टंक वनेम आफ्नो स्मृतिमा भर्जिनिया पार्कमा फुलेको लालीगुराँस देखेर सातहजार किलोमिटर पर अल्लारे बैँसमा मिल्के र तीनजुरे डाँडातिर पकन्दी खेल्दै धान नाचेको विस्मृतिमा हराउँछन् ।
आहिङल थारिक निङवा सुम्मा
सुक्तेप्पी आति निङवा मुःम्मा .. हा..हा..मा …हा….
(बाँचेरै सम्म सम्झना, सकिन्छ कहाँ बिर्सन । हा…हा…मा …हा)
टंक वनेम हङकङतिर कवितामा खुब चम्केका अब्बल पल्टने कवि हुन् । अपसोस उनी आफ्नै पल्टन घरभित्रको उकाली यात्रामा भने दुई भञ्ज्याङ मास्तिरको देउरालीमा बास बस्न पुगे । पल्टन घरले परित्याग गरेको कवि सङ्गिनको मूर्च्छना तथा साँघुरी र बुढा सुब्बा कविता सङ्ग्रह लेखेर ब्युँझिए । तमोरको हाक्पारे गडतिर पच्छ्याउँदै आफ्नै मुन्धुम “पेन्जिरि पेन्मिक्हाः अर्थात् “भूल गर्ने जोडी आँखा” चियाउन फक्ताङलुङ उकालो उक्ले । श्लेश्मान्तकीय साम्माङ कथाहरू लेखेर जीवन र जगत बुझ्ने गोरेटो पहिल्याए । आफ्नै वंशको वंशावली इतिहास लेखेर इतिहासको चोत्लुङ (सिद्धि स्थल) यात्रा शुभारम्भ गरे । पछिल्लो समय टंक वनेमले जन्मेर केही बुझ्ने भएदेखि आफूलाई सम्झना भएका अनेक घटनाहरूलाई ३९ शीर्षकमा संस्मरण सङ्ग्रह स्वरूप जीवन भोगाइको आत्मा साक्षात्कृत “सुदूर विस्मृतिका बिम्बहरू” कोसेली लिएर पाठक समक्ष उपस्थित भएका छन् ।
टंक वनेम याकथुङ लाजे उद्गमस्थल मैवाखोला ढुङ्गे साँघुमा जन्मे । पुर्खाको बिँडो थाम्न टिनएज नकाटी ब्रिटिस लाहुरे बने । बाँचेको एकतिहाई भाग विदेशमा बिते पनि जीवनको सार्थकता, मूल्य,मान्यता र महत्त्व खोज्न आखिर “सुदूर विस्मृतिका बिम्बहरू” खोज्न आफ्नै गाउँ ठाउँमा फर्के ।
लेखकका पुर्खा सुब्बा सुभाङगी खलक भएको हुनाले पुराना कागज पत्रका ढड्डा पल्टाउँदै बि.सं. १८२७ साल श्रावण सङ्क्रान्तिका दिन गोर्खा सेनाले अरुण तरी चैनपुर आएकोदेखि बि.सं. १९९० साल सम्म लिम्बुवानमा घटेका तर अलिखित अनेक घटनालाई सप्रमाण चित्रण गर्दै संस्मरण सङ्ग्रहमा समावेश गरेका छन् ।
ओझेलमा परेका बाजहाङ आङ्बुहाङको बलिदानपूर्ण सङ्घर्षबारे बाहिर ल्याएर टंकले याकथुङ समुदायमा ठूलै योगदान दिएका छन् । आङ्बुहाङ वंशका बाजहाङलाई तत्कालीन राणा शासन विरुद्ध विद्रोह गर्दा बिसं १९५२ सालमा ताप्लेजुङ फुङ्लिङमा झुन्ड्याई फाँसी दिइएको थियो । टंकले आफ्नै घरमा सुरक्षित हस्तलिखित दस्ताबेजसहित पुस्तकमा पेस गरेका छन् ।
