“सत्यता मेरो माया र विश्वास हो, मेरो आकर्षण भनेको भिडलाई निषेध गर्नु हो ।”
फ्रेडरिक निच

अस्तित्ववादी दर्शनमा गीता मानिने Thus Spoke Zarathustra को छायाँबाट रचित मार्शल प्रुस्टको विश्व प्रसिद्ध उपन्यास In Search of Lost Time, जेम्स जोयसको The Portrait of the Artist as a Man, गाब्रियल गार्सिया मार्खेजको 100 Years of Solitude, स्यामुअल बेकेटको Waiting of Godot, हारूकी मुराकामीको Kafka on a Shore जस्ता सयौं उपन्यास, कथा, कविता तथा लेखहरूले संसारलाई मनोरञ्जन दिइरहेका छन् भने सयौं फिल्महरू निचका दर्शनलाई आधार बनाएर लेखिएका छन् र बनेका छन् ।

कला, साहित्य तथा दर्शनको कुरा गर्दा संसारका दार्शनिकहरूमध्ये फ्रेडरिक निचलाई महान् आधुनिक दार्शनिकका रूपमा लिइन्छ । कला, साहित्य तथा अस्तित्ववादी दर्शनको रचनामा विशेष योगदान दिने निचको आज प्रत्येक समाजको कला र साहित्यमा छाप पाइन्छ । फ्रेडरिक निचको कला, साहित्य र दर्शन विना आम मान्छेको वास्तविक जिन्दगी नै अधुरो रहन्छ अर्थात कुहिरो र कुहिरोमै जिन्दगी रहन्छ।

सन् १८४४ मा जर्मनीको रकेनमा जन्मिएका निच एक सम्मानित पादरीका छोरा थिए। १९ औं शताव्दीमा युरोपका पादरीहरूको रवाफ भनेको देश चलाउने शासक जस्तो हुने गर्दथ्यो। मान्छे जन्मेपछि हुने सबै संस्कारका कामहरू चर्चका पादरीहरूमार्फत हुने गर्दथ्यो भने देशको शासन व्यवस्था चलाउने हतियारका रूपमा पनि पादरीहरूको विशेष भूमिका हुने गर्दथ्यो। पादरीको छोराका रूपमा जन्मिएका निचका एक भाइ र एक बहिनीको दाइको रूपमा पिताजी-माताजीको चाहनाअनुरूप धर्मशास्त्रका विद्यार्थी थिए।

निचको दर्शन आम जीवनको अनुभवको दर्शन हो, जुन दर्शन अप्रत्यक्ष रूपमा लाखौ मान्छेको हत्याराको रूपमा लिइने गरिन्छ किनकि जर्मनीका कुख्यात नेता एडल्फ हिटलरले निचको दर्शन मेरो दर्शन भन्ने गरेका थिए। सुकरात, जाँ ज्याक रूसो, अर्थर सोफेनहावरजस्ता महान् दार्शनिकहरूबाट प्रभावित हुँदै आएको निचको यस दर्शनबाट युरोप महादेश मात्र नभएर विश्व नै प्रभावित भएको थियो र प्रभावित भएको छ। हाल रहेका गरेका र भइआएका अनुभवका आधारमा प्रायः सबै महान् दार्शनिकहरूको नाम मृत्युपश्चात नै चम्किन्छ भनेजस्तै निचको पनि अवस्था त्यस्तै थियो । सन् १८४४ मा जन्मेका निच ५६ वर्ष बाँचेका थिए भने उनले लेखेका पुस्तकहरू प्रायः सबै उनको मृत्युपश्चात नै प्रकाशित भएका थिए ।

समाजमा चलेका रूढीवादी संस्कार, नियम, नैतिकता, धर्महरूलाई लात मार्दै यथार्थ जिन्दगी जिउनु पर्छ भन्ने यथार्थवाद तथा अस्तित्ववादी लेखक फ्रेडरिक निच चलेका विश्वासलाई अनुभवसिद्ध तरिकाले सत्यतामा रमाउनु पर्दछ भन्ने दर्शन दिएका छन् । मान्छे जन्मन्छ, आफ्नो रङ्गमञ्चमा रमाउन शुरू गर्दछ। रमाउनुभन्दा पहिले सामाजिक नियमले उसलाई जकड्न शुरू गर्दछ । सामाजिक नियमअनुसार उसलाई चल्नुपर्ने बाध्यता समाजले उस्लाई दिएको हुन्छ । निच सामाजिक नियम, नैतिक नियम र धार्मिक नियममा विश्वास गर्दैनथे र यसको परिधिभित्र मान्छेलाई राखिनु हुँदैन भन्ने मान्यता उनको थियो ।

