हेर्नुको सत्य, देख्नुको सौन्दर्यमा झल्किन्छ । यथार्थ जिन्दगीको नयाँ सम्बन्धका सीमारेखाहरू कोरिन्छन् । कति प्राञ्जल प्रारूप प्रस्टिन्छ । देखिएको र देखाएको कुरामा लुकाउने कुरा केही हुँदैन त्यहाँ । हेराहेर र देखादेख जहिले पनि जो जससँग पनि हुन्छ ।

हेर्नुको सत्य-तथ्य आवरणमा जस्ताको तस्तै लोकार्पण हुने रहेछ । देख्नुको सौन्दर्य आकर्षणमा आबद्ध स्पष्ट आलोक छरिने रहेछ ।

हाम्रा हेराइहरूलाई जुन कुराले आकर्षित गरेर हामीलाई लोभ्याउँछ, त्यो नै ‘सत्य र सौन्दर्य’ हो । सत्य र सौन्दर्यको ज्ञान हेर्नु र देख्नुको प्रक्रियाबाट प्राप्त हुन्छ । यो क्रम आदिम र अनन्त छ । यो सिलसिला रोकिँदैन । हेर्नु र देख्नुको प्राप्तिमा चञ्चल मन चुपचाप बस्न सक्दैन ।

देख्ने र हेर्ने आँखाले हो । हेर्नुको दैलो खोल्ने र देख्नुको सत्य-सौन्दर्य पस्किने आँखाले नै हो । सकारात्मक सोच्नुपर्ने मन जस्तै सर्वत्र कोमल रूप । माया र ममताको संसार देख्न र खोज्न उत्सुक मन ।  लुकेर, चियाएर हेर्न कति चौचौ, कति सकसक । चोर चक्षु चञ्चल सधैँ ।

हेर्नलाई आँखा र मन पनि राम्रो हुनुपर्ने रहेछ । राम्रो वस्तु दृश्यमान भएर मात्र भएन त्यसप्रति सही हेराइ हेर्नुपर्ने रहेछ । हेराइको इज्जत पनि गर्न सक्नुपर्ने रहेछ । अतः आँखाको हेराइ काँडामा पनि फूल देख्न सकियोस् । त्यस्तो आँखाबाट फूलमा सुन्दरता र सुगन्ध फैलिएको होस् । आँखाको हेराइमा घृणा होइन श्रद्धा र स्नेहको हार्दिक प्रेम प्रकट भइरहोस् ।

कहिलेकाहीँ यस्तो लाग्छ, कति कुरा नदेखेको भए हुन्थ्यो । कति कुरा नहेरेको, नभेटेको र नभनेको भए हुन्थ्यो । अनि कति कुरा नबोलेको, नसुनेको भए पनि हुन्थ्यो । तर कति कुरा हेरेर, देखेर कति आनन्द लाग्छ । तिनलाई नदेखेको, नहेरेको भए कति राम्रो कुरा हेर्न, देख्नबाट हामी वञ्चित हुने थियौँ ।

यद्यपि हेराइको प्रकृति र परिवेश भिन्न-भिन्न हुन्छ । कसैको पनि एउटै किसिमको वा एकै आशयको हेराइ हुँदैन । आशयअनुसार हेराइ पनि भिन्न हुन्छ । हेर्नु वा हेराहेरको अर्थ र अभिप्राय फरक हुन सक्छ । चिन्नेजान्ने र नचिनेकाहरूलाई हेर्ने हेराइ पनि फरक हुन्छ ।

हेराइहरू अनेक प्रकारका हुन्छन् । जस्तै- मायाले हेर्ने हेराइ । सद्भाव र शुभेच्छाले, विश्वास र विनयी भावले हेर्ने हेराइ । जबरजस्ती, उत्सुकता र प्रसन्नताले हेर्ने हेराइ । आवश्यकता र घृणाले हेर्ने तथा प्रश्नसूचक दृष्टिको हेराइ आदि । हेराइकै हेराइले पनि कहिले ‘दृष्टिभ्रम’ पनि हुनसक्छ ।