“त्यो साँझ र आमाको कथा” शीर्षकमा टंकले आम येबा, साम्बा, तुतुतुम्याहाङबीच केही अन्योल र आशङ्कामा गुज्रिरहेको याकथुङ समुदायको नावा चइत् मुन्धुम (सृष्टिको आख्यान) लाई विज्ञानले पत्याउने गरी यसरी स्पष्ट व्याख्या गरेका छन् ।
सिङदुम–पक्वा च्वात (आदिम कालमा रुखको टोड्कामा जमेको पानी),लुङदुम–पक्वा च्वात (आदिम कालमा ढुङ्गाको खोपिल्टामा जमेको पानी),सिमिक्ला खाप्पुरखाम (मालिङ्गो बाँसको खरानी वा माटो,पाङगेन्दिङ वहित (वर्षातको पानी), अम्लिङगेन खामहिक (सुनौलो माटो) यी पाँच तत्त्वहरूको उष्ण बाफ आकाशमाथि उड्दै जाँदा सूर्यको तातो ताप र चन्द्रमाको मधुरो प्रकाशमा बाफ बन्यो । बाफ बनेको पानी थोपामा परिणत भई गह्रौँ भएर उँधो पृथ्वी लोकमा खस्दा कुनै एक अग्लो ठाउँमा अडिएर बस्यो । त्यहीँ थोपामा आत्मा प्रवेश गरेको हुनाले पोरोक्मी यम्फामी माङले संरक्षण दिएपछि अण्डामा चल्ला कोरलिए जस्तै सर्वप्रथम मुजिङना खेयङनारमयङना नामक एक स्त्री रूप अर्थात् सृष्टि माता प्रकट भइन ।
परम्परागत लाहुरे पेसाले बिदेसिएका आम नेपालीहरूझैँ टंकको स्वाभिमानमा पनि आघात पुगेछ । मान्छेले जीवनमा राम्रो नराम्रो जे भोग्यो, त्यो भन्दा उसले गुमाएको क्षणलाई कहिल्यै बिर्सन नसक्दो रहेछ । धनसम्पत्ति, मानमर्यादा, प्रतिष्ठा र सांसारिक सुख, भोग सब थोक भएर पनि कहिल्यै आत्मा सन्तुष्टि नमिल्दो रहेछ । तिनै गामघरको माटोको मायाले जगाइदिएको चरम आशक्ति पुस्तकका पाना पानामा समावेश गरेका छन् ।
स्रष्टा लिम्बुवानको चर्चित फौदारे चाँगेली र शेरजङगेहरुको सांस्कृतिक रसको झोक र भाती जाँडको अभिमान सम्झन्छन् । गुप्तेकल्लुवा, किङकङ, फाइटर फौदारे संस्कृति हराएको धुमिल चित्र कोर्दै अतीततिर फर्किन्छन् । मुन्धुम सौन्दर्यमा आशक्त उनी बसौँ माङ्गेन्ना गर्न नपाउँदा उनको शिर झुकेको महसुस गर्दछन् । हरेक अन्तरामा कहीँ न कहीँ याकथुङ लाजेमा लाग्ने हाट बजारका पालाम घन्किन्छ, फेजिकुम फेदाङमा र पेगि फाङसामका मुन्धुमी अलाप विलाप सुनिन्छ ।
हामीलाई यहाँसम्म ल्याई पुर्याउन अथवा याकथुङ सभ्यता निर्माण गर्ने कार्यमा पुर्खाहरूको ठूलो त्याग, तपस्या र समर्पण थियो । तर विकासका नाममा विनाश आइसकेको हामी सबैले महसुस गरेकै हो । गाउँमा जन्मेर पाहा, माछा, अरिङ्गाल, जङ्गली च्याउ, गिट्ठा, ढिँडो रोटी खाँदै खाली खुट्टामा घाँस दाउरा मेलापात हुँदै सारा संसार देखेका टंक दुई पुस्ता जोड्ने आफू अन्तिम पुस्ता भएकोमा गर्वभन्दा धेरै चिन्ता र तनावमा छन् । यस्तै अभिव्यक्तिहरू प्रस्फुटित छन् पुस्तकमा ।
