सिद्धार्थ गौतम गृहस्थी जीवनदेखि उदासीन हुन्छन् । न राज्यको काममा रुचि लिन्थे न स्वास्नी छोराहरूसित रमाउन सके । एक्लै बसेर खालि सोचिरहन्थे ।

एक दिन विरक्तिएर घरपरिवार छाड्छन्, राजपाट छाड्छन् र जंगल हिँडिदिन्छन् । सिद्धार्थ त सन्न्यासी पो भइदिन्छन् । यसरी राज्यश्री नै परित्याग गर्न प्रेरित गर्ने तत्वहरूमा यही बुढ्याइँ थियो ।

किन हामी बूढो हुन्छौँ ? सिद्धार्थ यसको जवाफ चाहन्थे । तर, पाउँदैनन् । उनी सोचिरहन्थे, खालि खोजिरहन्थे, भेट्दैनथे । उनी मात्रै बुढ्याइँबाट मुक्ति चाहन्थे, जस्तो : रोग, मृत्युबाट ।

तर, निरुत्तर हुनुपर्ने पीडा उनलाई असह्य लाग्छ । यतिबिघ्न आक्रामक भए कि जीवन नै व्यर्थ सम्झन थाल्छन् । भिक्षु बनाउने योभन्दा ठूलो पीडा अर्को क्यै भएन ।

हामी सिद्र्धार्थ हुन सकेनौँ, तर उनलाई जत्तिकै नमीठो र ननिको हामीलाई नलागेको पनि होइन । त्यसैले त बूढो हुन चाहेनौँ ।

बुढ्याइँ र मृत्युमाझ यति गहिरो सम्बन्ध छ घामपानीजस्तो । यसको अर्थ रोगव्याधि, दुर्घटना आदिका कारणले मर्दैनौँ भन्ने होइन ।

म त यहाँ स्वाभाविक मृत्युको कुरा गर्दै छु । बुढ्याइँलाई मृत्युको पूर्वसंकेत भन्दछन्, कसैले मृत्युको घण्टी । उमेर बढ्दै जान्छ, मृत्यु वरवर आउँछ । हामी मृत्युको झन्झन् नजिक पुग्छौँ । नभन्दै थाहै नदिई एक दिन सुटुक्क हिँडिदिन्छौँ संसारबाटै ।

बूढो हुन्छौँ, तर मर्दैनौँ । मर्छौँ, तर बूढो भएर होइन भन्ने तर्क यहाँ लाग्दैन । यसबाट उन्मुक्त हुन सक्छौँ कि सक्तैनौँ ? प्रश्न यति मात्र हो ।

सिद्धार्थलाई यसले बेस्करी छुन्छ, बेस्करी रिँगाउँछ, बेस्करी हल्लाउँछ र प्रश्न गरिरहन्छ निरन्तर–निरन्तर । त्यसबाट मुक्त भए कि भएनन् थाहा छैन । तर, यसको डर, चिन्ताले भागिहिँडेनन् ।

प्रकृत्तिको खटन नमान्नेहरू कि आत्महत्या गर्छन् कि विवशता सकारेर पुर्पुरो ठोकिबस्छन् । यो गल्ती सिद्धार्थले गरेनन् ।

बूढो हुनु शरीरको धर्म हो । मन लागेन भन्दैमा फेर्न पाइने होइन । समयले कहाँ मान्छ ? विरोध गरेर संयमित हुनेहरूले अलिकता आयु लम्ब्याउलान्, त्यत्ति हो ।

तर, नमर्न ता कोही सक्ता रहेनछौँ । नमानेर अटेर गर्नेहरू पनि छन् । बीसवर्षे जवान भई सपना सँगाल्नेहरू पनि छन् । यो आशक्ति तथा अतृप्तिमोह कतिन्जेलका लागि ?

