सन् १९३४ मा इराकको बसरामा जन्मिएका सादी यूसुफ समकालीन अरबी कविताका जगतका अग्रणी कवि हुन् । कविता एवं गद्यको उनको ४० भन्दा बढी संग्रह प्रकाशित छन् ।

धर्मनिरपेक्षतावादी र क्रान्तिकारी कविको रुपमा आफ्नो परिचय बनाएका यूसुफ पश्चिमी दुनियाँको बाहेक इराकमा सद्दाम हुसेनको शासनकालमा सत्ताको सख्त विरोध गरेका कारण पनि लोकप्रिय छन् ।गलतका विरुद्ध हरहमेशा विरोधको आवाज उठाएकै कारण यूसुफ आफ्नो जीवनकालको अधिकतम समय निर्वासनमा बिताउन बाध्य भए । यस समय उनी लण्डनमा वसोबास गरिरहेका छन् ।

अरबी भाषामा लिखित उनका रचनाहरूलाई खालिद मुत्तावाद्वारा अंगेजीमा गरिएको अनुवादसंग्रह ‘ विथआउट एन अल्फाबेट, विथवाउट अ फेस २००२’ नामक संग्रह अत्याधिक सफल र चर्चित पुस्तक हो ।

उनका दुई कविता यहाँ प्रस्तुत छः

धन्यवाद इमरू उल कैस

आखिर आफ्नो ओठमा शान्तिको संदेश लिएर
तिमी आयौ त सही निकोसियाको नजिकै रहेको
यस आधाअधुरो अँध्यारो कोठामा !
अब गएर पाँच हजार माइल पर
खोजी सकेका हौँ तिम्ले शब्दहरू ?

सादी यूसुफ

जबकी लेउ लागिसकेको छ तिम्रो घरमा !
र, समुन्द्रमा टुटेफुटेका छन्, छरपष्ट छन्, सबैसबै तीरवाणहरू !
शान्ति बनिरहोस जैतूनको बगैँचामा !
शान्ति बनिरहोस् यस अन्धकारमा !
शान्ति बनिरहोस् त्यो एकलौटी समुन्द्र किनारमा
जसले दबदबे निन्द्रामा लुकाएर राखेको छ हाम्रो रगत !
शान्ति बनिरहोस् यस खण्डहरमा !
दुब्ला पातला हातहरूमा कुनै स्प्रिंग जसरी
बिस्तारै बिस्तारै पर्दाफास गरिरहेछन् मलाई
जसरी एक किसान झारिरहन्छ खुबानीको खस्रा कणहरू !
के यो तिमी हो ?
जो चाँदी समान चम्किरहेका छौ जबकी संसार सीसाजडित भइसकेको छ !
मेरो चारैतिर सिर्फ सागरतट छ !
अब के सुरु गरौँ ?
सहर जसको उनीहरू कुरा गर्छन्, ती रहुन् !
झोपडी, गाउँ, राजधानीहरू !
हाम्रो बाटो मिल्दछ र छुट्टिरहन्छ !
त, प्रस्थान गरौं ती सबै ठाउँहरूमा एकैपटक, यहाँदेखि ?
के पुग्नु उचित हुन्छ सबै ठाउँमा ?
पर छ हाम्रो सहर,
र, पर छ हाम्रो पालकीभित्रको घायल अमरता !
मलाई तिम्रो दुब्ला पातला हातहरू चाहिन्छ !
म धेरै दिन जिउँदो रहन्न्, ए स्त्री !

पीउ मलाई
म धेरै दिन जिउँदो रहन्न्
मलाई मारी हाल !
सफेद मुलायम माटोको पहाड जसरी स्थिर छ बादल !
आकाश छुउलाछुउला झैँ गरि दगुर्छ एक बकुल्ला
दगुर्छ छिमेकीको सीमासम्म पनि !
गिर्जाघरको मिनारसम्म पनि पुगिरहन्छ ऊ !

त्यहाँ तीन रुखहरू छन्
र, एकदिन म तिनको चित्र कोर्नेछु
त्यतिबेला मेरो एस्ट्रे भरिएको हुनेछ शंकेकिराहरूले !

