ‘भम्पा : एक अडान अनेक प्रश्न’, ‘व्यङ्ग्य कन्तुर’, सानु शर्माकाे ‘ती सात दिन’, हेम अधिकारीकाे ‘उत्तरी ध्रुवतिर टहलिँदा’ हुन् ।

१. अभ्यास काव्ययात्रा — बाबुराम भुसाल 

शाश्वत प्रकृतिको लेखन सिर्जना गर्न मन पराउनु हुने कवि बाबुराम भुसालकृत नवीनत कृति हो – “अभ्यास काव्ययात्रा” ।

१०२ पृष्ठमा फैलिएको यस कृतिमा ‘अब आफै ब्युँझिएर हेरौँ’, ‘म बहादुर मजदुर !’, ‘पीडा महिलाको पेवा भएजस्तो’, ‘कुकुर र मान्छे’, ‘यदि अनुभूतिमा प्रेम छ भने’, ‘आफ्नै चेतना चिन्नु छ’ लगायत ५० थान कविता सङ्ग्रहित छन् । यसमा केही उत्कृष्ट गजल र गीतहरू पनि छन् ।

भूमिकामा वासुदेव अधिकारी लेख्छन्, “बाबुरामका कविताहरू अभ्यास मार्फत सही लक्ष्यमा पुग्ने दार्शनिकताले ओतप्रोत भएका छन् । खराबी विरुद्ध सङ्घर्ष होइन अभ्यास गरी आफ्नो गन्तव्यमा पुग्न उनका कविताले पाठक वा भावकलाई उत्प्रेरित गर्छन् । कविले अभ्यास मार्फत पाइने सिद्धिको दार्शनिकता लगायत अन्य जीवनदृष्टि अनेक कवितामा अन्तर घुलन गरेका छन् । सरल दार्शनिकता उनका कवितामा फेला पर्ने मुख्य विषय हो । जीवनको भोगाइ र तर्कनालाई उनले मिठासयुक्त तवरले कवितामा गुम्फित गरेका छन् ।”

भूमिकामा ऋषि आजाद लेख्छन्, “कवि बाबुराम भुसालका गद्य कविताहरूमा बिम्ब, प्रतीक र मिथकको प्रयोग कम होला तर भावका दृष्टिले उहाँको कविताहरू निकै मार्मिक र सन्देशमूलक छन् । सरल खालका अभिधात्मक काव्य रचनामा विपुल भावराशि टकारेर कविले आफूलाई कमजोर हुन दिनु भएको छैन । उहाँ साहित्यमा सफलताको शिखर चुम्नतिर लागेका सिर्जना अभ्यासमा तल्लीन एक नव प्रतिभा हुनुहुन्छ ।”

पुस्तकको पछिल्लो पृष्ठमा उल्लेख गरिएको छ,

मेरो आँखा

मेरो भएर के गर्नु

मेरो अनुहारमा भएर के गर्नु

मेरै अनुहार देख्दैन भने

मेरो कान

मेरो भएर के गर्नु

मेरो दायाँबायाँ रहेर के गर्नु

मेरै मुखको बोली सुन्दैन भने

मेरो मस्तिष्क

मेरो भएर के गर्नु

मेरो शरीरमा भएर के गर्नु

म स्वयम्लाई चिन्दैन भने

पुस्तकलाई लेखक स्वयम् बजारमा ल्याएको हुन् । पुस्तकको मूल्य २ सय ८२ रुपियाँ रहेको छ ।

००००

२. भम्पा ः एक अडान अनेक प्रश्न — वीरेन मगर 

लेखक वीरेन मगरद्वारा मानवतावादी सत्पात्र भम्पाको जीवन, सङ्घर्ष र शरणार्थी जीवनका  ऊहापोहमाथि लिखित पुस्तक हो  “झम्पा : एक अडान अनेक प्रश्न” ।