मरिएला भन्ने डरले बूढो हुन चाहँदैनौँ । यथार्थ यो होइन । सत्य हो, हामी मर्नै चाहँदैनौँ । यसको अर्थ तन्नेरीमा कोही मर्दैनौँ भन्ने होइन । यहाँ सरदरको कुरा गर्दै छु ।

मर्नै नपर्ने भएको भए हामी के गर्थ्यौँ होला ? कस्तो हुन्थ्यो हाम्रो स्वभाव, मनोवृत्ति, व्यवहार, विचारहरू ? छिमेकीहरूसितको सम्बन्ध, एक आपसको मित्रता अनि के अहिलेकै जस्तो जीवनलाई माया गर्थ्यौँ ? हाम्रो दयामाया यस्तै हुन्छ कि अर्कै ? वा राक्षसभन्दा चण्डाल, संवेदनाशून्य, ढुंगाभन्दा साह्रो, कठोर ?

मर्नु पर्दा त यति घमण्ड गर्छौँ, लोभी छौँ, ईष्र्यालु र असहिष्णु छौँ । अझ विश्वविजेता हुने आकांक्षाले हिंस्रक भइदिन्छौँ । मर्नै नपर्ने भए ? भैगो, छाडौँ । यी कल्पनाका कुराहरू हुन् । हुन नसक्ने घटनानको पीर किन लिने ?

यथार्थ त बाँच्ने जिजीविषा हो । यसका लागि जे पनि गर्छौँ, जे गर्न पनि सक्छौँ । कोही सर्वेसर्वा भई बाँच्न खोज्छन्, कोही इतिहासमा नाम राखेर, कोही कृतिमा पुनर्जीवित भएर ।

कोही यो संसार, हामी मान्छे, भौतिक सुखसुविधा सबै माया हुन्, मिथ्या हुन्, त्यसबाट उदासीन भई धर्मकर्म गर्छन् अनि परलोक सुधारेर अमर हुन चाहन्छन् । यी सबै बाँच्ने प्रक्रियाअन्तर्गतका इच्छाहरू हुन्, जिजीविषा र प्रयोजनहरू हुन् ।

निष्कर्ष हो, हामी मर्न चाहँदैनौँ । यी भौतिक समृद्धिहरू, आध्यात्मिक संसार, वैज्ञानिक उपलब्धि, साहित्य–कला, अन्तरिक्ष अभियानहरू सबै बाँच्नकै लागि सिर्जना गरिएका प्राप्तिहरू हुन् ।

यो भनेको भौतिक रूपमा हामी मर्छौँ, मानिसहरू मर्छन्, तर मानव वंशको निरन्तरतामा बाँचिरहने मानिस कहिल्यै मर्दैन । उनीहरूले स्थापित गर्ने प्राप्तिमा हामी बाँचिरहनेछौँ ।

मर्नु त एउटा नियति हो । कसको के लाग्छ ? प्राकृतिक प्रतिकूलतामा भइदिने दुर्घटनाहरू बडो भयावह हुन्छन् । यस स्थितिमा डायनासोरको वंशै नरहने गरी विनाश भएजस्तै भोलि मानव जाति नै विलीन हुने हो कि ?

यो प्राकृतिक प्रकोपमा के हुन सक्तैन ? तर, हामी मानिस हौँ, डायनासोर होइनौँ ।

व्यक्तिगत रूपमा हामी यस धराधाममा नहोऔँला, के भो र ? मानिसहरू त रहिरहनेछन्, उनीहरूको वंशको निरन्तरतामा तिमी बाँच्नेछौ, म बाँच्नेछु । हामीहरू बाँच्नेछौँ ।

मृत्यु जनाउने मृत्युपूर्वको बुढ्याइँ मृत्युजत्तिकै निरर्थक हुन्छ, निस्क्रिय र गतिशून्य । यस कारण मरिने भो भनेर डराएका हौँ । यो मर्छौँ भन्ने सत्यबाट अनभिज्ञ छैनौँ, अनजान छैनौँ ।

