ग्राण्ड महफिल, सिजन – २ को दसौँ शृङ्खला असोज ६ गते शनिबार हुने भएको छ । गजलका शेरका पारखीहरू लाइभ गजल सुन्नका लागि ठिक २ बजे कालिकास्थानस्थित सर्वनाम थिएटर पुग्नु पर्नेछ जहाँ गजलकारत्रय गणेश बाबु अधिकारी, अर्पणा आपागाईँ अनुराग र गोल्डेन उद्भासले आफ्ना शेरहरू स्रोतालाई सुम्पिने छन् ।

गजलकार तथा गजल अभियन्ता बाबु त्रिपाठीको प्रस्तुति रहने कार्यक्रममा जया ओझाको नवीनतम पुस्तक रूमानीमाथि चर्चासमेत गरिनेछ । महफिलको प्रत्यक्ष स्रोता हुनका लागि १५० रूपियाँको टिकट लिनुपर्नेछ ।

गजल त हामी सर्वनामै पुगेर सुनिहाल्छौँ । साहित्यपोस्टले महफिलमा शेरहरू बोकेर आउने तीन गजलकारसँग छोटो संवाद गरेको छ । प्रस्तुत छ, गजलकारत्रय गणेश बाबु अधिकारी, अर्पणा आपागाईँ अनुराग र गोल्डेन उद्भाससँग गरिएको संवादको सम्पादित अंश;

 

===

ग्राण्ड महफिलमा गजलकारका रुपमा उभिन पाउनु हरेक गजलकारको सपना हुन्छ । तपाईंले चाहिँ यसलाई कसरी हेर्नुभएको छ ?

गणेश बाबु अधिकारी : महफिलमा मलाई यो अवसर दिनुभएकोमा बाबु त्रिपाठी दाइप्रति नतमस्तक छु । कुनै पनि गजलकारको एउटा सपना हो महफिल । जब मैले गजलको काफिया, रदिफ र शेर चिन्न थालेँ तब सपना बुनेको थिएँ – महफिलमा उभिने । एकदिन त्यो सर्वनाम थिएटरको प्राङ्गणमा आफूलाई उभ्याउन पाए अन्तिम विन्दु नै त्यही हो भन्ने लागेको थियो । आज त्यही ठाउँमा छु, खुसी छु ।

अर्पणा आपागाईँ अनुराग : ग्राण्ड महफिलसम्म पुग्नु गजल लेख्नेहरू हरेकको सपना हो । यहाँसम्म पुग्नु मेरो पनि सपना थियो तर यति छिटै पुग्न सक्छु भन्नेचाहिँ थिएन । लेखन यात्राको छोटो समयमै ग्राण्ड महफिलसम्म पुग्नुमा सम्पूर्ण अग्रज स्रष्टा, मलाई गजल लेख्न निरन्तर प्रेरित गरिरहने व्यक्तित्वहरू, मैले पहिलोपटक देखेको साहित्यिक कार्यक्रम महफिल र महफिलमा गजल सुनाउनका लागि आइपुग्नुभएका सम्पूर्ण स्रष्टाहरूको महत्त्वपूर्ण हात छ । महफिललाई मैले पाएको सुनौलो अवसरको रूपमा लिएको छु । ग्राण्ड महफिलमा सँगै गजल सुनाउनका लागि दुवै जना मभन्दा निकै अग्रज दाजुहरू हुनुहुन्छ । यो मेरो लागि अर्को सुनौलो अवसर हो ।

गोल्डेन उद्भास : पक्कै पनि । एक गजल साधक भएको नाताले ग्राण्ड महफिलमा उभिन पाउनु मेरो लागि अवसर हो । यो अवसरका लागि बाबु त्रिपाठीलगायत सबैप्रति आभारी छु । गजलको उन्नयन र नया सर्जकको परिचय स्थापित गर्नमा महफिल राम्रो मञ्च बनेको रहेछ । म त एकदम खुसी छु ।

नेपालको परिप्रेक्ष्यमा, तपाईंले बुझेको गजल के हो ? व्यक्तिगत रुपमा, तपाईं किन गजल नै लेख्नुहुन्छ ?