३ सय ११ पृष्ठमा आधारित यस पुस्तकमा खण्ड १ : दिवा, खण्ड २ : आपाआमाले कोरेको बाटो, खण्ड ३ : एक राष्ट्र एक जाति, खण्ड ४ : आन्दोलन, खण्ड ५ : माईबगर, खण्ड ६ : नसुनिएको आवाज, खण्ड ७ : देश दुखेको बेला, खण्ड ८ : उर्मिला लगायत लेखकीय समावेश छन् भने तस्वीर-दस्तावेज खण्डमा तस्वीरहरू राखिएको छ ।

“१७ अगस्ट, १९९० मा भुटानका सहायक गृहमन्त्री दागो छिरिङको एउटा सार्वजनिक सूचना आयो- ‘दक्षिणी भुटानबाट ठूलो सङ्ख्यामा ल्होत्साम्पाहरू राज्यद्रोहको अभियानमा सहयोगी बन्न देश छाडेर हिँडिरहेका छन् । आइन्दा उनीहरूलाई भुटानी नागरिकका रूपमा दर्ज गरिने छैन ।” पुस्तकको पछिल्लो पृष्ठमा देवेन्द्र भट्टराई लेख्छन्, “यही ‘नोटिफिकसन’ बोकेर थिम्पुबाट फुन्चोलिङ-जयगाउँ झरेका एक वरिष्ठ चिकित्सक भम्पा राई फेरि फर्किएर आफ्नो जन्म-कर्मथलो कहिल्यै गएनन् । त्यही दक्षिणी भुटानबाट लखेटिएर शरणार्थी बन्न पूर्वी नेपाल आइपुगेका एक लाखभन्दा बढी आफन्तजनको बीचमा स्वनिर्वासित र आजन्म परोपकारी बनेरै उनले जीवन बिताए । आज पनि दमक, झापाको सीतापुरी राजमार्ग छेवैको जङ्गलमा तिनै सत्पुरुष डा. भम्पा राई र उनकी श्रीमती उर्मिलासहितको समाधिस्थलको जग बसेको छ जसले कथित लोकतन्त्र तथा सुुखी-खुसी राष्ट्रको दुहाई दिएर नथाक्ने त्यही ड्रागुन-माटोको कालो कर्तुतलाई जुगजुगान्तर सम्झाइरहनेछ । यो कृति ‘भम्पा’ इतिहासको यो कालखण्ड उधिन्ने एउटा झिल्को हो, चिंगारी हो । चिंगारी अर्थात् आगोको सूक्ष्म कण जुन दन्किरहेको ज्वालाबाट मात्रै निस्कने गर्छ । प्रश्न अनेक छन्, अडान एउटै – घरफिर्ती !”

म स्वेच्छाको शरणार्थीमा डा. भम्पा राई लेख्छन्, “कहिलेकाहीँ लाग्छ, देशभक्त एउटा ठूलो रोग रहेछ । विगत लामो समयदेखि म यसैले ग्रस्त छु । तर यो रोग मलाई प्रिय लाग्छ । यही रोगले मलाई जीवनको अर्थ सिकायो । बाँच्ने हौसला दियो । कर्मको बाटो देखायो । म चाहन्छु, मेरो शरीरको अन्य सबै रोग भन्दा भयङ्कर यो रोगले मलाई चिहानसम्मै साथ देओस् ।”

रत्न पुस्तक भण्डारबाट प्रकाशित पुस्तकको मूल्य ७ सय ९५ रुपियाँ रहेको छ ।

००००

३. व्यङ्ग्य कन्तुर 

वासुदेव अनुभवद्वारा सम्पादित संयुक्त टुक्का कवितासङ्ग्रह हो – “व्यङ्ग्य कन्तुर” ।

यसमा नेपाल लगायत विश्वका विभिन्न मुलुकमा रहेर नेपाली भाषा साहित्यलाई माया गर्नुहुने ४९ जना टुक्काकारहरूको १० रु १० वटा टुक्का कविता सङ्ग्रहित छन् ।

