विषय प्रवेश

सडक नाटकको सन्दर्भमा आज कतै कसैले कसैलाई सडक नाटकको पिता भनी सम्बोधन गरेको मुहार पुस्तिकामा देखेपछि सडक नाटकको वास्तविकता कोतर्न मन लाग्यो र यसै सन्दर्भमा यो लेख तयार गरिएको हो ।

प्रयोगात्मक  नाटकको अध्ययनको क्रममा विशेष गरेर क्रान्तिकारी एवं राजनैतिक नाटकको थालनीमा दुईवटा अङ्ग्रेजी शब्दले बारम्बार स्थान पाएको देखिन्छ । ती हुन्— अभान्त गार्दे (Avant -Garde) र एजिट—प्रोप (Agit-Prop) यी दुई अङ्ग्रेजी संयुक्त शब्दले क्रान्तिकारी एवं राजनैतिक विषयवस्तुमा आधारित नाट्य प्रस्तुतिमा महत्त्वपूर्ण स्थान ओगटेको छ । नाटकलाई जन परिचालन गर्ने एउटा हतियारको रूपमा प्रयोग गर्न सक्ने सम्भावना बारे गरिएका विभिन्न प्रयास र प्रयत्नहरूमा नाटकलाई जनक्रान्तिअगाडि बढाउने प्रयास अनुरूप प्रचार प्रसारको सशक्त माध्यमका रूपमा प्रयोग गर्न थालियो । यसै सन्दर्भमा अभान्त गार्दे (Avant -Garde)  र एजिट—प्रोप (Agit-Prop) शब्दले ठाउँ पाएको देखिन्छ । यस लेखमा सामाजिक विरोधका क्रममा सिर्जनात्मक कार्यमा प्रयोग भएको अभान्त गार्देका बारेमा चर्चा गरिने छ ।

शाब्दिक परिचय

फ्रान्सका सैनिकहरूले सीमा सुरक्षाका लागि अग्रिम रूपमा खटाउने सैनिक टोलीलाई “भानगार्ड“ भन्ने गरिन्छ । जसको अर्थ हुन्छ एडभान्स गार्ड  ( Advance Guard )  अर्थात् अग्रिम सुरक्षा । यही “भानगार्ड“ शब्दलाई फ्रान्सेली विद्वानले सामाजिक सन्दर्भमा प्रयोग गरेर यसको प्रचारमा व्यापकता ल्याएको पाइन्छ । पहिलो पटक अभान्त गार्दे शब्दको प्रयोग Saint Simonion Olinde Rodrigues (सन् १७९५-१८५१) ले गरेको मानिन्छ ।  फ्रान्सको एउटा बैकमा कार्यरत सेन्ट सिमोनियन गणित शास्त्रीका साथै समाज सुधारक पनि थिए । उनले आफ्नो निबन्ध The Artist, the scientist and the industrialist (सन् १८२५) मा अभान्त गार्दे शब्दको प्रयोग गरेका थिए ।

उनले अभान्त गार्दे शब्दको प्रयोग गरेर कलाको शक्तिका बारेमा व्याख्या गर्दै कलाको शक्तिले समाजमा, राजनीतिमा र अर्थतन्त्रमा समेत परिवर्तन ल्याउन सक्ने बताएका थिए । नयाँ प्रयोगकर्ता (अगाडि बढ्ने पहिलो प्रयास)लाई परिभाषित गर्ने शब्दको रूपमा सेन्ट सिमोनियनले अभान्त गार्दे शब्दको प्रयोग गरेका थिए । अर्थात् समाजलाई सुरक्षित गर्ने प्रक्रियाको थालनीलाई अभान्त गार्दे भनिन थाल्यो । उनले समाजमा नवीन विचारको प्रतिपादन र परिचालन सिर्जनाका प्रस्तोताले मात्र अगाडि बढेर नवीन सुधारको कार्य गर्न सक्ने बताएका थिए ।