याकथुङ लाजेमा रहेका प्रायजसो सबै वनस्पति खोलानालाको नाम याकथुङ पानमा छन् । स्थानीय जडीबुटीको उपयोग, आवश्यकता र संरक्षण त्यसको प्रयोग गर्ने हाम्रा आफ्नै याकथुङ दृष्टिकोण छन् । आदिवासी ज्ञानले प्रकृतिमा उपलब्ध कुनै पनि स्रोत मासिने गरी उपयोग गर्न दिँदैनन् भन्ने याकथुङ चेतनाकै उपज टंक किटनाशक औषधी प्रयोगले किराफट्याङ्ग्रा नाशसँग आफ्नो गाउँको वातावरणीय सन्तुलन र परिस्थितिकीय (इकोसिस्टम) मा तीव्र विनाश भएकोमा हैरान छन् । मानव समुदायको लागि वनजङ्गल, जनवार, चराचुरुङ्गीको महत्वदेखि आदिवासी ज्ञान सीपले प्रकृतिका विद्यमान स्रोतहरूको प्रयोग र निरन्तरता राख्ने, ती सीप र अनुभवलाई विज्ञानसँग जोडेर थुप्रै ज्ञानमूलक तथ्यहरू पुस्तकमा अघि सारिएको छ ।
परम्परागत कृषि, फलफूल खेती, लाईभस्टक भेडा, बाख्रा, याक, चौँरी, गाई, भैँसी पालन र जडीबुटीको राम्रो सम्भावना र यसको उत्पादन, उपभोग र वितरण, स्थानीय फेदाङमा, लामाहरूको औषधीय ज्ञान, असिना हावा हुण्डरी रोक्ने तान्त्रिक ज्ञान मानव सभ्यताका आधारभूत मानक हुन । उहिलेको सुब्बा सुभाङ्गी व्यवस्था, भोटसँगको व्यापार, विनिमय, स्थानीय तान बुन्ने कला, परम्परागत जीवन शैली र औषधीय विज्ञान, कृषि उत्पादन, सुखिम (सिक्किम), भोटाङ (भुटान) मा सुन्तला खेप्ने, अलैँची टिप्न जाने कार्यहरूले लिम्बुवानको तत्कालीन आर्थिक, सामाजिक, राजनीतिक अवस्थालाई सजिलै बुझ्न सहयोग गर्दछ ।
“असिना तर्काउने लामा र बनझाँक्री”शीर्षकमा बनझाँक्रीलाई आत्मशुद्धि आत्मज्ञान अर्थात् प्रकृतिको पूजा गर्दा प्राप्त आत्मज्ञानबारे लेखकले लामै स्थान दिएका छन् । बनझाँक्रीको आत्मज्ञानबारे सिरजङगाहाङले याकथुङ लिपि (सिरजङगा) आविष्कार गरेको घटनालाई पनि जोड्न सकिन्थ्यो ।
“एकदिन निसाम्माङले सिरिजङगालाई हिमालको अनकन्टार (फक्ताङलुङ) गुफातिर लगे । गुफाको सात ढोका पार गर्दै अन्तिम कोठामा भएको ढुङ्गामा लेखिएको लिपि सिकेर सिरिजङगाहाङले आफ्ना जनतालाई सिरिजङगा लिपि सिकाएका थिए”भन्ने याकथुङ लोककथा अनुसार लिपि सिकाउने गुरु तागेरा निङवाफुमाङको एक अवतार बनेर बनझाँक्री नै पो आएका थिए कि ?
