नेदरल्यान्डको एउटा संग्रहालयबाट हराएको भ्यान गगको प्रख्यात चित्र द पर्सोनेज गार्डेन एट न्युनेन इन् स्प्रिङलाई हालै नेदरल्यान्डका चित्रकला प्रहरी जासुस आर्थर गार्डेन ब्रान्डले फिर्ता ल्याएका छन् ।
अहिले देखिरहनु भएको चित्र नेदरल्यान्डको आर्म्टरड्यामका जासुस ब्रान्डले फिर्ता ल्याउन सफल भएका हुन् । उनले यो चित्र खोज्न तीन वर्षभन्दा बढी समय लगाएका थिए ।
यो चित्रकला सन् १८८४ मा भ्यान गगले बनाएका थिए । यसलाई प्लास्टिकको एउटा झोलामा प्याक गरिएको थियो र एउटा सिरानीमा थिचेर राखिएको प्रहरीले जनाएको छ ।
यसलाई ग्रोनिङगर म्युजियमबाट सन् २०२० मा चोरिएको थियो । त्यसो त चोरलाई सन् २०२१ मै पक्राउ गरिसकिएको थियो तर प्रहरीले पेन्टिङलाई भने पत्ता लगाउन सकेको थिएन ।
एक साताअघि मात्र ब्रान्डले कुनै सूत्रमार्फत एक जनालाई पत्ता लगाएका थिए । ती व्यक्तिले उनलाई सो चित्रकला कसले फिर्ता दिन सक्छ भनी बताएका थिए । नभन्दै उनी ती व्यक्तिलाई खोज्दै आम्स्टरड्यामको एउटा पुरानो गल्लीमा पुग्दा सो चित्रकला फेला पारे । कसले सो चित्रकला फिर्ता दिएको हो, सोबारे उनी खुल्न चाहेनन् ।
त्यसो त उनले चित्रकला फेला त पारे तर उनले हात पार्न भने सकेनन् । यसका लागि अन्डरवर्ल्डका केही मानिसहरूसँग उनले छलफल र केही लेनदेनका कुरा चलाए । अनि मात्र पछि उनको घरैमा सो चित्रकला आइपुगेको हो ।
न्युनेनस्थित संग्रहालयमा झुण्डिदा यो चित्रको मोल ६० लाख पाउण्ड थियो । चोरले संग्रहालयमा यसलाई टाँग्दै गर्दा खोसेर टाप कसेको थियो ।
ब्रान्ड संसारभर चोरिएका चित्रकलाहरू फिर्ता ल्याउन सफल हुने अधिकारीहरूमध्ये सबैभन्दा चर्चित छन् । उनले हिटलरको शासनकालमा चोरिएका कयौँ चित्रकलाहरू फिर्ता ल्याएर चर्चा बटुलेका थिए ।
पेन्टिङ वास्तविक हो कि होइन भन्ने पत्ता लगाउन ग्रोनिङगर म्युजियमका निर्देशक आन्ड्रियास ब्लुमसमेत आएका थिए । उनले भने, ‘जब चित्र हातमा राखेर हेरेँ, त्यो वास्तविक नै भएको पत्ता लागेपछि मेरा आँखामा आँशु आए । जसले चोरेको हो, सुरक्षित फिर्ता दिएकामा म त कृतज्ञ नै भएँ ।’
यो पेन्टिङ सन् २०२० मार्च ३० मा चोरी भएको थियो । मध्य कोभिडका बेला राति म्युजियमको ढोका फोडेर चोरिएको थियो । त्यसको केही समयपछि माफियाहरूको भेलामा सो चित्र बेच्ने प्रयास गरिएको थियो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।