
बङ्गलादेशमा चिकित्साशास्त्र अध्ययन गरिरहेका युवा लेखक भेषराज बुढाथोकी फेसबुकमा केही न केही लेखिरहका भेटिन्छन् । अहिले उनको हरेक जसो फेसबुक पोस्टमा एउटा शब्द झुण्डिएर आउँछ, ‘छुटेपछि’ । ‘छुटेपछि’ बुढाथोकीको पहिलो श्रव्य–पुस्तक हो । यस श्रव्य–पुस्तकमा उनले कथा र संस्मरणहरु सङ्ग्रहित छन् ।
प्रस्तुत छ – बाजुराका युवा लेखक, निकट भविष्यका चिकित्यक भेषराजसँग उनको पहिलो श्रव्य–पुस्तक ‘छुटेपछि’को सेरोफेरोमा रहेको साहित्यपोस्टका लागि कृष्ण ढुङ्गेलले गरेको संवादको सम्पादित अंश:
===
भेषराजजी, ‘छुटेपछि’ के के हुँदो रहेछ ?
छुटेपछि निकै चिज हुन्छ । जस्तो दिनबाट घाम छुट्यो भने रात हुन्छ । स्याउको रूखबाट स्याउको दाना ‘छुटेपछि’ न्युटन जन्मिन्छन् । रातबाट अँधेरो ‘छुटेपछि’ बिहान हुन्छ । जीवनबाट प्रेमिका छुटेपछि ‘आधा-जीवन’ हुन्छ । आँखाबाट आँसु छुटेपछि वातावरण शून्यतामा परिणत हुन्छ ।
अनि के के नहुँदो रहेछ ?
‘छुटेपछि’ नहुने चिजहरू पनि छन् । जस्तो जल्दोबल्दो खाइलाग्दो, सुमधुर लभ छुटेपछि ‘बिहे’ हुँदैन । स्टेसनबाट रेल छुटेपछि यात्रा हुँदैन । परीक्षाको उत्तर पुस्तिकामा धेरै उत्तर लेख्न छुटेपछि पास भइँदैन । अफिसको हाजिरी पुस्तिमा हाजिर गर्न छुटेपछि ‘उपस्थित’ भएको रेकर्ड हुँदैन।
अहिलेचाहिँ मेरो हातबाट ‘छुटेपछि’ अडियो बुक छुटेपछि मलाई हाइसञ्चो भा’छ ।
यस श्रव्य पुस्तकमा केही कथा र केही संस्मरणहरू छन् भन्नुभएको छ । कथा र संस्मरणका बेग्लाबेग्लै पुस्तकहरू प्रकाशन गर्न सकिन्थ्यो होला । किन खिचडी बनाउनु भयो ?
– तपाईँले भनेजस्तै यसभित्र केही कथा र केही संस्मरणहरू छन् । यो मुलत: अडियो बुक भएकोले त्यसो गरिएको हो । प्रिन्टेड् पुस्तक हुन्थ्यो भने कि ‘कथासङ्ग्रह’ हुन्थ्यो कि त ‘संस्मरणसङ्ग्रह’ हुन्थ्यो वा अरू केही हुन्थ्यो ।
अनि अर्को कुरा, ‘खिचडी’ भयो भन्नुभो । खिचडी हुनु त राम्रो हो नि । फुड भ्यालु वा पौष्टिक तत्त्वको दृष्टिकोणबाट हेर्दा ‘खिचडी’ त बहुत महत्त्वपूर्ण खाद्य सामाग्री हो । अडियोमा एकै प्रकृतिको श्रव्य चिज (कथामात्रै वा संस्मरणमात्रै) हुँदा पाठकलाई ‘मोनोटोनस्’ नहोस् भनेर पनि यसो गरिएको हो । एउटै थालमा फरक फरक चिजको स्वाद पाठकले चाखुन् भनेर यहाँनिर म ‘बाठो’ पल्टिएको भनौँ न, एक हिसाबले ।
प्रकाशित लेखकमा दरिन हतारिनु भएको हो ?
