तिम्रो सहर आएपछि
एक पटक तिमीलाई भेट्न मन छ
आँखामा आँखा जुधाएर
तिम्रो हाल खबर सोध्न मन छ
मनले ढाँटे पनि
आँखाहरूले सत्य बोल्नेछन्
बदलिएको तिम्रो सहर
र बद्लिएको तिम्रो मनलाई
एकासाथ छाम्न मन छ
र सोध्न मन छ
वर्षौँदेखि मनमा गुम्सिएका सवालहरू
जस्तो
सहर छोडेपछि तिम्रो सहरले
कति पटक मलाई सम्झियो ?
मलाई सम्झिँदै गर्दा
के के कुरा सम्झियो होला ?
तिमी पराइ भएपछि
तिम्रो सहरमा मलाई बस्न मन नलागेको कुरा
तिम्रो सहरलाई थाहा छ कि छैन ?
वर्षौँपछि आज भेट्दा कस्तो लाग्यो ?
यी प्रश्नहरू तिमीलाई पनि हुन्
उपहारमा ल्याएका
आँसुका केही थोपाहरू
तिमीलाई दिनु छ
जो तिम्रै यादमा झरेका थिए
तिमीबाट पनि केही उपहार लैजानु छ
सम्झना स्वरुप
साथमा रहने भनेको यिनै त हुन् !
अन्तिम भनेर
अन्तिम पटक भेटेर
छुटेको पनि वर्षौँ भयो
त्यो तिम्रो लागि मात्र अन्तिम थियो
म भने अझै कयौँ पटक
तिमीसँग अन्तिम भेट
गरिरहन चाहन्छु
तर
भीडमा हराएको बालकजस्तै
हरायौ तिमी पनि कतै
भेटिने आशमा त्यही भीड पछ्याउँदै
म फेरि तिम्रो सहर आइपुगेको छु
भेटिन सक्छौ कसैको अङ्गालोमा
या कतै भीडमा एक्लै
भेटिएनौ भने पनि
तिम्रो सहरले सुनाइदिओस्
म आएको खबर
मेरो आगमनले
यतिबेला तिम्रो सहर डराएको छ
मानौँ म उसको प्रेमिका खोस्न आएको हुँ
तर मलाई त एक पटक
तिमीलाई भेटेर फर्किनु छ
यी आँखाहरूको प्यास मेटाउनु छ
जसले वर्षौँदेखि
तिमीलाई नै खोजिरहेका छन् ।
युएई
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।