सफा छ यति अबेला गरेर टप्किएको यो बिहान
र, काँपिरहेका छन् बिरुवाहरू

र, कापीरहेको छ टेबल !
के यो त्यही कर्कश ध्वनि हो ?
के यो त्यही रगत हो, जो घुंडादेखि पिडुलातर्फ दौडिरहेछ ?
मनमा शान्ति रहिहोस् यस माहुरीको, जो एकाबिहानै मसँग मिल्न आएकी छे !
जब हामी सडकहरूलाई नाप्न आएका थियौं,
हामीले सोचेका थियौं कि रात
इब्न खाल्दुनको ‘मुगादीमा’ भन्दा पनि छोटो हुन्छ !
र, हाम्ले भनेका थियौं ‘उत्तरी अफ्रीका हाम्रो द्वीप हो
यसले हामीलाई बचाउनेछ चिडचिडाउँदो गर्मी र कठ्यांग्रिदो ठण्डीबाट !’
हामी युवा थियौं !
सायद हामी त्यो टर्रो अंगुर चाख्न आएका थियौं !
जसबाट हाम्रो पूर्वज बन्चित रहेका थिए !
यसप्रकारको बकबासको के अर्थ हुन सक्छ ?
कुन मृत्यु ज्यादा सहज हुने गर्छ ?
(ध्यान दिनुहोस्, हामीले यहाँ यो भनेका छैनौं,
“कुन चाहि मृत्यु ज्यादा सुन्दर हुने गर्छ ?”)
बन्दरगाह र समेराको रुख अर्धमुर्छित छ, अर्धचेत छ,
यसैकारण त खुम्चिएका हौँ हामी
एक कुनामा भाग्य गुमाएर ।
हातहतियारको बक्साहरूबाट आफ्नो हिस्सा पाउँनको लागि
नौजवान साथीहरू लड्न मर्न तयार छन् !
यसप्रकार त हामी फेरी त्यस्तै बनिरहेका छौं, जस्तो हामी थियौं !
हामीले सिक्यौं तर यो अब त्यसको के अर्थ ?

धन्यवाद इमरू उल किस, जो तिमी हत्याको शिकार भयौं !

बिहानको गौरेया
अनारको दानामा छोड्छ आफ्नो एउटा प्वाँख !
एक बकुल्ला उड्छ
गल्लीहरूमा आफ्नो हिस्साको सेन्टीमिटरका लागि !
र, तमाम झुण्ड बार्दलीमा खडा रहन्छन्
अनन्त एकाकीपनमा

बिहान आएको थियो, गइहाल्यो !
त, अब को आउँछ ?
र, अब को आउँछ ?
र, को रंगाउला च्यादरको किनार अब ?
को मनाउला उसको औंलाको स्पर्शको उत्सव अब ?
को मनाउला बिहानको उदेकपनको उत्सव अब ?
भित्ताको सफेदमा चार नाउ
चार नाउ समुन्द्रको किनारमा पनि !
बाटो रोकिरहने गर्छ ऐना !
मैले चाहेको थिए एक आवाज, जो नहोस् कोही अरूको जस्तो ।
र, अब म पनि जान्छु ऐनाहरूले भरिएको कोठामास
के अब मैले मेरो आँखाहरू बन्द गर्ने बेला आएको हो ?
के अब म त्यो सब कुरालाई अन्देखा गरौँ, जसतर्फ म हरहमेशा अन्देखा गर्दथे ?
यति परसम्म तन्किदै गएको छ यो सडक
तर ऐना अझ पनि बाटो रोक्न खोजिरहन्छ !
कहिलेकाही म लड्खडाएर गायब हुन्छु
छोटा छोटा हिल्लामे खाडलमा भरिएका पानीमा !
बासपोरसको खाडी चम्किएको छ मेरो सामुन्ने !
मन्थनपश्चात मेरा हातहरूमा घाँस
र एक सीपी !
चक्कर काटीरहन्छ माछो, झम्टीरहन्छ
पुतलीहरूमाथि, गोहीहरूमाथि, ताराहरूमाथि र
आँसुले डुबेका मानिसहरूको आँखाहरूमाथि !
अन्नत एकाकीपनले मारिरहेको छ मलाई
कहाँदेखि आइरहेको छ यो आवाज ?
ऐनाहरूले भरिएको भित्ताहरूबीच
केहीबेरमा म फेरी सुरु गरौंला लड्खडाउन !

