संविधान सभाका अध्यक्ष, नेकपा एमालेका उपाध्यक्ष, माननीय सांसद सुवासचन्द्र नेम्वाङको असामयिक निधन भयो । बिरामी भन्ने खबरसम्म थाहा नपाएका उनका शुभचिन्तक र आम नेपालीका लागि मङ्गलवार बिहान एक्कासि सामाजिक सञ्जाल र समाचारमा उनको निधनको खबर सुन्नु र पढ्नु निकै पिडादायक क्षण हुन पुग्यो । संविधान निर्माणका लागि भएको दुवै निर्वाचनमा सांसद्का रूपमा चुनिएका उनले दुवै सभाको नेतृत्व गरे र अन्ततः दोस्रो संविधान सभामार्फत जारी भएको नेपालको संविधान २०७२ को अध्यक्षता उनले नै गरे । प्रस्ट बोली, मिठासपूर्ण लवज, शालीन व्यक्तित्व र सभामुखको भूमिका कुशलतापूर्वक निर्वाह गरेका कारणले नै आम जनताले उनलाई एक शालीन र भद्र नेताका रूपमा चिन्छन् । कानुनका ज्ञाता उनले कानुन निर्माणका तहमा पनि राम्रो भूमिका निर्वाह गरे । उनै विशिष्ट व्यक्तित्व नेम्वाङको निधनमा देश र जनता स्तब्ध भए ।

नेम्वाङको बिहीबार दिउँसो पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि गरियो । उनका हजारौँ शुभचिन्तकले उनलाई श्रद्धाञ्जली दिएर बिदाइ गरे । सरकाले बिहीबार नेम्वाङको शोकमा सार्वजनिक बिदा पनि दियो ।

सुवासचन्द्र नेम्वाङको निधनले नेपाली राजनीतिमा एक बौद्धिक नेता त गुमायो नै साथमा देशको वर्तमान अवस्था पनि राम्रैसँग झल्कायो । मङ्गलवार बिहान नहुँदै निधन भएका नेम्वाङको अन्त्येष्टि करिब ६० घण्टापछि, बिहीबार मध्याह्नमा मात्रै भयो । उसो त, श्रद्धाञ्जली सभापछि करिब २४-२५ घण्टापछि अन्तिम संस्कार गरिने परम्परा नेपाली राजनीतिमा रहँदै आएको छ । शुभचिन्तक, आफन्त र अन्तिमपटक श्रद्धाञ्जली दिन चाहनेका लागि श्रद्धाञ्जलीको समय दिनु स्वाभाविक नै हो, तर नेम्वाङको भने श्रद्धाञ्जली दिने समय करिब ६० घण्टा हुन पुग्यो । यसका पछाडिको एउटा प्रमुख कारण उनको अपत्यारिलो र असामयिक निधन हुनु र त्यस बखत दुवै छोरा परदेशमा रहनु हो ।

सुवासचन्द्र नेम्वाङ

सुवासचन्द्र नेम्वाङ

नेम्वाङका दुवै छोरा परदेश थिए । बाबुको अन्तिम अवस्थामा दुवै जना बाबुसँग हुन पाएनन् । मङ्गलवार बिहानै निधन भएका नेम्वाङका छोराहरू बुधवार दिउँसो मात्रै नेपाल आइपुगे र बाबुको पार्थिव शरीर घर लगे । उनका जेठा छोरा बेलायत बसोबास गर्छन् भने कान्छो छोरा अस्ट्रेलिया । एक सन्तानका लागि आफ्नो अभिभावकको अन्तिम समयमा साथमा हुन नपाउनु जति पीडा सायदै अरू कुनै होला । निधनको खबर सुनेपछि परदेशबाट स्वदेश फर्कन लाग्ने समय र त्यसबिचको समयमा हुने उथलपुथल र पीडा सबैभन्दा ठुलो पीडा हुँदो हो । त्यो पीडा नेम्वाङका दुई छोराले भोग्नु पर्‍यो ।उसो त, पतिको निधनले शोकमा डुबेकी उनकी श्रीमतीलाई छोराहरू साथमा नहुनाले झनै पीडा पक्कै थप्यो । लाग्छ, यस्तो पीडा कसैले भोग्नु नपरोस् तर यो पीडा नेम्वाङका परिवारले मात्रै भोगेका भने होइन ।

परदेशी बन्नु वर्तमान समयको सबैभन्दा ठुलो समस्या हो । अचेल गाउँघर प्राय: युवाविहीन छन् । उसो त, सहरमा पनि युवा धेरै कम छन् । हरेक परिवारको समस्या एउटै छ – बेरोजगारी र बिदेसिनु । गरिबदेखि सम्पन्न सबै परिवारका कोही न कोही सदस्य परदेसिएका नै छन् । देशका उच्च तहका नेता, कर्मचारीदेखि गरिब, किसानका छोराछोरी सबैको गन्तव्य परदेश बनेको विकराल अवस्थाबाट देश गुज्रिएको छ । दैनिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा देश छोड्नेको भिड देख्दा कहालीलाग्दो अवस्था छ । हरेक दिन उच्च नेतादेखि सामान्य जनतासम्म आफ्ना परिवार सदस्यलाई बिदाइ गर्न विमानस्थलमा पुगेको दृश्यले सामाजिक सञ्जाल भरिने गरेका छन् । बहालवाला मन्त्रीदेखि उच्च पदस्थ कर्मचारीहरू नै आफ्ना सन्तानलाई शिक्षा, रोजगारी र सहज जीवनशैलीका निम्ति विदेश उडाउन विमानस्थल पुग्नु भनेकाे देशका लागि लज्जाको विषय हो । देशको नीति निर्माणका तहमा रहेका, बागडोर सम्हालेका व्यक्ति स्वयंका परिवारका सदस्यले देशमा अवसर नदेखेर बिदेसिएका घटना सबैभन्दा दु:खद् घटनाका रूपमा आम जनताले चित्रण गरिरहेका छन् ।