गणेश बाबु अधिकारी : अहिलेको परिवेशमा साहित्यअन्तर्गत पनि साहित्य पारखीहरूले छोटो विधालाई अलि महत्त्व दिएको, मन पराएको पाइन्छ । त्यसमध्ये पनि गजल एक महत्त्वपूर्ण विधा हो । मेरो बुझाइमा गजल सरल, सहज सबैले प्रष्ट बुझ्न सक्ने पाँच शेरको एउटा सिङ्गो काव्य हो । हरेक शेरमा एउटा जीवन पोख्न सकिन्छ । साहित्यमा त्यति रुचि नभएका पाठकलाई पनि गजलले सहजै आकर्षण गर्न सक्छ । त्यही कारण म पनि गजलमै लोभिएँ ।

अर्पणा आपागाईँ अनुराग : मेरो विचारमा सामान्यः गजल भनेको जीवन र जगत्का अनुभूतिहरूलाई मतला, शेर, काफिया, रदिफ आदिको संरचनामा लेखिने कलात्मक काव्यिक विधा हो । ठ्याक्कै यही कारणले मैले गजल नै लेखेँ भन्ने त छैन तर अग्रजहरूलाई पढ्दै गर्दा, सुन्दै गर्दा, महफिलजस्ता कार्यक्रमहरू हेर्दै गर्दा आफूलाई पनि यस्तै लेखौँ न त भन्ने हिसाबले लेख्न थालेँ । विद्यालयमा पढ्दादेखि नै मैले गजलकारको विद्यार्थी भएर पढ्न पाएँ । स्कुल सकेर कलेज आइपुग्दा दुईवटा गजलकृति प्रकाशित गराइसक्नुभएको स्रष्टासँग एउटै कक्षामा बसेर पढ्न पाएँ । त्यहाँबाट केही प्रेरणा लिन पाएँ। आजभन्दा तीन/चार वर्षअघि महफिलमा गजल सुनिसकेपछि मैले पनि लेख्न सक्छु जस्तो लाग्यो र लेख्न सुरु गरेँ । मैले गजल लेख्नुमा म हुर्किएको परिवेश, गजल लेख्ने साथीहरूको सङ्गत र महफिलजस्ता कार्यक्रमहरूको भूमिकालाई नजरअन्दाज गर्न सकिँदैन ।

गोल्डेन उद्भास : अहिलेको परिप्रेक्ष्यमा गजल पनि साहित्यको अरू विधा जत्तिकै सशक्त विधा हो । गजल पनि कविता नै हो । गजलकारहरू गजल कवि हुन् । अचेल धेरै जनाको साहित्यको सुरुवात नै गजलबाट हुने गर्छ । वास्तवमा साहित्यानुरागीहरूको पहिलो प्रेम हो – गजल ।

गजल नै किन लेख्नुहुन्छ भन्ने सवालको जवाफ छोटो छ – मलाई गजल मनपर्छ । गजल लेख्न, पढ्न, सुन्न मनपर्छ । गजल कविहरू मन पर्छन् । महफिल मन पर्छ । त्यसैले गजल लेख्छु । अभिव्यक्तिको माध्यम गजल रोज्नुका धेरै कारण छन् । थोरै शब्दमा धेरै कुरा भन्न सकिन्छ, जस्तो कि बिन्दुमा सिन्धु । लामो कविता पढेर एकचोटि आउने आनन्द राम्रो गजलको हरेक शेरमा अनुभव गर्न सकिन्छ । यस्तै यस्तै कारणले हो सायद मैले गजलद्वारै साहित्य साधन गर्दै छु ।

नेपाली साहित्यको परिप्रेक्ष्यमा गजल विधा विवादमा रहँदै आएको छ । तपाईंको विचारमा यो किन भइरहेको छ ? सामधान के हुन सक्ला ?