 

शब्दार्थ

निकोसियाः साइप्रसको राजधानी
जैतून ः एक वनस्पति, तेल निकाल्नको लागि प्रयोग गरिन्छ
खुबानीः आरु र आरुबखडाकै प्रजाति
इब्न खाल्दुनः अन्तिम अरबीयन भूगोलवीद, प्रथम पर्यावरणीय नियतवादी
मुगादीमाः इब्न खाल्दुनद्वारा लिखित ग्रन्थ
गौरेयाः घर भँगेरा
बासपोरसको खाडीः इस्तानबुल नजिकको खाडी
सीपीः सामुन्द्रिक जिवाशेष

एक रोमन उपनिवेश

हामी युनानी थियौँ
अरबी रेगिस्तानको किनारमा हाम्रा घरहरू थिए
तर हामीसँग दुई नदी थिए र थिए केही गाउँहरू
र, खेत थियो, जसलाई तिनै नदीहरूले भरपुर सिचाइँ गरिरहन्थे
हामीसँग केही कविगण थिए, जो छन्द रचना गर्थे
कहिले स्त्री त कहिले फूलहरूको कुरा गर्दथे ।
र, ‘किनेसरीन’मा हामीले दर्शनशास्त्रको विश्वविद्यालय स्थापना गर्यौं
विचित्र कुरा यो थियो कि त्यहाँ अक्सर अरस्तुका छात्रहरू आउजाउ गरिरहन्थे
उनीहरू हामीलाई एथेन्समा लेखिरहिएको नवीनतम ग्रन्थहरूको बारेमा बताउने
गर्दथे
तर हामी यूनानी थियौ, र किसान पनि ।
हामीले कुनै हतियार बनाएनौं
न हामीलाई आफ्ना छोरोनातीलाई फौजीमा ढाल्न आउथ्यो
(अरस्तुको छात्रहरूले हामीलाई यो बताएनन् कि उनीहरूको अध्यापक
मकदुनियाई फिलिपको छोरोलाई शहर जित्ने प्रशिक्षण दिइरहेको थियो ।)

‘दुनियाँ बदलिन्छ’,

उनीहरूले यहाँसम्म भनेका थिए कि ‘सूर्य पनि एक दिन पश्चिमबाट उदाउनेछ’,
यतिखेर म लड्खडाउदै बोलिरहेको छु
दिवास्वप्न देखिरहेको, नितान्त एक्लो
सिदोनको किरियाकोसको शराबखाना भित्र ।

माटोको मेरो प्याला गाढा कालो छ
र, छ मेरो कपाल सफेद सेतो ।
म जान्दछु, पूरा विश्वास छ मलाई
अब मलाई कसैले बताउनु पर्दैन
कि रोमनीहरूले हाम्रो हुक्कापानी तब बन्द गरिदिएका थिए
जब हामी एक उपनिवेश बनिसकेका थियौं ।
तर मलाई एक शंका छ किरियाकोस यो सत्यतासँग स्पष्ट थिए भनेर !

‘दुनियाँ बदलिन्छ’,
उनीहरूले भनेका थिए ।

भावार्थ
१. ‘किनेसरीन’ : अरबको सुरुवाती खलीफाहरूले सिरियाको पाँच र छ सामारिक प्रान्तमा विभाजित गरेका थिए । किनेसरीन उत्तरी सिरियाई प्रान्त थियो ।
२. ‘सिदोन’ : लेबनानको तेस्रो ठूलो नगर
३. ‘किरियाकोस’:  इस्वी सम्वत ४४८मा सन्त किरियाकोस युनानको कोरिन्थ
नगरमा जन्मिएका थिए । रोमन साम्राज्यको समयमा एक शहीदको नाम पनि
किरियाकोस थियो ।

                             कवि तथा पत्रकार राजु झल्लुप्रसादले यी कवितालाई नेपाली भाषमा भावार्थ अनुवाद गरेका हुन् ।