नेपाली साहित्यमा कृष्ण बजगाईं परिचय गराइरहनुपर्ने नाम पटक्कै होइन । विविध विधामा पुस्तक प्रकाशन गरेर कृष्ण बजगाईं पाठक, समालोचक, सम्पादक र समीक्षकको आँखामा परेका छन् । केही विधामा त उनले एउटा छुट्टै धारको पनि विकास गरेका छन् ।

पछिल्लो समय कृष्ण बजगाईंले विवेक सिर्जनशील प्रकाशन प्रा.लि.मार्फत “संवैधानिक पत्नी’ (२०७७) लघुकथासङ्ग्रह प्रकाशन गरेका छन् । सङ्ग्रहमा ५४ वटा लघुकथाहरू सङ्ग्रहित छन् । लघुकथाहरू साँच्चै नै लघु छन् । शब्दको आधारमा लामा मानिएका लघुकथाहरू पनि २५० शब्दमै सीमित गरी लेखिएका छन् ।

भनिरहनु पर्दैन, लघुकथा आफैँमा एक पूर्ण विधा हो । अहिले हतारको समय चलिरहेका कारणले पनि धेरै पाठकहरू लघुकथा पढ्न उत्साहित देखिन्छन् । राम्रा लघुकथामा समय, परिवेश, पात्र र संवाद चुस्त हुन्छ । पटकथा दुरुस्त हुन्छ र कथाको अन्त्यमा रहेको बिजवाक्यले पाठकले आनन्द मान्दै पढेका कुराहरुलाई सिधै उल्टाइदिन्छ । अनि पाठकलाई कथाको समापनले पुरै रन्थन्याइदिन्छ । तसर्थ, पाठकहरू सधैँ राम्रा लघुकथाहरू पढ्न लालायित हुन्छन् । राम्रा लघुकथाले काव्य, आख्यान र नाटकको स्वाद एकैपटक दिन सक्छ ।

लघुकथाककार कृष्ण बजगाईं “संवैधानिक पत्नी’ लघुकथासङ्ग्रहमा सफल लघुकथाकार बनेका छन् । उनीले सङ्ग्रहको सुरुवात “कमरेडको अन्तर्वार्ता’ लघुकथाबाट गरेर “कमरेडको पेट’ लघुकथामा लगेर अन्त्य गरेका छन् । यसर्थ पनि सहजै अनुमान लगाउन सकिन्छ, उनी लघुकथा लेखनमा विशेषत: राजनीतिक विषय बढी रुचाउँछन् । यस सङ्ग्रहमा लगभग पैँतालीस प्रतिशत लघुकथाहरु राजनीति विषयमा केन्द्रित छन् ।

“संवैधानिक पत्नी’ लघुकथामा कृष्ण बजगाईंका कथाहरू राजनीति, महिला, एन.जी.ओ./आई.एन.जी.ओ र स्वैरकल्पनामा बाँधिएका छन् । राजनीतिक कथाहरूले नेतालाई सुध्रिन आग्रह गर्दै नागरिकलाई सचेत गराएको पाइन्छ । महिलाको विषयमा लेखिएका कथाहरूले महिलाको पौराणिक र वर्तमान रूप अनि चरित्र चित्रण गर्न सफल भएको छ । आई.एन.जी.ओ.का विचार, काम र लक्ष्यलाई पनि बजगाईंका लघुकथाहरूले ठाउँ ठाउँमा चढ्कनचिउरा दिन भ्याएका छन् । केही लघुकथाहरूले स्वैरकल्पनालाई कथाको मुख्य गोरेटो बनाएका छन् । स्वैरकल्पनामा उनिएका कथाहरूले पाठकहरूलाई अलौकिक आनन्द प्रदान गर्ने सम्भावना प्रस्ट छ ।

कृष्णका कथाहरूमा हाम्रै भोगाइहरू छन् । पात्रहरू पनि हामी नै छौँ अनि परिवेश हाम्रै छ । तर स्थान हाम्रो वरिपरिको हुँदाहुँदै पनि हाम्रो होइन । कता सुने सुने जस्ता वा कतै पुगे पुगे जस्ता । भाषणपुर, सहिदपुर, बिचित्रपुर र बेबकुफनगर । साँच्चै बजगाईँले स्थान छनोटमा चलाखी गरेका छन् ।

सामान्यतः लघुकथाले विचारलाई तीव्र गतिमा अगाडि बढाउँदै पाठकमा कौतुहलता पैदा गरेर पाठकलाई अन्त्यमा झ्याम्म दनक वा झड्का दिनुपर्छ । लघुकथाले व्यङ्ग्य बोकेको हुन्छ तर लघुकथा आफैँ चुट्किला बनेर पाठक हसाउनु हुँदैन ।

“संवैधानिक पत्नी’मार्फत कृष्ण बजगाईंले लघुकथाहरूमा तीव्र विचार भरेका छन् । वाक्यहरू छोटा र फुर्तिला छन् । संवादहरू चोटिला छन् । थोरै पात्र र आवश्यक मात्र परिवेश छ । व्यङ्ग्यले शिखर चुमेको छ । यसभित्रका लघुकथाहरू “कुकुर क’, “संवैधानिक पत्नी’ वा “चप्पल’ त सामान्य उदाहरण मात्र हुन् । सङ्ग्रहका अधिकांश लघुकथाहरू लघुकथाको मानक सिद्धान्तमा नै लेखिएका छन् ।

लघुकथाकार कृष्ण बजगाईंका केही लघुकथाहरू प्रेम र यौनमा पनि बगेका छन् । तर उनी प्रेम र यौनका कथाकार पटक्कै नभएको कारण उनी यी विषयमा जम्न सकेका छैनन् ।

लघुकथा लेखनमा कृष्ण बजगाईं राजनीति, महिला र स्वैरकल्पनामा नै उत्कृष्ट छन् भन्ने प्रमाण  हो “संवैधानिक पत्नी’ ।  नयाँ पाठकहरूलाई यो लघुकथासङ्ग्रह ‘लघुकथा कसरी लेख्ने ?’ बुझ्नका लागि उपयुक्त हुन सक्छ भने खारिएका पाठकहरूलाई नेपाली लघुकथाको मानक र वर्तमान धार अध्ययन गर्न सहयोग पुग्ने छ ।