गणेश बाबु अधिकारी : जुनसुकै क्षेत्रमा पनि कहीँ न कहीँ विवाद भइराखेका हुन्छन् । गजलभित्र पनि गजल पारखीहरू २ ध्रुवमा बाँडिएको पाइन्छ । गजलमा विवाद नहुन पर्थ्यो तर विवादित बनाइयो । एकअर्काले आफ्नोभन्दा अरूको अस्तित्व स्वीकार गर्न नसक्नु यसको मुख्य कारण हो । गजल आगन्तुक विधा भएको हुँदा यसलाई जस्ताको त्यस्तै राख्ने या केही परिमार्जन गर्दै लाने भन्ने कुरामा नै अड्केको छ । जसले जस्तो लेखेको छ, लेखाइलाई ध्यान दिँदै एकअर्काको अस्तित्वलाई स्वीकार गर्दै सहकार्य गर्न सक्यो भने पक्कै यो विवाद टुङ्गिनेछ ।

अर्पणा आपागाईँ अनुराग : बहस, चासो, चिन्ता र वादविवादले गजललाई विस्तारित गरिरहेको छ जस्तो लाग्छ । कुनै समयमा गजललाई साहित्यको विधा नमान्ने सन्दर्भमा आज गजल बहसको विषय बन्नु सकारात्मक पक्ष हो । नेपाली साहित्यको इतिहासलाई हेर्ने हो भने एक समय कविता पनि यस्तै विवादित थियो । मुक्त छन्दमा लेखिएका कविताहरूलाई कविता नै मानिँदैनथ्यो । जहाँ छन्द हुन्छ त्यहाँ मात्र कविता हुन्छ भन्ने मान्यतालाई तोडेर हाल स्वतन्त्र छन्दका कविताहरूले नेपाली साहित्यमा दर्बिलो खम्बा गाडिसकेको छ । छन्द कविताको पनि आफ्नो छुट्टै स्थान त छ तर स्वतन्त्र कविता झन् शक्तिशाली भएर आएका छन् । आज दुवै कविताको स्थान कसको घटी र कसको बढी, तुलना गर्न नसकिने स्थिति आएको सन्दर्भमा नेपाली गजल क्षेत्रमा पनि यस्तै नहोला भन्न सकिँदैन ।

बहर र गैरबहर गजल लेख्नेहरूले एकअर्काको अस्तित्व बोध गर्न र स्वीकार गर्न नसक्नु आज गजललाई विवादित बनाउने प्रमुख कारण हो । समय र परिवेशको मागलाई बुझेर एकअर्काको अस्तित्व स्वीकार गरी अघि बढ्ने हो भने यो विवाद नै आउँदैन । गजलमा विवाद भित्र्याउने र मेरै गोरुको बाह्रै टक्का गर्ने साथीहरूलाई गजल लेख्ने र सुन्ने कुरा हो यसमा जुन गतिमा विवाद ल्याउनु हुन्छ त्यै गतिमा लेख्ने र सुन्ने बानीको विकास गरौँ भन्न चाहन्छु।

गोल्डेन उद्भास : विवाद राम्रो गजल लेखिएन भन्ने नै हो । उर्दु, हिन्दीको तुलनामा नेपाली गजलहरू कमजोर भए भन्ने कुरा नै हो । तर अब नेपाली गजल पनि कम छैन । अब विवाद गर्नेहरू महफिलमा आउन । समालोचना सुन्नका लागि हामी सदैव तयार छौँ । तर कोही कोही यस्ता आलोचक छन्, तिनीहरूलाई त शिर काटेर दिए पनि खुसी हुन्नन् । त्यस्ताको पछि लागेर हुन्न । सशक्त गजल लेख्नु नै सबै प्रश्नको उत्तर हो ।

पछिल्लो समयमा प्रविधिका माध्यमबाट गजल, कविता तथा समग्र साहित्यले नै आफ्नो क्षेत्र फराकिलो बनाउँदै गइरहेको देखिन्छ । तपाईँले चाहिँ गजलमार्फत के कसरी यसको प्रयोग गरिरहनुभएको छ ?

