कलाकार उमेश श्रेष्ठ एकल चित्रकला प्रदर्शनी लिएर बबरमहलस्थित सिद्धार्थ आर्ट ग्यालरीमा देखिएका छन्। ५४ थान कलाकृतिहरूका साथ देखापरेका श्रेष्ठको यो कलाप्रदर्शनी विभिन्न दृष्टिकोणबाट ऐतिहासिक बनेको छ।

पहिलो, यो उनको कलाजीवनकै प्रथम एकल चित्रकला प्रदर्शनी हो। कलामा तीन दशकभन्दा बढी बिताएका, विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका कलाका सामूहिक प्रदर्शनीमा भाग लिनुका साथै विभिन्न मानसम्मान प्राप्त गरेका कलाकार भइकन पनि अहिलेसम्म उनको एकल कला प्रदर्शनी हुन सकेको थिएन या भनूँ विविध कारणले उनले एकल प्रदर्शनी गर्ने आँट गरेका थिएनन्।

त्यसो त एकल कला प्रदर्शनीका लागि समय र सिल्सिलेवार कलाकृति निर्माण गर्न निकै चुनौतीपूर्ण हुन्छ । चित्रकला क्षेत्रमा तीन दशकभन्दा बढी समय बिताएका श्रेष्ठले यसपटक भने हिम्मत जुटाएका छन्। यसका लागि निकै ठूलो मिहिनेत गरेका श्रेष्ठले सुरुमा दर्शकबाट कस्ता प्रतिक्रिया आउला भनेर चिन्तित थिए तर प्रदर्शनीको मध्य भागतिर आउँदै गर्दा उनमा एक प्रकारको उत्साह र मनोबल निकै ऊँचो भएको छ। धैरैजसो दर्शकहरूको सकारात्मक प्रतिक्रियाबाट उनी निकै हौसिएका छन् ।

दोस्रो, यस प्रदर्शनीमा उमेशले विभिन्न काल खण्डमा सृजना गरेका चित्रहरू पनि समावेश गरेका छन्। कलेज पढ्दाताका बनाएका दृश्य चित्रदेखि पछिल्लो समयमा निर्माण गरेका बेजोड कलाकृतिहरू यस प्रदर्शनीमा अद्योपान्त हेर्न र देख्न सकिन्छ।

उनले सुरुदेखि गरेको संघर्ष, कलाको विभिन्न चरण एवं शैली र विषयवस्तु चयनमा देखिएको उतारचढाव कसरी भएको रहेछ भन्ने जानकारी लिन यो प्रदर्शनी हेरे पुग्छ। यस अर्थमा यो प्रदर्शनी उनको हालसम्मको कला दस्तावेजीकरण पनि हो ।

यद्यपि चित्रकारिताको तीन दशकमै त्यसमा पनि पहिलो चित्रकला प्रदर्शनी गर्दैगर्दा प्रदर्शनीलाई भलै उनले “रेट्रोस्पेक्टिभ” नभने पनि यो अन्ततः रेट्रोस्पेक्टिभ कला प्रदर्शनी हुन पुगेको छ। खासमा रेट्रोस्पेक्टिभ प्रदर्शनी एउटा कलाकारले आफ्नो जीवनकालमा उच्चतम उपलब्धि हासिल गरेपछि शुरुदेखि जीवनको अन्तिम कलाखण्डसम्म बनेका कलाको सँगालो हो। यस अर्थमा पहिलो एकल प्रदर्शनीमै कलायात्राको समष्टिगत परिचय दिनु सान्दर्भिक देखिँदैन । यद्यपि यसो भन्दै गर्दा उमेशको आफ्नै प्रकारको तर्क छ । “चाहे अरुले जे भनून्, मैले मेरा कलाका पारखी र नवआगन्तुक कलाकारलाई मेरो कलाको शुरुवाती दिनको अनुभव र मैले गरेको कठिन संघर्षको फेहरिस्त सुनाउन पाउनु पर्छ ।”

कलाकार श्रेष्ठले यस एकल प्रदर्शनीलाई वास्तविक कलाकारिताको खास सुरुवाती चरण मानेका छन् । उनकै शब्दमा भन्ने हो भने, “अब नयाँ ढोका खुल्यो ।”

आउँदा दिनहरुमा धेरै कुरा गर्न बाँकी रहेको उनले सुनाए।

सर्सर्ती हेर्दा प्रदर्शनीमा राखिएका ५४ वटा चित्रहरूलाई दुई भागमा विभाजन गर्न सकिन्छ ।

पहिलो, वस्तुवादी आकृतिमूलक कलाकृतिहरूजस्तै दृश्य चित्र, मुहारचित्र र थोरै संस्कृतिप्रधान चित्रहरू जुन उनले कलाका प्रारम्भिक दिनहरूमा बनाएका थिए। यस्ताखाले चित्रहरूले कलाको मार्गचित्र तय गर्ने र कलाको भाग्य सुनिश्चित गर्ने काम गरेका छन्।

