
यतिबेला टाइम म्यागेजिनका पूर्व सम्पादक वाल्टर इसाक्सनले इलन मस्कमाथि लेखेको जीवनीको निकै चर्चा छ । किताब कस्तो होला भन्ने चर्चा व्यापक भइरहेको छ । स्वाभाविक रूपमा, एक से एक सुन्दर जीवनी लेखेका इसाक्सनको यो पछिल्लो जीवनी चासोको घेरोमा पनि नपर्ने कुरा भएन । हामीले सो जीवनीका बारेमा लेखिएका टिप्पणीहरू समेटेर केही झलक दिने प्रयास गरेका छौँ ।
इलन मस्कको जीवनी पहिलो सातामा ९२ हजार ५ सय ६० प्रति बिकेको छ । गएको सेप्टेम्बर १६ देखि बजारमा आएको जीवनी अमेरिकामा किताब मात्रै बिक्री भएको हो । इबुक, अडियोबुकको गणना भने भएको छैन ।
त्यसो त स्टिभ जब्सको जीवनीको तुलनामा यो बिक्री कमै हो ।
इलन मस्कले विद्युतीय गाडी सडकमा चलाउन सकिन्छ र यो लामो समयसम्म चल्छ भन्ने सोचलाई व्यापक बनाएका हुन् । उनको टेस्ला नामक कम्पनीले विद्युतीय कार उत्पादन गर्छ । यी कारहरू निकै महँगा हुन्छन् र हेर्दैका आकर्षक हुन्छन् । उनको कार चढ्न पाउँदा स्टाटस बढेको अनुभव गर्नेहरू संसारभर पाइन्छन् ।
त्यस्तै उनको स्पेस एक्स नामक भूउपग्रह कम्पनी छ । यस कम्पनीले अन्तरिक्षमा आवश्यक पर्ने सामग्रीहरू ल्याउने लैजाने गर्छ । उनको यो कम्पनीले नासाका लागि समेत काम गर्छ । उनको अर्को स्टारलिङ्क नामक भूउपग्रहमा आधारित इन्टरनेट सेवा पनि छ । युक्रेन र रूसबीचको युद्धमा उनैको इन्टरनेट सेवाका कारण अहिले रूसलाई आच्छुआच्छु पारेको हो ।
यसैगरी उनले ट्विटर नामक सामाजिक सञ्जाल पनि किनेर संसारलाई चकित बनाइदिए । अहिले यसलाई ट्विटर भनिदैन, एक्स भनिन्छ ।
यी सारा कम्पनी उनले कसरी सोचे, कसरी चलाइँदैछ, उनको प्रविधिमाथिको यो मोह र व्यवसाय एकअर्कामा कसरी गाँसिएको छ, उनले छोएका अप्ठेरा कामहरू पनि कसरी फत्ते हुन्छन् र एउटा गज्जबको व्यापारमा परिणत हुन्छ भन्नेबारे वाल्टर इसाक्सनले पुस्तकमा बयान गरेका छन् ।
एक पटक स्टिभ जब्सको जीवनी लेख्दै गर्दा जब्सका पार्टनर स्टिभ वज्न्याकसँग इसाक्सनले कुरा गर्दै थिए । कुराकानीका क्रममा वज्न्याकले भने, ‘स्टिभले एप्पल कम्पनी राम्रोसँग चलायो तर कम्पनी चलाउन ज्यादै छुच्चो हुनुपर्थ्यो र ? क्रूर हुनुपर्थ्यो र ? ड्रामा मच्चाउन जरूरी थियो र ?’
वज्न्याकको सो प्रश्न इसाक्सनले जब्सतर्फ फ्याँके । उनले यसरी सोधे, ‘एप्पल कम्पनीलाई वज्न्याकले चलाएको भए कसरी चलाउँथे होला ? तपाईं अरूप्रति नरम भएको भए पनि हुन्थ्यो नि ?’