“म जति कुरूप भएता पनि मेरो सुन्दरता भनेको मेरो मिहिनेत हो”

निचका अनुसार सामाजिक नियम नमान्दा मान्छे बहिस्कृत हुने सम्भावना हुन्छ। हाम्रो सामाजिक नियमले हाम्रा सन्ततिलाई भिडमा जाने र भिडको नेतृत्व गर्ने निर्देश गरिराखेको हुन्छ । कसैको छोरो वा छोरी समकालीन तरिकाले नपढे वा पैसा कमाउने उद्देश्य नराखे बेकामे संज्ञा दिएको हुन्छ । निचका अनुसार हाम्रा हालका तमाम शिक्षाहरू भिडले निर्देश गरेको हुन्छ । दुई दशकअगाडि कला (Arts) पढ्ने घुइँचो थियो, एक दशकअगाडि कमर्स (Management) पढ्ने घुइँचो थियो भने आज साइन्स (Science) पढ्ने घुइँचो छ। पढ्न जान वा नजान तर नम्बर राम्रो चाहिन्छ। यो सबै भिडको नियम हो। यदि नम्बर राम्रो नल्याउने हो भने स्वयं विद्यार्थी चिन्तित हुन्छ। पिताजी चिन्तित हुन्छ। माताजी त श्रीमान् र आफ्नो पुत्र/पुत्रीको मुख पनि हेर्दिनन् किनकि फलानीकी छोरीको नम्बर कम आयो भनेर उनलाई भनेर बेइज्जत महसुस गरिन्छ र गराइन्छ। स्वयं विद्यार्थी कम नम्बर वा असफलताले मानसिक रोगी हुने सम्भावना वा आत्महत्याको हदसम्म पुग्न सक्दछ। यो सबै हाम्रो शिक्षित भनाउँदो समाजको (भिड)को नियम हो। निचका अनुसार यो भिडबाट त्यो विद्यार्थी बाहिर राखियो भने र यो आमोर फाटी (भाग्यवाद) को बारेमा बताउन सकियो भने ऊ काममा अवश्य सफल हुन सक्छ ।

उदाहरणका लागि जन्मजात बहिरा जर्मनीका महान् संगीतकार बिथोविन, बहिरी र अन्धी अमेरिकी महान् साहित्यकार हेलेन केलर, जन्मजात अन्धा Odyssey र Iliad जस्ता कविताका रचनाकार होमर, १६ औं शताब्दीका जन्मजात अन्धा महान् गायककार सुरदासलाई निचको ‘आमोर फाटी’को दर्शनले पछ्याएको देखिन्छ ।

विदेशी मात्रै नभएर वि.सं. २०६७ मा मदन पुरस्कार जित्न सफल ‘जीवन काँडा कि फूल’की रचनाकार झमक कुमारी घिमिरेलाई पनि लिन सकिन्छ । जन्मजात उभिन नसक्ने, हिंडन, बोल्न नसक्ने तर सुन्न र बुझ्न सक्ने अवस्थामा मात्र खुट्टाका ३ औँलालाई आधार बनाएर उक्त रोगबाट पीडित विश्वका १० साहित्यकारमध्ये एक प्रतिभावान् साहित्यकार तथा रचनाकार झमक घिमिरेलाई निचको ‘आमोर फाटी’को दर्शनले पछ्याएको देखिन्छ ।

निचका अनुसार आमोर फाटी (भाग्यवाद) मा हामीले विश्वास गर्नै पर्छ । काम गर्दै जाँदा कतिपय ठाउँमा अप्ठयारा परिस्थितिहरू आउने गर्दछन् तर यी सामान्य हुन् । यी अफ्ठ्यारा परिस्थितिलाई हामी सधैँ सकारात्मक तरिकाले लिनै पर्दछ। निचका अनुसार उमेरअनुसार सुखपछि दुःख र दुःखपछि सुख सामान्य प्रक्रिया हो। जस्तो दुःख परिस्थिति आए पनि सुखमय तरिकाले काम अगाडि बढाउनु नै भाग्यवादी सिद्धान्त हो। को गरिब को धनी ? को राम्रो को नराम्रो ? को पढेको को नपढेको ? को मोटो को दुव्लो ? यी सबै अल्पकालीन रूपमा सोचिने र गरिने व्यवहार मात्र हुन् । भाग्य त आफूमा भर पर्ने कुरा हो र भाग्य आफैँले निर्धारण गर्ने कुरा हो।