यो पुस्तकमा सबैभन्दा लामो ३३ पृष्ठ “निलो आकाशको सर्वाङ्ग र महाभारतको युद्धकथा” ले ओगटेको छ । सानो छँदा आफ्ना बाबुले सुनाएको र आफ्नै अध्ययनले महाभारत कथाका प्रायः सबै पात्रहरूको चरित्रलाई विश्लेषणात्मक विवेचना गरिएको छ । खास गरी कथामा देवत्वकरण गरिएका प्रमुख नायकहरू नै अनैतिक यौन गतिविधि र अनेक काण्डका पटाक्षेपहरू लेखकले सटिक ढङ्गले प्रस्तुत गरेका छन् । कुरुक्षेत्रको युद्धमा कौरवहरूले आफ्नो राज्यसँगै १०० दाजुभाइमा एकजना (युयुत्सु) बाहेक सबै गुमाए । गोर्खा र लिम्बुवान युद्धको सम्झौता पछि लिम्बूहरूले पनि किपट गुमाएर साम रिति मान्न र बन्न बाध्य बनाइएका लिम्बूहरूको इतिहासलाई महाभारतको कथासँग कतै न कतै जोड्न खोजिएको देखिन्छ । तर महाभारत युद्धको प्रमुख कारण भीष्मको त्याग र सौतेनी दाजुभाइको मामलालाई भने खासै स्थान दिइएको छैन ।
पुस्तकभरि मुजिङना खेयङना, बुद्ध, कन्फुसियस, प्लेटो, पाब्लो निरुदा, चोम्स्की, रुशो, माक्र्स, आइन्सटाइन, सांकृत्यायन, ओशो, हकिंग्स, रुपचन्द्र, हरारे, खुँडेराजा, ग्राङदेन, फाल्गुन्द, बुद्धिमान तामाङ, मेन्छया, थाङवेन, किङकङ, दाहसिं, गुप्ते कल्लुवा, पेगिफाङसाङ, गुलेली मट्याङ्ग्रा, पुरेत, लामा, झाँक्री आदि समेटिएका छन् अथवा संसारमा नाम चलेका थुप्रै व्यक्तिहरूको नाम जोडिएको छ ।
प्रखर समाजवादी चिन्तक प्रदिप गिरी तथा आहुति, सिके लाल, हरारेको बौद्धिक मसला यसै पुस्तकमा प्रशस्तै पढ्न पाइन्छ । युट्युबमा देखिने डा.सुरेन्द्र केसी, दुर्गा प्रसाई, पुन्य गौतमका हावा कुरा सुन्नेहरूका लागि सुदूर विस्मृतिका बिम्बहरू नपच्न सक्छ । दनदनी आगो बलिरहेको अगेना वरिपरि बसेर बाजे–बजुको मानव सभ्यताका कहिले नसकिने तर काम लाग्ने लोभलाग्दो कथा सुन्ने पारखीहरूले यो कृति पढे कसैलाई घाटा छैन न त पछुतो नै हुन्छ ।
कुखुरा, बाख्रा, टर्की, कालिज, माछा पालक धेरै उद्यमशील युवाहरूको पुस्तकमा शानदार चर्चा भए पनि एक चर्चित बाख्रापालक नेपाली काङ्ग्रेजी नेता महामन्त्री गगनकुमार थापाको नाम हराउनु संयोग मात्र होला । यो पुस्तक प्रकाशनपछि, राणा शासकद्वारा झुण्ड्याएर मारिएका ताप्लेजुङ हाङपाङ गाउँका बाजहाङ आङभाङ (आङबुहाङ) को जन्म मिति (बि.सं.१९२८०)मा विवाद आइसकेको अवस्था छ । एक ठाउँमा धनकुटा चौबिस थुममा रहेको अमिन शायद छथर हुनुपर्छ । बुद्धिमान तामाङलाई गोठाला भन्दा सहयोगी भनिएको भए सभ्य हुन्थ्यो कि ? नभएको डाक्टर उपाधि पाएर डोरबहादुर विष्ट स्वर्गमा खुसी भएका होलान् । बि.सं. २०१८ सालतिर देवानदोर्जे थिङको नेतृत्वमा काटिएको पुल तत्कालीन दोरोम्बा र आङबुङ पञ्चायतको क्रमशः खिबुना पुल र काबेली पुल हुनु पर्नेमा अन्यथा भएको छ । चरा, माछा, पाहा, माहुरीको सिकार छ तर गँगटा र अरिङ्गालको सिकार छैन । शायद लेखकको गाउँमा गँगटा र अरिङ्गालको सिकार गर्ने चलन नभएर होला ।