जवाफमा स्टिभ जब्सले भनेका थिए, ‘वज्न्याकले एप्पल कम्पनी चलाएको भए त्यहाँको वातावरण सुन्दर हुन्थ्यो । उसले मज्जाले कम्पनी चलाउँथ्यो । उसले निकालेका प्रडक्टहरू पनि संसार परिवर्तन गर्थ्यो होला । तर मैले नरम भएर कम्पनी चलाएको भए, न त एप्पल कम्पनी यो स्तरमा पुग्थ्यो न त क्रान्तिकारी कुनै प्रडक्ट निकाल्न सक्थ्यो । म घटिया भएरै कम्पनीले राम्रा चिज उत्पादन गर्न सकेको हो । म आफू आविष्कारक थिइनँ, अरूलाई आविष्कारको हदमा पुर्याउन मैले नीच व्यवहार गर्न जरूरी थियो ।’
वाल्टर इसाक्सनले इलन मस्कको पुस्तकमा स्टिभ जब्सको यो उदाहरण दिँदै इलन मस्क पनि व्यवहारगत कुरामा उति गतिलो नरहेको छाँट शुरूमै दिन्छन् ।
इलन मस्क बालककालमा नै पिटिएसडी नामक रोगबाट ग्रसित थिए । यो रोगको समस्या के हो भने उसले कुनै पनि कुरा चाँडै बुझ्दैन । उसले ती कुरा बुझ्न दिमागलाई अतिरिक्त र थप प्रयास गर्नुपर्छ । इलनका पिता एरोल यति रिसाहा र छोराप्रति यति क्रूर हुन्छन् कि सधैंभरि इलनले घृणा गरिरहे । एरोलले जहिले पनि छोरालाई बेकुप, बोधो, मूर्ख भनिरहन्थे । बोलीले मात्र होइन, हातपात पनि उत्तिनै गर्थे । करूणाबिनाका बाउले उनीमाथि गरेको हिंसाले उनलाई यति गहिरोसँग भिजायो कि उनले सधैँ म उत्कृष्ट हुँ भनेर बाउलाई देखाउन अनेक उपक्रमहरू गरिरहे । उनी अहिले पनि जब आफूलाई गर्व लागेका कुरा देख्छन्, बाउलाई सम्झन्छन् ।
सानैमा जब उनी स्कुल पढ्दै थिए, उनीभन्दा ठूला उमेरका विद्यार्थीले उनलाई पिटपाट गरेर घर पठाए । रूँदै उनी घर आउँदा उनले बाउको न्यानो अँगालो होइन, धुँवादार गाली खाए । ‘साला बोधे, यस्ता गोरूले कुटाइ नखाए, कसले खान्छ त ?’ उल्टै बाउले तथानाम गाली गरेको उनी अहिले पनि बिर्सदैनन् । उनी सम्झन्छन्, ‘अब आइन्दा मसँग कुटाइ खाएँ भनेर नआउनू । आफूले जे जति लात खाए पनि सबलाई कम्तिमा एक एक लात हानेर आउनू ।’
‘एक दिन घर छेउमा म खेल्दै थिएँ । अचानक घरैमा पालेको जर्मन सेफर्ड कुकुरले खेदाउँदै आयो र ढाडमा टोक्यो । हतार हतार मलाई अस्पताल पुर्याइयो । उपचारपछि मैले बुवालाई भनेँ, ‘कुकुरलाई केही नगर्नुस्, यो उसको गल्ती हैन ।’ तर पछि घर पुग्दा कुकुरलाई तीन चार गोली हानेर मारिएको पाए । उनका बुवा यति सन्की थिए ।
पिता एरोलको जाम्बियामा एउटा महँगा धातु पन्नाको खानी थियो । त्यहाँ विरलै पन्ना पाइन्थ्यो तर जब पाइन्थ्यो, एकै झमटमा धनी भइन्थ्यो । दर्ता नगरी यो खानी चलाइएको थियो । दर्ता भएको थाहा पाउनेबित्तिकै कालाहरूले गोराबाट खोसेर आफ्नो बनाइहाल्थे । त्यसैले कसैको नजर नलागोस् भनेर बल्लतल्ल यो खानी चलाउन थाले । जब उनको पन्नाको व्यापार चम्कन थाल्यो, एकै झमटमा उनको खानी बन्द भयो । कारण चाहिँ, रूसले त्यो बेला कारखानामा नै पन्ना बनाउनु थियो। प्राकृतिक पन्नाभन्दा सजिलै तर महँगोमा पनि बिक्री हुने भएकाले खानी बन्द गर्न बाध्य भए ।
एक झमटमा धनी हुने र रातारात गरिब हुने पहिलेदेखि नै इलनले भोग्दै आएका यस्ता अनेकन् उदाहरण पुस्तकभरि छन् ।
म आँधिका लागि जन्मिएको हुँ, मलाई शान्ति मन पर्दैन भन्ने भनाइ अरू कसैलाई जँच्छ भने इलन मस्कलाई नै जँच्छ । उनका गतिविधि, उनको काम गर्ने शैली, उनका कम्पनीको उतारचढाव ती सबैले आँधिको सामना गरिरहन्छन् र त्यही आँधिमा इलन मस्क प्रायः रूमल्लिइरहेका हुन्छन् ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