यसरी सेन्ट सिमोनियनले अभान्त गार्देलाई अधिकार बोध गराउने सङ्घर्षसँग जोडेर यसबाट कलाको लागि कला (Art of artist sake) को मान्यतालाई प्रतिपादन गरेका थिए । यसलाई निरन्तरता दिँदै सन् १८४५ मा गाब्रियल डिजायर लाभर्डेन्ट (Gabriel Disire Laverdant) ले आफ्नो पुस्तक डेला मिसन डे’ ल आर्ट एट डु रियोले डेस आर्टिसटेस (Dela mission de l’art at du riole des artistes) मा साहित्यमा अभान्त गार्देको आवश्यकता बारे प्रकास पारेर अभान्त गार्दे शब्दको प्रयोग गरेका थिए । पछि सन् १८७८ मा बाकुनिन (Bakunin) ले अभान्त-गार्दे प्रवृत्तिका नयाँ शैलीको नाटक सिर्जना गरेर अभान्त गार्दे प्रवृत्तिका नाटकलाई परिभाषित गरेको पाइन्छ ।

पछि गएर यो शब्द कला, संस्कृति र राजनीतिको क्षेत्रमा बढी रूपमा प्रयोग हुन थाल्यो । विशेष गरेर नयाँ प्रयोग र नयाँ प्रस्तुति गर्ने सिर्जना वा समूहलाई जनाउने क्रममा अभान्त गार्दे शब्दको प्रयोग भएको पाइन्छ । नाम र विशेषण दुवैको प्रयोजनका लागि आउने गरेको अभान्त गार्दे शब्दलाई जनपरिचालन गर्दा  राजनीतिक रूपमा प्रयोग समेत गरिन्छ  । वास्तवमा जब कुनै कलाकर्मी (ललितकला र साहित्य तथा मञ्चन) ले आफ्नो सिर्जनामा नयाँ प्रयोग गर्छ त्यो अग्रिम (एडभान्स) प्रस्तुति हुने गर्छ अर्थात् त्यो कला क्षेत्रको नवीनतम प्रयोग भएर देखा पर्छ । यही नयाँ शैली र प्रस्तुतिलाई प्रतिपादन गर्ने सर्जक वा समूहलाई कला साहित्यको क्षेत्रमा अभान्त गार्दे भनिएको हो । सजिलोका लागि आफ्नो एउटा बेग्लै समुदायका कुनै क्रान्तिकारी कार्यको थालनी गर्ने व्यक्ती वा समूहलाई अभान्त गार्देका रूपमा परिचय गरिन्छ ।

००००

प्रवृत्ति विस्तार

यसरी जनअधिकार र समानताका लागि भएका सामाजिक आन्दोलनहरूमा अभान्त गार्दे प्रवृत्तिका नाटकहरूले स्थान पाउन थालेपछि अभान्त गार्देलाई परिभाषित गर्न धेरै नै लेखकहरूले प्रयास गर्दै गएको पाइन्छ । तर सन् १९६२ मा प्रकाशित पुस्तक ‘The Theory of the Avant Garde’ का लेखक इटालीका निबन्धकार  Renato Poggioli ले आफ्नो पुस्तकमा अभान्त गार्देको ऐतिहासिक, सामाजिक, मनोविज्ञान, दर्शनशास्त्रका बारेमा चर्चा गरेर यो शब्दलाई विभिन्न कोणबाट परिभाषित गर्न खोजेको पाइन्छ । अनि यसरी नवीन प्रयोग वा पहिलो प्रयोग वा प्रवृत्तिको पर्यायवाची शब्दका रूपमा अभान्त गार्दे शब्दको प्रयोगमा व्यापकता आउन थालेको पाइन्छ ।

पछि गएर अभान्त गार्दे कला साहित्यको पहिलो प्रयास वा प्रस्तुतिको क्रममा बढी प्रयोग हुन थाल्यो । यो एक प्रकारले जनमानसमा प्रजातान्त्रिक  चेतना अभिवृद्धि गराउने प्रयोगका रूपमा प्रस्तुत हुन थाल्यो । अमेरिकाका प्रयोगात्मक नाटककार अल्फ्रेड जेरीले आफ्ना नाटकमा नवीनम् प्रयोग भित्र्याउन थालेपछि प्रयोगात्मक नाटकहरू मञ्चन हुन थालेको मानिन्छ । अनि अभान्त गार्दे शब्दको प्रयोग नाटकमा एक प्रकारको प्रयोगात्मक (Experimental Theatre) नाटक का लागि हुन थाल्यो ।

