१. जब पहाडीले ब्राजाकीलाई भने – तपाईँलाई पाठकले मदिरा सेवन गर्ने लेखकका रूपमा चिन्छन्

मनु ब्राजाकी

कुरा हाम्रा सर्वप्रिय कथाकार मनु ब्राजाकीको । कुरा कथाकारको हो तर कथाको होइन । बरु हाम्रा प्रिय कथाकारले सेवन गर्ने मदिराको हो । तर सर्वप्रिय कथाकारको कथाकारितामाथि नलेखेर ‘मदिरासेवनारिता’माथि लेख्नु कति औचित्यहीन छ – अन्त्यमा ब्राजाकी आफैंले बताउनु हुनेछ ।

अँ, सुरुमा एउटा प्रश्न खडा गरौँ – ब्राजाकीलाई मदिरा सेवन गर्ने बानी कहिलेबाट र कसरी लाग्यो ? अब यही प्रश्नको उत्तर खोजौँ ।

ब्राजाकीका अनुसार, उनी पोखरामा एसएलसी पढ्दाखेरि त्यहाँ एक जना तान्त्रिक थिए । युवावस्था, नौला कुराहरूमा ब्राजाकीको जिज्ञासा रहन्थ्यो । ‘तन्त्रमन्त्र के हो र कस्तो हुन्छ ?’ भन्ने जिज्ञासाको उत्तर खोज्न उनले ती तान्त्रिकको सङ्गत सुरु गरे ।

अनि ? अनि भयो के भने, ती तान्त्रिकले तन्त्रमन्त्र सिकाएनन् बरु त्यसको बदलामा ‘भगवतीको प्रसाद’ भन्दै ब्राजाकीलाई रक्सी पिउनचाहिँ सिकाइदिए । नि:शुल्क । र, त्यही सुरुवात थियो ब्राजाकीको ‘मदिरासेवनारिता’को ।

पहिलो प्रश्नको उत्तर खोज्ने सिलसिला सकियो । प्रश्न ज्ञान र चेतनाको जननी हो । फेरि अर्को प्रश्न खडा गरौँ – ब्राजाकीको पिउने सिलसिला कसरी र किन जारी रह्यो ?

कुरो के भने, पोखरामै छँदा ब्राजाकी विद्यालयबाट फर्किदा तान्त्रिकलाई प्राय: बगर भन्ने ठाउँमा भेट्थे । त्यहाँबाट आफ्नो गाउँ लामाटार पुग्न उनलाई एक घण्टा हिँड्नु पन्थ्र्यो । ‘भगवतीको प्रसाद’ अलिकति सेवन गरेपछि उनका गोडा फटाफट चल्थे जुन उनलाई रमाइलो लाग्यो । त्यही गोडाको फटाफट र रमाइलोले नै रक्सी सेवनको सिलसिलालाई निरन्तरता दियो ।

कुरो सकियो ? छैन । मुख्य कुरो त बाँकी नै छ । अब सुन्नुहोस् –

नेपाली साहित्य र रङ्गमञ्चका बेजोड व्यक्तित्व किशोर पहाडीबारे जानकारी दिने पुस्तक छ – सिर्जनशील किशोर पहाडी । सो कृतिमा पहाडीले हालसम्म लिएको एकमात्र अन्तर्वार्ता छपिएको छ – मनु ब्राजाकीको । सोही अन्तर्वार्तामा पहाडीले सोधेका छन् – तपाईँलाई मदिरा सेवन गर्ने लेखकको रूपमा पनि पाठहरूले चिन्छन् । …

ब्राजाकीको उत्तर छ – मदिरा सेवन गरेर लेख्नेहरू अरु पनि थुप्रै लेखकहरू छन् । नलेखेर मदिरा सेवन गर्नेहरू पनि असङ्ख्य छन् । जसलाई मदिरा र मदिरा सेवनमा रुचि छ, उसले मेरो मदिरा सेवन गर्ने प्रवृत्तिबारे लेख्छ । जसलाई मेरो साहित्य लेखनमा रुचि छ, उसले मेरो लेखनको उपलब्धि र प्रवृत्तिबारे लेख्छ । रुचि आफ्नो आफ्नो हुन्छ ।

मैले सुरुमै तपाईँलाई भनेकै थिएँ नि – ‘… तर सर्वप्रिय कथाकारको कथाकारितामाथि नलेखेर ‘मदिरासेवनारिता’माथि लेख्नु कति उपयुक्त छ ?’