रोएर र हाँसेर हेरेको हेराइ एकै हुन सक्दैन । खुसी र दुःखले हेरेको हेराइ पनि उहीँ हुँदैन । उमेरले पनि हेराइमा फरक पार्छ । सोचाइ र बुझाइले पनि हेराइको अर्थ फरक हुन सक्छ । आशय, अवस्था, आवश्यकता आदिले हेराइको अर्थ र अभिप्रायमा अन्तर आउने गर्छ ।

कुनै हेराइ नहेर्दै पनि हेरिन्छ । कुनै हेराइ हेर्न खोजेर पनि हेर्न र देख्न सकिँदैन । हेर्न चाहँदैमा र देख्न खोज्दैमा कुनै हेराइले चाहना पूरा गर्न सक्दैन । कुनै बेला हेर्नु र नहेर्नु, देख्नु र नदेख्नुले पनि कुनै अर्थ राख्दैन । कुनै बेला त्यही हेराइले निकै ठूलो अर्थ राख्छ । यसरी यी सबै हेर्ने हेराइ र देख्ने दृष्टिकोण पृथक् हुन्छ ।

कुनै हेराइबाट डराउनुपर्छ, लजाउनुपर्छ, भाग्नुपर्ने अवस्था पनि आउन सक्छ । त्यस्ता हेराइसँग तर्किनु, तर्सिनु र झर्किनुपर्ने पनि हुन्छ । कुनै हेराइ शङ्कालु, कुनै हेराइ मायालु र विषालु पनि हुनसक्छ । कुनै हेराइ ‘तीर’ जस्तो घोच्ने, घायल पार्ने पनि हुन्छ । कुनै-कुनै हेराइ हर्षको हुन्छ, कुनै विष्मात र अफसोसको समेत हुन्छ । हेराइलाई देख्ना साथ यस्तै आशयको हो भनेर कहिले अनुमान सही हुन्छ, कहिले गलत पनि हुनसक्छ ।

हेर्नु र देख्नुको मापन हुन सक्दैन । हेर्न सकेसम्म हेर्न, देख्नलाई कुनै सीमा-साँध हुँदैन ।

जीवन छउञ्जेल जिउनुको अर्थ रहन्छ । तर जिउनुको नाम मात्र जिन्दगी होइन । बाँचेकाहरू त यहाँ धेरै छन् । बाँच्नु मात्र ठूलो कुरा होइन । बाँचेर अनुभव गर्नु र व्यवहारमा सत्कर्मको उदाहरण पेस गर्न सक्नु अर्को कुरा हुने रहेछ । हेर्नुको आवश्यकता र महत्त्व कति धेरै छ भन्ने कुरा हेराइपछिको परिणामले बताउँछ । हेरेर सत्य खुलाउँदै देख्नुको सौन्दर्यमा हर्ष विभोर भएपछि पत्ता लाग्छ ।

हेराहेरले चिनिन्छ, बुझिन्छ । बिर्सेको भए सम्झिइन्छ । जहाँ पनि, जे कुरा र जहिले पनि हेराहेरपछि नै चिन्न सकिन्छ- को हो, के हो ? भन्ने यावत कुरा । त्यसैले हेर्नु वा देख्नु जस्तो सत्य अरू केही छैन र हुँदैन । हेराहेरमै सबै कुरा छर्लङ्ग खुल्छ यथार्थ । कसको अनुहार कस्तो ? रूपरङ, बोली र व्यवहार आदि हेरेपछि नै थाहा हुन्छ ।