अभान्त गार्दे नाटकले बुर्जुवा नाटकको विरोध गर्छ । त्यसैले विरोधमा आएको अभान्त गार्देले नाटकको मञ्चनमा  भव्यता भन्दा सामान्यतामा बढी जोड दिइन्छ । अभान्त गार्दे प्रवृत्तिका नाटकमा शारीरिक भाषाआङ्गिक चेष्टा, प्रयोगात्मक प्रस्तुति र चेतना मूलक भाषाको प्रयोग बढी हुने गर्दछ । यसको प्रयोगकर्ता कलाकर्मी हुने गर्दछन् ।  चित्रकला, सङ्गीतकला, चलचित्रकला, नाट्यकला आदिसँग आबद्ध रहेका कलाकर्मी अभान्त गार्देका प्रयोग कर्ता हुने गर्दछन् ।  सीमा सुरक्षाका लागि सैनिकले पहिलो गार्ड (पहरेदार) पठाए जस्तै नाटकको सन्दर्भमा पनि जनसमुदायलाई चेतनाका कुराबाट सुसूचित गराउने नाटकलाई अभान्त गार्दे नाटक मानिन्छ ।

अभान्त गार्दे प्रवृत्तिका नाटकले सामाजिक सुधारका प्रसङ्ग ल्याएर, शोषित वर्गको प्रतिनिधित्व गर्दै जनप्रगतिको वकालत गर्ने गर्दछ । नाटकलाई  पनि नवीनतम प्रस्तुतिका माध्यमबाट जनसमुदाय समक्ष ल्याउने गरिन्छ त्यसैका लागि अभान्त गार्दे शब्द प्रयोगमा ल्याइएको देखिन्छ । नयाँ कुरालाई जन समक्ष ल्याउने प्रक्रियालाई अभान्त गार्दे भनिएको हो  । यसलाई उत्तर आधुनिकताको प्रयोग पनि मानिन्छ ।

अभान्त गार्देलाई निरन्तरता दिन डाडावादको पनि महत्त्वपूर्ण भुमिका रहेको पाइन्छ । डाडाइजमको सुरुवात जुरीचबाट फरबरी सन् १९१६ देखि भएको मानिन्छ । जर्मन कवि ह्यूगाे बल  (Hugo Ball)  शरणार्थी भएर जुरीच आएपछि उनले त्यही बसेर राजनैतिक चेतनामूलक साहित्य सृजना गर्न थाले । उनले त्यहाँका स्थानीय साहित्यानुरागीलाई समेत समावेश गराउन जुरीचको एउटा रात्री क्लब (Night Club) लाई जमघट स्थल बनाएर पछि त्यहाँ कवि साहित्यकारसँगै चित्रकारी र संवादात्मक अभिव्यक्ति दिने खालका सिर्जनात्मक प्रस्तुतिहरूको आदानप्रदान हुन थाल्यो । क्लब बाहिर खुल्ला ठाउँमा रङ्गमञ्चीय प्रस्तुतिको थालनी पनि सुरु भयो । कला साहित्य एवं रङ्गमञ्चीय प्रस्तुतिको थालनी भएपछि यसलाई एउटा रूप दिने क्रममा जर्मनी र फ्रेन्च शब्दकोशबाट डाडा (Dada) शब्द निकालियो, जसको अर्थ हुन्छ शून्य । यसरी शून्यवाद (Dadaism) को थालनी भएको थियो । कलामा  डाँडावादको थालनीपछि युरोपभरि नै साहित्य र कला प्रस्तुतिहरूमा नयाँ शिल्प र शैलीको प्रयोग भएर अभान्त गार्दे शब्द आएको मानिन्छ ।

