
फिनिश साहित्यकार फ्रान्स सिलाइपा १६ सेप्टेम्बर १८८८ मा तत्कालीन रसियाली साम्राज्य अन्तर्गत फिनल्यान्डको हमीनकरोको एउटा किसान परिवारमा जन्मेका थिए । प्रकृति विज्ञानको अध्ययन सकेर सिलाइया सन् १९१३ मा घर फर्केपछि उनको विवाह भयो । त्यसपछि मात्र उनको लेखन प्रारम्भ भएको हो । सन् १९१५ मा पत्र-पत्रिकाहरूमा उनका कथाहरू प्रकाशित हुन थालेका हुन् । सन् १९१६ मा उनको पहिलो चरित्र प्रधान उपन्यास जीवन र सूर्य (Life and Sun) प्रकाशित भएको थियो । यस उपन्यासमा मध्य गृष्ममा एउटा युवक बाहिर कतैबाट घर फर्कन्छ र एउटी युवतीको प्रेममा पर्छ । प्रकृतिले मानिसका कार्यहरूलाई निर्देशित गर्ने हुँदा मानिसहरू प्रकृतिका अङ्ग हुन् भन्ने कुरा देखाउन खोजेको छ । सन् १९१८ को फिनल्यान्डको गृहयुद्धबाट दुखित भएका सिलाइयाले मिक हेरिटेज (Meek Heritage, 1919) नाउँको उपन्यास लेखे । यस उपन्यासमा एउटा झुपडीमा बस्ने सर्वसाधारण कसरी कुनै सैद्धान्तिक आशय नै नबुझी रेड गार्डमा होम्मिन्छ भन्ने कुरा देखाइएको छ । सन् १९२३ मा प्रकाशित लघु उपन्यास हिन्दु जा रागनर (Hiltu ja Ragnar, 1923) एउटा शहरिया युवक र घरमा काम गर्ने एउटी गाउँले युवती बिचको दुखान्त प्रेमकथा हो ।
उनले सन् १९२४ देखि १९२७ सम्म पोर्भूको एउटा प्रकाशन कम्पनीमा काम गरे । १९२० को दशकमा उनका विभिन्न कथा सङ्ग्रह प्रकाशित भए। सन् १९३० को दशकदेखि उनको सिर्जनात्मक क्षमता देखिन थालेको हो । त्यसै अवधिमा उनले आफ्ना उत्कृष्ट रचना सिर्जना गरेका थिए। सन् १९३१ मा उनको प्रसिद्ध कृति कुमारी सिलजा (The Maid Silje) प्रकाशित भयो। यसमा एउटा बूढो किसान परिवारको कथा छ । सन् १९३२ मा उनको अर्को उपन्यास मानिसको बाटो (Way of Man) प्रकाशित भयो। यसमा एउटा किसानको युवा अवस्थादेखि वयस्क हुँदासम्मको जीवनको चित्रण छ । गृष्मकालीन रातमा मानिस (People in the Summer Night, 1934) शैलीगत रूपमा उनको अर्को उत्कृष्ट र कवितात्मक उपन्यास हो । कथन र वर्णन गर्नु (Telling and Describing, 1953) र दिनको महत्त्वपूर्ण क्षण (The High Moment of the Day, 1956) उनका संस्मरणात्मक कृति हुन् । उनले निबन्ध पनि लेखेका छन् । सन् १९३९ मा नोबेल पुरस्कार प्राप्त गर्ने उनी फिनल्यान्डका पहिला साहित्यकार थिए ।
३ जुन १९६४ मा फिनल्यान्डको हेल्सिङ्कीमा उनको देहान्त भएको थियो ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