===

२. जब एक पुस्तकले नामुद अपराधीलाई प्रिय लेखक बनाइदिन्छ …

कुरो एकादेशको हो । एकादेश अर्थात् धेरै पहिलेको । धेरै पहिले अर्थात् सन् १४ सयको शताब्दीको ।

थोमस मेलोरीको मृत्यु भयो, सन् १४७१ मा । उनको मृत्यु कारागारमा भएको थियो, यसर्थ सर्वसाधरणले उनको मृत्युलाई सम्झनु पर्ने कुनै कारण थिएन । शोक मनाउनका लागि उनी निर्दोष पनि थिएनन् । डकैती, अपहरण, बलात्कार – उनको अपराधको लहरो निक्कै लामै थियो । त्यही लहरोलाई समाएर मेलोरीलाई न्यायधीशले जन्मकैदको सजाय सुनाएका थिए ।

सन् १४५० को दशकमा मेलोरीलाई सजाय सुनाइएको थियो । सुरुका दिनमा उनले आफ्नो सजायलाई गम्भीरतापूर्वक लिएनन् । कारागारका आफ्नो सहकर्मीहरूलाई बेलायत र फ्रान्सबिच चलेको सय वर्षे युद्धमा आफूले खेलेको भूमिका र लडेको युद्धका गफहरूले सुरुवाती दिनहरू सजिलैसँग बिताए । तर उनको सजाय जीवनभर कारागारमै कुँजिनु थियो । माफिनामा पाउने कुनै सम्भावनै थिएन । त्यसैले, कारागार बसाइ लम्बिँदै गएपछि भने उनलाई अत्यास लाग्न थाल्यो ।

उनलाई १२ शताब्दीमा बनाइएको एक कठोर कारागारमा राखिएको थियो – न्युगेट प्रिजन । जुन नाम सुन्दै पनि अपराधीहरूको पसिना छुट्थ्यो । मुटु काम्थ्यो । त्यसबिच बिस्तारै मेलोरीलाई पनि तनावले घेर्न थाल्यो । तनावलाई कम गर्न उनी लेख–पढमा भुलिन थाले ।

अनि ? अनि के भयो ? – सुन्नुस् न ! अनि त अचम्मै पो भयो ।

कुरो के भने, मेलोरीले ती कथाहरू लेख्न थाले जुन बेलायतीहरूले धेरै पहिलेबाट सुन्दै आएका थिए । भनौँ न, बेलायतीहरूको लोककथा । किङ आर्थरको कथा ।

अँ, मेलोरीको कारागारमै मृत्यु भयो । उनले लेखेको पुस्तक उनको मृत्युपछि प्रकाशनमा आयो । अनि बेलायतीहरूले कथामा सुनेका किङ आर्थर एक ऐतिहासिक तथा मिथकीय पात्रका रूपमा विराजमान भए ।

भनिन्छ, बेलायतलाई बेलायतका रूपमा उभ्याउनुमा आर्थरको भूमिका अहम् छ । उनका बारेमा अनेक कथा–उपकथा सुन्न पाइन्छ । तीमध्ये पनि मेलोरीको पुस्तकलाई सबैभन्दा प्रमाणिक मानिन्छ । अहिले पनि बेलायतीलाई एकताबद्ध गराउनु पर्‍यो भने मेलोरीको किङ आर्थर, उनको तरबार तथा उनका सात जना साथीहरुको सम्झना दिलाइन्छ रे ।

अब, बेलायतीहरूको नियतिचाहिँ के छ भने – देशलाई राजा अर्थरको कथा आवश्यक रहुन्जेल सँगसँगै मेलोरीजस्तो नामुद अपराधीलाई पनि सम्झनु पर्नेछ । किताबको शक्ति नै भन्नुपर्छ – नामुद अपराधी थोमस मेलोरीलाई ‘किङ अर्थर’ले सुचर्चित मात्र बनाएन, बेलायतीहरूको प्रिया लेखक नै बनाइदियो । एक पुस्तकले उनले गरेका तमाम माफै गर्न नसकिने कर्महरूमा समेत सफा लेप लगाइदियो ।

के राष्ट्रवादले जस्तोसुकै अपराधलाई पनि सफाचट् बनाइदिन्छ हो ? – … कहिलेकाहीँ सोच्छु ।

अँ, नागरिक दैनिकले ‘यस्तो पनि !’ स्तम्भ सुरु गरेको छ जहाँ ‘… कहिलेकाहीँ सोच्छु’ मार्काका मनुवा अच्युत कोइरालालाई पढ्न सकिन्छ । ‘अपराधी लेखक’का बारेमा उनले झन् कति सोचे होलान् ?