००००

नेपालमा अभान्त गार्दे नाटकको प्रयास 

नेपालमा अभान्त गार्दे  प्रवृत्तिको साहित्यका बारेमा कुरा गर्नु पर्दा पहलवान सिंह स्वाँरको “अटलबहादूर” (१९६३ ) नाटक अग्रपङ्क्तिमा देखा पर्छ । राणा विरोधी यो नाटकको प्रकाशनपछि स्वाँरलाई देश निकाला गरिएको थियो भने गो नाटक १९६६ मा दार्जिलिङमा मञ्चन भएको थियो । त्यसपछि कृष्णलाल अधिकारीको  “मकैको खेती” (१९७७) कवितालाई अभान्त गार्दे प्रवृत्ति भएको कविताका रूपमा लिन सकिन्छ । राणा शासकको विरोधमा लेखिएको अभियोगमा यसै कविताका लागि अधिकारीलाई फाँसी दिइएको थियो । यसलाई नेपाली साहित्यमा मकै पर्वका रूपमा चिनिन्छ । त्यसपछि नेपाली साहित्यमा अभान्त गर्दे प्रवृत्तिका साहित्यिक आन्दोलनका रूपमा राल्फाली समूह, वेदना परिवार, इसास (इन्द्रेणी साँस्कृतिक समूह) र सडक कविता क्रान्तीलाई लिन सकिन्छ । यी सबै अभान्त गार्देका प्रयासहरू २०४६ सालअघि भएका थिए ।

नेपाली रङ्गमञ्चमा अभान्त गार्दे र एजिट-प्रोप प्रवृत्तिका नाटकको बारेमा अध्ययन गर्दा हामी अखण्ड भारतमा बेलायती शासकका विरुद्ध विरोधका नाटक गर्ने “ईप्टा” (इण्डियन पिपुलस् थिएटर एशोशिएसन) बाट मञ्चित नाटकहरुमा यी नाट्य प्रवृति रहेको पाउँछौं । ईप्टाका माध्यमबाट शुरु भएको (एजिट प्रोप) विरोध र हल्ला तथा पहिलोपटक शासक विरुद्धको अभान्त गार्दे प्रवृत्तिका नाटकहरूले भारतको स्वतन्त्रता सङ्ग्राममा जन परिचालन गर्न गराउनमा महत्त्वपूर्ण भूमिका खेलेको थियो । सम्भवतः यही वास्तविकतालाई बुझेर नेपालको पञ्चायती तानाशाही शासन व्यवस्थाविरुद्ध जनमत बटुल्न “खाल्डो”  सडक नाटकको मञ्चन भएको थियो ।

धेरथोर मात्रामा भए पनि सूचनाको हकबाट वञ्चित भएका सर्वसाधारण जनतालाई तत्कालीन यथार्थतासँगै राष्ट्रप्रतिको नागरिक कर्तव्यबोध गराउँदै आफ्नो मौलिक हक र अधिकारका लागि आफैअगाडि बढ्नु पर्ने वास्तविकता बुझाउन सहयोग पुर्‍याउने विश्वास लिएर  “खाल्डो” सडक नाटक नेपालमा मञ्चन भएको मानिन्छ । दिल्लीमा भारतीय कथाकार कृश्न चन्दरको ‘खड्डा’ शीर्षकको कथालाई नाट्यरूपमान्तरण गरी हिन्दी सडक नाटक देखाइएको थियो । दिल्ली भ्रमणको क्रममा रायनको नेतृत्वमा अनुवाद भएको “खाल्डो” को नेपाली रूपान्तरणको नाटकीय मञ्चन सर्वप्रथम भारतमा सफल मञ्चन भएपछि यसलाई नेपालमा पनि देखाउनु पर्ने राय सल्लाहहरू सबैतिरबाट आउन थालेपछि साहित्यकार पारिजातको निर्माण व्यवस्थापन एवं रायनको नेतृत्वमा “खाल्डो”  को नाट्य रूपान्तरण २०३६/०३७ सालतिर नेपाल मञ्चन भएको थियो ।  यो नाटक मञ्चन गर्न हरिगोबिन्द लुईटेल र रायनले प्रमुख भूमिका खेलेको कुरा वहाँहरू पनि स्विकार्छन् ।

“खाल्डो” खुला मञ्चनाटकको मञ्चन काठमाडौँमा भएको बारे पुराना रङ्गकर्मीहरू  स्विकार्छन् । तर यसबारे कुनै लिखित दस्तबेजहरू प्राप्त भएको छैन । वरिष्ठ रङ्गकर्मी प्रचण्ड मल्ल पनि काठमाडौँको सडकमा खुला रूपमा नाटक भएकोबारे आफूले सुनेको कुरा बताउँछन् । पहिलो पटक अभान्त गार्दे प्रवृत्तिलाई नेपालमा भित्र्याउने “खाल्डो” नाटकको मञ्चन रायनको संयोजकत्वमा काठमाडौँको बसन्तपुर, त्रिचन्द्र क्याम्पस, तीनधारा पाठशाला लगायत कीर्तिपुर, बनेपाका विभिन्न चौकहरूमा अनि उपत्यका बाहिर सिराहा, चितवन, विराटनगर आदि ठाउँहरूमा गरिएको थियो ।