टंकले “क्लाउड लेभि–स्त्राउसको मिथक दर्शन र गिर्बोहरुको रहर”शीर्षकमा अल्छी लाहुरे साहित्यकारहरूको बारेमा छोटो चर्चा गरेका छन् । अल्छी मात्र होइन आजकालका लाहुरेहरू सोख र कति त नामकै लागि मात्र भाडाका लेखक (घोष्ट राइटर) प्रयोग गरी पुस्तक छपाउने विकृति बढेकोमा मौन भएका छन् । नेपाली प्रतिभा प्रतिष्ठान बेलायतले आयोजना गरेको कार्यक्रममा ६४ जना लाहुरेको सिर्जना स्तरहीन भएकै कारण उक्त दिनका विशेष अतिथि स्व. डा. कविताराम श्रेष्ठले अस्वीकार गरेको शायद स्वयम टंक वनेमले मेसो पाएनन् होला ।
डा. श्रेष्ठ र मुकारुङका सत्य वचन भन्दा लाहुरे साहित्यकारहरूलाई फुर्काउने फसाउने डा. गोबिन्दराज भट्टराई, अभि सुबेदी, डा सुरेन्द्र केसी आत्मीय लाग्छन् । अनि “हतारमा लेखिएका र स्तर नपुगेका” भन्ने राजन मुकारुङको टिप्पणी जस्तै साँच्चै लाहुरे स्रष्टाहरू हाँसोका पात्र बन्न पुगेका छन् । हाँसोका पात्र नबन्न टंक वनेमले जस्तै अन्य थुप्रै लाहुरे सर्जकहरूले सजकता अपनाउनु पर्ने दिन आएको छ ।
मोटामोटी कोरकार ग¥यो, कसैलाई पैसामा सम्पादन गराएर राजधानीमा विमोचन गराइहाल्ने लाहुरेहरूको रहर जिउँदो जाग्दोछ । पुस्तकको भूमिका, भाषा सम्पादन, आवरण, मन्तव्यदेखि प्रकाशकीय लेख्ने सबै भाडाकै बुद्धिजीवीहरू प्रयोग हुन्छन् । पुस्तकको गुदी कोट्याउनु भन्दा पैसाको मुठो हेरी लाहुरेलाई खुब फुर्काएर भूमिका लेखि दिन्छन् । पुस्तक विमोचनमा हाईहुई गर्नेहरूको जमात पनि उनीहरूकै हुन्छ । लाहुरे लेखकहरू फुरुक्क हुन्छन् । कृति बजारमा गएपछि कवाडीले जोखेरसम्म किनी दिँदैनन् । तर पनि विभिन्न पत्र पत्रिकाहरूमा त्यहीँ पुस्तकको बारेमा खूब बढाइँ—चढाइँ गरेर समीक्षा प्रकाशित हुन्छ । लाहुरेहरूलाई उचालेर उनीहरूको पसिनाको कमाइ खानेहरूको एउटा ठूलै जमात तयार भएका छन् काठमाडौँ उपत्यकामा । त्यस्ता विद्वान समीक्षकहरुलाई युरोप यात्रा र गोजी तताउने काम उनै लाहुरेहरुले व्यवस्था गरिदिन्छन् ।
खुसीको कुरो, यो कृतिको प्रमुख भूमिका आफ्नै माइला दाजु डम्बरकुमार वनेमलाई लेखाएर टंक वनेमले राम्रो सन्देश दिएका छन् । भाइ बालक हुँदाको उपद्रो स्वभाव, कौतूहल, लगनशीलतादेखि सफलताको लामो फेहरिस्त आफ्नै माइला दाजुले उतार गरिदिएका छन् ।
पल्टन घरमा कमाण्डरहरुको नजरमा लेखक कान्छी आमाको दर्जामा पर्छन् । नेपाली साहित्य र सङ्गीतमा लागेका सिपाहीहरू युद्धमा प्रभावकारी हुन नसक्ने भनेर बन ढाडेको कितामा राखिन्थ्यो । पदोन्नति र राम्रा अवसरमा सर्जकहरू जहिल्यै पछि परेको एक नभएर अनेक उदाहरणहरू छन् । टंक वनेमको संस्मरणात्मक कृतिमा आफैँ पनि यसको सिकार भएको स्वीकार गरेका छन् ।