दोसो चाहिँ घण्टीलाई मूल माध्यम मानेर समसामयिक विषयलाई उत्खनन गर्ने गरेका छन् । उनको चित्रमा चारैतिर देखिने घण्टीहरू स्पिरिचुवालिटी अर्थात् आध्यात्मिकताका प्रतीक हुन्, जुन पछिल्लो समय आधुनिकताको अधिक अतिक्रमणमा परेका छन्।

घण्टीका माध्यमद्वारा समसामयिक चेतलाई कलाकारले कसरी वर्णन गरेका छन्, केही उदाहरण चित्रहरूलाई हेरौँः

जस्तो प्रदर्शनी हलको भुइँतल्लामा “बिट्विन पावर एन्ड टेक्नोलोजी” नामक एउटा बडेमानको चित्र छ, जहाँ एउटा विशाल घण्टीको आकृति कुँदिएको छ र छेउमै मेसिनरी उपकरणमा प्रयोग गरिने चिप्स देखिन्छ । यसलाई झट्ट हेर्दा आम मानिसलाई एउटा सामान्य कलाकृति लाग्न सक्छ तर गहिरिएर अध्यन गर्दा यसले दुई परस्पर तर भिन्न चिन्तन र दर्शनलाई विम्बित गरेको छ। मसिनरी उपकरण चिप्सले प्रविधिको विकाससँगै यसको बढ्दो दुरुपयोगलाई संकेत गरेको छ भने घण्टीले प्रतीकात्मक रुपमा आध्यात्मिकतालाई प्रस्तुत गरेको छ। आधुनिक समयमा प्रविधिको अधिक प्रयोगले आध्यात्मिकता खतरामा परेको यस्ले देखाउँछ । यद्यपि आधुनिकता र आध्यात्मिकताको द्वन्द्वबीच अन्ततः धार्मिकताले बाजी मार्नेमा उनी केही आशावादी देखिन्छन् । चित्रमा प्रयोग गरिएको सेतो टीका र हरियो मिश्रित नीलो रङले सकारात्मक मनोभावलाई संकेत गरेको छ ।

त्यस्तैगरी पहिलो तल्लाको हलमा राखिएको एउटा कृति छ, त्यसमा पनि बडेमानको घण्टी देखिन्छ र घण्टीको वरिपरि काला र सेता धर्साहरू वारपार दौडिरहेका छन् तर ती धर्साहरू बीचमा खण्डित देखिन्छ, यसले आम मानिसका विचारहरू र शान्तिको चाहना खण्डित भइरहेको देखाउँछ।

यसैगरी उनको अर्को एउटा समय सान्दर्भिक चित्र छ, जसमा माओवादीकालीन द्वन्द्व, त्यसले जनजीवनमा परेको असर र एउटी छापामार लडाकुको मनोदशा चित्रण गरिएको छ ।

यस चित्रमा फ्रान्सेली क्रान्ति सेरोफेरोमा बनाइएको पुरानो चित्र, शान्त मुद्रामा बन्दुक बोकेर टुक्रुक्क बसेकी छापामार योद्धा र थोरै जलेको काठको खोपाभित्र सुन्दर घण्टीको आकृति देखिन्छ। यस चित्रले युद्धको विविध पक्षलाई उजागर त गर्छ नै त्यसभन्दा बढी युद्धले निम्त्याउने असह्य पीडा र युद्धपछिको अनिश्चित भविष्यको निर्मम समीक्षा गरेको छ।

यसका अलावा अन्य कलाकृतिहरू शक्ति, शान्ति र आध्यामिकताको वरिपरि घुमेका छन् । अघिकांश एक्रेलिक माध्ययमा बनाइएका ती चित्रहरू एकसेएक शक्तिशाली बनाउन कलाकारले अहिलेसम्मकै अनुभव र कुशलता प्रयोग गरेका छन् ।

समग्रमा प्रदर्शित कृतिहरू राम्रा र हेर्न लायकका बनेका छन्। रङ र आकृतिको संयोजन पनि राम्रा नै छन्। प्रदर्शनीको सबैभन्दा सबलपक्ष भने कलाप्रदर्शनीको नामकरण र सोही अनुसारको काममा एकरुपता देखिन्छ। यद्यपि कलाकृतिको शीर्षक
अत्यन्त्यै क्लिष्ट लाग्छन्। त्यसैगरी हरेक कृतिमा क्राफ्टेट घण्टीको अधिक प्रयोगले दर्शकलाई मनोटोनस अनुभूति गराउँछ। आउँदा दिनमा कलाकारले भनेजस्तो “नयाँ ढोका खुलेको” सन्दर्भमा प्रगतिको शुभकामना ।