खाल्डो कथा कृश्न चन्दरको प्रसिद्ध कथा मध्येको एउटा कथा हो । कथा अनुसार एकजना बटुवा खाल्डोमा खसेपछि ऊ आफू बाहिर निस्कन बाटोमा हिँड्ने सबै बटुवाहरूसँग हारगुहार माग्छ तर कसैले पनि उसलाई निकालिदिँदैनन् । अन्त्यमा ऊ आफैँ खाल्डोमा खसेकोले आफ्नै प्रयत्नबाट निस्कने अठोट गर्छ र विभिन्न चेष्टा, प्रयत्न र प्रयास गर्दै ऊ आफैँ बाहिर निस्कन्छ । नाटकले मानिसले आफ्नो सङ्घर्ष आफैँ गर्नु पर्ने र आफ्नो विपत्तिलाई आफैँले नै हटाउनु पर्ने जस्ता प्रेरणादायी कुराहरूलाई दर्शकमाझ छोडेको थियो ।

यसरी अभान्त गार्दे शैलीलाई आत्मसात् गर्दै “खाल्डो” नाटक मञ्चन भएको देखिन्छ ।  तत्कालीन शासन व्यवस्थाका विरुद्ध जनमत बटुल्न पहिलो प्रयासका रूपमा मञ्चन भएको “खाल्डो” नाटकलाई अभान्त गार्देको पहिलो प्रयासका रूपमा लिन सकिन्छ । रायनका अनुसार उनले  वि.सं. २०३८/०३९ सालतिर प्रसिद्ध रुसी कथाकार एवं नाटककार अन्तोन चेखवको कथामा आधारित नाटक छेपारोलाई भावानुवाद गराएर राजधानी लगायत अन्य विभिन्न ठाउँहरूमा मञ्चन गराएका थिए ।

यी नाटकहरू मञ्चन भएको बारे मौखिक जानकारी मात्र प्राप्त भएकोले यसलाई नेपालमा अभान्त गार्दे नाटकको प्रयासका रूपमा लिन सकिन्छ ।  मैले शिलाङ्ग, भारतमा अध्ययनरत रहँदा सन् १९९५ मा तत्कालीन भारतीय प्रधानमन्त्री इन्दिरा गान्धीले इमारजेन्सीको घोषणा गरेपछि विपक्षीबाट यसको विरोध हुन थाल्यो । त्यसैबेला शिलाङ्गमा ‘गरिबी हटाओ’ नुक्कड (सडक) नाटक मञ्चन भएको थियो । त्यसमा मैले माग्नेको भूमिका गरेको थिएँ । यो प्रसङ्गका बारेमा मैले सर्वनामका कलाकारहरू माझ जानकारी गराएको थिए । अनि त सर्वनामले पनि सडक नाटकको अवधारणालाई अगाडि ल्याएको थियो ।

००००

पहिलो नेपाली अभान्त गार्दे नाटक

वि.सं. २०३९ साल भदौ २० गतेका दिन त्रिभुवन विश्वविद्यालयको कोरोनेसन गार्डेनमा कीर्तिपुर क्याम्पसका विद्यार्थीहरूलाई जम्मा गरेर पहिलो प्रयोगका रूपमा सर्वनामबाट  अशेष मल्लद्वारा लिखित एवम् निर्देशित सडक नाटक हामी वसन्त खोजिरहेछौ र समाप्त असमाप्त दुईवटा नाटक प्रदर्शन गराएर सर्वनामले सडक नाटकको थालनी गराएको पाइन्छ । सर्वनामको यस कार्यलाई कतिपय रङ्ग समीक्षकहरू आधुनिक सडक नाटकको जन्म सर्वनामबाट भएको कुरा स्वीकारेका छन् । सर्वनामको आगमनपछि सडक नाटकले नियमितता पाउँदै गएको देखिन्छ ।