हेर्नुको आकर्षण कस्तो प्रभावकारी हुन्छ भने कुनैलाई एक पटक हेरेपछि सधैँ हेरिरहूँ जस्तो लाग्छ । हेरेर, हेराहेर गरेर अघाइँदैन । हेर्नुको भोक लागिरहन्छ । हेराइको आँखाबाट त्यो ओझेलमा पर्न चाहँदैनन् । कति प्रिय लाग्छ, लागिरहन्छ हेर्नुको आनन्द । मन परेको दृश्य हेर्नु जस्तो प्राप्ति र सन्तुष्टि अरू केही हुन सक्दैन ।

वास्तवमा हेर्नु जस्तो सत्य र देख्नु जस्तो सही प्रमाण अरू केही जुट्नै सक्दैन । अध्ययन, अनुसन्धानका लागि सही प्रमाण र सन्दर्भ सामग्रीमा पनि हेर्नुको विकल्प छैन । नहेरी केही देखिँदैन । हेरेपछि सबै देखिन्छ, नदेखिएका दृश्यहरू पनि छर्लङ्ग ।

हेरेर जानकारीका अथाह अभिलेखहरू उपलब्ध हुन्छन् । हेरेरै थाहा नपाइएका कुराहरूका ज्ञान पाउन सकिन्छ । हेरेर भेटिन्छ अनुभूतिहरूका भूगोल । देखेर जानिन्छ यात्राका गन्तव्यहरू कस्ता र कहाँ भन्ने तथ्य विवरणहरू । हेरेर र हिँडेर पुगिन्छ अनकन्टार यात्राका बिसौनीहरू ।

प्रकृतिको सौन्दर्यमा मुग्ध भएर रमाइन्छ हेराहेरमै । हेर्नुको आनन्द अर्को पटक त्यहाँ सार्थक लाग्छ । हेर्न नसके वा हेर्न नपाए प्रकृतिमा रमाउनुको के अर्थ । अर्थहीन बन्छ यात्रा पनि । हेरेरै प्राप्त हुन्छ सारा खुसी र दुःखहरू पनि ।

राम्रो र नराम्रो हेराइबाट थाहा हुन्छ । कुनै मानिस यति सुन्दर लाग्छन् कि तिनलाई हेरौँ, कति हेरौँ, हेरेर तृप्त भइन्न । कुनै स्थान साह्रै रमाइलो लाग्छ । हेरेर र घुमेर सकिन्न हेरिरहौँ, त्यहीँ बसिरहौँ, घुमिरहौँ भन्ने भइरहन्छ । कुनै किताब पटक-पटक पढेर पनि पढ्न मन लागिरहन्छ । तिनलाई एक पलको हेराइ र क्षणिक भेटाइमा पनि सदा सम्झिरहिन्छ ।

हेराइको नकारात्मक असर कतिसम्म हुँदो रहेछ भने मन नपरेको ठाउँमा फेरि कहिल्यै जान मन लाग्दैन । मन नपरेको मान्छेलाई अब फेरि कहिल्यै हेर्न नपरोस् जस्तै हुन्छ । तर राम्रो चित्र वा मूर्ति हेरेर धित मर्दैन । सुमधुर सङ्गीत सरगम सुनेर लट्ठै परिन्छ । प्रकृति, साहित्य, कला र सङ्गीत हेर्नुको सत्य, देख्नुको सौन्दर्य यिनैमा परिभाषित हुन्छ ।

देखादेखमा, हेराहेरमा आफूलाई राम्रो देखाउन लालायित हुन्छन् सबै । राम्रो हुन को चाहँदैन र ! सुन्दर, सफा देखिने चाहना कसको हुँदैन र ! राम्रो र सुन्दरताप्रतिको मोह वा तृष्णाले व्याकुल बनेर हामी तिनलाई हेर्न, देख्न अधैर्य हुन्छौँ ।

राम्रो र सुन्दरको अर्थ राम्रो वा राम्री सुन्दरी भन्ने अर्थमा मात्र सीमित हुँदैन । राम्रोले शील स्वभाव र असल चालचरित्रलाई पनि इङ्गित गर्छ । जस्तो असल विचारधाराका मानिस, सुन्दर प्रकृति, फूल आदि । अनुहारको सौन्दर्य मात्र आकर्षणको विषय हुँदैन । कसैले नहेरिदिए हुन्थ्यो भन्ने कसैले पनि चाहना राख्दैन । कसैलाई हेर्न नपाए हुन्थ्यो भन्ने कसैलाई लाग्ला तर त्यो बिरलै भेटिएला ।