“टुक्का कविता नेपाली माटोमा जन्मिएर हुर्किंदै गरेको सरल एवं मौलिक कविता विधा हो ।” टुक्का साहित्य समाजद्वारा उल्लेख गरिएको छ, “बाहिरी संरचना अन्तर्गत टुक्का कवितामा जम्मा दुई हरफ हुन्छन् । यसका दुई हरफमध्ये पहिलोलाई आद्य पङ्क्ति र दोस्रोलाई अन्त्य पङ्क्ति वा अन्त्य हरफ भनिन्छ । दुवै हरफमा अक्षर सङ्ख्या समान हुनुपर्छ । अक्षर सङ्ख्याको हकमा एक हरफमा कम्तीमा ५ अक्षरदेखि बढीमा २७ अक्षरसम्म (जसले परिपूर्णता देओस्) राख्न सकिन्छ । टुक्काको दुवै हरफको अन्तमा तुक (अन्त्यानुप्रास) मिलेको हुनु पर्ने छ । शब्दानुप्रास तथा एकाक्षरी तुकान्त मान्य हुने छैन साथै अतुकान्त हरफहरूलाई यसको दोष मानिएको छ ।”¬

पठनीय टुक्का कवितामा बाबा बस्नेत लेख्छन्, “२०७७ सालमा कवि ताराप्रसाद चापागाईंको परिकल्पनालाई प्रयोगमा ल्याइएको टुक्का कविताले अहिले विस्तृत रूप लिइसकेको तथ्य यस कृतिले पुष्टि पार्दछ । हाम्रो जीवनचर्या र बोलीचालीको भाषामा प्रचलित विभिन्न प्राचीन लवज, उखान, टुक्का, भजन टुक्काहरूको विकसित रूप नै टुक्का कविता हो कि भन्ने पनि लाग्दछ । हिँड्दैछ, आँखा तर्दैछ, बाँदरको पुच्छर लौरो न हतियार, नाच्न जान्दैन आँगन टेढो जस्ता जनजिब्रोमा अल्झिएका टुक्काहरूलाई लिएरै टुक्का कविताका कल्पनाकारले यो उपविधाबारे धारणा निर्माण गर्नु भयो कि भन्ने पनि लाग्दछ ।”

भुँडीपुराण प्रकाशनबाट बजारमा ल्याइएको ९८ पृष्ठमा आबद्ध पुस्तकको मूल्य २ सय रुपियाँ रहेको छ ।

००००

४. ती सात दिन — सानु शर्मा 

परिचित, क्रियाशील र सशक्त आख्यानकार सानु शर्माको आख्यानात्मक कृति हो – “ती सात दिन” ।

३ सय ५२ पृष्ठमा फैलिएको यस पुस्तक अट्ठाइस भागमा विभाजित छ ।

प्रथम पुरुष शैलीमा अत्यन्त रोचक र प्रभावपूर्ण लेखन पाइन्छ यसमा । उहाँ सूक्तिमय, मर्मस्पर्शी बिम्बहरूको सिर्जना, सरल, सरस आलङ्कारिक तथा पाठकलाई समवेदनशील बनाउन कलात्मक भाषाशैलीले पुस्तक पठनीय भएको छ ।

पुस्तकको पछिल्लो पृष्ठमा लेखिएको छ, “ती सात दिन सरल शैलीले वर्णन गरिएको गह्रुङ्गो विषयको कथा हो । यसमा बलात्कारजस्तो विषयलाई यसरी वर्णन गरिएको छ कि पाठकहरूलाई त्यसले पुर्याउने क्षति, परिणाम, आघात र पीडा त अनुभूत हुन्छ तर विषयले मनमा विरक्ति र वितृष्णा उक्ज्याउँदैन । यसको कथाले विषयको गहिराइलाई त वर्णन गरेको छ, मित्रता, परिवार र सम्बन्धको सुस्पष्ट व्याख्या पनि गरेको छ  । पढ्नमा भन्दा सुन्नमा ज्यादा रुचि राख्ने आजको डिजिटल युगमा युवावर्गले बोलीचालाीमा प्रयोग गर्ने भाषा प्रयोग गरी लेखिएको यो आख्यान एउटा नयाँ प्रयोग पनि हो । अचेल हाम्रो समाजमा युवावर्गद्वारा बोलिन भाषा बहुतायतमा प्रयोग गरिएको यस उपन्यासमा यही जेनरेसनका कुरा छन् । समस्या, समाधान, साथ, सम्बन्ध र सुझबुझबारे एउटा विशेष वर्गको दृष्टिकोणको बारेमा लेखिएको यस आख्यानले सम्बन्धहरूको आयामलाई राम्ररी केलाएको छ ।”