थाहा छ एक दिन बूढो हुन्छौँ । हाम्रा हातखुट्टा चल्नेछैनन्, निस्क्रिय हुन्छौँ हामी । तर, त्यसो हुनुबाट जोगाइराख्न सक्तैनौँ । फेरि पनि बूढो हुन चाहँदैनौँ, मर्न चाहँदैनौँ ।

यहाँ नेवार समाजमा प्रचलित उमेर र दिनमा गरिने यो ज्याः जङ्क्वले सांस्कृतिक प्रचलनको रूपमा चल्दै आएको सामाजिक परम्परालाई मात्रै कहाँ दिग्दर्शित गर्छ र ? यो उमेरको हुनु भनेकै त्यस बेलाको समाजले परिकल्पना गरेको सरदर आयुभन्दा धेरै हो । यति बाँचेर उमेरको यो उचाइ छुन पुगेको सिद्धि र जिन्दगीको महोत्सवी दिन मानेर अर्चना गर्नुलाई ज्याः जङ्क्व भनेका हौँ ।

अब वृद्धत्वलाई परिभाषित गर्ने त्यसको अर्थ बदलियो । उनीहरूलाई हेर्ने आँखा बदलियो । यसबाट अब मृत्यु सम्बोधित हुँदैन, मृत्युमाथिको विजयलाई देवत्वमा परिणत गर्ने यो एउटा बेग्लै दर्शन भइदिन्छ ।

अनि, प्रतीकात्मक रूपमा यसले मृत्युञ्जयलाई संकेत गर्छ । देवत्व प्राप्त गर्ने वृद्धवृद्धाहरूलाई ज्याः जङ्क्वमा रथारोहण गराएर उनीहरूबाट आशीर्वाद ग्रहण गर्ने कुराले पनि यसको पुष्टि गर्छ ।

समय त्यही रही रहेन । स्थिति बदलियो । परम्परा, संस्कृतिको अनुशीलन गर्दागर्दै पनि विचलन हाबी हुँदै गइरहेको समाजमा विघटन र विखण्डन सुरु भो । त्यसप्रतिको आस्था डगमगाउन थालिरहेछ ।

संयुक्त परिवारको पूर्वीय आदर्श समाजमा अब पैरा जाँदै छन् । गिर्दो आर्थिक अवस्थाले जीवन धान्न सकिरहेका छैनौँ, अर्कोतिर अध्ययनका लागि जानेहरूको लर्को लागेको छ ।

गरिखान सक्ने उमेरका युवायुवतीहरू विदेशिँदै छन् । बूढाबूढी, अपांग, अशक्त, रोगी र केटाकेटीहरूको अनाथालय बन्दै छ देश, वृद्धाश्रम हुुँदै छन् गाउँ–सहरहरू ।

बदलिँदो समाजका यी विचलनहरू, तिनले ल्याउन थालेको अनिश्चितता, बहिर्गमन तथा आफ्नै स्वार्थका कारण भत्किरहेको संयुक्त परिवार अनि पारिवारिक सङ्घटन र त्यसभित्रको कौटुम्बिक स्नेह, आस्थाहरू सबै खलबलिन थालिरहेछ, भत्किन थालिरहेछ । के यिनीहरूको विकल्प वद्धाश्रम र अनाथालयहरू हुन् ?

अहिले हामी विसंगति र विचलनहरूको चापमा छौँ । आर्थिक दुरावस्थामा देश फसेको छ । बेरोजगारीले आक्रान्त छ नयाँ पुस्ता । व्यवस्था बदले पनि देश बदलेन, नेताहरू बदलेनन् ।

सरकार बदले, सरकार हाँक्नेहरूको नियत बदलेन, आचरण बदलेन । अस्थिर राजनीति, उदण्ड कार्यकर्ता, आतंकित नागरिक समाज । कहाँ, कहिले के हुन्छ ठेगान छैन ।