सबैले हेर्ने चाहना राख्छन्, सबै आफूलाई हेराउन उत्सुक हुन्छन् । कसैको आँखामा कोही पनि ‘कसिङ्गर’ होइन ‘लालगेडी’ बन्न चाहन्छन् । आफूले मन पराएको चाहे मान्छे होस् वा अरू कुनै कुरा त्यसलाई मनभित्रै राख्ने मन हुन्छ । ‘मन नपराउने’ भन्दा पनि ‘मन पराउने’ इच्छा धेरैको हुन्छ ।

त्यसर्थ हेरेर धित मर्दैन कहिलेकाहीँ आफूले मन पराएको चीज हेर्न । जस्तो कि विराट प्रकृतिको सौन्दर्यमा आँखाहरू रमाउँदा कहाँ नहेरी बस्न सकिन्छ र ! जति हेरे पनि तृप्त हुनै सकिँदैन । अघाइँदैन हेरेर । यस्तो हेराहेरमा प्रकृति-प्रेमको दिव्यानुभूति विस्तार हुन्छ । र, आह्लादित मनका मुर्च्छनाहरू असीम खुसी बोकेर प्रतिबिम्बित हुन्छन् अनुभूतिका प्रगाढ अक्षरहरूमा ।

हेर्नु र फेरि हेरिरहनुको हेराहेरमा आदान-प्रदान भएका मौनताका भाव र भाषाहरू ! आँखै नझिम्क्याई अनवरत हेर्नुको मिठास । यौटा अलग्ग अध्याय र आवरण । गइरहेका जीवनको गहिराइतिर । भइरहेका प्रणय-मिलनका उत्सवको तयारीतिर । यस्तोमा कहिलेकाहीँ नबोलेरै पनि धेरै कुरा बोलिँदो रहेछ । नभनेरै पनि धेरै कुरा भनिँदो रहेछ ।

विना योजना, परियोजना । विना कार्यक्रम, समारोह । हेर्नलाई कहिले कुनै सल्लाह नै हुनुपर्दैन रहेछ । देखिनलाई कहिले कुनै छेकाबारले पनि नलुकाउँदो रहेछ । मन भएर र चाहेर मात्रै पनि नहुँदो रहेछ । देख्नलाई मरिहत्ते गर्दा कहिले बादलले पनि प्रकृतिलाई देख्नै नसकिने गरी लुकाइदिनेरहेछ ।

कहिलेकाहीँका हेराइहरू अनायासै यति प्रेमिल भइदिँदा रहेछन् कि त्यसमा बोलिचाली नै नभए पनि आँखाका भाषामा भावनाहरू आपसमा साटिँदो रहेछ । अव्यक्त कुराहरू पनि हेराइमा व्यक्त भए जस्तै लाग्ने रहेछ ।

त्यसैले आँखा जीवन-ज्योति हो । संसार देखाउने माध्यम आँखा । आँखा नभए के देख्नु, के हेर्नु ? देख्न र हेर्न नपाएपछि अधुरै रहन्छ ज्ञान । अन्धकारमय हुन्छ संसार । हेर्नुको सत्य उज्यालो संसारमा रङहरूका अनेकौँ सुन्दरतासँग साक्षात्कार हुन्छ । अनुभूतिका अनेकौँ अभिलेखहरू रेखाङ्कित हुन्छ । तिनमा एक्लै आँखा डुलाएर प्रफुल्लित मन खुसीको प्रस्थान बिन्दु बन्छ । अन्ततः हेर्नुको सत्य, देख्नुको सौन्दर्यमा झल्किरहन्छ ।