रत्न पुस्तक भण्डारबाट प्रकाशन गरिएको पुस्तकको मूल्य ५ सय ९५ रुपियाँ रहेको छ ।

००००

५. उत्तरी ध्रुवतिर टहलिँदा — हेम अधिकारी 

नियात्राकार हेम अधिकारीकृत नियात्रासङ्ग्रह हो – “उत्तरी ध्रुवतिर टहलिँदा” ।

३ सय ३८ पृष्ठमा फैलिएको यस पुस्तकमा इस्तानबुलमा १२ घण्टा, वसन्त आउँछ रे, निर्वाचन ः पर्व कि कर्म ?, थगरीथरीका असार पन्ध्र, पानीजहाजको यात्रा र टापुको गुप्तवास, प्रसन्नताको खोजीमा, त्यो रात ! लगायत ४८ थान शीर्षकमा क्यानाडाली यात्राको वर्णन छ । विशेष गरी एक नेपाली स्रष्टा नवभूमिमा पुग्दाको अनुभूति तरङ्गले बनिएको छ ।

“हामीलाई विश्वव्यापीकरणले छोपिसक्यो । जीवन पद्धति त्यही हावाले बदल्यो, गाउँगाउँमा विश्वबजार पस्यो तर सरकारहरू उनै सामन्ती कालका छन्, पार्टीहरू भर्तीकेन्द्र नै छन् । आफ्नो देशको यस्तो अवस्था देखेर क्यानडा नियालिरहेका लेखकलाई दुःख लाग्छ । यताका एकएक दृष्टान्त टिप्तै आफ्नो देशको स्थितिको तुलना गर्दछन् ।” भूमिकामा डा. गोविन्द भट्टराई लेख्छन्, “कृषिप्रधान विगत र वर्तमान शीर्षक आलेखमा त्यो विरक्ति छ । यता ढाँट, ठग र दलालहरूले आफ्नो देशको गाउँदेखि ‘केन्द्र’ सम्म कब्जामा लिएका छन्, उता विश्वलाई खुला शिक्षाले उदारता पढाइरहेको छ, शासनपद्धतिका उदारता सिकाइरहेको छ । किन मानिस क्यानडा, युरोप, अमेरिका र अस्ट्रेलिया जस्ता खुला मुलुकतिर खनिएका छन् ? किन कोही पनि अधिनायकवादी देशतिर बसाइँ जाने आकाङ्क्षा राख्दैनन्- ती यावत् कुराको उत्तर यिनै निबन्धमा पाइन्छ ।”

पुस्तकको पछिल्लो पृष्ठमा लेखिएको छ, “माथि सफा निलो आकासमा सेता घुर्मैला बादलका कत्लाहरू कताकता केही पर्खिरहेजस्ता देखिन्छन् । कुनैकुनै केही खोजिरहे जस्ता पनि देखिन्छन् । तिनका मुनि भएको त्यो सफा र व्यवस्थित सफारीमा दिनहुँ हजारौँ हजार पर्यटकहरू खुसीले पैसा तिरेर आउँदा रहेछन्, हेर्दा रहेछन्, घुम्दा रहेछन् र रमाइलो गरेर फिर्दा रहेछन् ।”

भुँडीपुराण प्रकाशनबाट बजारमा ल्याइएको पुस्तकको मूल्य ५ सय ९० रुपियाँ रहेको छ ।