यतिबिघ्न अनिश्चित भविष्य बाँचेर जगविहीन वर्तमानमा सास फेर्दै छौँ । यी सबैबाट चिन्तित, आन्दोलित, पीडित युवायुवतीहरू, पढेलेखेकाहरू, शिक्षार्थीहरू, केही गर्न खोज्ने नयाँ पुस्ताका होनहारहरू विदेशिएर आफूले सँगालेका इच्छाहरू, सपनाहरू त्यहीँ रोप्छन् र हुर्काइरहेका छन् ।

देश भनेर यहीँ क्यै गर्न सकेका पनि होइनौँ । माया मारेरै देश छाडेका पनि छैनौँ । देशमा रहँदा पनि देश भनेनौँ, विदेशमा बस्दा पनि देश र घर सम्झेर रुन्छौँ । जे गर्दा पनि सन्तोष नलाग्ने यो डायास्पोरिक पीडा, मानसिक विचलन साँचेर छटपटाइरहनु दुःखद लाग्छ ।

आप्रवासीहरूको यो अवस्था उनीहरूकै निम्ति पनि सुखद रहेन भने नेपालमै बसेका उनीहरूका परिवार, वृद्धवृद्धाहरू छुट्टिनुपरेको बिछोडले आक्रान्त छन् ।

कोही नभएकै बेला मरिने हो कि भन्ने डर एकातिर छ, अर्कोतिर बूढाबूढीलाई हेर्ने, समाल्नेहरू नहुँदाको सन्त्रास र एक्लिनाको पीडा छ । वृद्धाश्रमको शरण लिनुपर्ने डर छ, त्यसबाट उन्मुक्ति पनि चाहन्छन् ।

विदेश नगई घर नबन्ने दुखेसोले पनि उनीहरूलाई छाडेको छैन । विकल्परहित देशका हामी नेपाली, कसमाथि भरोसा गर्ने ? र, कसरी यसबाट पार लाग्छौँ ?

विदेशिनेहरू आफू बन्लान्, तर देश त्यसबाट उठ्ने होइन । यसको निचोड हो, देशै उठनुपर्छ, बन्नुपर्छ, पूर्णता हासिल गर्न सक्नुपर्छ । वृद्धवृद्धाहरूको समस्या पनि स्वतः सुल्झिन्छ ।

वृद्धवृद्धा हुनु आफैँमा अभिशाप होइन । समस्या आइपरेको त पारिवारिक विचलनले हो, जो आर्थिक दरिद्रताको बढ्दो बोझबाट उन्मुक्तिका लागि संयुक्त परिवार अभिशाप भइदिन्छ । विदेशिनेहरूको यस बाध्यताले समस्या झन् अल्झिँदै गइरहेछ, जटिल बन्दै गइरहेछ ।

बूढो हुनु नैसर्गिकता हो । स्वास्थ्यलाभ गरेर हामी दीर्घायु हुन सक्छौँ । यत्ति हो । तर, बूढो मानिस हुन्छ, मानिसको शरीर हुन्छ, उसको मन होइन, स्फूर्ति होइन ।

तन्नेरी मनको साहसिकताले मान्छेलाई कहिल्यै बूढो हुन दिँदैन । आफूलाई व्यस्त राख्न सक्नुपर्छ । मृत्यु आफैँ हतोत्साहित हुन्छ र पराजित ।

मृत्युभन्दा अप्रिय क्यै छैन । सबैलाई थाहा छ । त्यस्तै मृत्युजस्तो सत्य, शाश्वत पनि क्यै छैन संसारमा । यो पनि धेरैले जानेकै कुरा हो । तैपनि, नमर्न पाए हुन्छ भनेर अप्राकृतिक कुरा गर्छौँ ।

नमर्ने त हामी हुँदै होइनौँ । त्यस्तै, मरेर बाँच्ने पनि हामी मानिस नै हौँ । यसकारण असल भएर बाँच्नेहरू कहिल्यै मर्दैनन् ।

‘कृष्णचन्द्रसिंहका निबन्ध’बाट