गणेश बाबु अधिकारी : गजल होस् या नेपाली साहित्यलाई कसरी उत्थान गर्न सकिन्छ भनेर अभियान नै लिएर हिँडेको मान्छे हुँ म पनि । सामाजिक सञ्जालमार्फत् २०७३ सालदेखि मधुवन गोधूलिको साथी साहित्यिक समूह सञ्चालन गर्दै आइरहेको छु । लगभग पैँतीस हजार साहित्यिक अनुरागीहरूलाई एक छाताभित्र समेट्ने प्रयास गरेको छु । यस संस्थाले भर्चुअल होस् या प्रत्यक्ष, कार्यक्रम गरिराखेकै छ । सर्वनाम थिएटरमा नै “गोधूलिमा गजल” कार्यक्रमको २ शृङ्खला गरिसकिएको छ । यो अभियानमा निरन्तर लागिरहने छु ।

अर्पणा आपागाईँ अनुराग : प्रविधिको यसरी सदुपयोग हुनु त राम्रो कुरा हो नि । तर मचाहिँ समाजिक सञ्जालको प्रयोगको कुरामा अलि पछाडि नै छु । लेखन यात्राको सुरुसुरुमा चाहिँ रहरैरहरमा सामाजिक सञ्जालमा पोस्ट गरिन्थ्यो । पछिल्लो समयमा त्यो पनि गर्न सकिरहेको छैन । सामाजिक सञ्जाल, टिकटक, युट्युबमा आएका प्रायः स्रष्टाका गजलहरूचाहिँ सुन्ने गर्छु । आफैँले भने मजाले प्रयोग गर्न सकेको छैन । म अलिक अन्तर्मुखी स्वभावको भएर पनि हो कि !

गोल्डेन उद्भास : हो नि । सामाजिक सञ्जालको प्रयोगद्वारा गजलको पनि प्रचारप्रसार गर्नु राम्रो कुरा हो । मैले पनि फेसबुकमा गजलहरू पोस्ट गरेर गजल सुनाउने रहर पूरा गर्छु । तर महफिलको मजा त्यहाँ कहाँ ? गजल अरु विधाभन्दा फरक छ । यो एक्लै एक्लै पढ्नभन्दा पनि महफिलका लागि हुन्छ । वास्तवमा सामाजिक सन्जालमा पनि महफिलमै वाचन गरिएका गजलका भिडियोहरू ज्यादा हेरिन्छन् ।

महफिलजस्ता ठुला मञ्चहरुमा सुनिने गजकारहरुलाई आरोप लाग्छ – उही गजल जहीँ पनि सुनाउँछन् । ग्राण्ड महफिलमा नयाँ गजलहरु सुनाउँदै हुनुहुन्छ कि अन्य मञ्चहरुमा सुनाइसकिएका उही पुरानै ?

गणेश बाबु अधिकारी : मैले सकेसम्म हरेक मन्चमा फरक दिने प्रयास गर्छु । योपटक पनि विश्वास छ, यो आरोप लाग्ने छैन । नयाँ गजलहरू तयार गरेको छु । सुनाउने छु । हजुरहरू सबैलाई हार्दिक निमन्त्रणा गर्दै साहित्यपोस्टप्रति आभार व्यक्त गर्दछु ।

अर्पणा आपागाई अनुराग : महफिलमा आएका गजलकार मात्र होइन हरेक कार्यक्रममा पुग्ने गजलकारहरूलाई यो आरोप लाग्ने गर्छ । एउटा सेलीब्रेटी मानिएको गायकले देशदेखि विदेशसम्मका कार्यक्रममा एउटै गीत पटक पटक गाउँछ अनि उनीहरूको गायकी पुरानो हुँदैन । तर एउटा स्रष्टाले लेखेको गजललाई एक दुईवटा कार्यक्रममा वाचन गर्नेबित्तिकै पुरानो भनिइन्छ । आखिर यस्तो किन भइरहेको छ ? कालजयी शायरी-शेर जहाँ जतिसुकै बेला पनि जस्तोसुकै परिवेशमा सुनाउन पर्छ । शेर वा गजल लेख्नु एउटा कला हो । अझ त्योभन्दा बढी शेर आफ्नै अन्दाजमा सुन्न सक्नु हो । तसर्थ शेर सुन्ने बानीको विकास पनि लेखनको विकास जत्तिकै महत्त्वपूर्ण हुन्छ जस्तो लाग्छ ।

गोल्डेन उद्भास : म त ठुलो गजलकार होइन । गजल लेख्न सिक्दै छु । महफिलमा पनि म त पहिलोपटक आउँदै छु । मेरा त सबै गजल नयाँ नै छन् । ताजा । यद्यपि श्रोता नयाँ भएपछि फेरि गजलहरू त पुराना कसरी हुन्छन् र ?