जीवन र जगतलाई हेर्ने लेखकको विश्व दृष्टिकोण वैज्ञानिक भएर पनि उनले एक ठाउँमा “भगवानको कृपाले आफ्नो घर परिवारभित्र कुनै मानवीय क्षति नभएको”भन्ने विरोधाभासपूर्ण भावोक्तिले भने पाठक अलमलिन सक्छन् । टंक आफैँमा एक प्रयोगवादी सिद्धहस्त सर्जक भएको हुनाले युद्ध कलासँगै आफ्ना नवजवान सिपाहीहरूलाई कविता लेख्न सिकाउँथे । फलस्वरूप उनको सिपाही मूलीबीर राईले सैनिक सेवासँगै आर्ट एण्ड सोसियल साइन्समा विद्यावारिधि गरेका छन् ।
लेखक पुस्तकको सुरुदेखि अन्तसम्म नोस्टलजिक देखिन्छन् । ज्ञानको स्रोत आधुनिक शिक्षा र आफूले देखेको बाहिर संसारभन्दा आफू जन्मेको हुर्केको माटो र पुर्खाहरूले निर्माण गरेको अलिखित याकथुङ संस्कृति भएको निष्कर्षसँगै उनी सुदूर विस्मृतिका बिम्बहरू खोज्न आफ्नै गाउँ ठाउँमा माटोको मायाले तानिँदै ढुङ्गेसाँघु फर्केका छन् । हुन पनि उनले असल र धैर्यवान् जीवन जिउने कला क नपढेकी आमा र दिदीसँग सिक्ने अवसर पाएका थिए । मानिसले आर्जन गर्ने ज्ञान भनेको उसले बाँचेको बाल्य जीवन पनि हो । उनले गाउँघरका अग्रजहरूले भन्दै आएका अर्थात् मौखिक रूपमा सुन्दै आएको लोक कथा, लोक साहित्य, पालाम, हाक्पारे, ख्याली, मुन्धुम संस्मरणको स्रोत बनाएका छन् । पुस्तकभरि टंकले मौखिक परम्परामा बाँचेका याकथुङ ज्ञान र त्यहीँ ढुङ्गेसाँघु आसपास खोल्सा, खेतबारीका काँध्ला गह ,हावापानी र प्रकृतिलाई जीवनको सार्थकतासँग जोडेका छन् ।
निःसन्देह, सुदूर विस्मृतिका बिम्बहरू पछिल्लो पुस्तालाई पिता पुर्खासँग साक्षात्कार गराउने ऐतिहासिक दस्ताबेज बनेको छ । नभन्दै लेखकले आफ्नो भूमिकाको शीर्षक नै “पूर्वस्मृतिका जराबाट उम्रिरहने विचारका बिरुवाहरु”बाट आरम्भ गरी प्रकृति र समाज विज्ञानलाई दार्शनिकीकरण गर्ने प्रयास गरेका छन् । अर्थात् मारोहाङवादको “डिलिङ्किङ, रिलिङ्किङ र लिङ्किङ”सिद्धान्तमा समाहित गरेका छन् ।
हुन पनि विचार जताबाट पलाए पनि यसको बीउ चेतना हो । सामान्यतया ब्रह्माण्ड, वस्तु र समाजलाई हेर्ने भौतिकवाद र आदर्शवाद दुई वटा विश्व दृष्टिकोण छन् । अर्थात् पाश्चात्य र पूर्वीय दर्शनमा विभक्त छन् । प्रकृति, वस्तु, पदार्थ, समाज विकास, आत्मा, परात्मालाई हेर्ने विचारमा लामो समयदेखि यी परस्पर विरोधी दर्शनभन्दा फरक याकथुङ जातिको मुन्धुमले निर्देशित आफ्नै याकथुङ विश्व दृष्टिकोणलाई टंक वनेमले गहिरो अध्ययन अनुसन्धान तथा विश्लेषण गरी यथार्थपरक ढङ्गले प्रस्तुत गर्दै ४३२ पृष्ठको पुस्तक प्रकाशित गरेका छन् ।
पाठकको आँखामा यो कृति प्रेरक मार्गदर्शक छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।