अँ, तपाईँले भने जस्तो प्रकाशित लेखक हुनबाट म हतारिएको चाहिँ हुन सक्छु । यहाँ सब चिज हतारमा छन् ढुङ्गेल सर । कता पढेँ थिएँ, ‘यहाँ मृत्यु पनि हतारमा छ’ । यस्तो हतारोबाट म पनि कहाँ अछुतो रहन सक्थेँ र ?
‘छुटेपछि’ पढ्न पाइएन, सुन्नु पर्ने भयो । प्रकाशन गृहबाट पार नलागेको हो वा पछिल्लोपटक नेपाली साहित्यमा भइरहेको प्रयोगलाई आत्मसात गर्नुभएको हो ?
– मैले एक दुई जना प्रकाशकसँग भर्चुअल संवाद त गरेँ तर सोचे जस्तो रेसपोन्स पाइएन । गरौँला नि, सौचौँला नि, भइहाल्छ नि टाइपको प्रतिक्रिया आए । त्यताबाट थप बल गरिनँ । बाध्यता पनि छैन । त्यो गर्ने चिज पनि हैन । म बाध्यताको जञ्जिरभन्दा रहरको चङ्गा मन पराउने मान्छे ।
अनि पछिल्लो समय नेपाली साहित्यमा भइरहेको नयाँ प्रयोगलाई आत्मसात गरिएको चाहिँ पक्का हो । मभन्दा अगाडि कवि दोस्ताज र आर्यशले ‘अडियो बुक र इ-बुक’ ल्याए । त्यो मामिलामा म ‘क्याटालिष्ट’ भैदिएको हुँ। यो त्यसकै शृङ्खला हो वा सिलसिलेवार हो भनेर बुझम् न । यसो गरिहेरम् न भनेर लागियो, राम्रै भा’छ । यो साहित्यमा पृथक् चिज भएकाले पनि प्रेम आउने, प्रेम बाँडिने र प्रेम पाउने क्रम जारी छ । यो जारी रहोस् र रहनुपर्छ पनि । प्रेमले नै तानेर त हामी यो संवाद गरिरहेछौँ, हैन र ?
अडियो बुकका लागि पनि राम्रै मिहिनेत गर्नुभएको देखिन्छ । कति जति खर्च आयो ? खर्च त प्री–बुकिङबाटै उठाइसक्नुभयो होला हैन ?
हो नि, राम्रै मेहनेत गरिएको छ । सक्दो उत्कृष्ट बनाउने प्रयास हामीले गरेका छौँ । यो हाम्रो इमानदार प्रयास हो । मलाई वाचनमा अञ्जु राईले मीठो साथ दिएकी छिन्। उहाँले पाठलाई न्याय गरेर श्रव्य बनाएकी छिन् । आवरण र अन्य प्राविधिक कुरामा विष्णु विरही श्रेष्ठको योगदान छ । ‘आँखा झिम्क्याउनु’ जस्तो सरल र सहज काममा त हाम्रो शक्ति खर्च हुन्छ भने यो त बुकलाई अडियो बनाएर बजारमा ल्याउने कुरा हो । अवश्य खर्च हुने नै भयो ।
तपाईँले आवाजका बादशाह अच्युत घिमिरे बुलबुलको एउटा स्टाटस पढ्नुभो कि भएन कुन्नि ! उहाँले लेख्नुभएको थियो – “पढ्ने पुस्तक र श्रव्य पुस्तक तयार गर्दा लाग्ने आर्थिक खर्चका आधारमा श्रव्य पुस्तक झण्डै दुई गुणा महङ्गो पर्न जान्छ !”
त्यसैले खर्च भयो । हो खर्च भए जति मेरो प्रि-बुकिङबाट उठ्यो । राम्रै भएको छ । आसा गरौँ, थप राम्रो हुनेछ । त्यसो होस् पनि ।
लेखक भइसकेपछि उसको पहिलो काम सिर्जना गर्नु हो, जुन तपाईँले गरेर नै ‘छुटेपछि’ अडियो बुकमा आयो । तर नि, एउटा लेखक आफैँ प्रकाशक तथा वितरक पनि बन्नुलाई कसरी बुझ्ने ?