वि.सं. २०३५ अघिसम्म पञ्चायतको निरङ्कुश शासनव्यवस्था रहेको र २०३६ सालको जनमत सङ्ग्रहपछि सुधारिएको पञ्चायती व्यवस्था भनिएकाले सञ्चारका माध्यमहरूमा केही खुकुलोपन देखा पर्न थालेको थियो । सञ्चारको प्रगतिले विश्वलाई खुम्चाइरहेको बेलामा नेपालमा पनि सञ्चारको विकासले गति पाइरहेको थियो । यस्तो अवस्थामा नेपाली रङ्गमञ्चमा देखा परेको नव नाट्यशैलीले सञ्चारमा स्थान पाउन स्वाभाविकै थियो । यही वास्तविकताले गर्दा ‘सर्वनाम’ को सडक नाटकले नेपाली छापाहरूमा राम्रो स्थान पायो, जुन यसअघिका रङ्गमञ्चीय गतिविधिले पाएको देखिँदैन । सडक नाटक मञ्चनको समाचारले व्यापकता पाएपछि नेपालमा सडक नाटकका जनक भनेर सर्वनाम चिनिएको देखिन्छ । नेपाली छापाहरूमा पनि सर्वनामको हामी वसन्त खोजिरहेका छौँ पहिलो सडक नाटक र सर्वनाम नाट्य समूह पहिलो प्रस्तुतिका रूपमा चर्चा भएको पाइन्छ ।

‘हामी वसन्त खोजिरहेका छौं’ नाटकले अभान्त गार्दे प्रवृत्तिलाई आत्मसात् गरेको छ । तत्कालीन सुधारिएको पञ्चायती व्यवस्थामा फितलो प्रजातन्त्र रहेको पहिलो आभास दिने काम यस नाटकले गरेकोले यस नाटकलाई अभान्त गार्देको पहिलो नमुनाका रूपमा लिन सकिन्छ । वसन्तलाई प्रजातन्त्रको प्रतीकका रूपमा प्रस्तुत गर्दै साह जनता वसन्तको खोजीमा भौँतारिरहेका र एकतान्त्रिक शासन व्यवस्थाको प्रचण्ड आगोमा देश जलिरहँदा पनि शासकहरू भने आगोमा पनि शीतलता रहेको भ्रमात्मक आभास जनमानसमा पुर्‍याउँदै गएको तर जनताहरू एकजुट भएर तपस्वीका रूपमा देखा परेको दलको प्रतीकसँग मिलेर वसन्तको खोजीमा निस्केको प्रतीकात्मक सन्देश दिन खोजेको छ ।

प्रस्तुत नाटकले बहुला पात्रको प्रतीकात्मक प्रयोगबाट प्रजातन्त्र प्राप्तिका लागि जनता हतियार उठाउन समेत पछि नपर्ने सङ्केत दिएको छ । नेपाली नाटकमा पहिलो पटक “अटल बहादुर” नाटकमा विरोधका स्वरहरू पाइएको थियो र राजनैतिक विरोधका कारण नाटकले मञ्च पाउन सकेन ।  पहलवान सिंह स्वाँरको “अटल बहादुर” नाटकपछि राजनैतिक विषयवस्तुलाई प्रतीकात्मक रूपमा यस नाटकले प्रस्तुत गरेको छ । मञ्चित नाटकबाट राजनैतिक विसङ्गतिका बारेमा पहिलो चेतना दिने काम अर्थात अभान्त गार्देको थालनी हामी वसन्त खोजिरहेका छौँ नाटकबाट भएकोले यस नाटकलाई पहिलो नेपाली अभान्त गार्दे नाटकका रूपमा लिन सकिन्छ ।

सर्वनामले सडक नाटक जन्माउने काम मात्र गरेन, त्यसलाई व्यापक र उचाइँमा पुर्‍याउने काम पनि जिम्मेवारीपूर्वक गरेको देखिन्छ । सडक नाटकको थालनीपछि अभान्त गार्दे प्रवृत्तिका नाटकहरूको प्रस्तुतिमा सर्वनामले व्यापकता ल्याउँदै  सप्ताहव्यापी सडक नाटक अभियानको थालनी गराएर सडक नाटकलाई काठमाडौँको सडक, गल्ली, चौक, डबली, चौर आदि खुला ठाउँहरूमा मञ्चन गर्न थाल्यो ।