आमोर फाटी Amor fati भनेको Latin भाषाबाट आएको भाग्यलाई माया गर्नुस् भन्ने शब्द हो। काम गर्दै जाँदा आउने सबै अवरोधहरू स्वीकार गरेर हिँड्नु नै वास्तविक जिन्दगी र रमाइलो हो । मृत्यु, विछोड, असफलता, पीडा, आँसु, बेइज्जतीजस्ता क्षणहरू नरमाइला क्षण हुन् भने जन्म, संयोग, सफलता, उमङ्ग, हर्ष तथा इज्जतजस्ता क्षणहरू रमाइला क्षण हुन्। यी सबै एक सिक्काका दुई पाटा हुन् । हामी यी सबैलाई सहर्ष स्वीकार्नु पर्छ । हामी सधैँ सकारात्मक वा नकारात्मक परिस्थितिका भाग्यमानी हुन्छौँ ।

प्रत्येक व्यक्ति कहीँ न कहीँ आफ्नो भाग्य लिएर आएको हुन्छ । उदाहरणका लागि एक कृषक आफ्नो काममा नियमित रूपमा संघर्षशील रहने हो भने ऊ सफलताको सिंढी टेकेर नै छाड्छ।एक वटुवा हिडेर सगरमाथा जाने कोशिस गर्दछ भने उ पुगेरै छाड्दछ।जसरी एक संगीतकार आफ्नो संगीत राम्रो गराउनका लागि पटक पटक कोशिस गरेको हुन्छ ।सैयौं तथा हजार पटक कोशिस गरेर जसरी एक संगीतकार एक गीतमा संगीत भर्न सफल हुन्छ, जसरी एक अभिनय गर्ने नायक वा नायिका पटक पटक अभिनय गर्दा उसको अभिनय सजिव देखिन्छ त्यसै गरेर आफ्नो काम पूर्ण बनाउनका लागि हामी पटक पटक कोशिस गर्नै पर्छ ।

निचका अनुसार भिडबाट मेरो भाग्य कस्तो छ, यो बन्न सक्छु या सक्दिनँ भन्ने कुराको निर्णय जसरी एक ज्योतिषीले गरेर त्यो हुनै पर्दछ भन्ने छ। सामाजिक नियमअनुसार आमा‑बाबाको कुरा छोराछोरीमा थोपरिने अवस्था वा भिडलाई हेरेर म यो नै बन्नु पर्दछ भन्ने कुरामा आफूले विचार गर्नु पर्दछ। आफ्नो भित्री मन कहाँ छ कहाँ बाबा मम्मीले यो बन्नै पर्छ भनेर घोटिएको कुरालाई भाग्यवादी सोच मानिदैन । यो त मात्र भिडको इच्छा मानिन्छ। आफ्नो भित्री सत्यको बारेमा अनभिज्ञ रहेर भिडमा राम्रो रहने अवस्थालाई ‘आमोर फाटी’ (भाग्यवाद) भन्न सकिँदैन। हाम्रो समाजमा रहेका विविध रूढीवाद छन् । छोरा पाउनु पर्छ । छोरीले घर गर्नुपर्छ। महिलाले महिनावारी बार्नु पर्छ । जति पनि विज्ञानदेखि बाहिरका कुरा छन्, ती सबै भिड नियन्त्रित कुराहरू हुन् ।

निच एक महान दार्शनिक, चिन्तक,साहित्यकार तथा प्राध्यापक हुन्तर उनी स्वयंका लागि एक सर्वसाधरण मान्छे हुँ भन्ने गर्दथे। निचकाअनुसार ईश्वर डराएका र बिरामी मान्छेहरूका मात्रै ईश्वर हुन्। ईश्वर छैनन् तर हामी जे छौं हाम्रो अस्तित्वमा हामीले विश्वास गर्नै पर्छ । हाम्रो चलेको जिन्दगीलाई सुन्दर बनाउने अरू कुनै अदृश्य शक्ति छैन । हाम्रो जिन्दगी सुन्दर बनाउनका लागि हामी स्वयं अग्रसर हुनै पर्छ । संसार एक हो, संसारका कुनै पनि ठाउँ स्वर्ग बनाउनका लागि उपयुक्त छन् । हामी हाम्रो ठाउँ स्वर्ग बनाउन कसिनु पर्छ भन्ने जिन्दगीप्रेरित सन्देश दिने निच भाग्यवादी (आमोर फाटी) सिद्धान्तका प्रवर्तक हुन्। प्रवचन तथा शिक्षाको माध्यमबाट शिक्षित नबनाई आफ्ना सशक्त अध्ययन र लेखबाट मानवीय जिन्दगीको यथार्थता वास्तविक सत्यमा हुन्छ र मनोरञ्जन पनि वास्तविक यथार्थतामा र सत्यतामा हुन्छ भन्ने सन्देश दिन सफल भएका निच सन् १९०० अगस्ट २५ का दिन जर्मनीकै वाइमर भन्ने ठाउँबाट बिदा भए ।