ग्रीसेली कवि जर्ज सेफेरिस १३ मार्च १९०० मा टर्कीको उर्ला भन्ने ठाउँमा जन्मेका थिए। उनका पिता स्टेलिअस सेफेरिअदिस वकिल र एथेन्स युनिभर्सिटीका प्रोफेसर थिए । उनी कवि र अनुवादक पनि थिए। सन् १९१४ मा उनको परिवार एथेन्स बसाइँ सरेको थियो । जर्ज सेफेरिसले स्कुल तहको माध्यमिक शिक्षा एथेन्समा नै पूरा गरे । उनले सन् १९१८ देखि १९२५ सम्म प्यारिस युनिभर्सिटी अन्तर्गत सोरबोनमा कानुनको अध्ययन गरेका थिए । सन् १९२२ मा तुर्किस सेनाले स्मीर्ना कब्जा गरेपछि सेफेरिसको परिवार सहित ग्रीसेलीहरू त्यहाँबाट भागे । सन् १९५० मा मात्र उनी फेरि त्यहाँ फर्के । बाल्यकालको निर्वासनको त्यो त्रासदीको प्रभाव उनका कविताहरूमा पनि देखिन्छ। उनी उन्मुक्त छन्दमा छोटा शोकगीतहरू लेख्न थाले र विश्वमा आफूलाई आधारहीन र एक्लो सम्झन लागे । प्यारिसमा कानुनको अध्ययन गरिरहँदा उनी भालेरी र अरू फ्रान्सेली प्रतीकवादी कविहरूबाट प्रभावित भए। सन् १९२६ मा सेफेरिस ग्रीक मिनिस्ट्री अफ फोरेन अफेअरमा कूटनीतिक सेवामा नियुक्त भए। कूटनीतिक सेवामा रहेकाले उनले अनेकौँ मुलुक घुम्ने र अनुभव प्राप्त गर्ने मौका पाए। उनले बेलायत, अल्बानिया,

अङ्कारा, टर्की, लेबनान, सिरिया, जोर्डन, र इराकमा कूटनीतिक सेवामा काम गर्ने मौका पाए तथा संयुक्त अधिराज्यमा सन् १९५७ देखि १९६१ सम्म उनी राजदूत समेत भएका थिए । लण्डनमा सेवारत रहँदा उनले टि.एस. एलिअटका कविताको अध्ययन गरे । सेफेरिसले अनेकौँ सम्मान र पदकहरू पाएका थिए। अक्सफोर्ड र क्याम्ब्रिज लगायत चारवटा विश्वविद्यालयले उनलाई सम्मान स्वरूप डाक्टरको उपाधि प्रदान गरेका थिए। उनी टि.एस. एलिअट र एजा पाउण्डबाट प्रभावित थिए । उनले टि.एस. एलिअटको बाँझो जमिन (The Waste Land) को अनुवाद समेत गरेका थिए।

उनका कविताहरूमा बिसौँ शताब्दीको ग्रीसेली जन जीवनको राम्रो चित्रण पाइन्छ । जीवनप्रति सेफेरिसको स्पष्ट मानवतावादी दृष्टिकोण छ र उनी प्रसिद्ध आयरेली कवि यीट्स सजक र चेतनशील छन् ।

सेफेरिसका महत्त्वपूर्ण काव्य कृति हुन् :-

१. स्टुफ (Strophe, 1931), २. पानीको टड्डी (The Cistern, 1932, ३ पौराणिक कथा (Mythical Narrative, 1935) ४. अभ्यास पुस्तिका (Book of Exercises, Part 1, 1940, Part II, 1976), लगवूक (Part I, 1940., Part II, 1944, Part III 1955) ५. धक्का (The Thrush, 1947), र ६. तीन गोप्य कविताहरू (Three Secret Poems, 1966) । उनले कविताको अतिरिक्त लेख, निबन्ध पनि लेखेका छन्। उनी अनुवादक पनि हुन् ।

सेफेरिस आयोनियाका किसान र माझीको माझमा हुर्के । उनी होमरको विश्व विख्यात काव्यकृति ओडिसीका परम भक्त थिए। बाल्यकालको आफ्नो वातावरण र जन्मथलो गुमाउनु पर्दा र नाजीद्वारा ग्रीसमा गरिएको दमनबाट उनले जीवनको कहिल्यै पार हुन नसक्ने यात्रा र असीमित सङ्घर्ष अनुभव गरेका छन् । उनले सन् १९६३ को प्रसिद्ध नोबेल पुरस्कार प्राप्त गरेका थिए । २० सेप्टेम्बर १९७१ मा ग्रीसको एथेन्समा उनको देहान्त भयो ।