मल्लकालपछि प्रायः सेलाइसकेको डबली परम्परालाई सडक नाटकले फेरि  ब्युँत्यायो । वि.सं. २०४० असोज महिनादेखि सर्वनामले अभान्त गार्दे प्रवृत्तिका सडक नाटकलाई राजधानीबाहिर पनि मञ्चन गराउन थाल्यो । सर्वनामको सडक नाटक नेपालका अनकन्टार गाउँगाउँमा अभान्त गार्दे भएर देखा पर्न थाल्यो । हामी वसन्त खोजिरहेछौ नाटकका माध्यमबाट सर्वनामले मोफसलका दर्शकहरूको घरआँगनमा पुगेर मुलुकको वास्तविकतासँग परिचित गराउँदै मानव अधिकारका र प्रजातन्त्रका लागि जनमत बटुल्न थाल्यो । एकातिर तीसको दशकदेखि नै गीत सङ्गीतका माध्यमबाट राल्फाली समूह अभान्त गार्देलाई नेपालमा परिचय गराउँदै थिए भने त्यसलाई मञ्चबाट सर्वनामले निरन्तरता दिँदै गयो ।

सर्वनामको हामी वसन्त खोजिरहेछौ नाटक नेपाली रङ्गमञ्चमा देखा परेको पहिलो अभान्त गार्दे र एजिट-प्रोप नाटक हुन प्रमुख कारणहरूमा  :

१.     सत्ताको विरुद्ध विरोध र हल्लाको शैलीमा लेखेर खुला रूपमा मञ्चन गरिएको पहिलो

नाटक

२.     खुला रूपमा नाटकका माध्यमबाट पहिलो पटक एकतन्त्रीय शासन व्यवस्थाको विरोध

३      पञ्चायती समर्थक पात्रका माध्यमबाट प्रजातन्त्रको भ्रमात्मक प्रचार

४      एकतन्त्रीय शासन व्यवस्थाको विरोधीमाथि हुने गरेको मानसिक तथा शारीरिक यातनाको कुभावबाट उत्पन्न विकृति

५      प्रजातन्त्रको अभावमा राष्ट्र जली रहेको प्रतीकात्मक सन्देश

६      समानताको लागि प्रजातन्त्र नै एक मात्र विकल्पको शङ्खघोष

७      क्रान्तिकारी एवं राजनैतिक विषयवस्तु भएको नाटकलाई खुला मञ्चमा प्रस्तुत

८      एकताका लागि आव्हान

आदि रहेको छ ।

यी माथि उल्लेखित विशेषताहरूबाट नै हामी वसन्त खोजिरहेछौ नाटकलाई अभान्त गार्दे प्रवृत्तिको कसीमा राखेर हेर्दा प्रस्तुत नाटकले प्रजातन्त्रको स्थापनाका लागि खुलेआम शङ्खघोष गर्दै क्रान्तिकारी एवं राजनैतिक विषयवस्तुमा आधारित नाटकको मञ्चन खुला आकासमा गरेर पहिलो बिकुल फुकेको छ । अभान्त गार्देले प्रतिपादन गर्दै जनमानसका लागि नौलो प्रयासको थालनी यस नाटकले गरेको छ भने विरोधको हल्ला फिजाएर जनमत बढाउने काम पनि गरेको छ ।  सामाजिक परिवर्तनका लागि प्रस्तुत हामी वसन्त खोजिरहेछौं नाटकलाई नेपाली रङ्गमञ्चमा देखा परेको पहिलो अभान्त गार्दे नाटकका रूपमा लिन सकिन्छ ।

यही नाटकले एजिट-प्रोप नाट्य शैलीले प्रतिपादन गरेको विरोधका लागि जनमतको आवश्यकतालाई अड्कारो रुपमले जनमानमा पुर्‍याउने काम गरेको छ । त्यसैले हामी वसन्त खोजिरहेछौ नाटकलाई नेपाली रङ्गमञ्चको पहिलो अभान्त गार्दे र एजिट-प्रोप प्रवृति भएको नाटकका रूपमा लिन सकिन्छ ।