नेपाली लघुकथामा ७० को दशकलाई सामाजिक सन्जालको दशक मानिनु पर्छ । यसै दशकमा नेपाली लघुकथाले प्रविधिमैत्री बनेर नेपाली लघुकथालाई छापाबाट सहजै फेसबुकको मार्फत आमपाठकको पहुँचसम्म ल्यायो । यसको प्रमुख श्रेय लघुकथा कुनोलाई जान्छ । त्यसपछि लघुकथाको विकासका लागि सामाजिक सन्जालबाट अन्य पेजहरू खुली लघुकथामा पाठक र सर्जकहरू बढाउने काम भएको पाइन्छ ।

एक सामान्य लाइब्रेरीयन सत्या अघिकारीलाई पहिले लघुकथाको पाठक, त्यसपछि सर्जक र पछि कृतिकार बनाउने जस तत्कालीन समयको हाम्रो लघुकथा पाठशालालाई जान्छ । लघुकथाकार राजु क्षेत्री ‘अपुरो’को लघुकथाहरूबाट उत्पेरित सत्या, पछि लता केसी र डा. शेखरकुमार श्रेष्ठको परिधिमा पुगेर पाठक/सर्जकको परिचयबाट अझैमाथि चढी कृतिकार पनि बनिन् ।

सायद यो भनिरहनु नपर्ला कि सत्या अधिकारी ७० को दशकको सामाजिक सन्जालको उपज हुन् । सत्याले यही समयमा लघुकथाको पाठक, सर्जक र कृतिकार बनी नेपाली लघुकथामा समकालीन स्रष्टाको पदचाप छोड्न सफल बनेकी छिन् । यस कार्यका लागि सत्यालाई उनीको पहिलो लघुकथा कृति ‘ उमङ्ग’को ठुलो हात छ । आज सत्या अधिकारीको यही कृतिलाई केन्द्रमा राखी दीपक दृष्टि घुमाइने छ ।

लघुकथाकार सत्या अधिकारीको वि.सं. २०७८ मा डा. शेखरकुमार श्रेष्ठद्वारा सम्पादनमा ५५ वटा लघुकथाहरू सङ्ग्रहित लघुकथाकृति ‘उमङ्ग’लाई अक्षरधाम प्रकाशन प्रालिले सार्वजनिक गरेको छ । डिमाइज साइजको यो कृति नीरबहादुर यक्खाको सुन्दर आवरणमा सुसज्जित छ । रातो र नीलो रङहरूको अधिक संयोजनमा याक्खाले भावना र प्रेमभित्रको विसंगति अनि समानता र शान्तिमा फैलिएको द्वन्द्वलाई बढो कुशलताका साथ उजागरण गर्ने प्रयास गरेका छन्, जहाँ सङ्ग्रहभित्रका लघुकथाहरूको मूल आशय देखिन्छ । प्रत्येक लघुकथाहरूमा कथाको भाव अनुरूप प्रकाश समीरले स्केचहरू कोरिदिएका छन् ।कृतिको पहिलो सौन्दर्य नै गतिलो र गहकिलो बनेपछि हरपाठक कृतिको भित्री भाग प्रवेश गर्न उत्सुक हुन्छन् । यो उपभोगको सिद्धान्त नै हो । सत्या अधिकारीको पहिलो लघुकथासङ्ग्रह उमङ्गले पहिलो हेराइमा नै पाठकलाई दह्रो आकर्षित गर्दछ ।

सत्या अधिकारीको स्टोरी टेलिङ् सामाजिक यथार्यवादी धारबाट अघि बढेको छ । उनीका कथाहरूको उठान हाम्रै दैनिन्दिनीहरूबाटै सुरु हुन्छन् । हरेक उठान सामान्य छन् । कथाको मध्य भाग पनि सामान्य तर यथार्थवादी जीवन शैलीमा बगेको पाइन्छ । तर सत्याको लघुकथा लेखनको असामान्य प्रतिभा भनेको कथाको अन्त्यमा देखिन्छ । सामान्य सुर-तालमा हिँडिरहेको सत्या अधिकारीका अधिकांश लघुकथाको अन्त्य ध्रुपद तालको तीव्र गतिमा हुन्छ, जसले पाठक वा स्रोताको मस्तिष्कमा एउटा सोचलाई संगीतमय झड्का दिन्छ । उदाहरणका लागि, ‘सुन्दर बस्ती’ (पेज नं. ४१) शीर्षकको लघुकथालाई लिन सकिन्छ । यस कथाको प्रस्थानविन्दु हजुरआमाले सुनाउने दन्त्यकथा शैलीमा छ तर अन्त्यले हरेक संवेदनशील पाठकहरूलाई १२ भोल्टको करेन्ट लगाइदिने क्षमता राख्छ ।

लघुकथामा सत्या अधिकारीको लेखन शैली गुरुप्रसाद मैनाली सम्झाउने खालको छ । प्रत्येक लघुकथामा दुई खण्डहरू हुन्छन् । समाजको आदर्शलाई सत्याको कथाको पहिलो खण्डले बोकेको छ भने कथाको दोस्रो भागले समाजको विसंगतिलाई मज्जाले पछारेको पनि छ । सत्या आफ्ना प्रत्येक लघुकथाहरूमा पहिले दुर्गा र पछि बिस्तारै कात्यायणि हुँदै उग्रचण्डीमा रूपान्तरण हुन्छिन् । अधिकारीका विषयहरूले समाजको हरेक घटना, परिदृष्य र रङ्गहरुलाई छुने कोसिस गरेका छन् । मानवीय समस्या, द्वन्द्व, पीडा, गरिबी, स्वार्थ, अहम् उनको लघुकथाहरूमा पाइन्छन् । सत्या अधिकारीले आफ्मा लघुकथाहरूमा सहर-गाउँका सांस्कृतिक र राजनितिक विकृतिहरू देखाउन भ्याएकी छन् । मूलतः सत्याको कथाकारिता सुरूवात नै कोरनाकालमा भएकाले उनका केही लघुकथाहरूले कोरनाको कहर पनि बोलेका छन् ।

लघुकथाको एउटा अकाट्य रूप स्वैरकल्पना हो । स्वैरकल्पनायुक्त सुन्दर लघुकथाहरू सर्वप्रिय र सर्वकालिक हुन्छन् । सत्या अधिकारीले आफ्ना ५५ वटा लघुकथाहरूमा न्यून कथा स्वैरकल्पनामा पनि कोरेकी छिन् । यसको उदाहणको लागि पेज नं. ७७ को ‘पुकार’ लघुकथालाई लिन सकिन्छ । पुकार लघुकथा पढेपछि लघुकथाको असली पाठक सत्या अधिकारीबाट स्वैरकल्पनायुक्त लघुकथाहरू नै खोज्छन् ।

सत्या अधिकारीको प्रत्येक लघुकथाहरूमा समकालीन पदचापहरू भेटिन्छन् । तसर्थ सत्याले आफ्ना हरेक लघुकथाहरूमा वक्रदृष्टि पनि राख्नु पर्ने देखिन्छ । आजको लघुकथा बिम्वको खडेरीमा गुज्रिएको छ । सत्याको सत्य धर्म भनेको लघुकथामा बिम्वको वृष्टि गराउनु पनि हो । तर यस कर्ममा सत्या अधिकारी नराम्रोसँग चुकेकी छिन् ।