यस वर्ष बार्बीजस्तो हिट फिल्म बनाएको वार्नर ब्रदर्स डिस्कभरी कम्पनीले हलिउडमा लगानी थप्नुको साटो बेलायतमा स्टुडियो खोल्ने निर्णय गरेको छ । बेलायतमा पछिल्लो समय स्टुडियो खोल्ने अन्य कम्पनीहरूसँगै यसले पनि आफूलाई उभ्याएको छ । हलिउडका सबैजसो ठूला स्टुडियोका लन्डनमा स्टुडियो सञ्चालित छन् । हलिउडमा पछिल्लो समय लेखक तथा कलाकारहरूले हडताल गरेपछि उत्पन्न कटुतापूर्ण अवस्थाले हलिउड छाड्दै अन्यत्र लगानी गर्न थालेको यो पछिल्लो उदाहरण बन्न पुगेको छ ।
कम्पनीले जनाएअनुसार तीन वर्षका लागि यसले ६०० मिलियन डलर खर्च गर्ने छ । यसले चार हजार प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारी सिर्जना गर्ने दाबी कम्पनीको छ । यो लगानी अघिल्लो वर्षको तुलनामा ५० प्रतिशतले बढी हो ।
यो लगानी थप्नुको कारण भने आउँदा वर्षका लागि डिसी कमिक्ससँगको सहकार्यमा निर्माण गरिने फिल्महरू सुपरम्यान, ब्याटम्यान र वन्डर वुमन चाँडै निर्माण गर्न सकियोस् भन्ने रहेको कम्पनीले जनाएको छ ।
कम्पनीले यसअघि बेलायतमै ह्यारी पोटर र हाउस अफ ड्रागनजस्ता फिल्म खिचेको थियो । आउँदो गर्मीयामबाट सुटिङ गर्नका लागि १९ देखि २९ वटा सुविधाजनक स्टुडियो थपिने छन् । यसका लागि आवश्यक जग्गा उपलब्ध गराउन थ्रि रिभर्स जिल्ला काउन्सिल र वाटफर्ड बोरो काउन्सिलले स्वीकृति दिइसकेको जनाइएको छ ।
यसअघि यस कम्पनीले निर्माण गरेको बार्बीले १.३८ खर्ब डलर विश्वव्यापी रूपमा कमाइ गरेको थियो । १४५ मिलियन डलरमा निर्माण गरिएकत्र सो फिल्म बेलायतमा सुटिङ गरिएको थियो । वार्नरको स्टुडियो हर्टफोर्डसायरस्थित लिभ्सडेनमा छ ।
ब्रिटिस फिल्म इन्स्टिच्युट (बिएफआई)का अनुसार हलिउडले बेलायती स्टुडियोमा गरेको लगानी गत वर्ष चुलिएर ६ खर्ब २७ अर्ब पाउन्ड पुगेको जनाएको छ ।
त्यसो त हलिउडका कलाकार तथा लेखकहरूको हडतालका कारण आउनुपर्ने जति लगानी नआएपछि हडताल सकिएपछि अझ आकर्षक थलोका रूपमा बेलायती स्टुडियोहरू परिचित हुनेमा बिएफआईको विश्वास छ ।
पछिल्लो समय लन्डनमा स्टुडियोका लागि जग्गा भाडामा लिने आकांक्षीहरूको संख्या बढेको वेस्ट लन्डन फिल्म स्टुडियोजका फ्राङ्क खालिद बताउँछन् ।
हिथ्रो विमानस्थल नजिकै भएकाले पनि हलिउडका स्टुडियोहरूका लागि यो ठाउँ आकर्षक स्थल बन्न पुगेको उनी बताउँछन् ।
१५ वर्षअघि जग्गा भाडामा लिएका खालिदले स्टुडियो चलाउन नसकेर बिहे भोजका लागि उपयोग गरिरहेका थिए । अहिले भोजभन्दा फिल्महरूको सुटिङ बढीजसो हुने गरेको छ । यस्तो परिवर्तन पछिल्लो समय सरकारले कर मिनाहाको नीतिका कारण रहेको बताइएको छ ।
३० मञ्च अर्थात् एक साथ ३० वटा फिल्म सुटिङ गर्न मिल्ने सुविधाजनक स्टुडियो भएको पाइनउड स्टुडियोले अहिले २१ वटा नयाँ थपेको छ । यी सबैको लगानी ८०० मिलियन पाउन्ड रहेको छ । वार्नर ब्रदर्सले ११ नयाँ मञ्च थप्दैछ ।
तर पछिल्लो समय थपिएका सुविधाजनक स्टुडियोका लागि पर्याप्त पोख्त कामदारको अभावसमेत चुलिएको छ । यतिबेला स्टुडियोलाई लेखापाल, बगैंचे, इलेक्ट्रिसियन, कार्पेन्टर लगायतका कामदारको अभाव रहेको बताइन्छ । यो क्षेत्रलाई अहिले २० हजार कर्मचारी चाहिने र २०२५ सम्म यो कायम रहने बताइएको छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।