===

३. गुरुप्रसाद मैनाली – फक्रँदो बैँसमा विधुर बने, विधुर बुबाको विवाह गराए

गुरुप्रसाद मैनाली

गुरुप्रसाद मैनाली भन्नासाथ उनको कथाकारिता सम्झनै पर्ने हुन्छ । उनको कथाकारितासँगै आउँछन् जीवनका दु:ख, पीडा र विरहका गीतहरू । तर यहाँ स्तम्भकार गुरुप्रसादका कथाको कुरा गर्दै छैन । कुरा गर्दै छ त दु:ख, पीडा र विरहले भरिएको उनकै जीवनको ।

हाम्रा प्रिय कथाकार मैनालीको विवाह ९ वर्षको उमेरमा भयो, ७ वर्षकी बालिका जगतकुमारीसँग । दुई दिदीहरूको मृत्युपछि जन्मिएका उनले आठ वर्षको उमेरमा हजुरआमा गुमाए । र, सँगसँग आमा पनि स्वर्गे भइन् । उनी सोह्र–सत्र वर्षको हुँदा उनका भाइ र बहिनीले पनि संसार छाडे ।

भाइबहिनीको शोकमा परिवारका आँखा भिजिरहेकै थिए, त्यतिकैमा सुत्केरी पत्नी जगतकुमारीले पनि संसार छाडिन्, साथै लिएर नवजात शिशु (छोरी) पनि । यसरी, किशोरवयको उमेर के कति बाँकी नै रहँदा उनले आधा दर्जन मृत्यु भोग्नु पर्‍यो, परिवारिभित्रै । जुँगाका रेखी भर्खरै बस्दै गरेका मैनालीलाई विधुर हुनुपर्‍यो, बुबाजस्तै ।

मैनालीका कथाहरूमा पाइने दु:ख, पीडा तथा विरहका गीतहरू उनैले बाँचिगएको समयको प्रतिबिम्ब त हैन ? पाठकवृन्द ! प्रश्न तपाईँलाई नै छोड्दै स्तम्भकार अझै अलिकति मैनालीको विहरपूर्ण जीवन च्याउन चाहन्छ ।

अँ, बुबाले आमा गुमाएकै थिए, छोरोले बुहारी पनि गुमाए । एकै परिवारमा दुई विधुर भए – बाबु–छोरी । बुहारीको मृत्युपछि १८ वर्षे छोरो विधुर बनेको एक बुबाले कसरी पो हेर्न सक्थे ! उनले छोरा मैनालीको दोस्रो विवाह गरिदिन खोजे । छोरा मैनाली विवाहका लागी राजी त भए, तर उनले बुबा मैनाली अघि एक सर्त राखे । उही, बिहेकै सर्त । भने, ‘तपाईँको म मात्रै एक्लो छोरो छु । त्यसैले पहिले हजुरले बिहे गर्नु अनि म गर्छु ।’ र, अन्तत: आफ्नो भन्दा पहिले बुबालाई दोस्रो बिहेको लागि राजी गराएरै छोडे ।

गुरुप्रसादका प्रौढ बुबाको विवाह ११ वर्षे बालिका सत्यभामासँग भयो, वि.स. १९७४ सालमा । १८ वर्षका जवान गुरुप्रसादकी आमा ११ वर्षे बालिका बनिन् ।

बुबाको विवाह भएको अर्को वर्ष गुरुप्रसादको विवाह भयो, १० वर्षकी यशोदादेवी पाठकसँग । १२ वर्षे सत्यभामा अब १० वर्षकी यशोदादेवीकी सासूमा बनिन् ।

कुरो एकदेशकै हो, सकियो । तर स्तम्भकारलाई आजकल धेरै सोच्ने बानी लागेको छ । प्रश्न छ – बुबा विधुर नभएर आमा बिधवा बनिकी हुँदी हुन् त के गर्दा हुन् हाम्रा कथाकार ?

अँ, कुरो सकियो । मैनालीको ‘कथाजस्तै गुरुप्रसादको वक्रजीवन’ जान्न चाहनुहुन्छ भने कान्तिपुरमा ऋषिराम शर्मालाई पढ्न सक्नुहुन्छ ।