उच्च शिक्षा, रोजगारी, सहज जीवनशैलीका लागि बिदेसिनेको सङ्ख्या देख्दा लाग्छ, देश रित्तो हुँदै छ । यस्तो अवस्थाका कारण देश वृद्धवृद्धाको मात्रै थलो जस्तो भएको छ । जहाँ वृद्ध बाआमा आफ्नो दिन मृत्यु र सन्तान दुवैलाई पर्खिएर बसिरहेको जस्तो मात्रै देखिन्छ। यसरी परदेशिएकाहरू कति उतै अस्ताउँछन् र परिवार भेट्न पाउँदैनन् त कति यता आफ्ना परिवार सदस्य अस्ताउँदा उतै हुन्छन् र अन्तिम समयमा परिवार सदस्यसँग हुन पाउँदैनन् । दुवै पीडा उस्तै दर्दनाक छ । नेम्वाङ सार्वजनिक पद धारण गरेका उच्च पदस्थ व्यक्ति थिए र सार्वजनिक समाचार बन्यो तर समाचार नबनेका यस्ता घटना दिनदिनै घटिरहेका छन् । सम्पन्न देशमा राम्रो काम गरेर बसेकाहरूका लागि त यस्तो समाचार सुन्नासाथ नेपाल फर्कन सहज होला तर खाडीका देशमा मजदुरको रूपमा काम गर्नेले त भन्नासाथ बिदासम्म पनि पाउँदैनन् । आफन्तको मृत्युको वर्षौँपछि मात्रै नेपाल फर्कन पाएका नेपालीको दुःख झनै कहालीलाग्दो छ । एकातर्फ मृत्युको शोक अर्कातर्फ साहुको खटनमा बिदा नपाउनु यो दुःख नभोग्ने अनुमानसम्म पनि गर्न सक्ने विषय होइन । यस्ता दुःखको प्रमुख जड रोजगारीको अभाव र राजनीतिक अवस्थाका कारण सिर्जित नैराश्य नै हो ।

उनै नेम्वाङले अध्यक्षता गरेको संविधान सभामार्फत२०७२ सालमा जारी भएको संविधानपछि जनताले देश र जनताको जीवनशैलीमा परिवर्तन हुने अपेक्षा गरेका थिए । देशमा परिवर्तन छाउने, रोजगारीका अवसर सिर्जना हुने, आर्थिक स्थिति सुधार हुने धेरैको अपेक्षा थियो । तर संविधान जारी भएको करिब आठ वर्ष पुग्दै गर्दा देश झनै विकराल अवस्थामा पुगेको चित्र हामीसामु प्रस्ट छ । देशमा आर्थिक सङ्कट चुलिनु , वैदेशिक पलायनको अवस्था अस्वाभाविक बढ्नु, भ्रष्टाचारले देश थिलथिलो हुनु, जनतामा नैराश्य छाउनु संविधान जारी भएपश्चात्को जनताको अपेक्षा विपरीतको परिस्थिति हो । सात दशक लामो प्रतीक्षापछि जनताले आफ्नो संविधान पाए पनि त्यसले जनतालाई नै सम्बोधन गर्न नसक्नु र नैराश्य चुलिनु संविधानमाथिकै खतराको सङ्केत हो । संविधानले जनतालाई सम्बोधन गर्न नसक्नु र रोजीरोटीकै लागि परदेशिनु पर्ने आजको विकराल समस्या खतराको सूचक मात्रै होइन अर्को विद्रोहको सङ्केत पनि हुन सक्छ । देशको राजनीतिक अवस्था नसुधारिए, रोजगारीका अवसर सिर्जना नभए, युवा पलायन दर नरोकिए देश कुन अवस्था पुग्छ भन्ने प्रस्ट चित्र कसैसँग छैन ।

सामान्य जीवनशैली चलाउनकै लागि परिवारका सदस्य परदेसिनु पर्ने अवस्थाका कारण कति परिवार आफन्तको पर्खाइमै अस्ताउनु पर्छ ? हिसाब कसैसँग छैन । परदेश जान विमानस्थल पुग्ने अधिकांशको अनुहारमा आफ्ना परिवारसँग बिछोडिनु परेको पीडा सँगसँगै भोलिको अवस्थाको पीडा पनि झल्किन्छ भने सन्तानलाई बिदाइ गर्न पुगेका बुढा अभिभावकको अनुहारमा आफ्नो अन्तिम अवस्थामा फर्किएलान् कि नफर्किएलान् भन्ने पीडा पनि प्रस्टै देखिन्छ । यो अवस्था सुधार नभए सास गुमाएर पनि चितामा पुग्न कति सुवासहरूले कति समय आफ्ना सन्तानलाई कुर्नु पर्ने हो भन्ने कुराको अड्कलसम्म गर्न सकिँदैन ।