– मैले त धेरैलाई भनेको पनि छु, फेसबुकमा लेखेको पनि छु – ‘छुटेपछि’ अडियो बुक किनेर सुन्नुहोस् । तपाईँहरूलाई कहीँ कतै ‘ह्या, बेक्कारमा पैसा खेर गयो’ जस्तो लागेछ भने मलाई भन्नुहोला । म इमानदारसाथ पैसा फिर्ता गर्नेछु भनेर बकाइदा लेखेको छु । त्यो गर्छु पनि । त्यसो किन भनेँ त भन्दा, म आफूमाथि विश्वास गर्छु । म मेरो लेखनीमाथि विश्वास गर्छु । उड्ने चरीले हाँगोमा हैन, आफ्नो पखेँटामा विश्वास गर्छे; त्यस्तै ।
अँ, आफैँ प्रकाशक आफैँ वितरक बन्न अलिक गाह्रोचाहिँ हुँदो रहेछ । त्यो जानियो, सिकियो, भोगियो पनि। अर्को हजुरले भन्न खोज्नुभएको कुरा ‘यसरी आफैँ वितरक आफैँ प्रकाशक’ हुँदा प्रकाशन गृह वा प्रकाशकहरूको औचित्य के होला ?’ भन्ने छ, यो त यस्तो छ – अचेल जता पनि साहित्यिक कार्यक्रम हुँदा तपाईंले हेर्नुभो भने, स्टेजमा पुराना अनुहार नै बढी देखिन्छन् । जुनसुकै प्रकाशन गृहबाट पुस्तक निस्कँदा त्यहाँ पनि युवा वा नयाँ लेखक प्राय: हुँदैनन् । चलेका प्रकाशन गृह र तीनका प्रकाशक, सबै पुराना वा चलेका लेखकसँग मात्रै अङ्गालो मार्छन् । यो त कटु सत्य हो । हाम्रो यो ‘डिजिटल सेग्मेन्ट’वाला जुन विद्रोह वा अभियान छ, त्यो त्यसैका विरूद्ध हो ।
मेरो वा हाम्रो विद्रोह राम्रो लेख्ने वा राम्रो लेख्न सक्नेलाई किन अगाडि नल्याउने भन्ने लाइनमा हो । प्रकाशन गृह र प्रकाशक यो लाइनमा उभिइदिए नेपाली साहित्य थप केही पाइला अगाडि हिँड्थ्यो कि ! जम्माजम्मी भन्नुपर्ने कुरा यत्ति हो ।
यो श्रव्य पुस्तक सुनिएन भने के हुन्छ ?
– यो श्रव्य पुस्तक सुनिएन भने तपाईँले धेरै कुरा छुटाउनु हुनेछ । गाउँका कुरा, पानीघट्टका कुरा, गाउँको एक साधारण सरकारी मास्टरको परिवारका सपना, समसामयिक समाजले बाँचेका र भोगेका जीवनहरू यो अडियो बुकमा छन् ।
अनि सुनियो भने ?
यो श्रव्य सामाग्री सुनियो भने धेरथोर गाउँ बाँचेको आभास पक्का हुन्छ । धेरथोर गाउँका उकालीओराली मानसपटलमा क्यामेराको रिल जस्तो शृङ्खलाबद्ध रूपमा पक्का आउनेछन् । गरिबले बाँचेको जिन्दगी देखाइदिने ऐना पनि यतै कतै भेटाउनु हुनेछ । यीचाहिँ मेरा विश्वास हुन् है । कहिलेकाहीँ आफ्नो विश्वासले आफैँलाई लोप्पा ख्वाउँछ । कामना गरौँ – त्यसो नहोस् ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।


र यो पनि पढ्नुहोस्...

कला-साहित्यलाई दिग्गजकै दृष्टिबाट मात्रै हेरिनुपर्छ भन्ने छैन – अमनप्रताप अधिकारी

साहित्यकारको विदेश भ्रमण पाठकलाई सिर्जनात्मक उपहार सङ्कलन गर्ने अवसर हो – गोवर्द्धन पूजा
