हिउँ पग्लेर
पानी बगेपछि
पानीले आफ्नो गन्तव्य
आफैँ तय गर्छ!
बग्दाबग्दै पानी पानी रहन्न
खोला, नदी भएर बग्ने गर्छ
बग्दाबग्दै किनारका
फोहोर, सिनो र हड्डीहरू
आफूसँगै समाहित गरेर
अनन्तसम्म बगिरहन्छ
अन्ततः
शिथिल भएर सागरमा
समाहित हुन्छ

…××…

नदि धमिलो भयो
नदी फोहोर भयो प्रदूषित भयो
किनारमा रहेका
सिनो, लाश र हड्डीहरू
आफैंमा समाहित गरेर बग्न थाल्यो
सबै थोक बगाएपछि
नदी किनार सफा देखिए
कुरुप चिजलाई
आफूमा समाहित गर्दै
नदी बग्दै बग्दै सागरमा मिसियो!

……××…..

गाउँ, सहरमा
फटाहा र चण्डाल मान्छे
घर, गाउँ र टोलबाट
बहिस्कृत भएपछि
सुरक्षा खोज्दै
शहर छिर्न थालेको छ
घना र अग्ला घरहरू माझमा
किरा सरि मान्छेको भिडमा
आफूलाई लुकाएर
अपराध छिपाउन खोजेको छ!
समयसँगै
सभ्यताको खोल ओडेर
सभ्य र भव्य टोपलिन्छ!
सहरमा घर जोड्छ
कमजोर र निमुखाको नेतृत्व लिन्छ
अन्ततः
ऊ महान् मान्छे कहलाउँछ!

….××….

गाउँ घरमा
चुनाव आउँछ
सामन्ती, फटाहा

अपराधीको चलखेल बढ्छ
विचार सिद्धान्त र नैतिकता
मोलमोलाइ हुन्छ
सबै कुरा पैसामा बिक्री हुन्छ
गाउँको सामन्ती
बजारको अपराधी
सहरको फटाहा
सिंहदरबार पुग्छ
शितल निवास पुग्छ
नीति, नियम र कानुन बनाउँछ
विकासका कुरा गर्छ
बजेट छुट्ट्याउँछ
अन्ततोगत्वा
आफ्नै खल्ती भर्छ
सुन्दर गाउँलाई कुरुप बनाउँछ
स्वर्ग जस्तो देशलाई
नरक बनाउँछ

वास्तवमा
नरकको सौन्दर्य भनेकै
सिंहदरबार हो
नरकको सौन्दर्य भनेकै
सागर हो महासागर हो
जहाँ धेरै मान्छे बस्छन्
जहाँ धेरै नदीहरू मिसिन्छन्
जहाँ फोहोर हुन्छ
जहाँ ज्युँदा मान्छेको भिड हुन्छ
त्यही नै नरक हो
टाढाबाट हेर्दा
“नरक”
सुन्दर देखिन्छ
यहीँ नै
“नरक”को सौन्दर्य हो
“नरक”को विशेषता हो।

तनहुँ